२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

व्यावसायिक वातावरण निर्माण र सुशासनका निम्ति सहकार्यको सहमति
पोखरा, १७ कात्तिक ।

पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि खल्बलिएको व्यावसायिक वातावरण सङ्लो बनाउन तथा सुरक्षाको प्रत्याभूतिसहित व्यवसायीहरुको मनोवल उकास्नका निम्ति जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ ।

जेन–जी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा आएका प्रतिनिधिहरुसँगको पटक–पटकको छलफलपछि जेन–जी र उद्योगी÷व्यवसायीबीच सहकार्यको वातावरण निर्माण भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

छलफलको क्रममा जेन–जी प्रतिनिधिहरुले निजी क्षेत्रलाई थप लगानीको लागि प्रोत्साहित गर्न तथा भयरहित वातावरणमा आफ्नो उद्योग÷व्यवसाय संचालनका लागि सघाउने प्रतिवद्धता जनाएका पनि अध्यक्ष कार्कीको भनाइ छ ।

यसअघि पोखराको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुको भेलाले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ गठन गरिएको थियो । सो समितिमा व्यापक छलफलपछिव्यावसायिक वातावरण निर्माण,शान्ति सुरक्षाको प्रबन्ध र व्यवसायीलाई आश्वस्त पार्ने कार्यमा जेन–जी पुस्ताले पनि सहभागी गराउने निर्णय भएको थियो ।

सोही निर्णय अनुसार आह्वान गरिएको संवादमा जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै पोखरामा उपलब्ध तथा सम्पर्कमा आएका आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामीले सहभागिता जनाएका थिए ।
जेन–जी प्रतिनिधिहरुसँगको बैठकपछि पोखराको निजी क्षेत्रको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्कीको संयोजकत्वमा गठित व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति तथा जेन–जी (दुबै पक्ष) बीच जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा आवाज बुलन्द पार्ने,जेन–जी आन्दोलनको क्रममा २०८२ भदौ २३ गते भएको दमनको निश्पक्ष छानबिन गर्दै दोषीलाई कानूनी कारवाही माग गर्ने,२०८२ भदौ २४ गते जेन–जीको आन्दोलनमा भएको घुसपैठबाट सिर्जित परिस्थितिलाई मनन गर्दै तोडफोड,लुटपाट र आगजनीजस्ता आपराधिक कार्यमा संलग्नमाथि कारवाही तथा क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय भएको छ ।

यस्तै, व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन, लगानी प्रोत्साहन, उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति गराउन एवं खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा ल्याउनका निम्ति दुबै पक्ष एकजुट भइ अगाडि बढ्ने सहमति भएको पनि संयोजक कार्कीले जानकारी दिए ।

‘सहमति कार्यान्वयन एवं भावि कार्यदिशा तय गर्नका निम्ति आवश्यकता अनुसार छलफल र बैठकको आयोजना गर्ने निर्णय भएको छ,’संयोजक कार्कीले भने,‘व्यवसायीमाथि पुनः आक्रमण नहोस्,दोषीमाथि कारवाही होस्,व्यवसायीले क्षतिपूर्ति पाउन् भन्नेमा जेन–जी पुस्ता स्पष्ट छ । परिवर्तनको लागि सो पुस्ताले निभाएको भूमिकाको हामीले सह्राना गरेका छौँ र सुशासनको मुद्दामा सँगै काम गर्ने प्रतिवद्धता जनाएका छौँ ।’

जेन–जी आन्दोलनको क्रममा पोखराको निजी क्षेत्रले साढे २ अर्बभन्दा बढी क्षति ब्यहोरेको प्रारम्भिक अनुमान छ । ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ उद्योगी÷व्यवसायीको गिरेको मनोबल उकास्नका निम्ति प्रशासन तथा सुरक्षा निकाय,राजनीतिक दल र नागरिक समाजसँगसमेत हातेमालो गरिने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

 

पोखरा, १७ कात्तिक ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका लागि पुग्नु भएका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

निरीक्षणका क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिनुभएको थियो । संघका गतिविधि बारे बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले जानकारी दिनुभएको थियो ।

निरीक्षण पछि मन्त्री पाठकले स्वास्थ्य मन्त्रालय नेपाल परिवार नियोजन संघ कास्की सँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । मन्त्रालय र संघ बीच छलफल गरी कसरी अघि बढ्ने विषयमा टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले स्वास्थ्यका क्षेत्रमा काम गर्नका लागि हुटहुटी रहेपनि सुन्य बजेटका कारण काम गर्न नसकिएको उल्लेख गर्नुभयो ।

पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पूर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।

संघले पछिल्लो पटक असोज देखि भिडियो एक्सरे सेवा समेत संचालनमा ल्याएको छ ।

 

पोखरा, १७ कात्र्तिक ।

दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वकर्मा समाज नेपाल, परियार सेवा समाज जिल्ला समन्वय समिति कास्की, मिजार समाज गण्डकी प्रदेश, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ट्याक्सी सेवा केन्द्रको सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले विभिन्न संघ संस्थाले गर्ने यस्ता खालका रक्तदान कार्यक्रमले गर्दा रगत अभावमा छटपटाइरहेका विरामीलाई बचाउन सकिएको उल्लेख गरे ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले विभन्न समयमा हुने रक्त दानका कारण पोखरामा रगत अभाव नभएको बताए ।

विश्वकर्मा समाज नेपालका अध्यक्ष रत्न बहादुर विकले रक्तदान कार्यक्रम उदाहरणीय रहेको बताए । नेपाल जिम्न्याष्टिक संघ गण्डकी प्रदेशका महासचिव प्रकाश चन्द्र सापकोटाले रगत अभावलाई परिपूर्ति गर्न यस्ता खालका कार्यक्रमहरु आवश्यक रहेको बताए ।

स्वयंसेवी रक्तदाता समाज कास्कीले कास्कीमा रगत अभावको परिपूर्ति गर्ने र समाजमा विभिन्न खालका जनतेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपालका अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत र सदस्य हिरामणी भूषालले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

पोखरा, १७ कात्तिक । 
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आजदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम आजदेखि सुरु भएको छ ।
 
पश्चिम नेपालका बुटबल, बर्दीया, सुर्खेत लगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवद्धनात्मक टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानले विदाइ गर्नुुभएको थियो । टोलीले आजै बुटबलमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरेको छ ।
 
कार्यक्रममा होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष बीरभद्र कंडेलले आन्तरिक पर्यटनको प्रवद्र्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुुभयो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सह संयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताल लगायतका सात ताल आँर्फैमा धेरै पर्यटकीय सम्भावना बोकेको बताउनुुभयो ।
 
पोखरा सहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उहाँले बुटबलका पर्यटन व्यवसायीसँग आग्रह गर्नुुभयो । पर्यटकीय साझेदारीका लागि आँफूहरू तयार रहेको उहाँको भनाइ छ ।
 
उक्त अवसरमा उहाँले बेगनास ताल सहित लेखनाथका तालहरूको परिचयात्मक भिडियो प्रस्तुत गर्नुुभएको थियो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कंडेलले पोखरा आएका पर्यटकलाई बुटबल पठाउने र बुटबल आएका पर्यटकलाई पोखरा पठाएर दुुबै क्षेत्र लाभान्वित बन्ने धारणा राख्नुुभयो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आँफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताउनुुभयो ।
 
रुपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलहरूरहको उहाँले जानकारी दिनुुभयो ।
 
पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीमा जोड दिदै यसबाट दुुबै गन्तव्यहरू लाभान्वित हुने बताउनुुभयो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवद्र्धनात्मक कार्यक्रमका साथ आँफूहरू बर्दीया हुँदै सुर्खेतसम्म पुुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने कार्यक्रम रहेको जानकारी दिनुुभयो । 
 
कार्यक्रममा बुटबल क्षेत्रमा कृयाशिल पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।
 

पोखरा, १६ कात्र्तिक ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गत भाद्र १८ गते सुरु गरेको प्रदेश र स्थानीय तहमा अधिकृत स्तर सातौ र आठौ तहमा कार्यरत कर्मचारीहरुको तिस कार्यदिने सेवाकालीन तालिमको समापन प्रतिष्ठानको कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षता एव गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डु राज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ |

समापन सत्रमा बोल्दै प्रमुख सचिव घिमिरेले कर्मचारीले प्राप्त गरेको अवसरले सेवा प्रवाहमा सुधारमा आएमा मात्र तालिम सफल बन्छ | तालिमको प्रभावकारीता तालिम प्राप्त गर्ने ब्यक्तीको व्यवहारमा आएको परीवर्तन संग जोडिने बताउदै असहज परीस्थितिमा पानी सेवाकालीन तालिम सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नु भयो |

गण्डकी प्रदेश निजामती ऐन र नियमावलीमा नै कर्मचारीको क्षमता अभिबृद्वीको लागी तिनवर्षमा कम्तीमा पाच वा सो भन्दा बढी दिनको क्षमता अभिबृद्वी तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ |

कुल १२० सत्रमा संचालित तालिममा ४६ जना प्रशिक्षकहरुले सहजीकरण गरेका थिए भने प्रदेश र स्थानीय तहमा कार्यरत ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो | उक्त तालिम अवधिभर प्रतिष्ठानका कर्मचारी उपसचिव प्रभाकर घिमिरे र प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई. मनोज पौडेलले तालिम व्यवस्थापन तथा संयोजनको जिम्मेवारी गर्नुभएको थियो ।

समापन सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले समापन सत्रको अवसरमा तालिमको संक्षेपीकरण प्रस्तुत गर्नु भएको थियो भने तालिमका सहभागी कर्मचारी डा. कमल अधिकारी र कल्पना सापकोटाले सहभागीको तर्फबाट मन्तब्य ब्यक्त गरेका थिए | प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा सहभागी कर्मचारीको तालिमको नतीजा सार्वजनिक गरी श्रेणी उल्लेख गरी प्रमाणपत्र वितरण गरीएको थियो |

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश लोकसेवा आयोगबाट प्रदेश र स्थानीय तहमा सिफारीस भएका कर्मचारीहरुको लागी सेवा प्रवेश तालिम र सेवामा कार्यरत कर्मचारीहरुका लागी सेवाकालिन तालिम २०७६ देखि संचालन गर्दै आएको छ ।

 

पोखरा, १६ कात्र्तिक ।

डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ ।

भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र मीस मगर २०२३ की विजेता बीनु मगरले अभिनय गरेका छन् । लमजुङको मस्र्याङदी गाउँपालिकास्थित हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी हाइड्रोपावर, पीस हिल रिसोर्ट लगायतका आकर्षक दृश्यहरू तथा कास्कीको अस्ताम र फेवाताल वरिपरिका स्थानमा छायांकन गरिएको यस भिडियोले दर्शकलाई प्राकृतिक सौन्दर्य र भावनाको मिश्रणमा डुबाउने प्रयास गरेको छ ।

गीतकार तथा निर्माता डा. जसपाल पाख्रिन तामाङले कार्यक्रममा बोल्दै, “यो गीत मैले चार महिनाअघि लेखेको हुँ । सम्पादनमा अनिता पौडेलको सहयोग महत्वपूर्ण रह्यो,” भन्दै गीत आफ्ना श्रीमती नरसोभा गुरुङसँगको प्रेमकथामा आधारित रहेको बताए । उनका अनुसार “मायामा मायामा” गीतले भावना र सरलतालाई जोड्ने कथा बोकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कवि, गीतकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराबाट बनेको यस गीतलाई “राम्रो उदाहरण”को रूपमा प्रस्तुत गर्दै भने, “अब अडियो मात्र होइन, भिडियो पनि उत्तिकै सशक्त हुनुपर्ने जमाना आएको छ । ‘मायामा मायामा’ गीतले त्यो सन्देश दिएको छ ।” उनले गीतको पृष्ठभूमि, छायांकन र भावनात्मक प्रस्तुति सबै उत्कृष्ट रहेको प्रशंसा गरे ।

त्यस्तै, कन्दरा ब्याण्डका संगीतकार सुनील थापाले गीतको सबै पक्ष बलियो रहेको बताउँदै डिजिटल प्रोमोशनमा ध्यान दिनुपर्ने सुझाव दिए । “राम्रो सिर्जनाको बजार राम्रो हुनुपर्छ, अहिलेको बजार भनेको डिजिटल प्लेटफर्म हो,” उनले उल्लेख गरे ।

गायक तथा संगीतकार सन्तोष बस्यालले आफू १० वर्षदेखि संगीतकर्ममा सक्रिय रहेको जनाउँदै राम्रो सिर्जनाका लागि गीतकार तथा निर्माता जसपाल पाख्रिनप्रति धन्यवाद व्यक्त गरे । “पोखराबाट पनि उत्कृष्ट म्युजिक भिडियो बन्न सक्छ भन्ने उदाहरण नै ‘मायामा मायामा’ हो,” उनले दाबी गरे । गीतलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो निर्देशक नेत्र गुरुङले राम्रो निर्माता भएका कारण नै म्युजिक भिडियोको छायांकनदेखि सम्पादनसम्म सबै पक्ष सुदृढ बनेको उल्लेख गरे । दर्शकहरूले गीतलाई माया गर्नेमा हामी आफु विश्वस्त रहेको भनाई उनको छ ।

“मायामा मायामा” प्रेम, संवेदना र लमजुङ सँगै पोखराको सौन्दर्यलाई जोड्ने भावनात्मक म्युजिक भिडियो बनेको छ — जसले पोखराको सांगीतिक उचाइमा नयाँ रंग भर्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।

पोखरा, १६ कात्र्तिक ।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२४ हेम्जा स्थितमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।१५ गते अं.१२:३० बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा खेलाउने समेत गरी ७ जना मानिसहरुलाई नगद रकम रू.७३,२०५।- र ४ बुक तास तथा अन्य जुवा जन्य सामग्री सहित पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

पोखरा, १४ कार्तिक ।

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष ०८१÷८२ को ३५ आँै वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका पोखरा कार्यालय प्रमुख डा. नारायण प्रसाद रेग्मीले शुक्रबार संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले भ्रष्टाचार नियन्त्रण र सुशासन नै आम नागरिकको मुख्य चाहना रहेकाले यसको नियन्त्रणमा प्रमुख भूमिका रहेको आयोग अझै सक्षम र प्रभावकारी रहनुपर्नेमा जोड दिनुभयो । ‘आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणका काम चुनौतीपूर्ण छ । मुलुकमा सुशासन स्थापना गर्न, सुशासन प्रणाली बसाउन अख्तियार अझै क्रियाशील रहने विश्वास लिएको छु ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

राज्य संयन्त्रको तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कामप्रति जवाफदेहिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘हामी जो जुन पद र जिम्मेवारीमा छौँ, राष्ट्रहितलाई ध्यानमा राखेर काम गर्ने हो भने सुशासन स्थापना हुन्छ । यसका लागि हामी आफ्नो ठाउँबाट आफ्नो अख्तियारीलाई दुरुपयोग नगरी लाग्नुपर्छ ।’

आयोग पोखरा कार्यालय प्रमुख डा. रेग्मीले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य आयोगबाट सम्पादन भइरहेको जानकारी गराउनुभयो ।

आयोगको संवैधानिक दायित्वलाई थप प्रभाविकारिताका साथ निर्वाह गर्नका लागि आयोगले आर्थिक वर्ष ०८१÷८२ मा पाँचौ रणनीतिक योजना तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि विभिन्न उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत सुदृढीकरणका रणनीति, कार्यनीति र क्रियाकलापहरु तय गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१÷८२ मा आयोगको पोखरा कार्यालयमा दर्ता भएका उजुरी १ हजार २ सय १ वटा र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ५९ वटा गरी कूल १ हजार ३ सय ६० मध्ये १ हजार १ सय ७९ उजुरी स्क्रिनिङ र प्रारम्भिक छानविनबाट फछ्र्यौट भइसकेका छन् । विस्तृत अनुसन्धानतर्फ १ सय १ जुरी उजुरी मात्र फछ्र्यौट हुन बाँकी रहेको कार्यालय प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भएपनि स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिकामा रहेको रेग्मीले बताउनुभयो ।

भन्सार छलेका र चोरीका सामान बिक्री–वितरण रोक्न व्यवसायायीको माग
पोखरा, १४ कात्तिक ।

राजश्व अनुसन्धान कार्यालय,बुटवलका प्रमुख अनुसन्धान अधिकृत सुवास श्रेष्ठले राजश्व चुहाहट रोक्नका लागि नागरिककै तर्फबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन् । उनले कानूनको परिपालना गर्नु र गराउनु नागरिकको कर्तव्य भएको स्मरण गराउँदै कर चुहावट रोक्नु पनि त्यही कर्तव्यअन्तर्गत रहेको बताए ।

राजश्व अनुसन्धान कार्यालय बुटवलले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा शुक्रबार पोखरामा आयोजना गरेको राजश्व चुहावट नियन्त्रणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘राज्यले लागू गरेका नीति नियम पालना गर्नु नागरिकको कर्तव्य हो । कर छली अपराध हो र राज्यले त्यस्ता व्यक्तिलाई छुट दिँदैन । तर,हामी व्यवसायीलाई दुःख दिएर हैन, सहजीकरण गरेर नै राजश्व चुहावट रोक्नका निम्ति प्रयत्नशील छौँ ।’

सो कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले राजश्व अनुसन्धानका नाममा व्यवसायीको बदनाम गर्ने काम नगर्न आग्रह गरे । ‘हामी अनुसन्धान नै नगर्नुहोस् त भन्दैनौँ तर आतंकित पार्ने काम हुनुभएन,’उनले भने,‘भन्सारमा नै चोरी नियन्त्रण एवं सामानको राजश्व तिर्नका लागि कसिलो व्यवस्था गरेमात्र राजश्व बढ्छ । वास्तविक व्यवसायीले न्याय पाउँछन् ।’

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले चोरी निकासीबाट आएका सामान नियन्त्रणतर्फ लाग्न राजश्व कार्यालयसँग अनुुरोध गरिन् । व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने पनि उनको धारणा थियो ।

कार्यक्रममा राजश्व विभागका काम र र अधिकारबारे चर्चा गर्दै राजश्व कार्यालय बुटवलका लेखा प्रमुख निमराज भट्टराईले कपडा,मोटर पार्टस्,इलेक्ट्रोनिक्स सामान,मदिरालगायतका सामानमा कर छल्ने प्रवृृत्ति रहेको बताए । यस्तै गिट्टी–बालुवाका कारोवारी,जग्गा व्यवसायी,भन्सार एजेन्ट,वकिल, पटके शिक्षक, म्यानपावर कम्पनीका संचालकहरुले आयकर कम तिर्ने गरेको पनि उनको भनाइ छ । कतिपय अवस्थामा करका कर्मचारीसँगको मिलेमतोमा कम राजश्व तिर्ने प्रवृत्ति पनि देखिएको पनि उनले स्वीकारे । राजश्व चुहावट गर्नेलाई राजश्व चुहावट ऐन(अनुसन्धान तथा नियन्त्रण) २०५२ अनुुसार कारवाही हुने पनि उनले बताए ।

नेपाल सरकारले सामान ढुवानी गर्ने सवारी साधनमा लागू गरेको भेइकल एण्ड कन्साइटमेण्ट ट्रयाकिङ सिस्टम (भिसीटीएस) का प्रावधानबारे चर्चा गर्दै सो कार्यालयका दीपेन्द्र श्रेष्ठले सामान ढुवानी गर्दाको असावधानीले गर्दा जरिवानामा पर्नसक्नेतर्फ सचेत हुन व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य,लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य,पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव सुदीप प्रधानाङ्ग,कार्यसमिति सदस्य टीकाराम सुवेदी र सूर्यराज घिमिरे,अधिकृत बिक्रेता संघ लेखनाथका अध्यक्ष निर्मल पौडेल,सुनचाँदी व्यवसायी दुर्गा सुनार,व्यवसायी लक्ष्मण श्रेष्ठलगायतले पनि विभिन्न जिज्ञासा राखेका थिए ।

सो उपक्रममा बोल्दै उनीहरुले अनधिकत व्यवसाय नियन्त्रणमा राज्य चुकेको आरोप लगाएका थिए । भन्सार छली तथा चोरी गरी ल्याइएका सामानहरु बजारमा निर्वाध बिक्री–वितरण हुँदा कर तिरेर वैधानिक तरिकाले व्यवसाय गर्छु भन्नेहरु मर्कामा परेको गुनासो पनि गरे ।

‘बजारमा छ्यापछ्याप्ती चोरीका वा भन्सार छलेर ल्याइएका सामान पाइन्छ । त्यस्तो सामान बेच्नेले न बिल दिन्छ, न लिन खोज्छ । सस्तोमा बिक्री हुने सामानका कारण राज्यलाई कर तिर्ने व्यवसायीहरु मर्कामा परेका छन्,’पोखराका प्रतिष्ठित कपडा व्यवसायी लक्ष्मण श्रेष्ठले भने,‘बाहिर हेर्दा सानो पसलजस्तो देखिने तर भित्रभित्रै करोडौंको सामान बेच्नेमाथि राज्यले निगरानी बढाउनुप¥यो ।’

स्थायी लेखा नम्बर( पान) मात्र लिएर काम गरिरहेका त्यस्ता व्यक्तिको वास्तविक कारोबार खोज्ने हो भने राजश्व चुहावट धेरै रोकिने पनि उनको धारणा छ । उनले राजश्व छलीका कारण नेपाल सरकारले एउटा भन्सार नाकाबाटमात्र दैनिक ४ करोड राजश्व गुमाएको अनुमान लगाए ।
‘बोर्डरको पारिपट्टि गएर सामान किनेर ल्याउँदा कतै चेकजाँच हुँदैन । गाडी निर्वाध ल्याउन पाइन्छ । कतिसम्म भने उता सामान किन्यो, यता बसेको होटलमा सामान आइपुग्छ,’उनले प्रश्न गरे,‘यस्तो चालाले कसरी सच्चा व्यापारी टिक्छन् ?’

अर्का व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सूर्यराज घिमिरेले अनलाइन व्यवसायको नाममा पनि राज्यले राजश्व गुमाएको बताउँदै अनलाइन व्यवसायलाई करको दायरामा ल्याउन माग गरे ।

 

पोखरा, १४ कात्तिक ।

मिति २०८२।०५।२४ गते आन्दोलनको क्रममा कारागारबाट भागी प्रहरी कार्यालयहरुमा समेत तोडफोड, आगजनी गर्ने तथा सामानहरु लुटपाट गर्ने व्यक्तिहरुको खोजतलास गर्दै जाँदा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले मिति २०८२।०७।१३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०७ घारीपाटन बस्ने बर्ष २६ को विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको CANON कम्पनीको SOCO डिजिटल क्यामेरा थान-१ र नम्वर प्लेट नभएको ईन्जिन नम्वर JLYCJB77102, च्यासिस नम्वर MD2A36FY1JCB33360 भएको 200 CC को NS मो.सा. थान-१ सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धी मुद्दामा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

नोट : निज व्यक्ति कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेको र २४ गते भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट तथा चोरी गर्न पुगेको खुल्न आएको ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।