
पोखरा, १४ भदौ ।
संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष प्रस्तुत गरे ।
परामर्शदाता रमेश अधिकारीले आधारपत्र प्रस्तुत गर्दै संघीयता समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितताका लागि ल्याइए पनि अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी रहेको, अधिकार टकराव, कर संकलनमा अस्पष्टता र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर रहेको बताए । उनले २०६३ यता १३ जना प्रधानमन्त्री फेरिनु, कोशी प्रदेशमा ९ पटक र गण्डकीमा २०७४ यता ७ पटक नेतृत्व परिवर्तन हुनु राजनीतिक अस्थिरताको प्रमाण भएको उल्लेख गरे ।
अनुसन्धानकर्ता शेखर पराजुलीले संघीयता खर्चिलो मात्र हो भन्ने धारणा हावी भए पनि स्थानीय तहले सेवा प्रवाह र भौतिक निर्माणमा उल्लेखनीय काम गरेको बताए । उपमेयर स्वस्थानी रिजालले दशकभरिको अभ्यास समीक्षा आवश्यक रहेको भन्दै कानुनी, कार्यान्वयन र कर्मचारी क्षमतामा कमी रहेको धारणा राखिन् । प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले संघले अधिकार दिन कञ्जुस्याइँ गरेको र जिल्ला समन्वय समिति अनावश्यक भएको बताए ।
गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले संघीयताको मोडल स्पष्ट नभएकाले प्रदेश कमजोर बनेको बताए । पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले वित्तीय संघीयता सबल नभएसम्म संघमाथि निर्भरता रहने उल्लेख गरे । अधिवक्ता डा. विष्णुहरि तिमिल्सिनाले समस्या आयो भने समाधान खोज्नुपर्नेमा जोड दिए भने प्रा.डा. लेखनाथ भट्टराईले “स्थानीय तह प्रभावकारी भए पनि प्रदेश तह नागरिकसँग जोडिन नसकेको” बताए ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक सुरेन्द्रबाबु तिवारीले योजना छनोटदेखि कार्यान्वयनसम्म पुरानै शैली प्रयोग भएको सुनाए । पूर्व वडाध्यक्ष खगराज आचार्यले महँगो र त्रुटिपूर्ण चुनाव प्रणालीप्रति आक्रोश पोखे । डा. कृष्ण अधिकारीले संघीयता अपरिहार्य भए पनि राजनीतिक दल र शासकको कार्यशैली सुधार आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा बाबुराम पौडेल, सुरेन्द्र परियार, अर्जुन पोखरेल, डा. रामचन्द्र बराल, रोशन भट्टराई, ईश्वरी पौडेल, भानु पराजुली, सन्देश शर्मा, उपेन्द्रप्रसाद पौडेल, भरत कोइरालालगायतले पनि संघीयता कार्यान्वयनका विषयमा जिज्ञासा र धारणा राखे ।
कार्यक्रमको अध्यक्षता गरेका नेत्रनारायण पौडेलले लोकतन्त्र अभ्याससँग जोडिएको प्रणाली भएको भन्दै अहिलेसम्म बनेका आयोगका प्रतिवेदन किन कार्यान्वयन नभएका विषयमा सरकार संवेदनशील हुनुपर्ने निष्कर्ष प्रस्तुत गरे ।
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले मासिक रुपमा कचहरी सञ्चालन गर्दै आएको छ । कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले कचहरीसँगै अनुसन्धान र प्रकाशनका काम पनि गरिरहेको जानकारी दिए ।
पोखरा, १४ भदौ ।
पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो ।
प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको प्रतिभाले नगद ५० हजार र तृतीय हुने डायमन्डले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लिड गिटारवादक तर्फ कास्की मोडर्नाइज्ड विजेता बन्यो । उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो भने अन्य विधाका उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सङ्घका सचिव अमित गुरुङले बताए।
‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सहभागी बन्ने टिममा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोर्डनाइज्ड स्कुलका दुई टिम, मदरल्याण्ड सेकेन्डरी स्कुल, ग्लोबल कलिजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल रहेका थिए ।
यि १७ टिमबाट १३ गते राखेको प्रस्तुतीको आधारमा फाइनल चरणको लागि १० टिम छानिएका थिए । तिनै १० टिमबीच शनिबार भएको प्रतिष्पर्धामा आफ्नो प्रस्तुती मार्फत गण्डकीले उपाधि जितेको हो ।
प्रतियोगिताको निर्णायकमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए । बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटनमन्त्रीका स्वकिय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न उत्पेरित गरेको बताए । प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास समेत उनको थियो ।
यसअगाडि शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले यस प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उनले बताए । पर्यटनको राजधानी पोखरामा आयोजना गरिएको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताए ।
पोखरा, १४ भदौँ ।
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखरा को २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । नेष्टको अधिवेशनले सूर्यप्रसाद न्यौपानेलाई अध्यक्षमा चुनेको छ । नेष्टको उपाध्यक्षमा कमला देवी श्रेष्ठ, सचिवमा कुमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्देश सुवेदी, सहसचिवमा प्रभा आचार्य चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भुवन पराजुलीले जानकारी दिइन् ।
नेष्टको सदस्यहरुमा डा. पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ निर्वाचित भएका छन् । स्वयंसेवा तथा संस्थाको पहिचानलाई अब्बल बनाउने अभियानमा रहेको नेष्टको १० औं अधिवेशनबाट लेखा समिति संयोजकमा मोना भण्डारी, सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल सर्वसम्मत निर्वाचित भएको निर्वाचिन समितिका सदस्य हरिप्रसाद लुईटेलले जानकारी दिए । निर्वाचन समिति संयोजकमा अधिवक्ता भुवन पराजुली र सदस्यमा सुरेन्द्रबाबु तिवारी र हरिप्रसाद लुईटेल रहेका थिए ।
संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा भएको सभा सहसचिव रविन श्रेष्ठले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रभा आचार्यले गरेकी थिइन् । संस्थाको वर्षिक प्रतिवेदन सचिव सूर्यप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सन्देश सुवेदीले प्रस्तुत गरेका थिए । नयाँ नेतृत्वलाई सपथ खुवाउँदै अधिवक्ता पराजुलीले सौहार्दपूर्ण तवरले काम गर्न सुझाव दिएकी थिइन् । परामर्श सेवामा अग्रणी भूमिका खेल्दै आएको नेष्टले संघीय, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गर्दैै अघि बढ्ने जनाएको कर्मचारी लेखा तथा प्रशासन सहायक मुना मजाकोटीले जानकारी दिइन् । नयाँ प्रविधि र सोचलाई सस्थागत गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद न्यौपानेले प्रतिवद्धता जनाएका थिए ।
पोखरा, १४ भदौ ।
पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए । कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने,‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेला बेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे । अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए ।
सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’
आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
पोखरा, १४ भदौ ।
र्यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन् । केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल र रामजी पौडेल सदस्य रहेको निर्वाचन मण्डलले उक्त प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष उपेन्द्र पौडेलले शुभकामना दिएका थिए ।
यसअघि सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए ।
साधारण सभाले सचिव नेपालप्रकाश अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुुव केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । पठन संस्कृतिको विकासमा लागिपरेको सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
पोखरा, १४ भदौ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ । पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाउनुभएको हो ।
प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञान वृद्धाश्रमप्रति सकारात्मक नदेखिएपनि विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । सन्तानको समयअभाव वा तिरस्कृत भएर घरमै बसेर बेसहारा तथा असुरक्षित जीवनयापन गर्नुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र सहज जीवनयापन गर्नुलाई बुद्धिमानी ठान्नुपर्ने उहाँको भनाई छ ।
उहाँले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरेर समाजसेवामा सक्रिय पराजुली परिवार र सहयोगी शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । ‘सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहज बन्दै जाँदा यस्ता वृद्धाश्रम सञ्चालन गरेर ठूलो सामाजिक कर्म गर्नुभएको छ ।’ भट्टले भन्नुभयो ।
वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।
ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिने र यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्ने उहाँको भनाई छ ।
वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको पावन अवसरमा ज्येष्ठ नागरिकलाई स्मरण गरी सम्मान व्यक्त गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।





