२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

पोखरा, २८ कात्तिक ।

नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ ।

दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोखरा ५ ले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना ग¥यो । शिविरमा २ सय ५ जनाको सित्तमै मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको छ ।

शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैसम्म मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । ‘सकेसम्म घरकै खाना खानुस्, कामको अनुपातमा खानुस्,’ डा अधिकारीले भने, ‘अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेला बेलामा चेकजाँच गराउनुस् ।’

उनले मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याइ गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे । ‘मधुमेह लागेपछि पनि हेलचेक्र्याइ गर्दा ५ वर्षसम्म केही असर नदेखिन सक्छ,’ उनले थपे, ‘त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । ५ देखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधी शक्ति कम हुन्छ । १० देखि १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अंगमा असर गर्न थाल्छ ।’

मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्नेहरु भएको भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे ।
कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने विचार राखे ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सामाजिक उत्तरदायित्वमा पनि अग्रणी बन्दै काम गरिरहेको उल्लेख गरे । सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको उनको भनाइ छ ।

युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र ७ ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न संघ, संस्थासँग सहकार्य र आफैंले समेत शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २ सय ११ औं रहेको अध्यक्ष पन्थको भनाइ छ ।

संस्थाकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बाराही मावि व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, सचिव दीपक बराल लगायतले बोलेका थिए ।

 

पोखरा, २७ कात्तिक ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ ।

अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ ।

छोरेपाटन मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १७ की वडा अध्यक्ष राधिका शाही योगीले बढ्दो उमेरसँगै आउने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि समस्या समाधानका लागि अभियान सहयोगी हुने बताउनुभयो ।

उता सरस्वती टिका मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं ३३ की कार्यवाहक वडा अध्यक्ष दुर्गा केसी थापाले यस्ता अभियानलाई अझ तिव्र पार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सरस्वती टिका मावि व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद पराजुली, प्रधानाध्यापक सूर्यराज अभिकारी र छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्माले बोल्नु भएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।

पोखरा, २७ कात्र्तिक ।

नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ ।

बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २२ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ ।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने छ ।

त्यसैगरी खेलकुद तर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सभागिता जनाउने छन् ।

महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए । उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलक प्रसाद अधिकारी रहेका छन् ।

त्यसैगरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।

विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरुमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन्।

त्यसैगरी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा तथा सदस्यहरुमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुन प्रसाद पाण्डे तथा सदस्यहरुमा ज्ञानेन्द्र बहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।

महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले अवलोकन गर्न सक्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘यो महोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाईको थलो पनि हुने हामीले विश्वास लिएका छौ’ उनले भने, ‘यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौ।’

महोत्सवलाई सफल बनाउनका लागि तयारी शुरु गरिसकेको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नका लागि तयारीलाई तिव्र पारेका छन् । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

 

टप १०० भित्र प्रतिभाका ५ विद्यार्थी
पोखरा, २७ कार्तिक ।

पोखराको प्रतिभा माविले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२÷०८३ का लागि सञ्चालित एकीकृत प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीलाई बधाईका साथ सम्मान गरेको छ ।

आयोगले मंगलवार प्रवेश परिक्षा नतिजा सार्वजनिक गर्दै योग्यताक्रममा परेका नामसूची प्रकाशित गरेको थियो । ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरूले नाम निकालेकोमा उत्कृष्ट १०० भित्र प्रतिभा एकै विद्यालयबाट ५ विद्यार्थी परेका छन् ।

टप १०० मा नाम निकाल्ने विद्यार्थीहरू युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिनाका साथै सफल गुरुङलाई प्रतिभा माविले विहीबार एक समारोहकाबीच बधाई ज्ञापनका साथै सम्मान गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले सफलता चुमेको दिन विद्यालयको लागि सबैभन्दा खुशीको दिन रहने बताए । पवित्र सेवा समर्पित भावनाको शिक्षा आर्जन गरेर देशमै बसेर उत्कृष्ट चिकित्सकीय कर्म गर्न पनि पौडेलले सुझाए ।

‘शिक्षक र विद्यार्थीको मेहनत, विद्यालय र अभिभावकको साथले नै यस्तो उत्कृष्टता मिल्दछ । यस्तो सफलतालाई निरन्तरता दिन अझै मेहनतको खाँचो छ । एउटै सफलताले जीवनमा पुग्दैन ।’ अध्यक्ष पौडेलले भने – ‘एकै विद्यालयबाट ६ जनाले नाम निकाल्नु भनेको करीब ४ करोड छात्रवृत्ति प्राप्त गर्नु हो । यस्तै उपलब्धिले प्रतिभा मावि प्रदेश मात्र नभएर देशमै उत्कृष्ट विद्यालयको सुचीमा पर्न सफल छ ।’

विद्यालयका प्राचार्य किरण सापकोटाले पोखरालाई अब केवल पर्यटनको राजधानी नभई शिक्षाको राजधानीका रूपमा चिनाउने सपना प्रतिभा माविबाट साकार हुँदै गएको बताए ।

‘प्रत्येक वर्ष प्रतिभाका विद्यार्थीहरूले सुन्दर सपना पछ्याउँदै उत्कृष्ट सफलता हात पारिरहेका छन् ।’ उनले भने– ‘यस विद्यालयका मेधावी विद्यार्थी, सहयोगी अभिभावक र गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षकहरूले आजको गौरवपूर्ण क्षण सम्भव बनाएका हुन् ।’

सापकोटाका अनुसार देशभरका विद्यालयबाट १०० जनाभित्र ५ जनाले एकै वर्षमा प्रतिष्ठित विश्वविद्यालयमा नाम लेख्नु विद्यालयका लागि ऐतिहासिक उपलब्धि हो । उनले थपे – ‘प्रतिभाको जीवन अनन्त रहोस् । यहाँका विद्यार्थीहरूको मेहनत, कर्म र उपलब्धिले विद्यालयको नाम सुनौलो अक्षरमा अंकित भएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि मणिपाल शिक्षण अस्पताल पोखराका मेडिकल डाइरेक्टर प्रा. डा. अभिषेक मास्केले विद्यार्थीहरूलाई भावी चिकित्सकका रूपमा देश र समाजको सेवा गर्ने प्रेरणा प्रदान गरे ।

‘प्रतिभा माविले गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । अब पढाइका लागि काठमाडौं जानुपर्ने आवश्यकता छैन भन्ने कुरा प्रतिभाले प्रमाणित गरेको छ ।’ उनले भने – ‘यहाँ प्रदान गरिएको शिक्षा नै गुणस्तरीय र भविष्यमुखी छ ।’

डा. मास्केले विद्यार्थीहरूलाई जुनसुकै पेशा वा व्यवसाय रोजे पनि कक्षा ११ र १२ बाटै आफ्नो ‘रोडम्याप’ तयार पार्न सुझाए । ‘डाक्टर बन्नु केवल पेशा होइन, यो मानवता र सेवासँग सम्बन्धित जिम्मेवारी हो ।’ उनले थपे – ‘यहाँ सिकेका मूल्य र ज्ञानका आधारमा समाजका लागि उत्कृष्ट चिकित्सक उत्पादन हुने विश्वास मैले लिएको छु ।’

अभिभावक वासुदेव तिमिल्सिनाले प्रतिभा मावि सबैका लागि गौरवको विद्यालय बनेको बताए । उनले सबैभन्दा ठूलो कुरा अनुशासन भएको बताउँदेै अनुशासनले नै सफलता र अवसरका सबै बाटो खोल्ने उनले विश्वास व्यक्त गरे । उनले विद्यालयले प्रदान गरेका अवसरहरूको सदुपयोग गर्न सक्नु विद्यार्थीहरूको जिम्मेवारी भएको बताए । उनले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

सम्मानित विद्यार्थी समीर सुवेदीले गुणस्तरीय शिक्षा प्राप्तिका लागि अब काठमाडौंमै जानुपर्छ भन्ने सोच प्रतिभा माविले बदलिदिएको बताए । उनले भने ‘कडा मेहनत गर्नुस् । सफलता हाँसिल गर्न सजिलो हुन्छ । मेहनत गरे भाग्यले पनि साथ दिन्छ । त्यसैले भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ ।’

उनले शिक्षकहरूको निरन्तर प्रेरणा र विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण नै भाईबहिनीहरूले पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । सुवेदीले थपे, ’सफलता हात पार्नका लागि आवश्यक गुणस्तरीय शिक्षा प्रतिभा माविले नै प्रदान गर्छ । ’

पोखरा, २७ कात्र्तिक ।

तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । 
 
प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए । साथै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको उनले बताए । ‘ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुद सँगै पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुगेको छ ।’ मेयर आचार्यले भने ।
 
प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी छन् । १३ बढी देशका १ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरेपनि गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माको भनाइ छ । ‘सहभागी सोचे भन्दा कम भएपनि जति आउनुभएको छ, उहाँहरू पोखराको यो मौसम र भौगोलिक बनावटले निकै खुसी हुनुहुन्छ । त्यसमाथि स्थानीय नागरिक र स्थानीय निकायले देखाएको समन्वयकारी भूमिका निकै प्रसंसनीय छ ।’ -डाइरेक्टर शर्माले भने ।
 
उद्घाटन सत्रको अध्यक्षता गरेका पोखरा वडा १३ का वडाध्यक्ष किरण बरालले ‘पोखरा इन्डूरो रेस’ पोखराकै ब्रान्डका रूपमा स्थापित भइसकेको बताए ।
 
प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ ।
 
समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

पोखरा, २७ कार्तिक ।

तीन पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको समाजवादी मोर्चाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अलग भएको छ । पार्टी महासचिव विप्लव सीले एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका हुन्।

समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएकाले मोर्चाको औचित्य समाप्त भएको उनको भनाई छ। मोर्चाले राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेपनि रफ्तारमा काम अगाडि नबढेको विप्लवले बताए।

विज्ञप्तिमा भनिएको छ, ‘२०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौं । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्‍यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो सम्भव बनेन। जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’

पोखरा, २६ कात्तिक ।
 
तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
 
प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् ।
 
प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
 
प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ ।
 
यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
 
प्रतियोगिताले खेलकुदलाई मात्र नभई खेलकुदसँगै पर्यटन प्रबर्धनलाई महत्वपूर्ण टेवा पुराउने विश्वास गरिएको छ ।
 

पोखरा, २६ कात्र्तिक ।

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगति टोल विकास सस्था र सोही टोलमा रहेको ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिको संयुक्त  आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा १५ दिने शिविर सुरु भएको छ ।

 “योग गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ टोलवासीहरुमा योगवारे चेतना जगाउन योग शिविर  आयोजना गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए । ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिका अध्यक्ष समाजसेवी मोति गिरीले शिविरमा स्वागत गर्दै योग दर्शनमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ महत्वपूर्ण अङ्गहरु (अष्टाङ्ग योग) को चर्चा गरिएको वताए ।

योग गुरु परमान्द भण्डारीले  तनाव व्यवस्थापनका लागि योग उपयोगी  रहेको भन्दै उच्च रक्तचाप भएका, साइटिका तथा मेरुदण्डसँग सम्बन्धित अन्य समस्याहरु भएका, वृद्ध तथा गर्भवती महिलाले पनि यसमा सावधानी अपनाउनु पर्नेमा जोड दिए ।  टोलका  उपाध्यक्षमा वीरबहादुर खत्री,सचिव विष्णुहरि पौडेल, संस्थाका निवर्तमान अध्यक्ष धर्मदत्त पौडेल लगायतले योग शिविरको सफलताको  शुभकामना दिएका थिए भने ओमकारेश्वर शिव मन्दिरका पुजारी लक्ष्मण गौतमले दीप प्रज्ज्वलन गरी  उद्घाटन गर्दै टोल विकास सस्थाले आफनो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निभाउनु पर्ने सुझाव  राखेका थिए । टोलका ३० बढी सहभागी रहेको  शिविर मंसिर १० गतेसम्म चल्ने छ ।

पोखरा, २६ कात्र्तिक ।

महिलाहरु मात्र सेयर सदस्य रहेको पोखरा महानगरपालिका वडा नं २९ को दीपशिखा महिला कृषि सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ज्येष्ठ सदस्य रामकुमारी आचार्यबाट उद्घाटन गरिएको थियो ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ का वडासदस्य निर्मला पौडेलले महिलाहरुलाई आय आर्जनमा जोड्नु पर्छ भन्ने मान्यताका साथ दीपशिखा पुस्तकालयको संयोजनमा स्थापना भएको सहकारीले छोटो समयमा चार सय ८० सेयर सदस्यहरु मार्फत दुई करोड ४ लाख ६९ हजार सेयर पुँजी बनाउन सफल भएकामा खुशी व्यक्त गर्दै सर्वसाधारणका माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा दीपशिखा पुस्तकालयका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार माधव भण्डारी,संस्थाका सल्लाहकार मेजर रामप्रसाद गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका सहकारी समन्वय उपसमिति संयोजक कृष्णप्रसाद तिमिल्सेना, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव गंगा मल्ल निवर्तमान अध्यक्ष गोमा कुमारी आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

वक्ताहरुले आर्थिक अनुशासनको माध्यमबाट सहकारीले आम सेयर सदस्यको मन जित्ने गरी सुरक्षित ऋण प्रवाह गरी नियमित रुपमा बचत गर्ने बानीको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।

संस्थाकी अध्यक्ष शिवकुमारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना गुरुङ र स्वागत मन्तव्य व्यवस्थापक कृष्णकुमारी पोखरेलले राखेकी थिईन । कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिका प्रतिवेदनहरु पारित गरिएका थिए भने बाल वचत, असल कारोवारी, कृयाशील ज्येष्ठ सदस्य लगायतका सम्मान समेत गरिएका थिए ।

 

पोखरा, २६ कार्तिक  

पोखरा महानगरपालिका–२५, बिरेठाँटीमा रहेको बिरेठाँटी माध्यमिक विद्यालयमा “WT Cares Nepal Um Hong Gil School Project 2025/26” समारोह  सम्पन्न भएको छ। 

समारोहका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णु बहादुर के.सी.ले WT Cares Nepal र Um Hong Gil Foundation द्वारा ग्रामिण समुदायका बालबालिकाका लागि खेल र शिक्षाको माध्यमबाट विकासका अवसर सिर्जना गरेको योगदानको प्रशंसा गर्नुभएको थियो।

उहाका अनुसार, यस्ता परियोजनाले ग्रामीण क्षेत्रमा आशा, अवसर र एकताको भावना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका उल्लेख गर्नुभयो ।

Um Hong Gil Human Foundation (UHGHF) का देश निर्देशक पार्क हिडोङ तथा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले आगामी दिनहरूमा पनि ग्रामीण बालबालिकाको सर्वांगीण विकास र युवा सशक्तिकरणका लागि प्रेरणादायी उदाहरण बनेर रहिरहने बताउनुभयो ।

कार्यक्रमका क्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले परियोजनाको पृष्ठभूमि र उद्देश्यबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार यस वर्षको परियोजना तेस्रो चरण अन्तर्गत सञ्चालन गरिएको विशेष तेक्वान्दो तालिममा ६० जना विद्यार्थी सहभागी भएका छन्।

यसअघि परियोजनाको पहिलो चरण (अगस्ट २२, २०२२ – अगस्ट २१, २०२३) मा ८७ जना विद्यार्थी, र दोस्रो चरण (अक्टोबर २०२३ – अप्रिल २०२४) मा ७४ जना विद्यार्थी सहभागी भएका थिए। प्रत्येक चरणमा युवाको सशक्तिकरण, अनुशासन र जीवन कौशल विकासमा विशेष ध्यान दिइएको बताइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज जैसीको अध्यक्षतामा भएको सो समारोहमा वडाध्यक्ष विजय गुरुङ, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, संघका सल्लाहकार परिषद् सदस्य हरिश्वर पोखरेल, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, प्रशिक्षक कविराज खड्गीतथा बोधराज गिरी, UHGHF की कार्यक्रम प्रबन्धक निलम थापालगायतको उपस्थिति रहेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।