
पोखरा २६ मंसिर ।
पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
यसवर्षको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालय गरेर १ सय ४० भन्दा बढि विद्यालयको सहभागिता रहने जनाईएको छ । जति धेरै विद्यालय सहभागी हुन्छ त्यति नै राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले बढिभन्दा बढि विद्यालय सहभागी गराउने आयोजकको तयारी छ । ग्रासरुट देखि नै खेलकुद विकास गर्न र खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताले सहयोग पुर्याउने अध्यक्ष गोदारको विश्वास छ ।
प्रतियोगितामा खेल सञ्चालन तथा व्यवस्थापन गर्नका लागि प्रशिक्षक समेत तोकिएको छ । जसअनुसार भलिबलका लागि रामबहादुर लामिछाने, कबड्डीका लागि सागर भण्डारी, एथ्लेटिक्सका लागि गोप बहादुर अधिकारी, उसुका लागि दिलिप लामा, तेक्वान्दोका लागि निरज बहादुर नेपाली, कराँतेको लागि धन लामा प्रशिक्षकका रुपमा छन् ।
प्रतियोगिताको सन्दर्भमा शुक्रबार व्यवस्थापन तथा निर्देशन समितिसँग पोखरा महानगर खेलकुद विकास समितिले छलफल गरेको छ । छलफलका सहभागिले प्रतियोगितालाई प्रभावकारी बनाउनका लागि मिहिन ढङ्गले तयारी गर्नुपर्ने सुझाएका छन् ।
प्रतियोगितामा ग्रासरुट लेभलका खेलाडीका सहभागिता रहने भएको कारणले गर्दा उनीहरूलाई अनुशासनदेखि नियम लगायतका विषयमा समेत जानकारी दिएर निखारता थप्नुपर्नेमा जोड दिए । कार्यक्रममा कमजोरी हुन नदिनको लागि व्यवस्थापनमा ध्यान दिनुपर्ने र फर्जी विद्यार्थी समावेश गरिएको भेटिएमा कारवाही समेत गर्नुपर्ने सुझाब दिएका थिए । प्रतियोगितामा सामुदायिक विद्यालयको सहभागिता बढाउन समेत पहल गरिने अध्यक्ष गोदारको भनाइ छ ।
पोखरा, २६ मंसिर ।
१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं पोखरा महोत्सव कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवमा विभिन्न उपसमितिहरु गठन भइसकेको र उक्त उपसमितिहरु मध्ये कसैको महोत्सव अगाडि र कसैको महोत्सवको बेलामा काम हुने भएकाले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि सम्पूर्ण उपसमितिहरु तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै महोत्सवका अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेलले पोखरा महोत्सव ब्राण्ड बनिसकेकाले यसलाई सफल बनाउनका लागि सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए । पोखरा महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले सामाजिक काम गर्दै आएको हुँदा यसलाई अझै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने गरी महोत्सवमा काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । झांकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सूक बहादुर गुरुङले महोत्सव पोखराकै मुख्य महोत्सव भएकाले दर्शकहरुको चापलाई मध्येनजर गरी त्यसको तयारीमा लाग्नुपर्नेमा जोड दिए । अनुगमन उपसमिति संयोजक लालकाजी गुरुङले महोत्सवमा वर्षेनी दर्शकहरुको वढ्दो आकर्षण रहेकाले दर्शकहरुको माग अनुसारनै महोत्सवलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए ।
कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले कलाकार ब्यवस्थापनको काम अगाडी वढिसकेको बताउदै अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि दर्शकको आकर्षणकै केन्द्रमा रहेको कलाकारहरु महोत्सवमा ल्याउने बताए । सचिवालय उप समिति संयोजक शान्त बहादुर थापाले पोखरा महोत्सव आफैमा ब्राण्ड भएकाले यसलाई थप रौनकता दिन आवश्यक रहेको बताए । प्रायोजक व्यवस्गापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले महोत्सवको प्रायोजकहरुको बारेमा टुङ्गो लागिसकेको र छिट्टैनै सम्झौताको कामलाई अगाडी बढाउने बताए । प्रचार प्रसार ब्यवस्थापन उपसमिति संयोजक दिनेश सुनारले महोत्सवको प्रचारप्रसारमा कुनैपनि कमि आउन नदिने गरी आफ्नो तर्फबाट काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले स्टल बुकिङ खुल्ला छिट्टै नै गर्ने गरी तयारी अगाडी बढेको बताए ।
स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्कीले अघिल्लो संस्करणको महोत्सवहरुमा जस्तै यसपटक पनि आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताए । ब्यानर ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले ब्यानर संकलनको काम भइरहेको बताए । त्यस्तै स्टेज ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठले यसपटकको महोत्सवमा स्टेज अघिल्ला महोत्सव भन्दा फरक र पृथक हुने बताए । टिकट काउण्टर ब्यवस्थापन उपसमिति संयोजक शिव थापाले यसपटकको महोत्सवमा लाइन लागेरका टिकट काट्ने भन्दापनि आधुनिक प्रविधीको उपयोगलाई जोड दिने बताए ।
खानेपाली तथा सरसफाई ब्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की(बिजय)ले अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा समेत महोत्सवमा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । अतिथि ब्यवस्थापन उपसमिति संयोजक शान्ति सुवेदीले अथितीको स्वागत सत्कारका लागि कुनैपनि कमि कमजोरी हुन नदिने बताइन ।
सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सवको सुरक्षालाई मध्यनजर गरि महोत्सव स्थलमा अत्याधुनिक सिसिटीभी क्यामेरा जडान र सुरक्षाकर्मी परिचालन गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए । अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्काले महोत्सवलाई उत्कृष्ट बनाउन आफु बिगतमा पनि लागि परेको र यसपटक पनि डटेर लाग्ने बताए । पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापाले पार्किङ ब्यवस्थापनमा कुनैपनि कमजोरि नहुने बताए । पृष्ठपोषण ब्यवस्थापन उपसमिति संयोजक आनन्द थापाले १४ औं संस्करणको पोखरा महोत्सवलाई अघिल्लो महोत्सवहरु भन्दा पृथक बनाउने सोंचका साथ आफुहरुले काम गरेको बताउदै टिकट, सिजनल पास लगायतका क्षेत्रमा यसपटक अनलाईन माध्यामबाट आफुहरुले काम गर्ने बताए ।
ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगरले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ट्राफिक ब्यवस्थापनलाई सहज बनाउने गरी काम गर्ने तयारी रहेको बताए । स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरुले महोत्सव अवधिभर स्वास्थ्य जाँचको ब्यवस्थालाई बिगतमा जस्तै निरन्तरता दिने बताए । खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतमले महोत्सव अवधिभर आफुले पाएको जिम्मेवारी पालना गर्ने बताए । मुलद्धार उप समिति संयोजक धनराज गुरुङले अघिल्लो संस्करण देखि आफुले मुलद्धारको काम सम्हालेको र यसपटक पनि उक्त काममै निरन्तरता दिन पाउदा खुसी रहेको बताए । विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगानाले आफु युनाईटटेड क्लब संग जोडिन पाउँदा खुसी भएको बताउदै आफुले पाएको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा वोल्दै महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव सफल बनाउनमा विभिन्न उपसमितिहरुको उल्लेख्य भुमिका रहने भएकाले सम्पूर्णले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । पोखरा महोत्सव सम्पूर्णको एकतामा सफल हुँदै आएको आफुलाई स्मरण रहेको बताउदै बिगतका महोत्सवलाई जस्तै १४ औं संस्करणको पोखरा महोत्सवलाई समेत भब्य र सभ्य बनाउन सम्पूर्णको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको थापाको भनाइ रहेको थियो ।
विषम परिस्थितिका कारण हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका कोषाध्यक्ष एवं महोत्सवका आर्थिक व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीले वताए । ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउनु, आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउनु र विभिन्न आन्दोलन र त्यसकारण भएका क्षतिले खस्कीएको अवस्थामा रहेको व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको लक्ष्य हो ।’’–संयोजक बस्ताकोटीले भने ।
अहिलेको विषम अवस्थाका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको बस्ताकोटीले वताए । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन ।
महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा रहनेछन ।
महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट/सुगम संगितका कार्यक्रम हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्ड तथा कलाकारहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।
पोखरा, २६ मंसिर ।
रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ ।
अन्र्तक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवका सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने उहाँहरुले प्रतिवद्धजा जनाउनुभयो ।
अन्र्तक्रियामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं संस्करण सम्म आइपुग्दा महोत्सवमा देखिएको सुरक्षा चुनौतीबारे जिज्ञासा राख्नुभयो । महोत्सवमा विगतको सुरक्षा व्यवस्थापन राम्रै देखिएको उल्लेख गर्दै यसपटकपनि यसको व्यवस्थापनमा प्रशासनको तर्फबाट सहयोग गरिने बताउनुभयो । तर विगतको भन्दा यसपटकको परिस्थिती केहि फरक भएको बताउँदै उहाँले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकि नराखिने जनाउनुभयो ।
अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतले महोत्सवमा सुरक्षा प्रदान गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
यसअघि सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गरिने रणनीतिका बारेमा प्रकास पार्नुभयो । लाखौं अवलोकनकर्ता आउने सडक महोत्सवमा सुरक्षा चुनौती निकै महत्वपूर्ण भएको उहाँले प्रष्ट्याउनुभयो । ट्राफिक व्यवस्थापनबारे जानकारी दिंदै यसका लागि महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोगबारे जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले महोत्सव सुरक्षामा आफु यसअघि पनि खटेको अनुभव सुनाउँदै फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भिडभाडमा हुन सक्ने चोरीका घटनामा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी राज लामिछानेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा महोत्सवको प्रचार प्रसारमा सहयोग गर्ने जनाउनुभयो । रेवान पोखराका पुर्वाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा भएका सुरक्षा व्यवस्थापनका उपायबारे अवगत गराउँदै सुरक्षा निकायसंगको सहकार्यमा सुरक्षा रणनीति तय गरिने स्पष्ट पार्नुभयो ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनैपनि अप्रिय घटना घटन नदिनसबै खाले सुरक्षा निकायसंग समन्वय गरिने बताउनुभयो । बैठकमा महत्वपूर्ण विषयहरु उठेको बताउँदै उक्त विषयहरुलाई गंभिरतापुर्वक लिएर महोत्सवमा लागू गर्ने पौडेलको भनाई थियो । कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले स्वागत मन्तव्य राख्दै महोत्सवका आकर्षणबारे जानकारी दिनुभएको थियो । महासचिव बीरेन्द्र शेरचनले सञ्चालन गर्नुभएको कार्यक्रममा महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले अन्र्तक्रियामा उठेका जिज्ञासाबारे प्रष्ट पार्नुभएको थियो ।
पोखरा, २५ मंसिर ।
पोखरा क्रिकेट मैदानमा आजदेखि हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु १६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा प्रतिभा सेकेण्डरी स्कुलले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाउन सफल भयो । प्रतिभा र हार्वड एकेडेमी विचको खेलमा प्रतिभाले टस जितेर ब्याटिङ लिएको थियो ।
उक्त खेलमा प्रतिभाका सावुदिन अनसारीले २९ बलमा ४६ रन बनाउन सफल भएभने दिक्षान्त अर्यालले ४६ बलमा ४९ रन बनाउदै नट आउन हुन सफल भए । हार्वडका डेनस शाहीले ४ ओभरमा २६ रन संगै १ विकेट लिए । हार्वडले १७.३ ओभरमा १० विकेटको नोक्सानीमा ६६ रन बनाउन सफल भए । प्रतिभाका रन्जित शर्माले ४ ओभरमा १४ रन लिएर ३ बिकेट लिन सफल भएभने रेमित शर्माले ४ ओभरमा १ मेडेन राख्दै ७ रनका साथै २ विकेट लिन सफल भए । प्रतिभाले हार्वडलाई ८३ रनले पराजित गर्न सफल भयो । खेलमा प्लेयर अफ दी म्याच प्रतिभाका दिक्षान्त अर्याल हुन सफल भए ।
रत्नज्योती सेकेण्डरी स्कुल र कुमुदिनी होम्स बीचमा भएको दोश्रो खेलमा रत्नज्योतीले टस जितेर फिल्डिङ लिएका थिए । कुमुदिनी होम्सले २० ओभरमा ७ विकेट खर्च गर्दै १ सय ४ रन बनाउन सफल भयो । जसमा सन्जित कुँवरले ३० बलमा २४ रन ल्याउदै नट आउट हुन सफल भए । त्यसैगरी रबिन पुनले २९ बलमा २१ रन बनाउन सफल भए ।
बलिङ तर्फ रत्नज्योतिका प्रमिश गुरुङले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिन सफल भए । ब्याटिङ तर्फ अरुण घिमिरेले २५ बलमा २६ रन ल्याउन सफल भए । पवन भट्टराइले ३३ बलमा १८ रन बनाएका थिएभने कुमुदिनी होम्सको बलिङ तर्फ सिद्धार्थ रावतले ४ ओभरमा १७ रन लिदै २ विकेट लिन सफल भएका थिए । रत्न ज्योतीले १५.४ ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५ रन बनाउन सफल भएका थिए । रत्नज्योती सेकेण्डरी स्कुल ४ विकेटले बिजयी भएका थिएभने रत्न ज्योतीका प्रमेश गुरुङ प्लेयर अफ दी म्याच हुन सफल भएका थिए ।
यसैगरी प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मिलन गुरुङले क्रिकेटको बिकासका लागि समितिको तर्फबाट सहयोग गर्ने बताउदै विद्यालय स्तरमा आयोजना गर्ने प्रतियोगिताले खेलाडी बन्ने सपनालाई सकारात्मता प्रदान गर्ने बताए ।
कास्की जिल्ला क्रिकेट संघका पूर्व कप्तान रविन्सन प्रजूले हिमालय क्रिकेट एकेडेमीले क्रिकेट लाई लक्षित गरी एकेडेमी सञ्चालनको पूर्व सन्ध्यामा विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरेर खेलाडीलाई हौसला प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । सो अवसरमा कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन चन्द, एन्फा गण्डकी प्रदेशका सदस्य, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगिताको दोश्रो दिन पहिलो खेल टप्स उच्च मावि र जनप्रकाश सेकेण्डरी स्कुल र दोश्रो खेल ग्लोबल कलेजियट र त्रिवेणी स्कुल बीच हुने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए ।
पोखरा, २५ मंसिर ।
पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो ।
बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।
महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव सिकाईको थलो बनेको छ ।
‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रुपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चुया काटेर डोको वुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो ।
‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’
घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढु·ा सावित भएको छ ।
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।
पोखरा, २५ मंसिर ।
प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशबाट सिफारिस भइ स्थानीय तहमा कार्यरत प्रविधिक सेवा इन्जिनियरिङग तर्फका कर्मचारीहरुको लागी सेवा प्रवेश तालिम बिहिबार सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंसिर २१ गतेबाट संचालित सेवा प्रवेश तालीमको समापन समारोह प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षता एवम प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको प्रमुख आथित्यतामा सामाजिक विकास, युवा तथा खेल्कुद मन्त्रालय शिक्षा विकास महाशाखाको सभाहलमा सम्पन्न भएको हो ।
समापन समारोहमा बोल्दै प्रतिष्ठानका कार्यकारी निर्देशक तिवारी प्रदेश निजामती सेवाको शान ,सेवा प्रवाहमा कुशलता एव पार्दर्शिता कायम गर्दै स्थानीय पूर्वधार बिकास निर्माणमा यस्ता तालिम सहयोगी बन्ने कुरा बताएका थिए ।
सेवा प्रवेश तालिमका संयोजक, व्यवस्थापक एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले यो तालिम शुद्ध प्राविधिक कर्मचारी सब(इन्जिनियर, खा।प। स। टे र असिष्टेन्ट सब(इन्जिनियरहरुको लागि रहेको र प्राविधिक विषयबस्तुसंग सम्बन्धित रहि अभ्यासमूलक र फिल्ड बेसमा आधारित भई स्थानीय तहको बिकास निर्माण कार्यमा देखिएका समस्यामा केन्द्रित हुदै विज्ञहरु मार्फत अभ्यासमा आधारित सहजिकरण गरेको बताए । सो तालिममा २१ जना सहभागी रहेका थिए ।
यस तालिमले हाम्रो जीवनमा प्राविधिक रुपमा दक्ष बनाउनुका साथै दिर्घकालीन स्थानीय पूर्वधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तालिमका सहभागी सन्तुलन नेपालीले जानकारी दिए । लागत अनुमान, दररेट बिश्लेषण, भ्(द्यष्ममष्लन, जस्ता संवेदनशिल बिषयहरुमा प्रत्यक्ष अभ्यास मार्फत र दिर्घकालीन स्थानीय पूर्वधारमा वातावरणीय मुल्याङ्कन, फोहोरमैला व्यवस्थापन, स्वच्छ खानेपानी, फिल्डमा निर्माण सामाग्रीको छनोट र गुणस्तर कायम जस्ता विषयमा प्रत्यक्षरुपमा सिक्न पाउँदा खुशी लाग्नुका साथै सोचे भन्दा धेरै नै सिप सहित ज्ञान प्राप्त भएको सहभागीको तर्फबाट दिपक खनालले अनुभव सेयर गरेका थिए ।
यसै गरि प्रतिष्ठानका निर्देशक एवम समापन सत्रका अध्यक्ष लक्ष्मण तिमिल्सिनाले प्राविधिक कर्मचारीहरुको लागि प्राविधिक विषयवस्तुमै आधारित भएर प्रतिष्ठानले पहिलो पटक सहायकस्तरको लागि तालिम सञ्चालन गरेको र यस तालिमले स्थानीय तहमा आउने प्राविधिक समस्यालाई समाधान गर्न सहयोग पुग्ने भन्दै सहभागीहरुलाई बदाई दिएका थिए भने सो कार्यक्रमको सञ्चालन संयोजक एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर पौडेलले गरेका थिए ।
मिति २०८२ मंसिर १४ देखि १९ गते सम्म प्रशासन तर्फ ७२ जना र मिति २०८२ मंसिर २१ देखि २५ गते सम्म प्राविधिक तर्फ २१ जना गरी कुल ९३ जना सेवा प्रवेश तालिमबाट दिक्षित भएको प्रतिष्ठानका लेखा अधिकृत प्रशान्त सुवेदीले जानकारी दिए ।
पोखरा, २५ मंसिर ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् ।
सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् ।
ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चीनका जियालियाङ गुओले भारतका अर्श कठुरिया लाई ६–४, ६–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् भने कोरियाका युल हो जुङले नेपाली खेलाडी प्रणव मानन्धरलाई ६–२, ७–६(४) ले पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाउन सफल रहे ।
यस्तै श्रीलंकाका गानुका फर्नान्डोले नेपालका करन बहादुर थापा लाई ६–२, ६–२ ले सहजै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका छन् ।
‘ब्वाइज’ डबल्स सेमिफाइनलमा भारतका प्रतीक शोरण र अनुज अभिजित तसिलदारको जोडीले कोरियाका क्युंगबिन अन र भारतका दक्ष दीपक पाटीलको जोडीलाई ६–३, ६–४ ले हराउँदै फाइनलमा प्रवेश गरेका छन् भने कोरियाली जोडी ह्योजिन हा र युल हो जुङको जोडीले चीनका जियालियाङ गुओ र जुनलिन सुको जोडीलाई टाइव्रेक खेलमा ६–०, ३–६, (१०–७) ले हराउँदै उपाधि भिडन्त पक्का गरेका छन् ।
यता ‘गल्र्स’ सिंगल्स क्वार्टरफाइनलमा खेलमा नेपाली सिभाली गुरूङले पोखराको टेनिस कोर्टमा आफ्नो लयलाई कायम राख्दै सेमीफाइनलको यात्रा तय गरेकी छन् । उनले भारतकी जान्हवी ताम्मिनीडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै सशक्त प्रदर्शनका साथ अन्तिम चारमा स्थान बनाएकी हुन् ।
त्यस्तै भारतकी कार्तिका पद्मकुमारले ध्रुती गुन्डुलाई ६–२, ६–१ ले हराइन् भने भारतकी शतक्शिका सहायाकले नेपालकी स्वस्तिका बिष्ट लाई १–६, ७–५, ६–३ ले कडा प्रत्युत्तरसहित उल्टो नतिजा निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिन् । ताइपेईकी के–चिये सूले नेपालकी सुनिरा थापालाई ६–०, ६–१ ले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाइन् ।
यता गल्र्स डबल्स सेमीफाइनलमा नेपालकी शिभाली गुरुङ र ताइपेइकी के–चिये सूको जोडी क्यानडाकी नोरा चौधरी र भारतकी जान्हवी ताम्मिनीडी लाई ६–२, ६–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्दा भारतकी तेजस्वी मानेनी र न्यूजिल्याण्डकी बोइदेही उकिलको जोडीले नेपालकी स्वस्तिका बिष्ट र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–४, ५–७, १०–५ ले हराउँदै उपाधि भिडन्त तय गरेका छन् ।
मंसिर २७ गतेसम्म दुई साता लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना खेलाडी सहभागी छन् ।
नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल र हङकङका खेलाडीहरूको सहभागिता रहेको छ ।
१३ देखि १८ वर्ष उमेर समूहका खेलाडीबीच हुने प्रतियोगितामा सिंगल्स विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वार्टरफाइनलिस्टले ५ र प्रि–क्वार्टरफाइनलिस्टले २ अंक प्राप्त गर्नेछन् । त्यसैगरी डबल्सतर्फ विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६ र क्वार्टरफाइनलिस्टले ३ अंक प्राप्त गर्ने व्यवस्था छ ।
ब्वाइज र गल्र्स सिंगल्स तथा डबल्स गरी चार इभेन्टमा सञ्चालन भइरहेको प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।





