२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

पोखरा, १४ मंसिर ।

फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो ।

राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा स्थापना गरिएको राइज फिटनेसको शाखा विस्तार गरि शान्तिनगर चोकमा गरिएको उनले बताए ।

राइज फिटनेसका तीनै शाखामा नयाँ प्रविधि–मैत्री फिटनेस मेसिनहरु जडान गरिएको भनाई उनको छ । जीममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइन्छ । दुई जना दक्ष ट्रेनरमार्फत दैनिक तालीम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए।

फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन राइज फिटनेसले मासिक रु ३,००० र त्रैमासिक रु ७,००० को शुल्क निर्धारण गरेको छ । ग्राहकलाई थप प्रोत्साहित गर्न भर्ना शुल्क समेत नलाग्ने व्यवस्था गरिएको छ । राइज फिटनेसका तीनै शाखामा गरी ५÷५ जना कर्मचारी खटाइएका छन्। संचालक भण्डारीका अनुसार नयाँ शाखासहित पोखरामा राइज फिटनेसमा ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

उनका अनुसार शान्तिनगर चोकको नयाँ शाखा मात्र २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। व्यवसाय विस्तारसँगै आम्दानीसमेत सन्तोषजनक रहेको भण्डारीको भनाइ छ।

पहिले जीमप्रति ‘त्रास’ वा ‘भय’ भएको धारणा रहे पनि अहिले फिटनेस, स्वास्थ्य, शरीर नियन्त्रण र खेलकुद करिअर निर्माणका लागि जीम पस्ने संस्कार विकसित भइरहेको भण्डारी बताउँछन्। राइज फिटनेसमा १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यहरू नियमित रूपमा आउने गरेका छन्।

“हामीले फिटनेसलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा अघि बढाएका छौँ। खेलकुदमा व्यावसायिकता ल्याउन पनि फिटनेस अत्यावश्यक भएकाले युवा मात्र नभई सबै उमेर समूहलाई जोड्ने प्रयास गरेका छौँ,” भण्डारीले भने।

भण्डारीका अनुसार फिटनेस उद्योगमा प्रतिस्पर्धा बढ्दै गए पनि ग्राहकको विश्वासलाई मुख्य आधार मान्दै राइज फिटनेसले समयअनुसार सुविधा, मेसिन, तालीम विधि र व्यवस्थापनमा निरन्तर परिवर्तन गर्दै आएको छ।

“हामीले पहिलो शाखाबाट सुरु गरेको यात्रालाई विस्तार गर्दै पोखराका विभिन्न क्षेत्रमा सेवा पुर्याइरहेका छौँ। भविष्यमा अझ आधुनिक सेवा थप्ने योजना छ,” भण्डारीको भनाइ छ ।

पोखरा, १४ मंसिर ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।

भोली (सोमबार) बाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने ्कास्की जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिएका छन् । उनले भनेका छन्–“पोखराले विभिन्न १६ देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी करिव २ सय जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।”

प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरूङले बताए । उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं ।”

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणब मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र बरियताका तथा गल्र्सतर्फ सुनिता थापा (१२८४), शिवाली गुरुङ (१३६७), स्वस्तिका बिस्ट (३२९९) वरियताका नेपाली खेलाडीहरुको सहभागिता रहेको छ । त्यस्तै वाइल्डकार्ड मार्फत दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको समेत सहभागिता रहनेछ ।

त्यस्तै प्रतियोगितामा नं.१ ताइपेइका वल्र्ड र्याकिङ टिङ–हो याङ (१०७७) र नेपाल नं १–सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ ।

टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । उनले आगामी वर्षबाट वल्र्ड टेनिसले नियममा केही सुधार गर्दै अघि बढेको बताउँदै कोर्टको संख्या नबढ्दा खेलाडीको संख्यामा कमि आउने जनाए । नेपाल टेनिसका सचिब समेत रहेका उनले भने–अब प्रतियोगिता नयाँ फर्मयाट जाँदै छ । अब खेलाडीहरुको सख्या बढाउन पूर्वाधार समेत बढाउनु पर्छ । यसका लागि राज्यको ध्यान जान आवश्यक छ ।”

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाई थियो । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”

सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले पोखरालाई चिनाउने यस प्रकारका प्रतियोगिताहरु सफल बनाउन सबैको सहकार्य आवश्यक रहने औंल्याए ।

 

पोखरा, १४ मंसिर ।

कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ ।विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको हो ।

एन प्याव्सन कास्कीमा आबद्ध यस विद्यालयले हरेक वर्ष विद्यार्थीका क्षमता पहिचान गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएको छ ।

आइतबार भएको स्पोर्ट मिटमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू पोखरा रङ्गशाला र कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको प्रतियोगिता विद्यालयमा आयोजना गरिएको एन प्याब्सन कास्कीका उपाध्यक्ष समेत रहेका विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङले जानकारी दिए ।

उनका अनुसार स्पोर्ट मिट कार्यक्रममा एथलेटिक्स सम्पूर्ण विधाका खेलहरू खेलाइएको थियो । कार्यक्रममा विद्यालयले मार्च पास प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

‘हरेक वर्ष हामीले विद्यालयका क्षमता प्रस्फुटन गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएका छौ’ विद्यालयका संस्थापक प्रिन्सिपल तथा एन प्याव्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले भने,‘विद्यालयले गरेका यस्ता खालका कार्यक्रमबाट विद्यार्थीहरूले पढाइका लवा अन्य क्षेत्रमा पनि उत्कृष्टता हासिल गरेका छन् ।’ कक्षा कोठा भन्दा बाहिरको सिकाइबाट जीवनलाई सफल र सबल बनाउन सकिन्छ भन्ने उदाहरण यस्ता खालका कार्यक्रमले दिएको उनले सुनाए।

कार्यक्रमको उद्घाटन गर्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीका प्रतिभा पहिचान गर्न यो कार्यक्रम उत्कृष्ट रहेको बताए । ‘एन प्याब्सन कास्कीले पनि हरेक वर्ष खेलकुद महोत्सव र वाल प्रतिभा पहिचान कार्यक्रम गर्दै आएको छ जुन कार्यक्रममा यस विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ’ अध्यक्ष अधिकारीले भने, ‘विद्यालयमा हुने पढाइका साथ साथै यस्तै खालका अतिरिक्त क्रियाकलापलेहरुले पनि कास्कीमा स्थापित विद्यालयको रूपमा चिनाएको छ ।’

विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सरस्वती श्रेष्ठले गरेकी थिइन् ।

पोखरा, १४ मंसिर ।

ठकुरी युवा परिवार कास्कीद्वारा आयोजना गरिएको ‘अवचेतन मनको शक्ति र नेतृत्व विकास’ विषयक विशेष प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ ।

युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक प्रभाव पारेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा ठकुरी समाज महासंघ, नेपालका अध्यक्ष खिम बहादुर शाही लक्ष्मणले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवा पुस्ताले साझा लक्ष्यसहित अघि बढ्न सके समाज रूपान्तरणको गति अझ तीव्र हुन्छ ।’ उहाँले आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरतामा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक सामाजिक मनोविज्ञ डा. दलिप कुमार मल्लले अवचेतन मनको शक्ति, सकारात्मक सोच, आत्मा अनुशासन र नेतृत्व क्षमताको गहिरो प्रभावबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो ।

५० जना भन्दा बढी सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा हालसम्म ६९ वटा यस्ता तालिम सञ्चालन गरेका डा. मल्लले आफ्नो अनुभव सुनाउँदै सामाजिक रूपान्तरणमा युवा पुस्ताको अग्रणी भूमिकाको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘समाज बदल्नुभन्दा पहिले आफू बदलिनु जरुरी भएको र त्यो परिवर्तन अवचेतन मनबाटै शुरू हुन्छ ।’

यस्तै ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालले युवालाई लक्षित कार्यक्रमले आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास र नेतृत्व क्षमताको विस्तारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सहभागीहरूको सक्रियता र उत्साहप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

यसै क्रममा सल्लाहकार दुर्गा शाह ‘बाबा’, टुक बहादुर मल्ल, अनिल कुमार शाही, सन्तोष शाही लगायतका अतिथिहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै युवालाई निरन्तर यस्ता ज्ञानमूलक गतिविधिमा सहभागी बन्न आग्रह गरे।

त्यस्तै कार्यक्रमका उपाध्यक्ष ज्योति हमालले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको भूमिका सराहनीय रहेको बताउनुभयो ।

सचिव मोहन शाहीले युवाहरूको उत्साहपूर्ण उपस्थिति, सकारात्मक उर्जा र प्रेरणादायी प्रशिक्षणका कारण कार्यक्रम अझ प्रभावकारी र सफल बनेको बताउनुभयो ।

ठकुरी युवा परिवार कास्कीले आगामी दिनमा पनि युवालाई केन्द्रमा राखेर नेतृत्व, सीप विकास र व्यक्तिगत रूपान्तरणमा केन्द्रित कार्यक्रम जारी राख्ने जनाएको छ ।

पोखरा, १३ मङ्सिर । 

गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा…’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन् ।

आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छायामा पर्नु दुःखद् भएको विचार राखे । एउटा सुन्दर गीत बन्नका लागि गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए । आदर्शको गीतकारिताबाट आफू प्रभावित भएको ढकालले सुनाए ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले आउँछ्यौ तिमी नजरमा… गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए । ‘जितमा पनि हारमा झैँ पिट्दै छन् रे ताली…’ बोलको पहिलो गीत एक दशकअगि रेकर्ड गराएका पोखरेलका करिब १ दर्जन गीत रेकर्ड भएका छन् ।

सो गीतमा सन्तोष विक र मनिषा राईको स्वर रहेको छ भने सङ्गीत आदर्श पोखरेलकै रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराललगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन् ।

कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, गायक विनोद बानिया, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर भिड्ने
पोखरा, १३ मंसिर ।  

पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् । पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज (शनिवार) पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो ।

शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई २५–२०, २५–२० र २६–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा नरेठाटी युवा क्लब गलकोटले ठकुरी समाज तनहुँलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गलकोटले तनहुँलाई २५–२२, २५–१८ र २५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

लिगचरणको आठौ खेलमा  बोहोराफाँटले पोखरा युनाइटेडलाई ३–० को सेटमा पराजित गरेको थियो । लिगचरणको नवौं खेलमा नरेठाँटी युवा क्लबले एपिएफ पोखरालाई ३–२ को सेटमा पराजित गरेको थियो । बोहोराफाँट समाज जापान समूह ‘ए’को विजेता र ठकुरी समाज तनहुँ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थियो । भने, नरेठाँटी युवा क्लब समूह ‘बी’ को विजेता र एपिएफ पोखरा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थियो ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ ।

आइतबार हुने फाइलन खेलमा पुरुषतर्फ बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब भिड्ने छन्  । भने, महिलातर्फ सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर उपाधिका लागि भिड्ने प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।
पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका एपिएफ र ठकुरी समाजले नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पोखरा महानगरपालिका– १९ चुरुङ्गामा आयोजित दोस्रो संस्करणको दाइँ महोत्सव धुमधामका साथ सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सवको आयोजना गरेको हो।

कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुर्‍याउन महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा स्थानीय तथा विदेशी पर्यटकको समेत उपस्थिति रहेको थियो भने, उत्कृष्ट गोरुपालक किसानलाई सम्मान, उत्कृष्ट धान उत्पादान गर्ने किसानलाई सम्मानका साथै, महोत्सवमा धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगिताको आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटनको राजधानी शहर भएको र यहाँ भित्र विभिन्न सिजनमा विभिन्न महोत्सव तथा मेलाको आयोजना गरिएको बताउँदै हाम्रो भाषा, हाम्रो साहित्य र संस्कृतिलाई समेत सँगसँगै लैजाने र हाम्रो जीवन शैली र जीवन पद्दतीलाई सबैका बीचमा पस्किने गरी कामहरू गर्दै आएको बताउनुभयो। उहाँले शहर भित्रका बाबु नानीहरूले धान कसरी फल्छ भनेर थाहा नपाएको अवस्थामा र संसार प्रविधिमा धेरै अगाडि पुगिसकेको अवस्थामा हामीले परम्परागत रुपमा धान कसरी थन्क्याउछौ यसको विधि के हो भनेर विदेशी पाहुनाहरूलाई समेत पस्कने गरी दाइँ महोत्सवको परिकल्पना गरिएको बताउनुभयो।

यस्तै पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले आजको दाइँ महोत्सवले विभिन्न क्षेत्रलाई एकै ठाउँमा जोडेको बताउनुभयो। उहाँले उत्पादनको चक्रमा धेरैको भूमिका रहने भन्दै यस महोत्सवले आन्तरिक र बाह्य पर्यटनदेखि पोखरा महानगरका ३३ वटै वडाका किसानलाई समेटेको बताउनुभयो। उहाँले धेरै धान खेति गर्ने ३ जना किसानहरुलाई पुरस्कृत गरिएको जानकारी दिँदै यसले स्थानीय कृषकलाई सम्मानका साथै ग्रामीण तथा शहरी अर्थतन्त्रलाई जोड्ने बताउनुभयो।

यस्तै पोखरा -१९ का वडाअध्यक्ष पुस्पेन्द्र पाण्डेले महोत्सवले हाम्रो जस्तो कृषि प्रधान देशमा किसानलाई प्रोत्साहन गर्न र कृषिलाई पर्यटनसँग जोड्न यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्दन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले दाइँ महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्दन गर्ने, बजारीकरण गर्ने र स्थानीय उत्पादन र पर्यटनलाई एकै ठाउँबाट विकास गर्नका लागि कोशेढुङ्गा सावित हुने बताउँदै स्थानीय संस्कृतीको जगेर्ना र पुराना लोप हुन लागेका बस्तु तथा संकृति जगेर्ना गर्नको लागि यस महोत्सवले भूमिका खेल्ने बताउनुभयो।

स्थानीय किसान टिकाराम गौतमले दोस्रो दाइँ महोत्सव आफ्नो ठाउँमा आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै यस किसिमको कार्यक्रमले आउँदो पिंढीलाइ हिजोका दिनमा के कसरी दाइँ गरिन्थ्यो, हामीले खाने चामल कसरी उत्पादन हुन्छ भन्ने कुराको जानकारी दिने बताउनुभयो।
यस्तै, गुन्द्री बुन्ने प्रतियोगितामा सहभागी हुन आउनुभएकी स्थानीय गंगा केसीले अहिले नयाँ नयाँ प्रविधिका सामानहरू आइरहेको समयमा यस कार्यक्रमले संस्कृति जोगाउने बताउनुभयो।

महोत्सवमा धेरै धान उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कार, लगायत विभिन्न प्रतियोगिताका बिजेता, उपविजेतालाई पुरस्कृत गरिएको थियो। स्थानीयको उलेख्य उपस्थिति रहेको महोत्सवमा ५ हल गोरूले दाइँ गरिएको थियो भने स्थानीय पन्चे बाजा र भजन चुड्कामा नाचेर अवलोकन कर्ताले मनोरंजन लिएका थिए।

पोखरा, १० मंसिर ।

गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै युवालाई सीपमार्फत रोजगारी, व्यवसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।

मन्त्री थापाले भने, “सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ। श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।”

उनका अनुसार तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले सीड मनी का लागि बजेट व्यवस्था गरेको छ। बैंकसँग समन्वय गरेर ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताद्वारा उद्यम स्थापना गर्न सकिने भन्दै सरकारले प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गर्ने पनि उनले बताए ।

कार्यक्रममा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमुख डा. सोमनाथ सापकोटाले सीपको बढ्दो महत्व र व्यवसायिक शिक्षाको आवश्यकतामाथि जोड दिए । उनले भने, “सीप विकासको तालिम ब्रान्ड बन्दै गएको छ । सरकारले गरेको लगानी सदुपयोग गर्न प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्छ।”

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार अहिले १३ शीर्षकमा तालिम संचालन हुनेछ । १ हजार ३ सय ५५ जनाले फाराम भरेका मध्ये २९९ जनालाई यसपटक छनोट गरिएको छ । प्रशिक्षार्थीलाई दैनिक ७५ रुपैयाँ खाजा खर्च उपलब्ध गराइने र दैनिक ५ घण्टा तालिम सञ्चालन हुने जानकारी उनले दिए।

यसपटक प्रदान गर्न लागिएका तालिमहरूमा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश–शृंगार (ब्युटी पार्लर), विद्युत जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, कटाइ–सिलाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेस्वरी शिक्षा लगायतका सीप समावेश छन् ।

कार्यक्रममा प्रशिक्षार्थी, स्थानीय प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले जनाएको छ। गण्डकी प्रदेश सरकारले युवाको क्षमता विकास, रोजगारी सृजना र उद्यमशीलता प्रवद्र्धनलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।

पुरुषतर्फ लिगचरणका खेल हुँदै
पोखरा, १० मंसिर ।

पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् ।

पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई २५–११, २५–१८ र २५–१६ को सेटमा पराजित गरेको हो । यस्तै महिलातर्फको दोस्रो सेमिफाइनलमा झिर हाउस बागलुङले शान्ता माविलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।

झिर हाउस बागलुङले शान्ता माविलाई २५–१२, २५–१७ र २५–१६को सेटमा पराजित गर्दै उपाधिका लागि लालीगुराँस लामाचौरसँगको भेट पक्का गरेको हो । पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ भने लिगचरणको खेल सुरु भएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।

पुरुषतर्फ भएको लिगचरणको पहिलो खेल ठकुरी समाज तनहुँ र पोखरा भलिबल प्रशिक्षण केन्द्र बीच भएको खेल भने लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । उक्त खेल भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।
पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।

यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।

 

पोखरा, १० मंसिर ।

१४ औं संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरिएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सव भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३३ वटा उपसमिति गठन गरेको हो ।

जस अन्तर्गत महोत्सव कार्य सम्पादन उप समिति संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेल, झाँकी र्याली व्यवस्थापन उप समिति संयोजक सूक बहादुर गुरुङ, अनुगमन उप समिति संयोजक लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उप समिति संयोजक गणेश तिमिल्सिना, सचिवालय उप समिति संयोजक शान्त बहादुर थापा, प्रायोजक व्यवस्थापन उप समिति संयोजक सूर्य बहादुर बानियाँ, प्रचार प्रसार व्यवस्थापन उप समिति संयोजक दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उप समिति संयोजक जयराम आचार्य, स्वयंसेवक व्यवस्थापन उप समिति संयोजक सन्तोष कार्की संघ संस्था व्यवस्थापन उप समिति संयोजक सीमा गुरुङ, व्यानर व्यवस्थापन उप समिति संयोजक विष्णु कुमार गुरुङ, स्टेज व्यवस्थापन उप समिति संयोजक पूर्ण कुमार श्रेष्ठ, टिकट काउण्टर व्यवस्थापन उप समिति संयोजक शिव थापालाई चयन गरिएको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई व्यवस्थापन उप समिति संयोजक पदम बहादुर कार्की (बिजय) अतिथि सत्कार व्यवस्थापन उप समिति संयोजक शान्ति सुवेदी, सुरक्षा व्यवस्थापन उप समिति संयोजक बुद्ध कार्की, मायाको चिनो व्यवस्थापन उप समिति संयोजक रिम बहादुर क्षेत्री, अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्का, पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापा, विद्यालय समन्वय व्यस्थापन उप समिति संयोजक रमेश बहादुर कार्की, बिमा व्यवस्थापन उप समिति संयोजक राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उप समिति संयोजक सुशिलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उप समिति गोविन्द घिमिरे, पृष्ठपोषण व्यवस्थापन उप समिति संयोजक आनन्द थापा, ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगर, स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरु, खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतम, मुलद्धार उप समिति संयोजक धनराज गुरुङ, विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगाना, कार्यालय सचिव कुशुम गुरुङ र मिडिया कोअडिनेटर गिता रानालाई चयन गरेको छ ।

त्यस्तै महोत्सवको सल्लाहकारहरुमा लिलाधर अधिकारी, कृष्ण केसी, सम्मर बहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, मुक्षेत्र गुरुङ, पो.म.न.पा. वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, पो.म.न.पा. वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ, पो.म.न.पा. वडा नं १२ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, पो.म.न.पा. वडा नं १३ का अध्यक्ष किरण बराल, पो.म.न.पा. वडा नं १४ का अध्यक्ष बोधराज कार्की, पो.म.न.पा. वडा नं १५ का वडा अध्यक्ष तोरण बानियाँ, टीका बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मिन गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, रुद्र न्यौपाने, यम बहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिव बहादुर बराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, सु. इन्द्र बहादुर गुरुङ, बलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, राम बहादुर पौडेल, गज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, मिलन गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, डा. कृष्ण केसी, माधव गौतम, माधव घिमिरे, मोहन गुरुङ, राजेश गुरुङ, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी, शिव खड्का, मेजर हितमान गुरुङ, दिलमाया तिमिल्सिना, हरि कुमार श्रेष्ठ, भिम बहादुर थापा लाई चयन गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।