२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

पोखरा, ०८ मंसिर ।

होटल संघ पोखरा नेपाल र नेश्नल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) विच प्रयोगशाला सम्वन्धि परीक्षणमा छुट प्रदान गर्न आपसी सम्झौता भएको छ ।

एनआरएलले संघका सबै पदाधिकारी, साधारण सदस्य र परिवारका सदस्यहरुका लागि रगत र पिसाव सम्वन्धि जाँचमा ३५ प्रतिशत छुट दिने गरी आइतबार यो सम्झौता भएको हो । सम्झौतामा संघका अध्यक्ष लक्ष्मण सुवेदी र एनआरएल पोखरा नयाँ सडककी मार्केटिङ प्रमुख समिता आचार्यले हस्ताक्षर गरेका छन् ।

उल्लेखित छुटका अतिरिक्त संघ अन्तर्गतका होटलमा कार्यरत कर्मचारीका लागि २० प्रतिशत छुट प्रदान गर्ने सहमति पनि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

होटल संघ परिवारका तर्फबाट सिफारिस भएर आउने सेवाग्रहीले पनि पाँच देखि सात प्रतिशत छुट पाउने छन् । पोखरामा नहुने र बाहिर पठाउनुपर्ने नमुनाको प्रयोगशाला सम्वन्धि परीक्षणमा भने १५ प्रतिशत मात्र छुट प्रदान गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

१२ बर्ष अघिदेखि पोखरामा सेवा दिन थालेको एनआरएलले प्रयोगशाला सम्वन्धि गुणस्तरीय परीक्षणमा जोड दिंदै आएको मार्केटिङ प्रमुख आचार्यले जानकारी दिइन् ।

पोखरा, ०८ मंसिर ।

दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुने गर्दछ ।

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले महिला शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर व्यक्त गरे ।

नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर–समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पु¥याउँदै आएको योगदानमा जोड दिए ।

रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञान सहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति हो भने । उनले यदि हामीले आफ्ना परम्परा, कला, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण नगर्ने हो भने मौलिकता नै हराउने खतरा रहेकोमा जोड दिए ।

वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास, र समुदायको अन्तरपीढीगत सम्बन्ध मजबुत पार्न महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ , तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले मिस तामाङ पोखराको महत्व, यसको सांस्कृतिक योगदान र प्रतिभा उजागर गर्ने भूमिकामाथि आ–आफ्नो धारणा व्यक्त गरेका छन्।

माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा–२०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी–चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले अनुरोध गरेको छ ।

लेखनाथ, ०८ मंसिर ।

लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ ।

पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले वताए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनको लागी मेड ईन नेपाल अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने संयोजक थापाले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन ।

विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हालको विषम परिस्थितिका कारण शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भटृराईले वताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल, पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

 

जीवन सुबेदी टोकियो २३ नोभेम्बर ,

नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा नेपाल सन्देश डटकमका प्रधानसम्पादक रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् । जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।

जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् । यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् । चौलागाईले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए ।

यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् । महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् । यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वास आचार्यल ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।

९ करोड बरावरको कारोबार गर्ने लक्ष्य
लेखनाथ, ०७ मंसिर ।

हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताईन । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए ।

पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबावु भटृराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपुर्ण रहेको वताउँदै व्यवसायी तथा आम सर्वसाधारणहरुको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए ।

यसरी आयोजना गरिने मेला महोत्सवले स्थानिय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईको दावी छ । देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव सफल हुने उनले वताए ।

महोत्सवका विशेष आर्कषणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन ।

थप आकर्षणको रुपमा यस वर्ष महोत्सवमा गतवर्ष जस्तै एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् ।

महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागी प्रवेश टिकटको मुल्य रु १ सय, विद्यार्थीहरुको लागी रु ५० र बेलुका सुगम संगित÷कन्सर्ट का लागि रु २ सय कायम गरिएको छ । महोत्सवको बचत रकमवाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औधोगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पँगेनीले लेखनाथ क्षेत्रलाई विकासको दृष्टिकोणले पछि पारिएको वताउँदै यस क्षेत्रको विकास र प्रर्वद्धनको लागी सम्बन्धीत निकाय र संघ संस्थाले ध्यान दिन नसकेको वताएकी थिईन ।

यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए ।

कार्यक्रममा महोत्सवको मुख्य प्रायोजक रहेको गृहलक्ष्मी ग्याँस कम्पनी प्रालीका महाप्रबन्धक भिमराज लामिछानेले लेखनाथ महोत्सव सग सहकाय गर्ने मौका प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरुका विषयमा वताउनुभएको थियो ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।

करिब ३३५ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।

लेखनाथ, ०७ मंसिर ।

डायमण्ड सेकेन्डरी स्कूल, पोखरा–२७, तालचोकमा अवस्थित आज वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ। कार्यक्रममा कक्षा नर्सरीदेखि यु.के.जीसम्मका विद्यार्थी र अभिभावकले उत्साहपूर्वक सहभागिता जनाए।

“खेलकुदले बालबालिकाको सामाजिक, मानसिक र शारीरिक विकासमा विशेष भूमिका खेल्दछ।“ भन्दै हरिमाया गुरुङ तथा कविता गुरुङले संयोजन गर्नु भएको कार्यक्रममा विभिन्न समूहगत तथा व्यक्तिगत प्रतियोगिता सञ्चालन गरिएको थियो।
अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’ (नर्सरी), छात्राका लागि ‘झोला प्याक अप गर्ने दौड’, छात्रहरूका लागि ‘ब्यालेन्स दौड’, साथै ‘आफ्नो बच्चा चिन्नुहोस् दौड’ र ‘मिठाई दौड’ (यु.के.जी) तथा ‘दाम दौड’ जस्ता आकर्षक खेलहरू सञ्चालन भएका थिए।

विद्यालयका प्रधानाध्यापक यम बहादुर रोकाले बालबालिकाको सूक्ष्म शारीरिक सीपको अभिवृद्धि तथा समग्र दिगो विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पु‍र्याउने विचार व्यक्त गर्नुभयो। यस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सशक्त बनाएको भन्दै धन्यवाद ज्ञापन विद्यालयका निर्देशक माधव शरण उपाध्यायले गर्नुभएको थियो।

अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङका अनुसार विद्यालयले खेलकुदका लागि डायमण्ड रनिंग शिल्डको आयोजना गर्न लागेको छ। कार्यक्रमको अन्तमा, विद्यालय प्रशासनको तर्फबाट विजयी प्रतियोगी विद्यार्थीहरू तथा अभिभावकहरूलाई पुरस्कार वितरण गरिएको शिक्षक राजन परियारले जानकारी दिनुभएको थियो।

 

हुम्ला, ०७ मंसिर ।

नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुगेका छन्।

उनले त्यहाँ हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण निग्ल हिमालको छायाँमा अवस्थिति दार्मा गाउँ र कर्णाली प्रदेशकै ठूलो खेतीयोग्य दार्मा जिउलो, कैलाश मानसरोवर देखि राराताल जाने लोकमार्गलाई आफ्नो “त्रिकोण क्यानभासमा“उतारेका छन्।

चंखेलीलाई क्यानभासमा उतार्दै उनले भने,“ चंखेली अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पुर्याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।“

चंखेली केन्द्रमा आयोजित लाईभ–चित्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, वडा अध्यक्ष वृष बहादुर सिंह, चंखेली शिक्षक संघका अध्यक्ष जगत बहादुर शाहीसहित स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।

स्थानियहरूले चंखेलीको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचना सम्बन्धी प्राज्ञ ठकुरीलाई जानकारी समेत गराएका थिए ।

ठकुरीले आफ्नो क्यानभासमा उतारेको चंखेली विश्वमञ्चमा चिनिनेमा त्यहाँका स्थानीयहरू विश्वस्त रहेका छन् ।

चंखेली गाउँपालिका अध्यक्ष शाहीले “दार्मा गाउँ र निग्ल हिमालको अद्भुत सौन्दर्य विश्वभर फैलिनु नै चंखेलीकै ठूलो उपलब्धि हो” भन्दै प्रकृतिसँग रमाउन चाहने पर्यटन थप आकर्षित हुनेमा आशावादी रहेको बताए।

ठकुरीले लुम्बिनी, सगरमाथादेखि पशुपतिनाथ, मुक्तिनाथ तथा राष्ट्रिय निकुञ्जसम्मका थुप्रै सम्पदाहरू विश्वसामु कला मार्फत चिनाइसकेका छन्।

उनको लक्ष्य भनेको ७७ वटै जिल्लाका कम्तीमा ३–३ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेर ‘नेपाल कला यात्रा’ पुस्तकको दोस्रो संस्करण तयार गर्ने रहेको छ।

उक्त कृतिलाई १ सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा पठाइने उनले बताए। यसै अभियानमार्फत २०८७ सम्म १ करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य कलाकार ठकुरीको छ।

वि. सं.२०७१मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत भइसकेका उनले लामो समयदेखि कला सिर्जना तथा प्रर्वद्धनमा सक्रिय छन् ।

यसै सक्रियताका कारण नै उनले हालसम्म डेढ सयभन्दा धेरै सम्पदा स्थल क्यानभासमा चित्रण गरिसकेका छन्।

स्वर्ण पदक, अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत अन्य धेरै सम्मान प्राप्त गरिसकेका उनी २०८० वैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीले पनि सम्मानित भईसकेका छन्। उनले प्राप्त गरेका सम्मान नै उनको कलायात्राको क्षेत्रमा पुर्याएको उल्लेख्य योगदानको प्रमाण हो।

उनको पहिलो संस्करण स्वरूप यसै वर्ष प्रकाशित ‘नेपाल कला यात्रा’मा १ हजार ५ सय ६१ जना प्रकाशकका नाम समावेश छन्। करिब ५ लाख नेपालीको सहभागितामा गराएर यो कृति अब दोस्रो संस्करणका लागि अझै विस्तारित स्वरूपमा तयार हुँदैछ।

यसै १०० रुपैयाँ अभियानका लागि प्रकाशकको रूपमा स्वैच्छिक सहयोग संकलन समेत भइरहेको छ । साथै अहिलेसम्म १०० भन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको छ।
५ लाख नेपालीहरु द्वारा प्रकाशित कृति नेपाल कला यात्रा बनाउन “७७ जिल्ला स्थलगत कला भ्रमणको क्रममा अहिले हुम्ला पुगेका हुन ।

पोखरा, ०७ मंसिर ।

पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्थापन गरेका थिए ।

प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै आधारभूत तह (कक्षा १–३) तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

यसै गरी सोही अवसरमा भएको खुला चित्रकला प्रतियोगितामा माध्यमिक तहमा रवि खत्री र सन्ध्या परियार, आधारभूत तहमा मौसमी राजबाहक, करिस्मा केसी, आइतीमाया तामाङ, ओम तामाङ, मेग्ना राजबाहक र अलिमा ओली उत्कृष्ट भएका थिए । कक्षा ८ का रक्षक श्रेष्ठ, कक्षा २ की उषा घले र बालविकासका सिमियुन तामाङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताका निर्णायकहरूमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गिरी र पूर्व विद्यार्थी भुवन थापा निर्णायक रहेका थिए । विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा, विद्यालय व्यवस्थाप समितिका सदस्यद्वय खिमबहादुर खत्री र कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

 काठमाडौं ,७ मंसिर। 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा बेटिङ सट्टाबाजी गराएको अभियोगमा प्रहरीले आठ भारतीयलाई पक्राउ गरेको छ।छुट्टै अनलाइन साइट नै संचालन गरेर बेटिङ गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भारत आन्ध्र प्रदेशका आठजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रकासम जिल्ला पामुर गाउँका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब र ३० वर्षीय नभिन मड्डेला तथा प्रकासम जिल्लाकै कोइलमपटका ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।काठमाडौं–२६ सामाखुसी बस्दै आएका उनीहरु काठमाडौं महानगरपालिका–१४ बल्खुबाट पक्राउ परेका हुन्। उनीहरुको साथबाट १५ थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ।

पोखरा, ०४ मंसिर

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला दिन प्रमुख अतिथिका रुपमा पुग्नुभएका प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको उहाँले बताउनुभयो ।

गाउँस्तरीय खेलकुदमार्फत् खेलाडीहरु छनौट गर्दै जिल्ला प्रदेश हुँदै केन्द्रमा अन्तिम प्रतिष्पर्धा हुने प्रक्रिया रहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुदको स्वरुप सुन्दर रहेको उहाँको भनाई छ । ‘गाउँ तहबाटै विद्यार्थीहरूले सहभागिता जनाउन पाउने भएकाले हजारौं विद्यार्थीहरू खेलकुदमा सहभागी हुने अवसर मिलेको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘यस प्रतियोगिताका कारण दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्दै आएको छ । स्थानीय खेलकुदको प्रवद्र्धन पनि यसको अर्को सकारात्मक पक्ष हो ।’

यो प्रतियोगिताले युवा विद्यार्थीहरूमा जोश, जाँगर र आत्मबल थप्दै विद्यार्थी, गाउँबासी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ बनाउन पनि भूमिका खेलेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले खेलकुदमा युवा सहभागिताले किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धी जीवनशैलीमा संलग्न रहन र उनीहरूको शारीरिक स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो ।

‘सानै उमेरमा खेलकौशल हासिल गर्नाले व्यक्ति परिपक्व हुन्छ । अनि भविष्यमा सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उहाँले भन्नुभयो – ‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’

शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराल लगायतले बोलेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।