२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

काठमाडौँ , अमेरिकी पुनरावेदन अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको भन्सार दर अवैध ठहर गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार संघीय पुनरावेदन अदालतले ट्रम्पले लगाएको भन्सार दर अवैध ठहर गरेको हो।

ट्रम्पले गत फेब्रुअरीमा क्यानडा, मेक्सिको र चीनविरुद्ध लगाएको छुट्टै कर र अप्रिलमा लगाएको ‘रेसिप्रोकल’ भन्सारको वैधानिकतामाथि प्रश्न उठाउँदै भन्सार दर अवैध ठहर गरिएको हो।ट्रम्पले अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन९आइइपीए०लाई आधार बनाएर भन्सार दर घोषणा गरेका थिए। सोही कानुनअन्तर्गत उनले मनमौजी रूपमा भन्सार शुल्क तोकेका थिए। तर भन्सार शुल्क तोक्नु राष्ट्रपतिको अधिकार क्षेत्रभित्र नपर्ने भन्दै अदालतले आदेश दिएको हो। यद्यपि ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन जान पाउने मौका दिइएको छ। अक्टोबर १४ सम्मका लागि यी करहरूलाई यथावत् राख्न अनुमति पनि दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

फैसलामाथि प्रतिक्रिया जनाउँदै ट्रम्पले अमेरिकाले यसको परिणाम भोग्नुपर्ने तर्क राखेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ’ मा लेखेका छन्, ‘यदि यसलाई कायमै राखियो भने, यो निर्णयले शाब्दिक रूपमा लिट्रल्ली संयुक्त राज्य अमेरिकालाई ध्वस्त पार्नेछ। यदि यी शुल्कहरू हटाइएमा, यो देशका लागि पूर्ण विपत्ति हुनेछ। यसले हामीलाई आर्थिक रूपमा कमजोर बनाउनेछ।’ ट्रम्पले अन्तर्राष्ट्रिय आर्थिक नीतिमा भन्सार दरलाई प्रमुख हतियारका रूपमा प्रयोग गरेका थिए। विश्लेषकका अनुसार अदालतको यो फैसलाले उनको नीति कमजोर बनाएको छ।

पोखरा, पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए । कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने, ‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेलाबेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे । अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए ।

सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’  आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ ।  होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा दरबाङमा विद्यालय स्तरीय तेस्रो म्याग्दी भलिबल कप हुने भएको छ । आगामी असोज २ देखि ५ गतेसम्म मालिका गाउँपालिका–६, दरबाङ बजारमा अन्डर २० छात्रछात्रा भलिबल, पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिताको प्रतियोगिताको तयारी तीब्र पारिएको हो । गौमति खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडीको उपस्थिती हुने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

मालिका गाउँपालिका भलिबल संघको सहआयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुने प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्धितिय हुनेले क्रमश ५० हजार, २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने शिक्षकतर्फ प्रथम र द्धितियले क्रमश २५ हजार, १३ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । नाम दर्ता भदौ २५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षकल, उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर र डिफेन्डरलाई लगायत विभिन्न विधामा सम्मान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरी प्रशिक्षण दिदैं जुनियर म्याग्दी टिम बनाउने आयोजकले जनाएको छ ।

बागलुङ,उच्च अदालत बार एसोसिएसन बागलुङको ३३ औं अधिवेसनबाट अधिवक्ता गिता श्रीष अध्यक्षमा चयन भएकी छन् । शुक्रबारदेखि शुरु भएको अधिवेसनको क्रममा अन्तिम नामाबली प्रकाशन गर्दै निर्वाचन समितिले शनिबार श्रीषको एकल उमेदवारीमात्र बाँकी रहेको जनाएको हो । अध्यक्षमा उमेदवारी दिएका अधिवक्ता हरिकृष्ण सुवेदीले उमेदवारी फिर्ता लिएपछि श्रीष निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, अधिवक्ता डा.  डिल्लीराज गौतम र अधिवक्ता ज्ञानेन्द्रराज पन्त रहेको निर्वाचन समितिले शनिबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । बारको उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशंकर सापकोटा र कोषाध्यक्षमा रामराजा कँडेल चयन भएका छन् । सदस्यहरुमा नरेन्द्रप्रताप सिंह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मीदेवी जिसी चयन हुँदा मानवअधिकार समितिको सदस्यमा गोविन्दप्रसाद ओझा चयन भएका छन् ।

केन्द्रीय पार्सदतर्फ बद्रीप्रसाद शर्मा, हरि गौतम, गोविन्द गौतम, अखिलनाथ शर्मा चयन भएका छन् । बारमा तीन सदस्य र महिला समिति संयोजक रिक्त छ । सहसचिव पदमा पुग्ने नै महिला समितिको संयोजक रहने बैधानिक व्यवस्था छ ।

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् । परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाएका छन् ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ ।

यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने निधो गरेको पनि राईले जानकारी गराएका छन् । एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।

 

 

पोखरा महानगरपालिका वडा नं ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित सुशासन, पारदर्शिता र जबाफदेहिता गर्ने उद्देश्य अनुरूप शुक्रवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।  

कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद बरालले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने महत्त्वपूर्ण योजनाहरूलाई अगाडि बढाइरहेको बताए। उनले पोखरा महानगरपालिकामा वडा नं ५ खेलकुदमा परिचित वडा भएको बताउँदै खेल पूर्वाधारलाई अगाडि बढाउने लक्ष्य अनुरूप यस आर्थिक वर्षमा मालेपाटन खेलमैदानमा बनिरहेको मिनी कभर्ड हल सम्पन्न गर्नका लागि पहिलो प्राथमिकता दिएर बजेट व्यवस्थापन गरिएको बताए। सहरी स्वास्थ्य केन्द्रलाई अझ व्यवस्थित र सु-सम्पन्न बनाउँदै थप उपचार तथा ल्याब सेवा राख्दै धेरै भन्दा धेरै नागरिकलाई सेवा दिनको लागि तयारी गरिएको उनले जानकारी दिए। बरालले निर्माणाधिन अवस्थामा रहेका दुई वटा पुललाई यो वर्ष सम्पन्न गर्ने उद्देश्य अनुरूप महानगरबाट टेन्डर आह्वान गरी बजेट व्यवस्थापन गरिएको बताए। 

बस्ती विकास र राजमार्ग चौडा बनेसँगै वडा नं ५ मा दुर्घटनाको चुनौती थपिएको भन्दै दुर्घटना न्यूनीकरणका लागि वडाले विशेष प्राथमिकताका साथ कार्यक्रमहरू ल्याइने बताए। वडाको कार्य प्रगतिका बारेमा वृत्त चित्र समेत प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित वडावासीले सेवा प्रवाह, विकास निर्माण, साङ्गठनिक सुशासन, पारदर्शिता तथा जबाफदेहिता, ढल, नाला तथा पानीको निकास, सरसफाइ, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सदुपयोग, नागरिकको स्वास्थ्य, सुरक्षा र शिक्षा लगायत समुन्नत वडा निर्माणका आधारहरूका विषयमा गुनासा तथा सुझावहरू राखेका थिए। 

१९ जना नागरिकबाट प्रस्तुत जिज्ञासालाई स्पष्ट पार्दै वडाध्यक्ष बरालले आफूहरू पारदर्शिताको सवालमा सधैँ सचेत रहेको भन्दै कार्यालय समयमा जति बेलै नागरिकले आएर हिसाब हेर्न सक्ने बताए। उनले समग्रमा वडा नं ५ लाई हरियाली वडा, चौतारी नै चौतारी भएको वडा र व्यवस्थित मानव विकास भएको समृद्ध वडा निर्माणमा लागिपरेको भन्दै यसका लागि वडावासीलाई सहयोग गर्न आग्रह गरे । आफ्नो टोलमा सरसफाइ गर्न स्वयम टोलवासीको पनि जिम्मेवारी रहने भन्दै चौपाया, कुकुर जस्ता जनावरहरू जथाभाबी सडकमा नछोड्न तथा घरभित्रको फोहोर पानी नाला तथा सडकमा नफाली घरभित्रै व्यवस्थित गर्न वडा अध्यक्ष बरालले आग्रह गरे । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचिव लक्ष्मण शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। 

वाराही सञ्चार प्रालिको सहजीकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन पत्रकार उमा आले र माधव पराजुलीले गरेका थिए। 

पोखरा, १२ भदौ ।

पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने भएका छन् ।

“हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा दैनिक रुपमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती जारी रहेको छ ।

कलाकारहरुको प्रस्तुती अन्तगत शुक्रबार राजु परियार र ज्योती मगर सगै चोलेन्द्र पौडेल, शिवहरी ढुङ्गाना, शिव पौडेल, कृष्ण भट्टराई, कमला गैरे, शान्ति बर्देबा सञ्जिव सिंह राना लगायतका कलाकारले आ आफनो प्रस्तुती मार्फत दर्शक नचाउने सगै पोखराको पुरानो टँुडिखेल घन्काउने भएका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

जारी महोत्सवमा बिहीबार रोजिना परियार, तारापति सुवेदी, रामजी पौडेल, नवराज अधिकारी, तुलसा जिसी, पार्वती गुरुङ, गगन गुरुङ लगायतका कालाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए ।

महोत्सव अन्र्तगत आयोजना गरिएको एकल नृत्य प्रतियोगिता, छेलोहान्ने प्रतियोगिता, ढिकी जातो प्रतियोगिता र तिज गित प्रतियोगिता भने सम्पन्न भएका छन् ।

१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका छन् ।

ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न टुर्बोग वियरले सह प्रायोजन सगै गृहलक्ष्मी ग्यास, कर्मा ईन्टरनेश्नल ईम्पोल्यमेन्ट प्रालि काठमाण्डौले उप प्रायोजन गर्ने भएका छन् । यसै गरि बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैक र सालिको इन्स्यूरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्धन गर्ने महोत्सव सम्पन्न गर्न गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकाश बैंक, गौतम स्याङ्गजा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक बिद्यालय, पराजुली आयल स्टोस पोखरा १, कुवँर हार्डवयर, लान्दुक पेट्रोलियम प्रा.लि, पोखरा इन्टरनेट, निचि वेवि चिप्लेढुङ्गाले सहयोग गरेका छन् ।

 

पोखरा, १२ भदौँ ।

नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा बिहीबार कोण सभा गरेको छ ।प्याव्सन, एन प्याव्सन, हिसानमा कास्कीले जिल्ला प्रशाशन कार्यालय कास्की अगाडि कोण सभा आयोजना गरेको हो ।

संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै कास्कीका निजी तथा आवसीय विद्यालयले कोण सभाको आयोजना गरेका हुन् ।

कोण सभामा बोल्दै प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले असहमतिका वुदाँ नसच्याएमा कडा रुपमामा आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएर आफ्ना माग पुरा गर्न सकारलाई आग्रह गरेका छौ’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनलाई मार्फत हाम्रा माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने छौं ।’

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले निजी तथा आवसीय विद्यालयका सञ्चालकलाई हतोत्साईत बनाउने काम गरेको बताए ।

‘आफ्ना सम्पूर्ण जग्गा जमिन घर धितो राखेर विद्यालय सञ्चालन गरेका छौ’ उनले भने ‘जिवनको पुरै समयमा शिक्षा सेवामा खटिदै गर्दा नेपाल सरकरबाट सम्मान पाउनुको साटो उल्टै हतोत्साईत गर्ने काम भएको छ । तुरुन्त यो ऐन सच्च्याउन नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौ ।’

हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले संघीय शिक्षा ऐन नसच्याए सम्म आन्दोलन नरोकीने बताए । प्याव्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पहिलो चरणको आन्दोलन सकिएको बताउँदै आज केन्द्रबाट दोस्रो चरणको आन्दोलनको घोषण हुने जानकारी दिए । कोण सभा लगत्तै संयुक्त संघर्ष समितिले जिल्ला प्रशाशन कार्यालय कास्कीका मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका थिए ।

पूर्ण छात्रा वृत्ति भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामाग्रीहरू जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैर नाफामुलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने माग निजी तथा आवासीय विद्यालयको रहेको छ ।

त्यसै गरी छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्ने सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन २०२१ को दफा ३(क), नियमावली २०६० को नियम १०(क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने माग राखेका छन् ।

 

 

पोखरा १२ भदौ ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ सालमा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना भएको फेवा बेगनास चौतारी ‘मदर क्लब’मा मर्ज भएपछि सिर्जना चौतारीको सदस्य सङ्ख्या ५४ पुगेको छ ।

 सिर्जना चौतारीले बिहीबार एक कार्यक्रमको आयोजना गरेर समायोजन भइ आएका सदस्यहरूलाई स्वागत गरेको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका वर्ष २०२५/२०२६ का अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता कार्यक्रम भएको थियो । 

कार्यक्रममा सिर्जना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, फेवा बेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे, दुवै क्लबका पूर्व अध्यक्षहरू जित बहादुर थापा गोपाल, जीवन गोर्खाली, टङ्क ढकाल, महेश्वर रिमाल, राजु बराल, विधान गौतम, राजाराम पौडेल, उमापति ढकाल, टिका बहादुर लम्साल, चित्र गुरुङ, द्वितीय उपाध्यक्ष रमेश अधिकारी, तृतीय उपाध्यक्ष कृष्णप्रसाद आचार्य, सह कोषाध्यक्ष राजेश ढुंगाना लगायतले दुई क्लब समायोजन भएर कार्य गर्दा काम प्रभावकारी हुने विश्वास गरेका थिए । 

दुवै क्लबले विगतमा निर्माण गरेको साखलाई कायम राख्दै डिस्ट्रिक्टको अब्बल क्लबको रुपमा स्थापित गर्दै गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । सिर्जना चौतारीका सचिव खगेश्वर पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष शान्ति सिग्देलले गरेकी थिइन ।

 

पोखरा, १२ भदौ।
 
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए ।

सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका  लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ ।

गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको  मञ्चमा  हाल ७४ जना पत्रकार आवद्ध छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो । २०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।

 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।