२०८३ मंसिर १ सोमबार
२०८३ मंसिर १ सोमबार

काठमाडौं, २६ भदौ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ ।

असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

कात्तिक १० गते छठपर्व परेको छ ।

काठमाडौं, २६ भदौ ।

नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो तुल्याइने जनाएको छ ।    
    
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यू भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।    
    
निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ । निषेधाज्ञा तथा कफ्र्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।    

पोखरा, २६ भदौ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई पार लगाउन सकिने बताएका छन् ।

उनले बिहिबार सामाजिक संजालमार्फत भदौ २३ र २४ गते जेनजी युवाले सञ्चालन गरेको आन्दोलनका क्रममा भएको मानवीय क्षति र त्यसपछिका सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको अकल्पनीय विनाशबारे मुख्यमन्त्री पाण्डेले गहिरो शोक व्यक्त गरेका छन् ।

उनले अगाडि लेखेका छन्- आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू एवम् गण्डकी प्रदेशवासी नागरिकहरू !

गत भाद्र २३ र २४ गतेका दिन Gen-Z युवाहरूले गरेको आन्दोलनका क्रममा जीवन गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु।

देशमा भदौ २३ गते भएको मानवीय क्षतिको पीडामाथि भदौ २४ गते सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ । संघिय संसद भवन, सिंहदरबार परिसर, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन,प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, सरकारी कार्यालय-निवास, नीजी सम्पत्ति लगायतका संरचनामा पुगेको क्षति अत्यन्त दुःखद र निन्दनीय छ ।

यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको अमानवीय आक्रमणप्रति गहिरो खेद व्यक्त गर्दै घोर निन्दा गर्दछु । साथै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । सम्माननीय राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य छ ।

युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी छ ।

भदौ २३ को अत्यधिक बल प्रयोग र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक छ भन्नेमा म दृढ छु । शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य छ र यसको कठोर निन्दा गर्दछु ।

यो घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको छ । अब हाम्रो जिम्मेवारी भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो । नेपाली समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’ हो, जसलाई अझ बलियो बनाउँदै हामीले नयाँ बाटो पहिल्याउनुपर्ने घडी आएको छ ।

युवापुस्ताको उत्साह, आम नागरिकको अपेक्षा र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दै, गण्डकी प्रदेश सरकार ‘घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा’ लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

काठमाडौं, २६ भदौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ । उनी र पत्नी आरजुलाई सुरक्षित स्थानमा राखेर उपचार भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

मंगलबार जेनजी प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

जेनजीको भर्चुअल वैठकमा भावि प्रधानमन्त्रीबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन । ५ हजारभन्दा बढी सहभागी वैठकमा सबैभन्दा बढीले सुशीला कार्कीलाई समर्थन जनाएका थिए।कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । स्रोतका अनुसार उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेकी थिइन् । उनले माग गरेभन्दा धेरै २५ सयभन्दा बढीको हस्ताक्षर उनलाई दिइएको स्रोतको दाबी छ ।प्रधानमन्त्रीमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतको नाम पनि चर्चामा आएका थिए ।

काठमाडौं लगायत देशका  बिभिन्न शहरहरुमा  सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन \जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ । मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ ९१० क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले राजीनामा पत्रमा लेखेका छन् ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

काठमाडौँ , सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।