
काठमाडौं ।
विदेशी मुद्रा संचिति करिब साढे २० अर्ब अमेरिकी डलरमा पुगेको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । नेपालको विदेशी मुद्रा सञ्चिति नेपाली मुद्रासँगको सटही अनुसार २९ खर्ब रुपैयाँ नजिक पुगेको छ । आर्थिक गतिविधिमा कमी आएका कारण बैंकहरुमा तरलता बढ्दै गएको छ भने वैदेशिक व्यापारमा पनि निर्यात केही सुधार हुँदा पनि आायत अपेक्षित बढेको छैन । तर, रेमिट्यान्स उच्च दरमा वृद्धि हुँदा विदेशी मुद्रा आप्रवाह उच्च दरमा बढेको कारण मुलुकमा रहेको विदेशी मुद्रा सञ्चिति निन्तर बढेको हो ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाहेक सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३।७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
आयातमा केही वृद्धि भएपनि त्यसको तुलनामा रेमिट्यान्सको वृद्धि उच्च हुँदा विदेशी मुद्रा सञ्चिति लगातार बढेको छ । जसले गर्दा आर्थिक वर्ष २०८२र८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९।७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त केन्द्रिय बैंक्ले जनाएको छ।
२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छ ।
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २७ अर्थात हिजो सोमबार साँझ देखी ‘अपरेशन थ्री सिक्स्टी फाइभ’ सञ्चालन गरेको छ । मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढेपछि प्रहरीले सो अपरेशन थालेको हो ।
प्रहरीले अब रातको समयमा होहल्ला गर्दै हिड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी संग झै९झगडा गर्ने मोटरसाईकल चालक र सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाउन थालेको जनाएको छ ।
अब यो अपरेशन निरन्तर रुपमा संचालन हुने प्रहरीले बताएको छ ।सवारी साधन धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ । र मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस सञ्चालकहरूले समेत उक्त कार्य नगर्न नगराउन अनुरोध गरेको छ । सवारी साधनको मोडिफाई गरी सवारी साधन चलाएको पाएमा सवारी साधन धनि र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही हुने प्रहरीले चेतावनी दिएको छ ।
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ शितलादेवीमा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षका सुजन वि।क रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।सुजनले सोमबार साँझ ८ बजेर ५० मिनेटको समयमा शितलादेवी बस्ने देविकला अधिकारीलाई नक्कली पेस्तोल देखाई लुटपाट गरेको वडा प्रहरी कार्यालय रामबजारले बताएको छ । उनको साथबाट लुटपाटका लागि प्रयोग गरेको एउटा नक्कली पेस्तोल र ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद भएको छ । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
विराटनगर ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र०८३ को बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । पुनर्निर्माणमा खर्च प्राथमिकता दिँदै तत्काल कार्यान्वयन नहुने योजनाहरूको रकम रोक्का गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार बजेट कटौती भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका साथै असोज १८ गतेपछि आएको बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि गरिएको हो ।
‘अचानकका विपद्ले प्रदेशका संरचनामा ठूलो क्षति पुर्याएको छ। अब बजेटको प्राथमिकता पुनर्निर्माणतर्फ मोडिएको छ,’ मन्त्री भण्डारीले भने । उनका अनुसार मन्त्रालयहरूले दैनिक प्रशासनिक खर्च र अनिवार्य योजना बाहेकका नयाँ प्रतिबद्धता जनाउने छैनन्। कोशी सरकारले चालु वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो रकमको एक चौथाइ कटौती गरी पुनर्निर्माण प्रयोजनमा केन्द्रित गर्न लागिएको हो । प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू र विभिन्न सरकारी निकायहरू जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ठूलो क्षति भएको क्षेत्रहरू हुन् । अहिले मुख्यमन्त्री कार्यालय पुरानो भवनको उत्तरपट्टि नयाँ बनेको हलबाट सञ्चालन भइरहेको छ भने मुख्यमन्त्री हिक्मत कार्की प्रहरी अतिथि गृहमा बसिरहेका छन् ।
प्रदेशसभा सचिवालय मिडिया सेन्टरको एउटा कोठाबाट सञ्चालन भइरहेको छ भने प्रदेशभरका धेरै कार्यालयहरू सीमित सेवा मात्र प्रदान गर्न सक्ने अवस्थामा छन् । कोशी प्रदेशमा हालै आएको बाढीपहिरोले पनि ठूलो क्षति पुर्याएको छ। विशेषगरी इलाममा बाढीपहिरोका कारण ३९ जनाको मृत्यु भएको छ । मेची राजमार्गको मुख्यखण्ड राजदुवाली क्षेत्रमा सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको यातायात झापासँग विच्छेद भएको छ । साना सवारीका लागि वैकल्पिक मार्ग फिक्कल हुँदै खोलिएको छ । प्रदेश सरकारले विपद्पछिको पुनर्निर्माण कार्यलाई तीव्रता दिन रकमान्तरको व्यवस्था खुला गर्ने तयारी गरेको छ । प्राथमिकता निर्धारण गरेर क्षतिग्रस्त सडक, पुल, कार्यालय भवन र सामुदायिक संरचनाको पुनर्निर्माणमा खर्च केन्द्रित गरिने बताइएको छ ।
काठमाडौं ।
हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुन्छ । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ ।’
उनका अनुसार इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
काठमाडौं,
नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न क्षेत्रका ७५ वटा कम्पनीको ३७ करोड ५४ लाख २० हजार ३५३ कित्ता आईपीओ निष्कासन अनुमतिको पाइपलाइनमा छ । धितोपत्र बोर्डमा ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार ८६१ रुपैयाँ बराबरको ३७ करोड ५४ लाख कित्ता आईपीओ निष्कासनको पाइपलाइनमा रहेको हो ।
आईपीओको पाइपलाइनमा सबै भन्दा धेरै हाइड्रोपावर क्षेत्रका कम्पनी रहेका छन् । हाइड्रो क्षेत्रका मात्रै ३७ वटा कम्पनीहरु बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतीक्षामा रहेको धितोपत्र बोर्डको तथ्यांक छ ।तथ्यांकअनुसार ३७ वटा हाइड्रोपावर कम्पनीका १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ताको १८ अर्ब २६ करोड ०१ लाख ४० हजार २३६ रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको हो ।अहिले पाइपलाइनमा रहेका समूहमध्ये रकमका आधारमा सबै भन्दा धेरै आईपीओ उत्पादन तथा प्रशोधन समूहको रहेको छ । यो समूहको कुल २७ अर्ब ०४ करोड ४९ लाख १६ हजार ७२५ रुपैयाँ बरारको १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता सेयर स्वीकृतिको प्रतीक्षामा छ ।
धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन समूहका तीन वटा कम्पनीको १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख १० हजार कित्ता आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छ ।
लगानी समूहको चार वटा कम्पनीको ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता सेयर आईपीओ धितोपत्र बोर्डबाट निष्कासन अनुमति हुन बाँकी छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गरी तीन लघु बिमा कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ स्वीकृतिको पाइपलाइनमा छ ।
समूहका १० वटा कम्पनी आईपीओ निष्कासन अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । यी कम्पनीले ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् ।
विकास बैंक समूहमा एउटा कम्पनी आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छ । सालपा विकास बैंक आईपीओ निष्काशन स्विकृतका लागि सेबोनको पाइपलाईनमा रहेको छ । यो विकास बैंकले १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर निष्काशनका लागि अनुमति माग गरेको छ ।
काठमाडौं,
धनकुटामा ट्रक दुर्घटना हुदाँ २ जना घाइते भएका छन् । धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका ९ पाँच गोलाईमा दुर्घटना भएको हो । ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरू लाइ सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोली र प्रहरीको टोलीले उद्धार गरेको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।
काठमाडौं, विद्युतीय चुरोट भेप मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन पासाङ र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।
दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।पुन दुई कार्यकाल उपराष्ट्रपति छँदा स्वकीय सचिव रहेका जितेन्द्र हाल अमेरिकामा रहेको पारिवारिक स्रोत बताउँछ ।
पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् । २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सुन तस्करी प्रकरणमा गठन गरिएको जाँचबुझ आयोगले दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो ।
काठमाडौँ,
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ परेको पुष्टि गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । केही दिनअघि उनलाई प्रहरीले बयानसमेत लिएको थियो ।
सीआईबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट भेप भित्रको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ लिएको पाइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोरमा रहेको, जसको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर रहेको उक्त सुन भन्सारका नायव सुब्बा रेवन्त खड्का समेतको संलग्नतामा बिक्री गरी अनियमितता गरेको देखिएको छ।
काठमाडौं ,
जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।
सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ।‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ।
जेन–जीले गरेको प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू रेणु दाहाल र गंगा दाहाल को घरमा आगजनी भएको थियो। आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा लोड गरेर दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका छन्।त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको छ। ‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं,’ आचार्यले भनेका छन्।
यसबीचमा सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति समेत गरेको छ। सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उलंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ।





