२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार
गोरखा, २६ कात्र्तिक ।
 
गोर्खा जिल्ला, भीमसेन थापा गाउँपालिका–८ मा अवस्थित एक मात्र माध्यमिक शिक्षण संस्था श्री जागेश्वर माध्यमिक विद्यालयले आफ्नो गौरवमय ५० औँ स्थापना दिवसको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार महोत्सव यही मङ्सिर २६ गतेदेखि पुष १ गतेसम्म विविध सांस्कृतिक, शैक्षिक र खेलकुद कार्यक्रमका साथ भव्य रूपमा आयोजना गरिने तयारी भइरहेको छ।
 
विसं २०३२ सालमा स्थापना भएको श्री जागेश्वर माध्यमिक विद्यालयले स्थापनाकालदेखि नै निरन्तर रूपमा स्थानीय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। गोरखा र धादिङ जिल्लामा शिक्षाको विकास र विस्तारमा यो विद्यालयले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ। सन् २०५४ सालदेखि एसईई तहसम्मका परीक्षामा हजारौँ विद्यार्थीहरू सफलतापूर्वक उत्तीर्ण भई देश–विदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिइरहेका छन्।
 
विद्यालयका भूतपूर्व विद्यार्थी रुपक ढकालका अनुसार, पाँच दिनसम्म चल्ने स्वर्ण महोत्सवमा विद्यालयको ऐतिहासिक यात्रा झल्किने गरी विविध कार्यक्रमहरू समावेश गरिनेछ। यस अवधिमा पालिका स्तरीय खेलकुद प्रतियोगिता, विद्यार्थी प्रतिभा प्रदर्शन, सम्मान तथा स्मारिका विमोचन, सांस्कृतिक कार्यक्रम र राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सांगितिक प्रस्तुति आयोजना गरिनेछ। यस अवसरमा विद्यालयको दीर्घकालीन योगदान सम्झँदै पूर्वप्रशासक, शिक्षक, विद्यार्थी तथा समुदायका अग्रजहरूलाई सम्मान गरिने तयारी पनि गरिएको छ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसि भट्ट र प्रधानाध्यापक यदुनाथ सापकोटाले संयुक्त रूपमा जारी अपिलमा विद्यालय समुदाय, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी तथा सरोकारवालाहरुलाई महोत्सवलाई ऐतिहासिक र सभ्य बनाउने उद्देश्यले हातेमालो गर्न हार्दिक अनुरोध गर्नुभएको छ। उहाँहरूले विद्यालयको पाँच दशक लामो यात्रामा स्थानीय समुदायको साथ र सहयोग प्रमुख आधार भएको उल्लेख गर्दै स्वर्ण महोत्सव विद्यालय मात्र नभई सम्पूर्ण गाउँपालिकाको साझा उत्सव हुने विश्वास व्यक्त गर्नुभएको छ।
 
विद्यालयका तर्फबाट जारी सूचनामा आर्थिक सहयोगका लागि सबैलाई आह्वान गरिएको छ। विद्यालयका प्राध्यापक र आर्थिक स्रोत सङ्कलन उपसमितिका संयोजकको संयुक्त नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न वा QR कोड स्क्यान गरी सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। विद्यालयले सहयोगदाताहरूप्रति आभार प्रकट गर्दै विभिन्न स्तरका योगदानकर्ताहरूलाई सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
 
सहयोगकर्ताहरूको योगदानअनुसार सम्मानका श्रेणीहरू यस प्रकार रहेका छन् —
रु. ५,००० सम्मका सहयोगीलाई दोसल्ला र स्मारिकामा नाम प्रकाशन, रु. ५,००१ देखि १०,००० सम्मका सहयोगीलाई दोसल्ला, सिल्भर फ्रेम र स्मारिकामा प्रकाशन, रु. १०,००१ देखि २०,००० सम्मका सहयोगीलाई दोसल्ला, गोल्डेन फ्रेम र स्मारिकामा प्रकाशन गरिनेछ। त्यस्तै रु. २०,००१ देखि ३०,००० सम्मका सहयोगीलाई दोसल्ला, गोल्डेन फ्रेम, स्मारिका र शिलापत्रमा नाम प्रकाशन गरिनेछ।
 
रु. ३०,००१ देखि ५०,००० सम्मका सहयोगकर्तालाई दोसल्ला, आँखीझ्याल फ्रेम, स्मारिका र शिलापत्रमा प्रकाशन गरिनेछ भने रु. ५०,००१ देखि १ लाखसम्म सहयोग गर्नेहरूलाई दोसल्ला, आँखीझ्याल फ्रेम, स्मारिकामा तीन पुस्ते विवरणसहित नाम र शिलापत्रमा प्रकाशन गरिनेछ। एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्तिहरूलाई दोसल्ला, आँखीझ्याल फ्रेम, ताम्रपत्र तथा स्मारिकामा तीन पुस्ते विवरणसहित सम्मान गरिने विद्यालयले जनाएको छ।
 
विद्यालयका भूतपूर्व विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत सहयोग अभियानमा सक्रिय रहेका छन्। विद्यालयको आधिकारिक फेसबुक पेजमा सहयोगदाताहरूको नाम, रकम र तस्बिरसहित हार्दिक आभार व्यक्त गरिएको छ। विद्यालय परिवारले सबै पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूलाई एकताको भावना र सहकार्यका साथ स्वर्ण महोत्सवलाई सफल बनाउन आग्रह गरेको छ।
 
पाँच दशकको गौरवमय यात्रामा प्रवेश गरेको श्री जागेश्वर माध्यमिक विद्यालयले यो स्वर्ण महोत्सवलाई विद्यालयको इतिहास, उपलब्धि र भविष्यदृष्टि समेट्ने अवसरका रूपमा लिन लागेको छ। स्थानीय समुदायको सहभागिता र सहयोगका साथ यो कार्यक्रमले विद्यालयलाई अझ सबल, सक्षम र अनुकरणीय शिक्षण संस्थाको रूपमा अघि बढाउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

पोखरा, २५ कात्तिक ।

नेपाल चाटर्ड एकाउन्टेन्ट सस्था पोखरा शाखाको आयोजनामा पोखरामा अन्तराष्ट्रिय लेखा दिवस मनाइएको छ । प्रत्येक वर्षको नोभेम्बर १० मा अन्तराष्ट्रिय लेखा दिवस मनाउने गरिएकोमा शाखाले एकान्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धी अन्तरक्रिया गर्दै दिवस मनाएको हो ।

अन्तरक्रियामा लेखा व्यवसायसँग सम्बन्धित चाटर्ड एकाउन्टेन्ट तथा रजिष्टर्ड अडिटर्सहरू एवम् उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखानाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी एवम् नेपाल युवा व्यवसायी मञ्च पोखरा च्याप्टर्सका अध्यक्ष सुमेज राजभण्डारी लगायतको उपस्थिति थियो ।

नेपाल लेखामान वोर्डका सदस्य चाटर्ड एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवालीले एकाउन्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोगले लेखा व्यवसायमा तथ्यांकहरुको विश्लेषणमा सहजिकरण, समयको वचत का साथै विस्तृत अध्ययनमा समेत सहज हुने बताउनुभयो ।

उहाले एआईको प्रयोग गर्ने प्राविधिक पक्ष सिकाउँदै यसबाट सहि एवम् विश्वसनीय विवरण लिने सोही अनुसारको विवरण एवम् प्रश्न पेश गर्नुपर्ने जानकारी गराउनुुभयो ।

नेपाल चाटर्ट एकाउन्टेन्ड संस्था पोखरा शाखा संयोजक चाटर्ड एकाउन्टेन्ट उबेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शाखा समन्वय कमिटीका सदस्य चाटर्ड एकाउन्टेन्ट सागर आचार्यले सञ्चालन गर्नुुभएको थियो भने सदस्य चाटर्ड एकाउन्टेन्ट मदन पोखरेलले स्वागत गर्नुुभएको थियो ।

कार्यक्रमका सहभागीले एआई सम्बन्धित नयाँ प्रविधिलाई आफनो पेशा तथा व्यवसायसँग कसरी जोडन सकिन्छ भन्ने सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको शाखाका सदस्य रजिष्टर्ड अडिटर चन्द्रबहादुर सुवेदीले जानकारी दिनुुभयो ।

पोखरा, २५ कात्र्तिक ।

व्यवहारमा परीवर्तन ,कार्यसम्पादनमा सुधार मुल उद्येश्य सहित स्थापित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रमको समन्वयमा पोखरा -३१ पचभैयामा दुइ दिने कर्मचारीहरुको क्षमता विकास तथा गुण व्यवस्थापन प्रणालीका कार्यविधिहरुमाथि छलफल कार्यक्रम संपन्न भएको छ |

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र वाबु तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश मुख्य मंन्त्री तथा मन्त्री परीषदको कार्यालयका सचिव ऋषिराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो | आइएसओ ९००१:२०१५ प्राप्त प्रतिष्ठानले अर्को तिन वर्षको लागी आइएसओ नवीकरण गरेको छ ,र त्यसका कार्यविधिहरु माथि छलफल गर्ने कार्यको सहजीकरण प्रतिष्ठानका उपसचिव नारायण पौडेलले गरेका थिए भने कार्यक्रमको सहजकर्ता प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेल रहेका थिए |

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले प्रतिष्ठानले गण्डकी प्रदेश सरकारका कार्यक्रमहरुमा भएका र सेवा प्रवाहमा आएका समस्याहरुको समाधानको लागी अध्ययन तथा अनुसन्धान गर्नु जरुरी रहेको बताएका थिए |

दुइ दिन सम्म संचालित कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम गण्डकी प्रदेश संयोजक प्रणय शर्मा , गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना ,गण्डकी प्रदेश मुख्य मंन्त्री तथा मन्त्री परीषदको कार्यालयका उपसचिव टिकाराम पौडेल लगाएतले आफ्नो विषयवस्तु प्रस्तुत गरेका थिए |

पोखरा, २५ कात्तिक ।

भारतको राजधानी दिल्लीमा लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर-१ नजिक सोमबार साँझ गुडिरहेको एक कारमा शक्तिशाली विस्फोट भएको छ। साँझ ६:५२ बजे भएको यस विस्फोटमा दुई महिलासहित नौ जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ । घटनामा २४ जना घाइते भएका छन्।

दिल्ली प्रहरीले लाल किल्ला नजिक भएको विस्फोटको सम्बन्धमा ‘गैरकानुनी गतिविधि रोकथाम ऐन’ (यूएपीए) अन्तर्गत एफआईआर दर्ता गरेको छ।

सुरक्षा एजेन्सीहरूले आत्मघाती आक्रमणको कोणबाट पनि अनुसन्धान सुरु गरेका छन्। यद्यपि, घटनास्थलबाट आरडीएक्सको कुनै प्रमाण भेटिएको छैन। 

मृत्यु हुनेहरूको उमेर २१ देखि ५८ वर्षबिच रहेको छ। मृतकहरूमध्ये दुई जनाको मात्र पहिचान हुन सकेको छ। विस्फोटमा परेका मानिसहरू नराम्ररी जलेका छन्, र केहीको शरीरका टुक्राहरू टाढासम्म छरिएका थिए।

विस्फोट कारको पछिल्लो भागमा भएको थियो, जसको आवाज करिब एक किलोमिटरसम्म सुनिएको थियो। विस्फोटका कारण घटनास्थल नजिकै पार्क गरिएका ६ वटा कार, २ वटा ई-रिक्सा र १ वटा अटो रिक्सा जलेका छन्।

प्रहरीका अनुसार जुन कारमा विस्फोट भयो, त्यसमा तीन जना सवार थिए। उक्त कार हरियाणाको गुरुग्राममा सलमानको नाममा दर्ता थियो। प्रहरीले सलमानलाई नियन्त्रणमा लिएको छ। सलमानले उक्त कार पुलवामाका तारिकलाई बेचेको बताएका छन्। प्रहरी तारिकको खोजी गरिरहेको छ।

काठमाण्डौँ, २५ कात्र्तिक ।

पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ।

साेही विस्फोटमा परी २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले स्थानीय संचार माध्यमलाई जानकारी दिनुभएकाे हाे। उहाँले आत्मघाती विस्फोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको समेत बताउनुभयाे।

प्रहरी र उद्धार टोलीहरू तत्काल घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ। घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

काठमाण्डौँ, २५ कात्र्तिक ।

मलेसिया-थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुंगा गत हप्ता डुब्दा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ।

साेही दुर्घटनामा परेका १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मंगलबार बताएका हुन्। सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित ५ जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमईए) का निर्देशक रोमली मुस्तफाले जारी गरेकाे विज्ञप्ति भनिएकाे छ।

खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य मंलबारदेखि पुनः शुरु गरिएको उनले बताएका हुन्।

पोखरा, २५ कात्र्तिक ।

मिति २०८२।०५।२४ गते जेन-जी आन्दोलनको क्रममा कास्की जिल्ला स्थित रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, व्यक्तिगत घर पसलहरुमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धानको
क्रममा आगजनी, तोडफोड, लुटपाट तथा प्रहरी कार्यालयको हतियार तोडफोड गर्ने कार्यमा संलग्न निम्न ५ जना व्यक्तिहरुलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

निम्न:-

1) जिल्ला कास्की पोखरा महनगरपालिका वडा नं. १० बुद्धचोक बस्ने वर्ष ५० को चन्द्र
बहादुर थापा
2) ऐ.ऐ. बस्ने वर्ष ४८ को खलि भनेर चिनिने हरी बहादुर थापा
3) जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २५ को सन्तोष परियार
4) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बुढिबजार बस्ने वर्ष ४० को रमेश
थापा
5) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ बस्ने वर्ष ३५ को अभिमन्यु पाण्डे

पोखरा, २४ कात्तिक ।

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त भएका हुन् ।

वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले गत भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।

पहिलो नम्बरको वरीयतामा रहेका कार्कीलाई आइजीपीमा नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । २०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए ।

आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट  एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी साथै एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।

कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी गुल्मीमा जन्मिएका हुन् ।

जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर  उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

पोखरा, २४ कात्तिक ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि., पोखराको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा उद्घाटन गर्दै पाल्पाली अग्रज व्यक्तित्व जनपुकार मुनकर्मीले देश–विदेशमा पाल्पाली जहाँ बसे पनि इज्जत र सानका साथ बस्ने गरेको बताए । उनले पाल्पाली समाज पोखरासँँगै पोखरामा सहकारी, पाल्पा हाउस र पाल्पाली कोलोनी स्थापना भएकाले आपसी सहकार्यमा अझै प्रगति गर्दै जानुपर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सञ्चालक समितितर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा उनले आगामी आव २०८२÷०८३ का लागि विभिन्न प्रस्ताव पेस गरेका थिए । सहकारीको आगामी कार्यकाल १० बाट घटाएर ९ मा बनाउने प्रस्तावलगायत प्रस्ताव साधारणसभाले पारित गरेको छ । लेखा सुपरीवेक्षण समिति संयोजक सुनिल अर्यालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष उमा सापकोटाले कोषाध्यक्षको प्रतिवेदन पेस गरे ।

कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, संस्थाका सल्लाहकार एवं लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक नारायणप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सहकारी उपाध्यक्ष बाबुराम खनालले स्वागत मन्तव्य तथा सहकारीका ७ सिद्धान्त वाचन शिक्षा समिति संयोजक पदमप्रसाद पोखरेलले गरे । कार्यक्रम संचालन सचिव रेशमराज थापाले गरे ।

कार्यक्रममा गत वर्षको एसइईमा उत्तीर्ण शेयर सदस्यका छोराछोरीहरुतर्फ अनिता पोखरेल, सभ्य मल्ल, आयाम कोइराला, जोयल विश्वकर्मा र सविन रानालाई सम्मान गरियो । यस्तै, सहकारीका उत्कृष्ट कर्मचारीतर्फ सुस्मिता सेनलाई खादा, माला, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरियो । उत्कृष्ट बचत कारोबार गर्ने भीमदेव शर्मा ढुंगाना र उत्कृष्ट कारोबार गर्ने समिता अधिकारीलाई पनि सम्मान गरियो । सोही अवसरमा अघिल्लो वर्ष उत्कृष्ट बचत गरेर सम्मानित भएका कमल नेपाललाई प्रशंसापत्र हस्तान्तरण गरियो ।

सहकारीको शेयर पुँजी २ करोड ६१ लाख तथा बचत २ करोड २४ लाख छ । सहकारीमा हाल ५३७ सदस्य छन् भने कार्यक्षेत्र पोखराभर हो ।

विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास

पोखरा, २४ कात्र्तिक ।

गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा निर्माण हुन लागेको कोसेली घरको शिलान्यास गर्दै प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए । “प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा प्रदेश सरकार लागिरहेको छ। दुई वर्षभित्र प्रदेशको विकासको दिशा स्पष्ट भएको छ । गण्डकी प्रदेश सातवटै प्रदेशमध्ये नेतृत्वदायी भूमिकामा छ।”, उनले भने ।

मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्ने उल्लेख गरे । उनले भने, “संग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशका विविध संस्कृतिबारे बुझ्न सहज बनाउनेछ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि ठोस योगदान पु¥याउनेछ।”

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले गरेका योजना सफल बनाउन स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको बताए । उनका अनुसार सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय स्तरको सहयोग बिना दीगो परिणाम हासिल गर्न सकिँदैन ।

“प्रदेश सरकारले बनाएका संरचनाबाट प्रत्यक्ष लाभ स्थानीय समुदायले नै पाउनेछन्। मौलिक संस्कृति र परम्परालाई आधुनिक समाजमा जोगाएर राख्नु हाम्रो साझा जिम्मेवारी हो”, उनले भने ।

पश्चिमी संस्कृतिको तीव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा संग्रहालयको विस्तारले तिनको पुनर्जीवनमा सहयोग पुुग्ने विश्वास उनको छ ।

गण्डकी प्रदेश प्राकृतिक सुन्दरता, जातीय विविधता र सांस्कृतिक समृद्धिको केन्द्र भएको र यस प्रदेशमा पाइने मौलिक संस्कृतिहरू आधुनिक प्रभावका कारण लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, अध्ययन र प्रदर्शन नै संग्रहालयको प्रमुख उद्देश्य भएको उनले स्पष्ट पारे ।

मन्त्री थापाका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत निर्माणाधीन कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउनेछ । लोपोन्मुख कला र शैलीलाई जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला र जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको उनले बताए ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत सञ्चालन भइरहेको यस परियोजनाको कुल लागत रु. २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ ३ पैसा (भ्याट र कन्टिन्जेन्सी सहित) रहेको र सम्झौता रकम रु. १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँ ६६ पैसा (भ्याट सहित) रहेको जानकारी गराए । कोसेली घरको निर्माण आगामी असार मसान्तसम्म सक्नेगरि टुडे बिल्डर्ससँग सम्झौता भएको भनाई उनको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले संग्रहालयमा बन्दै गरेको कोसेली घरले पोखरा र समग्र गण्डकी प्रदेशलाई सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताए । सांस्कृतिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र समुदायमा आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनको छ । प्रदेश सरकारको उक्त कार्यलाई सफल पार्न स्थानीय तह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।

ठेक्का लिएको कम्पनी टुडे बिल्डर्सका ईन्जिनियर सिरश बास्तोलाले निर्माण कार्य समय अवधिमा नै सक्ने प्रतिबद्धता जनाएका छन् ।

संग्रहालयको छोटो परिचय ः
सन् १९७२ मा युनेस्कोका विशेषज्ञद्वारा तयार गरिएको नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गुरुयोजनामा क्षेत्रीय संस्कृतिको संरक्षणका लागि क्षेत्रीय संग्रहालय स्थापना गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।

त्यसै सुझावका आधारमा तत्कालीन सरकारले आ.व. २०३७÷३८ देखि धनकुटा, पोखरा र सुर्खेतमा क्षेत्रीय संग्रहालय स्थापना गर्ने कार्ययोजना अघि सारेको थियो।

त्यसअनुसार जग्गा अधिग्रहण गरी भवन निर्माण कार्य सुरु गरियो र आ.व. २०३९÷४० मा कार्यालय स्थापना भई सामग्री संकलन आरम्भ भयो । वि.सं. २०४१ माघ २३ गते पोखरा क्षेत्रीय संग्रहालय सर्वसाधारणका लागि खुला गरियो । देशको राजनीतिक संरचना अनुसार अहिले यो संग्रहालय गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा छ ।

संग्रहालयले प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कार, रहनसहन, भेषभूषा, खानपान, परम्परागत उपकरण र लोकजीवन झल्काउने सामग्रीहरू संकलन, अभिलेखीकरण र प्रदर्शन गर्दै आएको छ ।

२४ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयले आ.व. २०६७÷६८ देखि विद्यार्थी सदस्यता कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले युवाहरूमा सांस्कृतिक चेतना बढाउने कार्यमा टेवा पु¥याएको संग्रहालयको प्रमुख करुणा राईले जानकारी गराइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।