
पोखरा, २४ चैत्र ।
पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। महिला फुटबल प्रतियोगिताको अभाव खेप्दै आएको पोखरामा अब भने यस्तो प्रतियोगिता सञ्चालन हुने निश्चित भएको हो।
महिला फुटबलको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आरएस पोखरा फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारी तीव्र पारिएको छ भने आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको छ।
कार्यक्रममा पोखरा महानगरपालिका–२५, हेम्जाका वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले पोखरामा महिला गोल्डकप आयोजना हुनु गौरवको विषय भएको बताउँदै वडा तथा महानगरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।
प्रतियोगितामा ए डिभिजन क्लबहरूसँगै मोफसलका टिमहरूको समेत सहभागिता रहनेछ। आरएस फुटबल क्लबका अध्यक्ष रमेश कार्कीले पोखरामा महिला फुटबल गतिविधि न्यून रहेकाले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।
उनले भने, “नेपाली फुटबललाई अहिले जोगाएकै महिला फुटबलले हो। राष्ट्रिय टोलीको प्रदर्शनले देशभर आशा जगाएको छ। तर पोखरामा महिला स्तरको ठुला प्रतियोगिता नहुनु दुःखद कुरा हो। हामीले महिला खेलाडीको विकास र फुटबलको उत्थानका लागि क्लब स्थापना गरेका हौँ।”
उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ। साथै, दीर्घकालीन खेल विकासका लागि फुटबल एकेडेमी स्थापना गर्ने योजना पनि क्लबले अघि सारेको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तयारी सुरु भइसकेको जनाउँदै आयोजकले सबै सरोकारवालासँग सहयोगका लागि आग्रह गरेको छ।
आरएस पोखरा फुटबल क्लबले पछिल्लो समय देशभर आयोजना हुने महिला फुटबल प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ।
पोखरा, २४ चैत्त ।
अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुने चौथो एबीसी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी चैत्रको २५ देखि २७ गते सम्म पोखराको रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरका १२ टीमको सहभागीता रहने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।
सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल चैत २५ गते बिहान ८ बजे बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्सबीच हुनेछ । सोही दिन दोस्रो खेल ए.बी.सी. भेट्रान्स र सानेपा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ भने, जोरपाटी भेट्रान्स र फ्रिडम फाइटर भेट्रान्स आमनेसामने हुनेछन । त्यसैगरी बगर भाइकाखलक भेट्रान्स र चितवन भेट्रान्सबीच खेल हुनेछ ।
चैत २६ गते बिहान ८ बजे लेकसाइड भेट्रान्स र नवा बुद्ध रुपन्देही भेट्रान्सबीच खेल हुने तालिका छ । बिहान १० बजे हेटौंडा भेट्रान्सले अघिल्लो चरणको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै २७ गते बिहान ९ बजे अभिषेक चर्च ब्वाइज भेट्रान्स र बागडोल युनाइटेड भेट्रान्सबीच खेल हुनेछ भने दिउँसो १ बजे अर्को क्वाटरफाइनल खेल सञ्चालन हुनेछ ।
प्रतियोगिताको सेमिफाइनल खेलहरू चैत २७ गते बिहान ८ र ९ बजे हुनेछन् । फाइनल खेल सोही दिन दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।
भेट्रान खेलाडीहरूको अनुभव र प्रतिस्पर्धात्मक खेलमार्फत दर्शकलाई रोमाञ्चक फुटबलको स्वाद दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आयोजकका अनुसार प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेताले ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
पोखरा, २४ चैत ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वअध्यक्ष घलेले फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए । सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार घलेलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
पोखरा, २४ चैत।
छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ। विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीको विदाइ गरिएको हो। कार्यक्रममा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले
विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गरे। विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद वस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।
प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य–मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्दै समयको सदुपयोग गर्दै लक्ष्यप्रति केन्द्रित बन्न सुझाए । सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले आगामी बोर्ड परीक्षाको सफलताको कामना गर्दै सिकेका ज्ञान र सीपले नै भोलिको जीवनको मार्गदर्शन गर्ने स्पष्ट पारे।
कक्षा १२ का सुशान्त पौडेलले कार्यक्रम आयोजना गरेकोमा विद्यालय तथा कक्षा ११ का विद्यार्थी प्रति धन्यवाद दिए। कक्षा ११ का विद्यार्थी समृद्धि तिमिल्सीना, सोनियाँ रेग्मी लगायतले दाइदिदीको विदाइ सम्मान अविस्मरणीय हुने सुनाउँदै त्यसक्रममा आफ्ना अनुभव, अनुभूति प्रस्तुत गरे।कार्यक्रमका बीच विद्यार्थीले विभिन्न प्रस्तुति राखे।
कक्षा ११ का आयुष बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी सोनियाँ रेग्मीले स्वागत तथा संचालन विद्यार्थी सुबीर रेग्मी, राजन पौडेल, दीक्षा पोख्रेल र किञ्जल पोख्रेलले संयुक्त रुपमा गरे।
बाल विकासदेखि कक्षा १२ सम्म संचालित छोरेपाटन माविमा हाल दुई हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन्।जसअन्तर्गत कक्षा ११, १२ तर्फ विज्ञान, शिक्षा, व्यवस्थापन तथा सामाजिक समूहका कक्षा सञ्चालित छन्।
पोखरा, २४ चैत ।
लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।
इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ पुस्तक १७६ पृष्ठको छ । पुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामाकरण रु मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उपथर , मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।
यसैगरि २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो ।
‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरिः मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भनिन्,‘तत्कालिन समयमा राज्यले नै केही निश्चित जातिलाई छानिछानि भर्ती पठाइएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’
पुुस्तकले “लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।
अध्यक्ष रोकामगरका अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास समेत गरेको छ । यसले राज्य, समाज र व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दै, विगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको फन्दा” ले पाठक, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त बनाउनेछ ।
लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरि किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रुपमा उपलब्ध होस् भन्ने हेतुले विमोचन अगावै पुस्तक बजारमा पठाइएको सुनाए । नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दैछन् ।
पोखरा, २४ चैत ।
राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु।३५ मा आलुको कारोवार हुनेछ ।
मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।
त्यस्तै उनले कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि गरिने उल्लेख गरे। पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले पोखरालाई विश्व वजारमा चिनाएको धारणा राख्दै महानगर कृषकलाई प्रोत्साहन गर्ने पक्षमा रहेको स्पष्ट पारे ।
कृषि प्राविधिक चन्द्राकान्त तिमिल्सीनाले हेमजाको आलु स्वस्थकर हुने उल्लेख गर्दै आलु तरकारीको राजा भएको भनाई राखे । सदाझै यसपटक पनि महोत्सवमा “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” नारालाई अगाडि सारिएको छ । महोत्सव मार्फत हेमजालाई कृषि क्षेत्रका रुपमा परिचित गराउने, हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पु¥याउने, कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउँदै हेमजालाई कृषि राजधानीको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।
त्यस्तै आयोजकले क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन एवम् बिक्री वितरण केन्द्र स्थापना गर्ने, बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्ने उद्देश्य पनि लिएको छ । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिदै आएको छ । यस खेतीमा त्यहाँका करिव २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
जसको प्रति रोपनी औसत उत्पादन लागत रु।१८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।
पोखरा, २४ चैत्त ।
दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।
यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् ।
वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले बताए । यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् ।
जसको सबैभन्दा बढी भोट आउँछ उ विजेता हुनेछ । मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई खल्ती एप मार्फत भोटिङ गर्न सकिने छ भने आज सोमबारबाट शुरु भएको भोटिङ बैशाख १७ गते राती १२ बजे सम्म खुल्ला रहने छ । अवार्ड कार्यक्रम आगामी बैशाख १८ गते पोखरामा हुनेछ ।
सो अवसरमा बोल्दै पिपल्स च्वाइस अवार्डका प्रायोजक गुरुङ गहना घरका प्रालिका सञ्चालक सीमा गुरुङले खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने गरी आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गुरुङ गहना घर जोडिन पाउँदा खुसी लागेको बताइन् । गुरुङले आफूले खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर साथ र सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् । यो विधाको विजेतालई टीभीएस एनट्रक स्कुटर प्रदान गरिनेछ ।
त्यस्तै आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले मनोनयनमा परेका खेलाडीहरूलाई खल्ती एप मार्फत भोटिङका लागि आजैदेखि भोटिङ खुल्ला गरिएको बताए । खेलकुदको क्षेत्रमा प्रदेशमै ठूलो कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च सँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ रहेको थियो । मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य विनय थापाले पनि बोलेका थिए ।
पोखरा स्पोटर््स अवार्डमा पिपल्स च्वाइस अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल सङ्घसंस्था अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, गुरुङ गहना घर प्रालि, आइएमई खल्ती लिमिटेड लगायतको सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
पोखरा, २४ चैत्त ।
यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं। २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ ।
प्रतियोगिता विशेषगरी डर्ट बाइक ९अफ–रोड मोटरसाइकल० प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका सोमबार आयोजित पत्रकार सम्मेलनमा च्याम्पियससिपका रेस डाइरेक्टर तथा एड्भेन्चर स्पोर्टस् हब नेपालका डिरेक्टर जगत धोलीले जानकारी दिए ।
उनका अनुसार हालसम्म करिब ९० प्रतिशत तयारी सकिएको र प्रतियोगिताको अभ्यास तथा ट्रयाक परीक्षणका लागि चैत २ गतेदेखि नै खेलाडीहरूका लागि ट्रयाक खुला गरिएको छ । अहिले उक्त ट्रयाकमा राइडरहरुले दिनहु अभ्यास गरिरहेका आयोजकले जनाएको छ ।
मध्यपूर्व द्वन्द्वले गर्दा अन्य देशका खेलाडी आउन कठिनाई र प्रतिकुल परिस्थितिका कारण अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागि संख्यामा भने कमी आएको स्वीर्काछन् स्थानीय आयोजक समेत रहेका नील गगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेल । प्रेस विज्ञप्ती बाचन गर्दै पौडेलले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको र यस प्रकारको खेलले नेपालमा एड्भेन्चर स्पोर्टस्को विकास, खेलकुदको प्रवद्र्धन तथा स्पोर्टस् टुरिजमलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा च्याम्पियनसिपको ट्रफि समेत सार्वजनिक गरिएको छ । नासा गण्डकीका अध्यक्ष सिव श्रेष्ठेले ट्रफि सार्वजनिक गरे । प्रतियोगिता ४।८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख खर्च हुने अनुमान गरिएको छभने मुख्य प्रायोजकमा एक्सट्रीम इनर्जी ड्रिंक रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।
विशेषगरी पोखरालाई एड्भेन्चर स्पोर्टस् र खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोजकले गरेको छ ।
पोखरा, २२ चैत्र ।
नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् ।
संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिका वाँकी सदस्य तथा सल्लाहकारहरु अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले जानकारी दिएका छन् ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल, अमृत क्षेत्री र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अविर, खादा र प्रमाण पत्र प्रदान गरेका थिए ।
नव निर्वाचित कार्यसमितिलाई यस अघिको समितिले माईन्यूट हस्तान्तरण गरेको थियो । यस अघि अधिवेशनको उद्घाटन गर्दै संघका सल्लाहकार प्रा डा लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता सहित लोकतन्त्रवादी लेखक साहित्यकारको जमघट हुने थलो लेखक संघ भएको बताए । उनले देशको कठिन घडीमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष अर्थ राख्ने धारणा व्यक्त गरे ।
संघका अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने प्राञ्जलले बोलेका थिए ।
पोखरा, २२ चैत्र ।
नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो ।
पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्क अगाडि पुगेर सम्पन्न हुने भएको हो ।
रात्रिकालीन व्यवसाय प्रवद्र्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह र खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक दीननाथ बरालले बताए । “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहित आयोजना हुन लागेको दौडले पोखरालाई २४ सै घण्टा सुरक्षित सहरका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मस्र्यानीले रात्रिकालीन दौड नयाँ अवधारणाका रूपमा रहेको उल्लेख गर्दै यसले पोखराका विभिन्न क्षेत्रलाई जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गण्डकी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस्तो प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने बताए ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवा नववर्ष महोत्सवको पूर्वसन्ध्यामा आयोजना हुने उक्त प्रतियोगितासँग सहकार्य गरिएको जानकारी दिए । उनले विदेशी धावकको सहभागिता सुनिश्चित गर्न विशेष पहल गरिने बताए ।
फिस्टेल ड्रिम पार्कका निर्देशक कमल बस्नेतले पार्कमा नयाँ संरचना थपिएको जानकारी दिँदै प्रतियोगितामा उत्कृष्ट २० धावकलाई पार्क प्रवेश टिकट उपलब्ध गराइने बताए ।
पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकालले ३० करोड बराबरको आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।
केन्द्रका उपाध्यक्ष असफल गौतमले नेपाली नयाँ वर्ष लक्षित कार्यक्रमहरू कम भइरहेका बेला उक्त दौडलाई प्रभावकारी बनाउने र पोखराको सडक पनि पर्यटन प्रवद्र्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्य रहेको बताए ।
रेस डाइरेक्टर ओम गुरुङले प्रतियोगिताको प्राविधिक तयारी तीव्र पारिएको भए तापनि ट्राफिक व्यवस्थापनमा स्थानीयको पनि साथ र सहयोगको अपेक्षा गरे ।
केन्द्रका सचिव सागर सुनारले हाल खेलाडी दर्ता प्रक्रिया जारी रहेको जानकारी दिए । इच्छुक सहभागीले पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत चैत्र २५ गते बिहान ११ः५९ बजेसम्म दर्ता गर्न सक्नेछन् ।
प्रतियोगितामा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फ विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । सहभागी धावकलाई बिमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
करिब सात लाख रुपैयाँ लागतमा सम्पन्न हुने प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघ–संस्थाको सहयोगमा आयोजना हुँदैछ ।
पोखराको शहरी गतिशीलता, सुरक्षित वातावरण र स्वस्थ जीवनशैलीप्रतिको सन्देश प्रवाह गर्नुका साथै नयाँ वर्षमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धक रहेको प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कुल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, रेवान पोखरा, पोखरा पर्यटन परिषद्, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, पोखरा वडा नं. ३, ५, ६, ७, ८, ११, जिल्ला खेलकुद विकास समिति कास्की, टान गण्डकी, पोखरेली ट्याक्सी सेवा प्रा.लि., पोखरा उद्योग वाणिज्य संघ, समियोग टुरिष्ट रिसोर्ट, नाट्टा गण्डकी सहित विभिन्न संघ संस्थाको सहयोग रहने छ भने मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनर रहेका छन् ।





