२०८३ मंसिर १ सोमबार
२०८३ मंसिर १ सोमबार

पोखरा, ११ पुस ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।

 द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ काश्य गरेर कुल १४ पदक हात पारेको छ ।

समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए। प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको थियो ।

कबड्डीतर्फ छात्रामा रामेश्वरी माविलाई स्वर्ण, शहीद स्मृति आवासीय माविलाई रजत र प्रतिभा मावि तथा कालिका माविलाई काश्य पदक हात पर्‍यो । छात्रतर्फ कालिका माविलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गौरी शङ्कर मावि तथा भवानी कालिका माविलाई काश्य पदक प्राप्त भयो । कबड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजार–१२ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।

भलिबल छात्रा तर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई काश्य पदक प्राप्त भयो । छात्र तर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई काश्य पदक हात पर्‍यो । भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ  सहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रा तर्फ  छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका थिए ।

कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए ।

मार्चपास तर्फ रत्न ज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल,  पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।  मेयर आचार्यको प्रमुख आतिथ्यतामा भएको समापन समारोहको अध्यक्षता समितिका अध्यक्ष गोदार सञ्चालन सदस्य सचिव सुरज अधिकारीले गरेका थिए ।

—

पोखरा,११ पुस ।

घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
माछापुच्छ«े गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभाको समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले गर्नुभयो ।

माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो ।
कार्यक्रममा माछापुच्छ«े–१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले समाजले स्थापनाको छोटो समयमा गरेका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो ।

माछापुच्छ«े–३ का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्सालले रेशम नेपालीको उपचार सहयोग संकलन अभियानमा समाजले नेतृत्वदायी भूमिका खेल्दै ठूलो धनराशी जुटाउने मद्धत गरेको बताउनुभयो । समाजका अध्यक्ष तोयनाथ वैरागी लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै संस्थाको उद्धेश्य अनुसार सृजनशील काम गरेको बताउनुभयो । उहाँले समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेको बताउनुभयो ।

अध्यक्ष लम्सालले भन्नुभयो,“ समाजले बेलाबेलामा रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको छ । हामी आगामी दिनमा समाजलाई थप गतिशिल ढंगले अगाडि बढाउनु आवश्यक छ । घाचोक र माछापुच्छ«ेका विकासमा कसरी योगदान गर्न सकिन्छ भनेर लागिपर्ने छौँ ।” उहाँले जन्मभूमिको विकासका सन्दर्भमा बृहत् अन्तरक्रिया तथा स्वास्थ्य शिविर आयोजनाको कार्यक्रम अघि सार्नुभयो  ।

समाजका सल्लाहकार संयोजक मीनप्रसाद लम्सालले समाजका गतिविधिलाई थप सिर्जनशील र सक्रिय बनाउन सुझाव दिनुभयो । सृजना बहुउद्धेश्शीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विशेश्वर लम्सालले घाचोक तथा पोखरा जहाँरहेपनि गाउँ समाजको विकासमा सबैले सोच्न र ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले सबैले अपनत्व र गर्व गर्ने संस्थाका रुपमा समाजलाई अघि बढाइने बताउनुभयो । सचिव जगत गुरुङले घाचोक÷माछापुच्छ«े  र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने योजना सुनाउनुभयो ।

सहसचिव भानुभक्त पोखरेलले समाजका सदस्यहरुको पारिवारिक विवरण सहितको प्रोफाइल प्रकाशन गर्न लागिएको बताउनुभयो । समाजका कोषाध्यक्ष सरिता आचार्य लम्सालले गत आवको आयव्यव प्रस्तुत गर्दै समाजलाई आर्थिक रुपमा मजवुत बनाउने गरी कार्यक्रम ल्याइने जानकारी दिनुभयो  । साधारणसभाले सचिव जगत गुरुङको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष सरिता लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ ।

साधारणसभामा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ«े–३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं ५ का वडाध्यक्ष नारायण पौडेल, वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतम लगायतको उपस्थिति रहेको थियो । 

पोखरा, ११ पुस ।

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने भएको छ । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रममा कार्टुन क्रुजकी आस्माले प्रस्तुती दिने भएकी हुन् । आस्माले प्रस्तुती राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल टेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरु छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुत गर्नेछिन् ।

पुस १६ गते बेलुकाको न्यू ईयर ईभ स्पेसल कार्यक्रममा आस्मासँगै एक्स नेपथ्य, उज्जन शाक्य, डि–मर्चा, लेकाली, देउरालीलगायतका व्याण्डहरुको लाइभ प्रस्तुती रहनेछ । सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्य नेपालमा तीन दशकपछि गुञ्जिनेछ । एक्स नेपथ्यका गायक रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुती दिने गुरुङले बताए । जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सो दिन न्यू ईयर ईभमा भाइरल गायक उज्जन श्रेष्ठको व्याण्डले लाईभ प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने बताए ।

पोखरा कोमागाने पार्कमा हुने कार्यक्रम अन्तर्ग पुस १५ गते साँझ चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् ।

सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।

त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।

 

पोखरा, ११ पुस ।

पोखरामा २२ औं संस्करणकको माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणिय रहेको बताउनुभयो । पोखरेलीहरुको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उहाँले जनाउनुभयो । साथै प्रतियोगिताको निरन्तरताका लागि आगामी वर्षहरुमा पनि बैंकले साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

उद्घाटन समारोहमा आयोजक संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिता संयोजक नविन चालिसेले प्रतियोगिताका बारेमा प्रकास पार्नुभएको थियो । महासचिव भिष्मराज पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीदाताहरुप्रति आभार व्यक्त गर्नुभयो ।

यसैबिच प्रतियोगिताको उद्घाटन दिन मेन्स सिंगलतर्फ करन बहादुर थापाले शास्वत बज्राचार्यलाई, सन्दिप विकले प्रफुल्ल श्रेष्ठलाई, जेयुन किमले पेमा नोर्बुलाई, प्रितम परियारले उमिद शेर्पालाई, सुरेन्द्र विकले अन्जोअ थिङलाई, बिवेक मगरले देव आशिषलाई पराजित गरे । त्यसैगरि आशव सम्राट हाडाले सुमन थारुलाई, दर्शिल श्रेष्ठले निश्चल कायस्थलाई, उगेन शेर्पाले मनोज महर्जनलाई, प्रकाश गुरुङले सुमन त्रिपाठीलाई, सोमज श्रेष्ठले पासाङ शेर्पालाई पराजित गरे ।

४५ वर्ष माथिएको मेन्स सिंगलमा शरण गुरुङले बलराम सापकोटालाई, निरज थापाले नारायण पहारीलाई, भिष्मराज पौडेलले सुनिल श्रेष्ठलाई, सेजार गुरुङले विकास गुरुङलाई पराजित गरे । ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले केवी तामाङ र विरेन लामाको जोडीलाई पराजित गरे ।

५५ वर्ष माथिको एकलमा जितेन्द्र प्रधानले हेमचन्द्र गुरुङलाई, करिमुल्ला मुस्लिमले नवाङ लामालाई, जितेन्द्र खड्काले सुरेन्द्र माकाजुलाई पराजित गरे । ५५ वर्ष माथिकै डबल्सतर्फ अनु जोन र मनु त्रिपाठीको जोडीले प्रकास बस्नेत र मनोज नेपालको जोडीलाई तथा देव क्षेत्री र हिमाल शाहको जोडीले यज्ञबहादुर भण्डारी र अमृत गुरुङको जोडीमाथि जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

पोखरा, ११ पुस ।

हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा नसर्री देखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण भक्तराज रसाईलीले गरेका थिए ।

विद्यार्थीहरुको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालय बिचतको सहकार्य सुदृढ बनाउने उद्देश्यले अभिभावक अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशब शरण पौडेलले जानकारी दिए । ‘विद्यार्थीको क्षमता अभिवृद्धि गर्न अभिभावक, शिक्षक विद्यालयले गर्नु पर्ने दायित्वबोधका विषयमा केन्द्रित रहेर यो कार्यक्रम आयोजना गरिएको हो’ संस्थापक प्रिन्सिपल पौडेलले भने, ‘पक्कै पनि यो कार्यक्रममा बाट केहि न केहि उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा विद्यालय परिवार आशावादी छ ।’अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरुमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको विद्यालयले विश्वास लिएको छ ।

विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यावहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने अभिभावकले बताएका थिए । कार्यक्रम मार्फत आफू सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए । विद्यालयले गरेको यो अभिमुखिकरण कार्यक्रम मार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका थिए ।

समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यावहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिने अभिभावकले बताएका छन् । विद्यालयले समय समयमा शैक्षिक गुणस्त वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा सहजिकरण गर्दै भक्तराज रासाईलीले शिक्षा र संस्कारले विद्यार्थीलाई हरेक क्षेत्रमा पूर्ण बनाउने बताए । ‘असल संगत, सकारात्मक बातवरण तथा विद्यालय र अभिभावक बिच सहकार्य गर्न सकेमा विद्यार्थीलाई असल बनाउन सकिन्छ’ उनले भने, ‘यी बातवरण सिर्जनका गर्ने काम विद्यालय शिक्षक र अभिभावकले गर्नुपर्दछ ।’ कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो ।

पोखरा, ११ पुस ।

अन्नपूर्ण आमा समुह पोखरा महानगर पालिका वडा नं– ६ बैदामको अध्यक्षमा गोमा पगेनी चयन भएकी छन । संस्थाको विहीबार सम्पन्न १४औ अधिवेशन तथा २७औं साधारणसभाले पगेनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक नेत्रलाल भण्डारीले जानकारी दिए । संस्थाको प्रथम उपाध्यक्षमा चन्द्रकला घिमिरे पहारी चयन भएकी छन् ।

यस्तै द्वितीय उपाध्यक्ष गोमा भण्डारी, सचिवमा ऋषिमाया पहारी, कोषाध्यक्षमा उर्मिला ढकाल, स–सचिबमा कमला अधिकारी, कोषाध्यक्षमा गौमाता कुवँर चुनिएकी छन् । यस्तै सदस्यहरूमा भुमि जि.सी, तारा रेग्मी, पार्वती न्यौपाने, सिता ढकाल, सिता पौडेल, जानका पौडेल, निरा पौडेल, रमा शिवभक्ति, मिठु गिरी, मगली भुजेल, गायत्री भुजेल भट्टराइ, यसोदा लामिछाने, विमला कार्की कुवँर र शान्ति पौडेल चयन भएका छन् ।

निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचन अघि भएको संस्थाको अधिवेशनमा उद्‌घाटन गर्दै प्रमुख अतिथि एवम् पोखरा महानगर पालिका वडा नं – ६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले वडा नं– ६ मा रहेका आमा समुह मध्य अन्नपूर्ण आमा समुह अरु भन्दा पृथक रहेको बताए । संस्थाले समाजमा रहेका विकृति विसंगतिलाई न्यूनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको बताए । सामाजिक क्षेत्रमा भएका विकृति र विसंगतिका बारेमा न्यूनिकरण गर्ने कुरामा समुहको योगदान महत्वपूर्ण रहने छ ।

पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य दिपेन्द्र पहारीले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाब दिए । समाज भइरहेको महिला हिंसाका विरुद्ध पनि आवाज उठाउन्नँ पर्ने बताए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ढाकुर बरालले महिलाहरूलाई संविधानले दिएको अधिकारको बारेमा समाजमा रहेका महिला दिदीबहिनीहरूलाई ज्ञान हुन आवश्यक रहेको सुनाए । अव्यवस्थित पार्किङ र ध्वनि प्रदुषण लाई न्यूनिकरण गर्ने तर्फ स्थानीय सरकारलाई सुझाए ।

पर्यटन व्यवसायी तथा सल्लाहकार भिमसेन भुजेलले फेवा तालको मापदण्डको नाममा राज्यले पर्यटन व्यवसायीलाई आतङ्‌कित पारेको बताए । महिला सञ्जाल बैदामकी अध्यक्ष बविता मल्लले महिला दिदीबहिनीहरु लाई आर्थिक उपार्जन सग जोडिन आग्रह गदर्,ै उद्यमसिल बन्न जोड दिइन । अध्यक्ष रेनु लामिछाने आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सगै घरदैलो गरेको सुनाइन । अगामि दिनहरुमा पनि सदस्यहरुका आर्थिक स्तर सुर्धान गर्ने कार्यक्रम हरु ल्याउनु पर्ने बताइन ।

नवनिर्वाचित अध्यक्ष गोमा पगेनीले अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै स्थानीय निकाए सगँ समन्वय गरेर सिप मुलक तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरीन । सल्लाहकार तथा तथा पूर्व अध्यक्ष मिना ढकालले आमाहरुको विचार भावनाहरु आदान प्रदान गर्ने शसक्त माध्यम बन्दै, अग्रजहरुको राय सुझाब अनुसार अगाडि बढनु पर्ने सुझाब दिए ।

अध्यक्ष रेनु लामिछानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष गोमा पगेनी ले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब गोमा भण्डारी, ओटेपकी अध्यक्ष ममता न्यौपाने, टेवानका उपाध्यक्ष अनिता खडका, सल्लाहकार होमनाथ पहारी, सल्लाहकार लोकराज पहारी, सल्लाहकार तथा फेवा ढुङ्घा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरी र सल्लाहकार मित्रलाल पहारी लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।

कार्यक्रममा सचिब गोमा भन्डारी प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष पहारीले ऋीषीमाया पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरेका सहगोग दातालाई सम्मान गरिएको थियो ।

पोखरा, ११ पुस ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा न.९ सैतिखोलामा स्थापित श्री गौरी शकंर मनिलाल मा.विको ५४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता  तथा माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङको प्रमुख आतिथ्ययतामा उक्त समारोह सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले स्थापनाकाल देखि विद्यालय बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै सामुदायिक विद्यालयको स्थायित्वमा जोड दिँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनु भयो । गौरीशङ्कर मा.विमा खेलकुद मैदानको अभाव रहेको विद्यालयले पटक पटक पालिकालाई जानकारी दिएको बताउँदै खेल मैदान व्यवस्थापनका लागि पालिकाबाट आगामी दिनमा आवश्यक सहजीकरण गरिने थप उल्लेख गर्नुभयो ।

उपाध्यक्ष सीता अधिकारीले शिक्षाको महत्वलाई पालिकाले आत्मसात् गर्दै पालिका स्तरबाट गुणस्तरीय शिक्षाका लागि प्राथमिकता आधारमा आवश्यक कदमहरूलाई निरन्तरता दिँदै आएको  बताउनु भयो । शिक्षामा अमूल परिवर्तनका लागि, शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक व्यक्तित्व,  राजनितिकदल एवं शिक्षा प्रेमीहरू एक हुन आग्रह गर्नुभयो । आफू अध्ययन गरेको विद्यालय रहेको बताउँदै आफ्नो बाल्यकालको विद्यालय जीवनको पनि स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रक्ष बहादुर क्षेत्रीले प्र.अको प्रतिवेदनमा विद्यालयको आयव्यय विवरण,शैक्षिक सुधारका लागि विद्यालयद्वारा चालिएका कदमहरू र भावी योजना प्रस्तुत गर्नुभयो ।  उक्ल अवसरमा पछिल्लो समय कक्षा ८  देखि १० सम्म ३ वटा स्मार्ट बोर्ड जडान गरी प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिएको बताउँदै  अन्य कक्षामा पनि आगामी दिनमा निरन्तरता दिने लक्ष्य रहेको बताउनु भयो ।

वार्षिकोत्सव समारोहमा सामाजिक विकास समिति संयोजक  एवं वडा न.९ का अध्यक्ष श्री हरि बहादुर क्षेत्री, वडा न।५का अध्यक्ष नारायण प्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पस शिक्षा सं काय अंगेजी शाखा प्रमुख युवराज दवाडी,  पूर्व वि।व्य।स अध्यक्ष  गौरी प्रसाद दाहाल , विद्यालयका संस्थापक प्रतिनिधि, मनीलाल प्रतिष्ठान अध्यक्ष एवं वडा न। ९ वडा सदस्य रामहरि गुरुङ , अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतम, अक्षयकोषदाता सूर्य बहादुर योनजन ,पूर्व विद्यार्थी प्रज्वलन क्षेत्री, लगायतले धारण राखेका थिए  ।

वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहत्तर विकासका लागि योगदान पु¥याउने शिक्षक कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोषदाता,जग्गादाता लगायत विभिन्न अक्षयकोषदाताबाट स्थापना गरिएका सम्बन्धित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, सर्वोत्कृष्ट नतिजा पुरस्कार लगायतका,दिर्घ सेवा एवं विभिन्न विधाका सम्मान तथा शैक्षिक सँगै अतिरिक्त क्रियाकलाप अन्तर्गतका पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका अभिभावक,शिक्षक, विद्यार्थी,विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, पूर्व विद्यार्थी, अक्षयकोषदाता, जग्गादाता लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो  ।

विद्यार्थी निलम गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक मीनराज पौडेलले गर्नुभएको थियो ।

पोखरा ।
स्थानीय उत्पादनसँगै आन्तरिक पर्यटन प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा -२१ मा सुन्तला महोत्सव हुने भएको छ।

वडा स्तरीय कृषि सञ्जालको समन्वय तथा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा आगामी बिहीबार १० गते पोखरा -२१ कृस्ती हर्राबोट खेल मैदानमा सुन्तला महोत्सवको आयोजना गरिएको हो।

पोखरा २१ का वडा अध्यक्ष दीपक सुवेदीले महोत्सवमा सहभागी भई आफ्ना उत्पादन बिक्री वितरण गर्न सम्पूर्ण वडावासी कृषकलाई आग्रह गर्नुभयो। उहाँले कृषकहरूलाई प्रोत्साहन गर्न र किसानले उत्पादन गरेका ताजा सुन्तलाको स्वाद लिन समग्र पोखरावासीलाई आग्रह गर्नुभयो।

यस्तै, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले भूमिका खेल्ने बताउनुभयो। उहाँले महोत्सवमा सुन्तला उत्पादनका विविध पक्ष, यसका समस्या र उपायबारे छलफल हुने भन्दै महोत्सवमा सुन्तला ग्रेडिङ गर्ने, सुन्तला खाने प्रतियोगिता, बढी सुन्तला उत्पादन गर्ने कृषकलाई सम्मान गरिनुका साथै मेलाको अवसरमा ए ग्रेडको सुन्तला रू १०० मै खुद्रा बिक्री गरिने कडरियाले जानकारी दिनुभयो।

पोखराको पहिचान बोकेको सुन्तलालाई हामी सबैले प्रवर्द्धन गर्नुपर्ने भन्दै महोत्सवमा धेरै भन्दा धेरैको उपस्थिति रहने विश्वास व्यक्त गर्नुभयो।

पोखरा, ०५ पुस ।

पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा जनप्रकाश मावि र डायमण्ड सेकेण्डरी स्कुल फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न पहिलो खेलमा हिमालयनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको होभने दोश्रो खेलमा डायमण्डले प्रतिभालाई हराउदै फाइनलमा प्रवेश गरेको हो ।

शनिवार सम्पन्न जनप्रकाश र हिमालयन बिचको पहिलो सेमिफाइनलमा जनप्रकाशले टस जितेर फिल्डिङ रोज्दा हिमालयनले २० ओभर खेल्दै १० विकेटमा ९४ रन बनाउन सफल भयो । हिमालयनका आयुष पनेरुले २४ बलमा १६ रन, शिवम श्रेष्ठले १७ बलमा १२ रन र आयुष पौडेलले २४ बलमा १० रन बनाए ।

यसैगरी जनप्रकाशका बलर हिमाल आचार्यले ४ ओभरमा १५ रन दिदै ३ विकेट लिन सफल भए । त्यसैगरी निश्चल आचार्य, समुन्द्र क्षेत्री र रोहित किसानले २÷२ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको जनप्रकाशले १६.१ ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ९८ रन बनाउदै लक्ष्य भेटाउन सफल भए । जनप्रकाशका ब्याटर कमल थापाले ३२ बलमा २० रन, हिमाल आचार्यले १० बलमा १४ रन बनाउन सफल भए ।

हिमालयनका बलर आयुष पनेरुले ४ ओभरमा २१ रन दिएर ३ विकेट र दीक्षान्त शाहीले ३ ओभरमा १९ रन दिदै २ विकेट लिन सफल भए । उक्त खेलको प्लेयर अफ द म्याच जनप्रकाशका हिमाल आचार्य घोषित भए ।

यसैगरी प्रतिभा सेकेण्डरी र डायमण्ड बीच भएको दोश्रो सेमीफाइनलमा डायमण्डले टस जित्दै बलिङ गर्ने निर्णय लिए । प्रतिभाले १३.१ ओभरमा १० विकेटको नोक्सानीमा ३८ रन बनाए । डायमण्डका बलर शिशिरले ३ ओभरमा १ मेडेन राख्दै ६ रन दिएर ३ विकेट लिएभने सुशान्त तिवारीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए अविरलले ३.१ ओभरमा २ मेडेन राख्दै रन दिएर २ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको डायमण्डले ४.३ ओभरमा २ विकेटको नोक्सानीमा ३९ रन बनाउदै लक्ष्य भेटाउन सफल भए ।

डायमण्डका सुशान्त तिवारीले १७ बल खेल्दै २९ रन बनाउन सफल भए । प्रतिभाका बलर साउदिनले १ विकेट लिन सफल भए । डायमण्डले उक्त खेल ८ विकेटले जित्न सफल भई फाइनलको यात्रा तय गर्यो । उक्त खेलको प्लेयर अफ दी म्याच सुशान्त तिवारी घोषित भए । फाइनल खेल आइतबार ११ बजे हुने छ ।

 

पोखरा, ०५ पुस ।

पोखरा २७ को श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम परमार्थ नगरका वालवालिकाहरुका लागि आश्रय नेपालले न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ ।

आश्रममा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै महिला पर्यटन विकास समिति कास्कीकी अध्यक्ष ममता न्यौपानेले आश्रय अभियान नेपाललाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेकी थिइन् ।

आश्रय अभियान नेपालकी अध्यक्ष गीता लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष धु्रववावु भटट्राई र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

अभियानका सचिव कृष्णप्रसाद ढुङ्गानाको पहलमा आश्रममा आश्रित १५ जना बालबालिकाहरुलाई न्यानो पोशाक र खाद्यान्न प्रदान गरेकामा आभार व्यक्त गर्दै आश्रमका १०८ स्वामी विष्णु वशिष्ठले आश्रीत बालबालिकालाई गरेको सहयोगले उनीहरुको लक्ष्य र उद्धेश्य हासिल गर्न सघाउ पुर्याउने अपेक्षा गरेका थिए । सचिव कृष्णप्रसाद ढुङ्गानाले विभिन्न समयमा यस्ता सहयोगका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कोषाध्यक्ष रक्षा भण्डारीले स्वागत गरेकी थिइन् ।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।