२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, २४ कात्तिक ।

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त भएका हुन् ।

वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले गत भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।

पहिलो नम्बरको वरीयतामा रहेका कार्कीलाई आइजीपीमा नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । २०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए ।

आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट  एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी साथै एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।

कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी गुल्मीमा जन्मिएका हुन् ।

जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर  उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

पोखरा, २४ कात्तिक ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि., पोखराको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा उद्घाटन गर्दै पाल्पाली अग्रज व्यक्तित्व जनपुकार मुनकर्मीले देश–विदेशमा पाल्पाली जहाँ बसे पनि इज्जत र सानका साथ बस्ने गरेको बताए । उनले पाल्पाली समाज पोखरासँँगै पोखरामा सहकारी, पाल्पा हाउस र पाल्पाली कोलोनी स्थापना भएकाले आपसी सहकार्यमा अझै प्रगति गर्दै जानुपर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सञ्चालक समितितर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा उनले आगामी आव २०८२÷०८३ का लागि विभिन्न प्रस्ताव पेस गरेका थिए । सहकारीको आगामी कार्यकाल १० बाट घटाएर ९ मा बनाउने प्रस्तावलगायत प्रस्ताव साधारणसभाले पारित गरेको छ । लेखा सुपरीवेक्षण समिति संयोजक सुनिल अर्यालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष उमा सापकोटाले कोषाध्यक्षको प्रतिवेदन पेस गरे ।

कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, संस्थाका सल्लाहकार एवं लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक नारायणप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सहकारी उपाध्यक्ष बाबुराम खनालले स्वागत मन्तव्य तथा सहकारीका ७ सिद्धान्त वाचन शिक्षा समिति संयोजक पदमप्रसाद पोखरेलले गरे । कार्यक्रम संचालन सचिव रेशमराज थापाले गरे ।

कार्यक्रममा गत वर्षको एसइईमा उत्तीर्ण शेयर सदस्यका छोराछोरीहरुतर्फ अनिता पोखरेल, सभ्य मल्ल, आयाम कोइराला, जोयल विश्वकर्मा र सविन रानालाई सम्मान गरियो । यस्तै, सहकारीका उत्कृष्ट कर्मचारीतर्फ सुस्मिता सेनलाई खादा, माला, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरियो । उत्कृष्ट बचत कारोबार गर्ने भीमदेव शर्मा ढुंगाना र उत्कृष्ट कारोबार गर्ने समिता अधिकारीलाई पनि सम्मान गरियो । सोही अवसरमा अघिल्लो वर्ष उत्कृष्ट बचत गरेर सम्मानित भएका कमल नेपाललाई प्रशंसापत्र हस्तान्तरण गरियो ।

सहकारीको शेयर पुँजी २ करोड ६१ लाख तथा बचत २ करोड २४ लाख छ । सहकारीमा हाल ५३७ सदस्य छन् भने कार्यक्षेत्र पोखराभर हो ।

विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास

पोखरा, २४ कात्र्तिक ।

गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा निर्माण हुन लागेको कोसेली घरको शिलान्यास गर्दै प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए । “प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा प्रदेश सरकार लागिरहेको छ। दुई वर्षभित्र प्रदेशको विकासको दिशा स्पष्ट भएको छ । गण्डकी प्रदेश सातवटै प्रदेशमध्ये नेतृत्वदायी भूमिकामा छ।”, उनले भने ।

मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्ने उल्लेख गरे । उनले भने, “संग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशका विविध संस्कृतिबारे बुझ्न सहज बनाउनेछ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि ठोस योगदान पु¥याउनेछ।”

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले गरेका योजना सफल बनाउन स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको बताए । उनका अनुसार सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय स्तरको सहयोग बिना दीगो परिणाम हासिल गर्न सकिँदैन ।

“प्रदेश सरकारले बनाएका संरचनाबाट प्रत्यक्ष लाभ स्थानीय समुदायले नै पाउनेछन्। मौलिक संस्कृति र परम्परालाई आधुनिक समाजमा जोगाएर राख्नु हाम्रो साझा जिम्मेवारी हो”, उनले भने ।

पश्चिमी संस्कृतिको तीव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा संग्रहालयको विस्तारले तिनको पुनर्जीवनमा सहयोग पुुग्ने विश्वास उनको छ ।

गण्डकी प्रदेश प्राकृतिक सुन्दरता, जातीय विविधता र सांस्कृतिक समृद्धिको केन्द्र भएको र यस प्रदेशमा पाइने मौलिक संस्कृतिहरू आधुनिक प्रभावका कारण लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, अध्ययन र प्रदर्शन नै संग्रहालयको प्रमुख उद्देश्य भएको उनले स्पष्ट पारे ।

मन्त्री थापाका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत निर्माणाधीन कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउनेछ । लोपोन्मुख कला र शैलीलाई जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला र जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको उनले बताए ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत सञ्चालन भइरहेको यस परियोजनाको कुल लागत रु. २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ ३ पैसा (भ्याट र कन्टिन्जेन्सी सहित) रहेको र सम्झौता रकम रु. १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँ ६६ पैसा (भ्याट सहित) रहेको जानकारी गराए । कोसेली घरको निर्माण आगामी असार मसान्तसम्म सक्नेगरि टुडे बिल्डर्ससँग सम्झौता भएको भनाई उनको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले संग्रहालयमा बन्दै गरेको कोसेली घरले पोखरा र समग्र गण्डकी प्रदेशलाई सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताए । सांस्कृतिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र समुदायमा आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनको छ । प्रदेश सरकारको उक्त कार्यलाई सफल पार्न स्थानीय तह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।

ठेक्का लिएको कम्पनी टुडे बिल्डर्सका ईन्जिनियर सिरश बास्तोलाले निर्माण कार्य समय अवधिमा नै सक्ने प्रतिबद्धता जनाएका छन् ।

संग्रहालयको छोटो परिचय ः
सन् १९७२ मा युनेस्कोका विशेषज्ञद्वारा तयार गरिएको नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गुरुयोजनामा क्षेत्रीय संस्कृतिको संरक्षणका लागि क्षेत्रीय संग्रहालय स्थापना गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।

त्यसै सुझावका आधारमा तत्कालीन सरकारले आ.व. २०३७÷३८ देखि धनकुटा, पोखरा र सुर्खेतमा क्षेत्रीय संग्रहालय स्थापना गर्ने कार्ययोजना अघि सारेको थियो।

त्यसअनुसार जग्गा अधिग्रहण गरी भवन निर्माण कार्य सुरु गरियो र आ.व. २०३९÷४० मा कार्यालय स्थापना भई सामग्री संकलन आरम्भ भयो । वि.सं. २०४१ माघ २३ गते पोखरा क्षेत्रीय संग्रहालय सर्वसाधारणका लागि खुला गरियो । देशको राजनीतिक संरचना अनुसार अहिले यो संग्रहालय गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा छ ।

संग्रहालयले प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कार, रहनसहन, भेषभूषा, खानपान, परम्परागत उपकरण र लोकजीवन झल्काउने सामग्रीहरू संकलन, अभिलेखीकरण र प्रदर्शन गर्दै आएको छ ।

२४ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयले आ.व. २०६७÷६८ देखि विद्यार्थी सदस्यता कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले युवाहरूमा सांस्कृतिक चेतना बढाउने कार्यमा टेवा पु¥याएको संग्रहालयको प्रमुख करुणा राईले जानकारी गराइन् ।

काठमाण्डौँ, २४ कात्र्तिक ।

एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा सहभागी हुन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव महेश अधिकारी आज जापान प्रस्थान गरेका छन् ।

संघका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्नुभयो । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) रिजन दुईको आयोजनामा हुन लागेको उक्त फोरममा दुई महादेशका अटोमोबाइल क्षेत्रका व्यवसायी, विज्ञ तथा प्रोफेसनल गरी करिब तीन दर्जन प्रतिनिधिको सहभागिता रहनेछ ।

फोरममा विश्व अटोमोबाइल क्षेत्रका नवीनतम प्रगति र परिवर्तन, संघहरूको व्यवस्थित र व्यावसायिक कार्ययोजना, मर्चेन्डाइज तथा व्यवसायिक साझेदारी, प्लान एण्ड प्रायोरिटी सेटिङ, आइडियाज एण्ड बिजनेस प्लानिङ, एकेडेमिक तथा स्किल एड्भान्समेन्ट र अन्तर्राष्ट्रिय अनुभव सेरिङ्ग आदिबारे विस्तृत छलफल हुनेछ ।

कार्यक्रममा एफआईएका सिनेट चेयर कार्मेलो सान्ज दे बारोस, एफआईए र रिजन–२ का उच्च अधिकारी तथा अष्ट्रेलिया र जापानका विज्ञहरूले समेत आफ्ना विषयगत प्रस्तुति दिनेछन् ।

फोरमका सहभागी प्रतिनिधिहरूले जापान अटोमोबाइल फेडेरेसन (जाफ) नजिकै रहेको टोकियो ट्राफिक कन्ट्रोल सेन्टर र टोकियो इमर्जेन्सी रोडसाइड असिस्टेन्स बेस भ्रमण गरि अध्ययन गर्नेछन् । जापान अटोमोबाइल फेडेरेसन सम्पुर्ण जापानको अटोमोवाइल÷ट्रन्र्पोस व्यवस्थापन र रोडसाइड सर्भिसको आधिकारिक संस्था हो, जसले नेपाली लाइसेन्सको जापानमा अस्थायी प्रमाण्ीकरण समेत गर्ने गर्दछ ।

मोटरिङ एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीले भोलिदेखि तीन दिन चल्ने उक्त कार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिप तथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् ।

 

पोखरा, २४ कात्र्तिक ।

नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो ।

अर्वाड कार्यक्रमको लागि  १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नवौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो ।

नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका थिए । त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको थियो । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् ।

यता उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बनेका थिए  । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गरेको थियोभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाएका थिए ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

पोखरा, २४ कात्र्तिक ।

मिति २०८२।०७।२४ गते अं.०९:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थितमा शंकास्पद अवस्थामा हिडिरहेका जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं. १३ बस्ने वर्ष २६ को लक्ष्मण नेपाली र जिल्ला म्याग्दी मालिकागाउँपालिका वडा नं. ६ दरबाङ बस्ने वर्ष ३२ को ज्ञान बहादुर सार्कीलाई खानतलासी गर्दा निजहरू भिरेको झोलामा लागू औषध डाईजापाम २५ एम्पुल, ब्रुफिनुर्फिन २५ एम्पुल, फेनेरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागू औषध, मोवाईल ३ थान र नगद रकम रु.८,३५५।– (अक्षरुपी आठ हजार तीन सय पच्पन्न) समेत बरामद भएको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

पोखरा, २४ कात्र्तिक ।

मिति २०८२।०७।२३ गते अं. १७:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ रामकृष्ण टोल बस्ने वर्ष ३० को बिकास किसानले भिरेको झोलामा लागू औषध डाईजापाम ३८ एम्पुल, ब्रुफिनुर्फिन ३९ एम्पुल, फेनेरागन ३९ एम्पुल गरी जम्मा ११६ एम्पुल लागू औषध र मोवाईल थान १ समेत बरामद भएको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

पोखरा, २४ कात्र्तिक ।

मिति २०८२।०५।२४ गते जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा कास्की प्रहरीद्वारा खोजतलास तथा अनुसन्धानको क्रममा मिति २०८२।०७।२३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ स्थितमा डेरागरी बस्ने १६ वर्षको वालक परिवर्तित नामथर (२०८२।०८३ कास्की ३१) लाई वडा प्रहरी कार्यालय बगर कास्कीको आम्दानीमा रहेको चाईनिज पेस्तोल टाईप ५४ (म्याग्जिन नभएको अवस्थामा) बरामद भएको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।