
पोखरा, १५ भदौँ ।
पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ लिग चरणका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा लिग चरण सकिएका हुन् ।
समूह ए बाट बालकल्याण मावि विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । बालकल्याणले ३ खेलमा ३ जितसहित कुल ९ अंक जोड्दै समूह विजेता बनेको हो । भद्रकाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गर्दा समान अंक रहेको स्नोभ्यू र शान्तिदिप गोलअन्तरको आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा रह्यो ।
समूह बी बाट शैनिक आवासिय ९ अंक र हेम्जा बोर्डिङ ४ अंकका साथ प्रथम र दोस्रो स्थानमा रह्यो । सिर्जना सेकेन्डरी स्कुल ३ र कुम्दिनी होम्स १ अंक बटुल्दै बाहिरियो ।
समूह सी बाट सोसल पब्लिक र फिस्टेल एकेडेमी अघि बढ्दा त्रिभुवन मावि र डायमण्ड बाहिरियो । समूह डी बाट शिशु कल्याण बोर्डिङ र बालोदय अघि बढ्दा अल्फा र सिद्धिविनायक बाहिरियो भने समूह इ बाट गण्डकी र कालिकाले स्थान बनाउँदा सगरमाथा र रिलायन्स बाहिरियो । तालिकाको एफ बाट शिशुकल्याण मावि र गुरुकुलले स्थान पक्का गर्दा बेसलाइन र शान्ति निकुञ्ज बाहिरिएको प्रतियोगिताको म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए ।
उनका अनुसार भोलि (मंगलबार) देखि नकआउट चरणका खेलहरु हुनेछन भने छात्रा तर्फको खेल समेत हुनेछन् । प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।
पोखरा, १५ भदौँ ।
पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा अनैतिक कृयाकलापमा संलग्न भएको आरोपमा १९ जना खाजा घरसंचालहरुलाई पक्राउ गरेको छ । अनैतिक कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा बाग्लुङ बसपार्क स्थित १९ जना खाजाघर सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले भदौ १३ गते दिउँसो २ बजेतिर बाग्लुङ बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न खाजाघरमा छापा मार्दा यौन व्यवसाय सञ्चालन गरेको देखिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेकाहरू माथि लागुऔषध सेवन, यौनजन्य गतिविधि तथा क्षेत्रीय अशान्तिमा संलग्न रहेको आरोप लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेहरुमा प्रकाश गुरुङ, निरु तामाङ, राधिका नेपाली, टिका माया तामाङ, विष्णु किसान, आशा मगर, माया कार्की, मन कुमारी किसान, मञ्जु लामा, लक्ष्मी बिक, आशा तामाङ, सुवास दर्जी, बिमला मगर, मनदेवी घर्ती, बेल कुमारी रानाभाट, मिना कुमारी गुरुङ, सरिता परियार, मिना सिर्पाली र सता परियार रहेका छन् ।
एक दशकअघि बसन्त कुमार लामाले कास्की प्रहरी नेतृत्व सम्हाल्दा बाग्लुङ बसपार्क क्षेत्र ‘क्लियर’ गरेका थिए । बसपार्कबाट अनैतिक कृयाकलाप गर्ने र गराउनेलाई त्यहाँबाट हटाएपनि त्यसपछि पनि विभिन्न ठाउँहरूमा छरिएर व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ । अहिले कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया छन् ।
पोखरा, १५ भदौ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आफ्नो ३० औं वार्षिक साधारणसभा एक समारोहका बीच आज सम्पन्न गरेको छ ।साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा सहित समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गरी पोखरा भ्रमण वर्ष घोषणा गरि विभिन्न कार्यक्रम अघि बढाइएको बताउनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भएसँगै यसले पर्यटन क्षेत्रको समग्र विकासका लागि विभिन्न लगानीहरू आकर्षित गरिरहेको बताउनुुभयो ।
नाट्टा केन्द्रका अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका सदस्य कुमारमणि थपलियाले समग्र पर्यटन क्षेत्रको उन्नयनका लागि नाट्टाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य भएको बताउँदै यहाँको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने कुरामा प्रशासन निरन्तर लागिरहेको बताउनुुभयो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले पोखरा सहित समग्र दशेको पर्यटन प्रवद्र्धदन र विकासका लागि संस्थाका तर्फबाट निरन्तर साथ र सहयोग गरिदै आइएको बताउनुुभयो ।
कार्यक्रमका अवसरमा नाट्टा गण्डकीले सञ्चालन गरेको मनोहरा सिग्देल स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट होलिडे एडभेन्चर टुर्स एण्ड ट्राभल्सका म्यानेजर चिरञ्जिीवि काफ्लेलाई सम्मानित गरिएको थियो । नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी माता मनोहराको स्मृतिमा स्थापित एक लाख ११ हजार रुपैयाँको अक्षयकोषबाट वर्षेनी नाट्टा गण्डकीका सदस्य कम्पनी मध्ये सबैभन्दा पुराना एक जना कर्मचारीलाई नगद १० हजार रुपैयाँ, सम्मापत्र र दोसल्लाबाट सम्मान गरिदै आइएको छ ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालको सभापत्वि एवम् महासचिव चेतन कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक संगीता पौडेलले गर्नुुभएको थियो ।
साधारणसभामा महासचिवको प्रतिवेदन चेतन कार्कीले प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सुवास पहारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापा, नाट्टा सूदुुरपश्चिम प्रदेशका महासचिव शिवहरि पाण्डे लगायतले बोल्नुुभएको थियो ।
पाेखरा, १५ भदाै।
सामसुङकाे आधिकारिक ब्रान्डेड शाे रूम पाेखरामा खुलेकाे छ । पाेखराकाे न्युराेडस्थित पाल्पा हाउस रहेकाे भवनमा नागार्जुन ट्रेडिङ हाउस सामसुङ प्लाजाकाे आइतबार उद्घाटन गरियाे । हिम इलेक्ट्राेनिक्सका डाइरेक्टर सीमा गाेल्छाले शाेरूमकाे उद्घाटन गरेकी हुन् ।
नागार्जुन ट्रेडिङ हाउसका प्राेपाइटर जनपुकार मुनकर्मीका अनुसार याे सामसुङ प्लाजा पश्चिम नेपालकै सबैभन्दा ठुलाे प्लाजा हाे । यहाँ सामसुङ ब्रान्डका टिभी, माेबाइल, फ्रिज, वासिन मेसिन, फ्यान, माइक्रो ओभन, एसी लगायतका सामान पाइने उनले बताए । पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापक मुनकर्मी पाल्पाली समाज पाेखराका सल्लाहकार समेत हुन् ।
व्यवसाय तथा समाजसेा पनि जमिरहेका उनले पाेखराकाे नयाँबजारमा १३ वर्ष अघि नै सामसुङ ब्रान्डकाे एक्क्लुसिभ शाखा संचालनमा ल्याएका थिए । पाल्पा हाउसमा रहेकाे सामसुङ प्लाजामा ग्राहकलाई भारी छुट दिइएको छ। उनले भने, उद्घाटन अवसरमा हरेक सामानमा ग्राहकले विशेष छुट पाउनुहुनेछ। साथै, दशै तिहार अफर पनि शाखा उद्घाटनकै दिनदेखि सुरू भएकाे सम्पूर्णमा जानकारी गराउन चाहन्छु ।
पोखरा, १५ भदौँ ।
लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा ब्यबसायीका नेताहरुले घरदैलो अभियानलाइ तिब्र पारेका छन् ।उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। घरदैलोका क्रममा अध्यक्षका उमेद्दार राजेन्द्र ओझाले लेखनाथ महोत्सब लाइ अब एक कार्यकाल एक महोत्सवको रुपमा अगाडी बढाउने ब्यबसायीलाइ विश्वास दिलाएका छन् ।
महोत्सबले लेखनाथका ब्यबसायीलाइ मर्का परेको बताउदै ओझाले हरेक ब्यबसायीको समस्यालाइ समाधान गर्ने गरि अगाडी बढ्ने प्रतिबद्दता ब्यक्त गरे । संघमा लामो समय रहेर ब्यबसायी साथीहरुको र संघको हितमा काम गरेका कारण ब्यबसायी मतदाताहरुले आफुलाइ जिताउने उनले बिश्वास गरे । “मैले लामो समय र उर्जावान समय संघमा दिएको छु ,कोरोनाकाल होस या अन्य समस्यामा म सधै ब्यबसायी साथीहरुसग हातेमालो गर्दै अगाडी बढेको छु मलाइ ब्यबसायी साथीहरुले न्याय गर्नुहुनेछ ”, उनले भने ।
लेखनाथ उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने १५ औं अधिवेशनमा अध्यक्षको उमेद्वार राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरुले घरदैलो अभियानलाइ तिब्र पारेका हुन् ।ओझाको प्यानलउद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नारा सहित चुनाबी अभियानमा होमिएको छ । घर दैलोको क्रममा ब्यबसायीहरुले गरेको माया र आत्मियता देखेर ओझा चुनाब जित्नेमा बिश्वस्त देखिन्छन्।
घरदैलोको क्रममा स्थानीय कृषिका उत्पादन, हस्तकला र घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना रहेको अध्यक्षका उम्मेद्वार ओझाले जानकारी दिएका छन ।
लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वमा रहेको प्यालनबाट बरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुबेदी ‘राजु’ प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिबमा जिबन तिवारी, उपमहासचिबमा लक्ष्मी प्रसाद ढुंगाना, कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन् । कार्यसमितिको सदस्यहरुमा कृष्णप्रसाद सुबेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नबराज पौडेल, सन्तोष हमाल, शिबराज अधिकारी, सुरेन्द्र गुरुङ,भीमप्रसाद सुबेदी ‘सन्तोष’, महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुबेदी तिवारी, एसोसिएट सदस्यमा प्रवेश बन्जारा र संस्थागत सदस्यमा बिरभद्र कंडेल च्नावी मैदानमा उत्रिएका छन् । संघमा हाल २ हजार भन्दा बढी मतदाता रहेका छन ।
पोखरा, १५ भदौँ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैंगिक हिंसा तथा मानव बेचविखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्र्थापना सेवा प्रदान गर्नेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारी तलब–भत्ता, प्रशासनिक खर्च र दैनिक व्यवस्थापनको जिम्मेवारी पनि कोपिला नेपालले नै लिनेछ ।
मन्त्रालयले लैंगिक हिंसा निवारण कोषबाट उद्धार, आश्रय, लत्ताकपडा, स्वास्थ्योपचार, कानुनी सहायता, पोसिलो खाना लगायतका शीर्षकमा खर्च उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । पीडितहरूको संख्या, बसाइ अवधि, उद्धार विवरण र खर्च अभिलेख प्रमाणित गरी त्रैमासिक आधारमा रकम भुक्तानी हुने जनाइएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बिन्दु कुमार थापाले हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र यसअघि प्रदेशमै नभएको जानकारी गराए । उनका अनुसार अहिले आएर मात्र प्रदेश सरकारले यसको थालनी गरेको छ । प्रदेश सरकारले ७० प्रतिशत र पोखरा महानगरपालिकाले ३० प्रतिशत बजेट व्यवस्थापन गरेर केन्द्र सञ्चालनलाई सुनिश्चित गराइएको हो । कोपिला नेपालले दीर्घकालीन पुनस्र्थापना केन्द्रलाई व्यवस्थित तवरले संचालन गर्नेमा मन्त्री थापा विश्वस्त छन् । गण्डकी प्रदेश सरकारले महिला, बालबालिका तथा समाजकल्याणतर्फ महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको उनले उल्लेख गरे ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले लामो समयदेखि प्रयास हुँदै आएको दीर्घकालीन पुनस्र्थापना केन्द्र स्थापनाको कार्य २०८२ सालमा कानुनी कार्यविधि पारित भएपछि सम्भव भएको बताए । यसअघि ८ वटा अल्पकालीन पुनस्र्थापना केन्द्र सञ्चालन भए पनि दीर्घकालीन पुनस्र्थापना केन्द्र पहिलोपटक स्थापना भई सञ्चालनमा आएको उनको भनाई छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस सम्झौतामार्फत केन्द्र सञ्चालनलाई ऐतिहासिक दिनको संज्ञा दिएकी छिन् । “लैंगिक हिंसापीडितहरूले अझै पनि उजुरी दिन डराउँछन्। यसरी संस्थागत संरचना बनेपछि उनीहरूको सुरक्षा र अधिकार सुनिश्चित हुने आशा गरिएको छ।”, उनले भनिन् ।
कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले लामो यात्रापछि सपना पूरा भएको बताइन् । “१५ वर्षअघि देखिएको सपना आज साकार भएको छ। अब यो यात्रामा अझ धेरै चुनौती छन्। हिंसापीडितलाई सुरक्षित बनाउन र उनीहरूको जीवनलाई नयाँ दिशातर्फ लैजान सबैको सहकार्य आवश्यक छ।”, उनले भनिन् ।
हिंसा पीडित महिला तथा बालिकाहरुको उद्यार, संरक्षण, राहत र पुनस्र्थापनाका लागि उक्त केन्द्र संचालनमा ल्याइएको हो । पोषणयुक्त खाना, लत्ताकपडा, सुरक्षित आवास, स्वास्थ्य उपचार, शिक्षा, मनोसामाजिक परामर्श, कानुनी सहायता, पारिवारिक पुनर्मिलन, सीप विकास तालिम र पुुनस्र्थापना जस्ता विषयवस्तुलाई उक्त केन्द्र संचालन गर्ने कार्यविधिमा समेटिएको छ । ७ वर्ष सम्मका आश्रित बालबालिकालाई पीडितसँगै केन्द्रमा राख्न पाउने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।
पोखरा, १५ भदौ ।
पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द लगायतको उपस्थिति रहेको थियो । प्रदेश प्रमुख भट्टले गौरा पर्वलाई एकताको पर्वका रहेको बताउनुभयो । सुदूरपश्चिममा यो पर्वको निकै महत्व रहेको र धुमधामका साथ मनाइने गरेको बताउनुहुँदै उहाँले अहिले सुदूरपश्चिमेली जहाँ जहाँ पुगेका छन्, त्यहाँ गौरा पर्व मनाइने गरेको उल्लेख गर्नुभयो ।
‘काम विशेषले घरबाहिर गएका व्यक्तिहरु यसै पर्वमा फर्कने गर्दछन् । यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ । कुनै भेदभाव बिना नै अंगालो मारेर देउडा खेल्दै रमाउने गरेका छन् ।’ उहाँले भन्नुभयो – ‘गौरा पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुगेको छ । समाजलाई एकसूत्रमा बाँधेको छ ।’ विवाह गरेका चेलीहरू माइती आउँदा परिवारमा खुसी थपिने गरेको भन्दै उहाँले गौरा सामूहिक रूपमा मनाउने पर्व भएकाले यसले समाजिक सद्भावलाई पुनर्ताजगी प्रदान गर्ने उल्लेख गर्नुभयो । ‘देउडा एकअर्कासँग अँगालो मारेर खेल्ने गरिन्छ । जसले हामी एक हाँै भन्ने सन्देश दिन्छ । वर्षभरि तीतामीठा जे भए पनि गौरा पर्वमा सबैलाई बिर्साइदिन्छ ।’ उहाँले भन्नुभयो – ‘नयाँ ताजा सम्बन्ध जोडिदिन्छ । जसले एकताको सन्देश दिन्छ । गौराले आपसमा रहेका तिक्तालाई पनि हटाइदिन्छ ।’
कार्यक्रममा देउडा गीत प्रस्तुतीसँगै बिरुडा खुवाइएको थियो । समाजका अध्यक्ष निरज पन्तका अनुसार भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरूडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरूडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र धारामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरूडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्राएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ ।
सोही दिन महिलाले प्रसादका रूपमा बिरूडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरूडा थापिदिने चलन छ। सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैंभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ। गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरूद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् । देउडाका साथै धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । यी सबै सामूहिक खेल हुन् ।
वर्ष खान नपाउनेहरू पनि गौरामा मिठो खान्छन् । वर्षभरि फाटेका लुगा लगाउनहरू पनि एक जोर नयाँ लुगा लगाउँछन् । जसले समाजमा सबै समान भएको देखाउँछ । अर्को महत्वपूर्ण कुरा यदि गाउँमा कुनै मानिस मरेमा त्यो वर्ष गौरा ल्याइँदैन । त्यो वर्ष सबैले दुःख साटासाट गर्दछन् । यसले गाउँलेमा भएको आत्मीयतालाई झल्काउँछ । एकको दुःख सबैको दुःख हो । दुःख र सुख सबै बराबर साटासाट गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दछ । यसबाट के पुष्टि हुन्छ भने गौरा पर्व सामाजिक एकता तथा सद्भावको पर्व हो । यसले समाजलाई एकताको सूत्रमा बाँधेको छ । संस्कृति, भाषा चलनको संरक्षणसँगै सामाजिक सद्भाव पनि कायम राखेको छ । समग्रमा, गौरा पर्वले सामाजिक एकता, पारिवारिक मिलन तथा भाषा संस्कृतिको संरक्षणका लागि अतुलनीय योगदान पु¥याएको छ ।
काठमाडौं , दसै लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही भदौ २९ देखि सुरू गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै सटही कार्यक्रम २९ भदौदेखि १० असोजसम्म सञ्चालन हुने जनाएको हो।
सर्वसाधारण तथा संघ–संस्थाहरूले सुकिला नोटहरू नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, सातवटै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी तथा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट बैंकिङ समयभित्र सटही गर्न सक्नेछन्। राष्ट्र बैंकले प्रत्येक वर्ष दशैँ–तिहारजस्ता चाडपर्वहरूमा सार्वजनिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट वितरण गर्दै आएको छ।
पोखरा, १४ भदौँ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको समेत उल्लेख गरे ।
उनले बीमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको चर्चा गरे । उनले यी समस्या समाधानका लागि प्रदेश सरकार आफ्नो ठाउँबाट सक्दो लागिरहेको उल्लेख गरे ।
संघले पुराना गाडी विस्थापनमार्फत वातावरणीय प्रदूषण घटाउन गरेको पहल, दुर्घटना हुँदा क्षतिपूर्ति र सहयोग सुनिश्चित गर्ने काम र सामाजिक क्षेत्रमा गरेको कार्याको प्रशंसा मन्त्री केसीले प्रशंसा गरे । उनले बसपार्कको चर्चा हुने र समस्या साधानको लागि पहल भएपनि ट्रक पार्किङको समस्या ठूलो रहेको समेत उल्लेख गरेका छन् ।
मन्त्री केसीले प्रविधिको प्रयोग मार्फत व्यवसायमा सहजीकरणका लागि समेत व्यवसायीलाई आग्रह गरे् । ‘ट्रकहरुमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्नुहोला । यसले हाम्रा ट्रक कहाँ छन्, कहाँ पुगे भन्ने थाहा पाउन सजिलो हुन्छ । सुरक्षाको दृष्टिकोणले यो निकै महत्वपूर्ण छ । डिजिटल बिलिङजस्ता विषय पनि यहाँहरुको प्राथमिकतामा परोस् भन्ने मेरो सुझाव छ’ उनले भने ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले सरकारले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यानुपर्नेमा जोड दिए । आफूहरुलाई दोस्रो दर्जाको नागरिक जसरी व्यवहार गर्नेगरिएको भन्दै दुखेसो पोखेका उनले व्यवसायीमैत्री वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन् । राज्यलाई नियमपूर्वक कर तिरेर र रोजगारी सृजना गरेर सहयोग गर्ने व्यवसायीको विरुद्ध सरकार गएर कसको पक्षमा काम गर्ने हो ? भन्दै उनले प्रश्न समेत गरे ।
संघका संस्थापक अध्यक्ष तेजनाराण तिवारीले सरकाले व्यवसायीलाई दुख दिने नियत राख्न नहुने धारणा राखे । अनेक झमेला दिएर प्रतिकुल अवस्थामा समेत व्यवसाय गरिरहेका व्यवसायीलाई पलायन गराउने तर्फ सरकार लागेको उनको भनाई थियो ।
ग्ण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले ट्रक पार्किङको विषय अहिलेसम्म सरकारको नजरमा नपरेको बताए । नेपाली व्यवसायीले भारबहन लगायतका नियमको कडाईका साथ पालना गर्दा भारतीय व्यवसायीलाई सो नियम नै नलाग्ने अवस्था आउनु अनि नेपाली व्यवसायीलाई दुख दिनु कस्तो नियत हो ? भन्दै उनले प्रश्न गरे । गण्डकी ट्रक यातायात व्यवसायी संघका सदस्यहको मात्रै अरबौं लगानी रहेको भन्दै उनले यो लगानीको संरक्षण गर्नु सरकारको पनि दायित्व रहेको सम्झाए ।
कार्यक्रममा हेवी इकुप्मेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइराला, पूर्व वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदी, संघका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना र महासचिव सोभराज थापा लगायतले बोलेका थिए ।
पोखरा, १४ भदौँ ।
हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रत अनुष्ठान–२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ।
श्री लक्ष्मीनारायण मन्दिर परिसरको हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको भवनमा सम्पन्न भव्य समारोहमा अनन्त श्री विभूषित श्रीमज्जगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पावन सत्सङ्कल्पअनुसार श्रेष्ठलाई सम्मानपत्र, माला र दोसल्ला अर्पण गरी अभिनन्दन गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्र सुधार, समाज सेवा, राजनीतिक स्थिरता र राष्ट्रिय चेतना अभिवृद्धिमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरे। उनले श्रेष्ठको सरल जीवनशैली, जनताप्रति सेवाभाव र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए।
त्यस्तै, नेष्ट्रो नेपाल समृद्धि लघु वित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ठकुरीले महायोग ध्यान साधनाले आत्मशुद्धि, आत्म–उन्नति र आध्यात्मिक जागरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
यस अवसरमा चतुर्मास व्रत अनुष्ठान र महायोग ध्यान साधनाले आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वबारे समेत विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूका अनुसार, यस्तो साधनाले समाजमा सकारात्मक ऊर्जा, धार्मिक–सांस्कृतिक चेतना र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
समारोहमा स्थानीय समाजसेवी, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठित व्यक्तित्व, श्रद्धालु भक्तजन र साधकहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले यस प्रकारका आध्यात्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता र मानव कल्याणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
वैदिक परम्परा अनुसार, दैनिक रूपमा नवग्रह पूजन, रुद्राभिषेक र हवन सञ्चालन भइरहेको छ। असार २७ गतेबाट प्रारम्भ भएको चालू चतुर्मास व्रत अनुष्ठानआगामी कार्तिक १५ गतेसम्म जारी रहनेछ। यस अवधिमा सोह्र श्राद्धको पावन अवसरमा पितृ यज्ञ, नवरात्रिमा दुर्गा सहस्रचण्डी यज्ञ र दिपावलीमा श्रीलक्ष्मी यज्ञ सम्पन्न गरिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रमको संयोजन हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रका साधक रेशम खड्काले गरेका थिए।





