
१४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि माघ ११ सम्म
पोखरा, १० कात्र्तिक ।
युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको १६ औं साधारण सभाले १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने गरि मिति तोकेको हो ।
हालै सम्पन्न साधारण सभामा वोल्दै युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिदै आइरहेको र आगामी १४ औं संस्करणको पोखरा महोत्सवमा समेत सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।
सामाजिक क्षेत्रमा काम गर्दै आइरहदा संघर्ष र चुनौतिहरु थपिदै गइरहको बताउदै संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लब पोखरालाई राष्ट्रिय स्तरको क्लव बनाउनतर्फ अहिलेका पदाधिकारीहरु लाग्नुपर्नेमा जोड दिए । साथै क्लबले हाल आफ्नै जग्गा रहेको स्थान लेखनाथको अर्चलेमा आवासिय छात्राबास निर्माणको काम तीब्र गतिमा अगाडी वढिरहेको र आगामी वर्ष ५ जना छात्राहरु राखेर छात्राबासको सुरुवात गर्ने बताए ।
युनाइटेड क्लव पोखराका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लब १६ वर्षमा प्रवेश गर्दै गर्दा आगामी दिनमा शिक्षा क्षेत्रलाई अगाडी बढाउदै आवाशिय छात्राबास निर्माणलाई नै जोड दिनुपर्ने धारणा राखे । सामाजिक कामकै कारण युनाइटेड क्लबको पहिचान भएकाले क्लबले लिएको उद्देश्य समेत बिस्तारै साकार हुदै गएको उनको भनाइ रहेको थियो ।
युनाइटेड क्लबका परिकल्पनाकार आनन्द थापाले अमरसिंह वरपरका युवाहरुलाई समेटेर स्थापना भएको युनाइटेड क्लब आज सम्म आइपुग्दा क्लबका परिकल्पनाकारहरुको उद्देश्य अनुरुप वढेकोमा क्लबका स्थापना कालदेखि वर्तमान अध्यक्षहरु प्रति धन्यवाद ब्यक्त गरे । आफुले १६ वर्ष अगाडी देखेको सपना बिस्तारै साकार हुदै गएको उनको भनाइ रहेको थियो । स्थापना कालमा भएका चुनौतीपूर्ण दिनहरुकै कारण आज युनाइटेड क्लबले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै परिकल्पनाकार थापाले कुनैपनि उद्देश्य प्राप्तिका लागि समय पर्खनुपर्ने धारणा राखे ।
साधारण सभामा क्लबका अध्यक्ष लोक बहादुर थापाले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा बोल्दै युनाइटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लब १६ वर्षमा लाग्दै गर्दा सम्पूर्णको साथ र सहयोग नै मुख्य भएकाले आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भब्यताका साथ सम्पन्न गर्नका लागि समेत सम्पूर्ण आजीवन सदस्य, सदस्य, कार्यसमिति सदस्य तथा पदाधिकारी र क्लबका शुभचिन्तकहरुलाई आग्रह समेत गरे ।
युनाइटेड क्लब पोखराले आयोजना गर्ने पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएको र पोखरा महोत्सवकै आम्दानीबाटनै क्लबले सामाजिक काम गर्दै आइरहेकाले १४ आंै संस्करणको पोखरा महोत्सवमा समेत अघिल्ला संस्करणको महोत्सव जस्तै भब्य र सभ्य बन्ने समेत उनको भनाइ रहेको थियो ।
कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पोखरा, १० कार्तिक ।
अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो ।
रोजगारको शिलशिलामा हाल स्पेनमा रहँदै आउनु भएको रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं (ल्क्ष्ल्त्ब्क्ष्) कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षका रुपमा उहाँले निभाउनु भएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्ट्याक कराँते महासंघ गण्डकी अध्यक्ष एवं क्योकुशिन कान कराँते नेपालका शाखा प्रमुख लक्ष्मण कुवंरले बताउनु भयो ।
रुम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक( रेफ्री) को भूमिकामा सक्रिय रहँदै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएकोले उहाँको प्रोत्साहनको लागि स्वागत सहितको सम्मान कार्यक्रम आयोजना गरिएको कुवंरले जनाउनु भयो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले रोजगारीका लागि विदेश पुगे पनि रुम्बाले खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उहाँको योगदान प्रशंसनीय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय प्रशिक्षक रुम्बाले देश र माटोप्रतिको माया जहाँ भए पनि अविचल रहने बताउँदै, “देशको अवस्थाले विदेशिए पनि मन भने सदैव नेपालकै लागि धड्किने ” बताउनु भयो । साथै उहाँले नेपालका सक्षम खेलाडीलाई आगामी दिनमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने उद्घोष गर्नुभयो । विकास, अनुशासन र गतिशिलतासंगै निरन्तरताको प्रयासले खेलकुदमा लाग्ने व्यत्तिलाई सफलताको उचाई पुर्याउने उहाँको दाबी थियो ।
रुम्बा नेपाली समाज स्पेनका अध्यक्ष देखि वैदाम तामाङ सेवा समाजका आजीवन सदस्य, लायन्स क्लव पोखरा लेकसाईडका आजिवन सदस्य समेत हुनुहुन्छ भने उहाँ विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय हुनुहुन्छ । पूर्व बक्सिङ खेलाडी क्या.सम्मर बहादुर थापा क्षेत्री, स्पेनका खेलकुदकर्मी चेमा रामोस, संघ लेखनाथका प्रमुख प्रशिक्षक सुवास खड्का, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दीननाथ बराल, प्रशिक्षार्थी खेलाडीहरू लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
पोखरा, १० र्काित्तक ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजा आराधाना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताउनुभएको छ ।
छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा भन्नुभएको छ – ‘शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पु¥याउन सघाइरहेको हुन्छ । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पु¥याएका छन् ।’
खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं, पोखरालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको उल्लेख गर्दै उहाँले यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले हामीबीच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुने बताउनुभएको छ ।
प्रकृतिको पूजा गरिने छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपाललाई शान्ति र अमनचयन कायम गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।





