पोखरा, २६ कात्तिक ।
तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ ।
यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
प्रतियोगिताले खेलकुदलाई मात्र नभई खेलकुदसँगै पर्यटन प्रबर्धनलाई महत्वपूर्ण टेवा पुराउने विश्वास गरिएको छ ।
पोखरा, २६ कात्र्तिक ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगति टोल विकास सस्था र सोही टोलमा रहेको ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिको संयुक्त आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा १५ दिने शिविर सुरु भएको छ ।
“योग गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ टोलवासीहरुमा योगवारे चेतना जगाउन योग शिविर आयोजना गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए । ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिका अध्यक्ष समाजसेवी मोति गिरीले शिविरमा स्वागत गर्दै योग दर्शनमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ महत्वपूर्ण अङ्गहरु (अष्टाङ्ग योग) को चर्चा गरिएको वताए ।
योग गुरु परमान्द भण्डारीले तनाव व्यवस्थापनका लागि योग उपयोगी रहेको भन्दै उच्च रक्तचाप भएका, साइटिका तथा मेरुदण्डसँग सम्बन्धित अन्य समस्याहरु भएका, वृद्ध तथा गर्भवती महिलाले पनि यसमा सावधानी अपनाउनु पर्नेमा जोड दिए । टोलका उपाध्यक्षमा वीरबहादुर खत्री,सचिव विष्णुहरि पौडेल, संस्थाका निवर्तमान अध्यक्ष धर्मदत्त पौडेल लगायतले योग शिविरको सफलताको शुभकामना दिएका थिए भने ओमकारेश्वर शिव मन्दिरका पुजारी लक्ष्मण गौतमले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै टोल विकास सस्थाले आफनो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निभाउनु पर्ने सुझाव राखेका थिए । टोलका ३० बढी सहभागी रहेको शिविर मंसिर १० गतेसम्म चल्ने छ ।
पोखरा, २६ कात्र्तिक ।
महिलाहरु मात्र सेयर सदस्य रहेको पोखरा महानगरपालिका वडा नं २९ को दीपशिखा महिला कृषि सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ज्येष्ठ सदस्य रामकुमारी आचार्यबाट उद्घाटन गरिएको थियो ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ का वडासदस्य निर्मला पौडेलले महिलाहरुलाई आय आर्जनमा जोड्नु पर्छ भन्ने मान्यताका साथ दीपशिखा पुस्तकालयको संयोजनमा स्थापना भएको सहकारीले छोटो समयमा चार सय ८० सेयर सदस्यहरु मार्फत दुई करोड ४ लाख ६९ हजार सेयर पुँजी बनाउन सफल भएकामा खुशी व्यक्त गर्दै सर्वसाधारणका माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा दीपशिखा पुस्तकालयका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार माधव भण्डारी,संस्थाका सल्लाहकार मेजर रामप्रसाद गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका सहकारी समन्वय उपसमिति संयोजक कृष्णप्रसाद तिमिल्सेना, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव गंगा मल्ल निवर्तमान अध्यक्ष गोमा कुमारी आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
वक्ताहरुले आर्थिक अनुशासनको माध्यमबाट सहकारीले आम सेयर सदस्यको मन जित्ने गरी सुरक्षित ऋण प्रवाह गरी नियमित रुपमा बचत गर्ने बानीको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।
संस्थाकी अध्यक्ष शिवकुमारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना गुरुङ र स्वागत मन्तव्य व्यवस्थापक कृष्णकुमारी पोखरेलले राखेकी थिईन । कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिका प्रतिवेदनहरु पारित गरिएका थिए भने बाल वचत, असल कारोवारी, कृयाशील ज्येष्ठ सदस्य लगायतका सम्मान समेत गरिएका थिए ।
पोखरा, २६ कार्तिक
पोखरा महानगरपालिका–२५, बिरेठाँटीमा रहेको बिरेठाँटी माध्यमिक विद्यालयमा “WT Cares Nepal Um Hong Gil School Project 2025/26” समारोह सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णु बहादुर के.सी.ले WT Cares Nepal र Um Hong Gil Foundation द्वारा ग्रामिण समुदायका बालबालिकाका लागि खेल र शिक्षाको माध्यमबाट विकासका अवसर सिर्जना गरेको योगदानको प्रशंसा गर्नुभएको थियो।
उहाका अनुसार, यस्ता परियोजनाले ग्रामीण क्षेत्रमा आशा, अवसर र एकताको भावना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका उल्लेख गर्नुभयो ।
Um Hong Gil Human Foundation (UHGHF) का देश निर्देशक पार्क हिडोङ तथा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले आगामी दिनहरूमा पनि ग्रामीण बालबालिकाको सर्वांगीण विकास र युवा सशक्तिकरणका लागि प्रेरणादायी उदाहरण बनेर रहिरहने बताउनुभयो ।
कार्यक्रमका क्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले परियोजनाको पृष्ठभूमि र उद्देश्यबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार यस वर्षको परियोजना तेस्रो चरण अन्तर्गत सञ्चालन गरिएको विशेष तेक्वान्दो तालिममा ६० जना विद्यार्थी सहभागी भएका छन्।
यसअघि परियोजनाको पहिलो चरण (अगस्ट २२, २०२२ – अगस्ट २१, २०२३) मा ८७ जना विद्यार्थी, र दोस्रो चरण (अक्टोबर २०२३ – अप्रिल २०२४) मा ७४ जना विद्यार्थी सहभागी भएका थिए। प्रत्येक चरणमा युवाको सशक्तिकरण, अनुशासन र जीवन कौशल विकासमा विशेष ध्यान दिइएको बताइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज जैसीको अध्यक्षतामा भएको सो समारोहमा वडाध्यक्ष विजय गुरुङ, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, संघका सल्लाहकार परिषद् सदस्य हरिश्वर पोखरेल, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, प्रशिक्षक कविराज खड्गीतथा बोधराज गिरी, UHGHF की कार्यक्रम प्रबन्धक निलम थापालगायतको उपस्थिति रहेको थियो।
गोरखा, २६ कात्र्तिक ।
गोर्खा जिल्ला, भीमसेन थापा गाउँपालिका–८ मा अवस्थित एक मात्र माध्यमिक शिक्षण संस्था श्री जागेश्वर माध्यमिक विद्यालयले आफ्नो गौरवमय ५० औँ स्थापना दिवसको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार महोत्सव यही मङ्सिर २६ गतेदेखि पुष १ गतेसम्म विविध सांस्कृतिक, शैक्षिक र खेलकुद कार्यक्रमका साथ भव्य रूपमा आयोजना गरिने तयारी भइरहेको छ।
विसं २०३२ सालमा स्थापना भएको श्री जागेश्वर माध्यमिक विद्यालयले स्थापनाकालदेखि नै निरन्तर रूपमा स्थानीय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। गोरखा र धादिङ जिल्लामा शिक्षाको विकास र विस्तारमा यो विद्यालयले पुर्याएको योगदान उल्लेखनीय मानिन्छ। सन् २०५४ सालदेखि एसईई तहसम्मका परीक्षामा हजारौँ विद्यार्थीहरू सफलतापूर्वक उत्तीर्ण भई देश–विदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिइरहेका छन्।
विद्यालयका भूतपूर्व विद्यार्थी रुपक ढकालका अनुसार, पाँच दिनसम्म चल्ने स्वर्ण महोत्सवमा विद्यालयको ऐतिहासिक यात्रा झल्किने गरी विविध कार्यक्रमहरू समावेश गरिनेछ। यस अवधिमा पालिका स्तरीय खेलकुद प्रतियोगिता, विद्यार्थी प्रतिभा प्रदर्शन, सम्मान तथा स्मारिका विमोचन, सांस्कृतिक कार्यक्रम र राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सांगितिक प्रस्तुति आयोजना गरिनेछ। यस अवसरमा विद्यालयको दीर्घकालीन योगदान सम्झँदै पूर्वप्रशासक, शिक्षक, विद्यार्थी तथा समुदायका अग्रजहरूलाई सम्मान गरिने तयारी पनि गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसि भट्ट र प्रधानाध्यापक यदुनाथ सापकोटाले संयुक्त रूपमा जारी अपिलमा विद्यालय समुदाय, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी तथा सरोकारवालाहरुलाई महोत्सवलाई ऐतिहासिक र सभ्य बनाउने उद्देश्यले हातेमालो गर्न हार्दिक अनुरोध गर्नुभएको छ। उहाँहरूले विद्यालयको पाँच दशक लामो यात्रामा स्थानीय समुदायको साथ र सहयोग प्रमुख आधार भएको उल्लेख गर्दै स्वर्ण महोत्सव विद्यालय मात्र नभई सम्पूर्ण गाउँपालिकाको साझा उत्सव हुने विश्वास व्यक्त गर्नुभएको छ।
विद्यालयका तर्फबाट जारी सूचनामा आर्थिक सहयोगका लागि सबैलाई आह्वान गरिएको छ। विद्यालयका प्राध्यापक र आर्थिक स्रोत सङ्कलन उपसमितिका संयोजकको संयुक्त नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न वा QR कोड स्क्यान गरी सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। विद्यालयले सहयोगदाताहरूप्रति आभार प्रकट गर्दै विभिन्न स्तरका योगदानकर्ताहरूलाई सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
सहयोगकर्ताहरूको योगदानअनुसार सम्मानका श्रेणीहरू यस प्रकार रहेका छन् —
रु. ५,००० सम्मका सहयोगीलाई दोसल्ला र स्मारिकामा नाम प्रकाशन, रु. ५,००१ देखि १०,००० सम्मका सहयोगीलाई दोसल्ला, सिल्भर फ्रेम र स्मारिकामा प्रकाशन, रु. १०,००१ देखि २०,००० सम्मका सहयोगीलाई दोसल्ला, गोल्डेन फ्रेम र स्मारिकामा प्रकाशन गरिनेछ। त्यस्तै रु. २०,००१ देखि ३०,००० सम्मका सहयोगीलाई दोसल्ला, गोल्डेन फ्रेम, स्मारिका र शिलापत्रमा नाम प्रकाशन गरिनेछ।
रु. ३०,००१ देखि ५०,००० सम्मका सहयोगकर्तालाई दोसल्ला, आँखीझ्याल फ्रेम, स्मारिका र शिलापत्रमा प्रकाशन गरिनेछ भने रु. ५०,००१ देखि १ लाखसम्म सहयोग गर्नेहरूलाई दोसल्ला, आँखीझ्याल फ्रेम, स्मारिकामा तीन पुस्ते विवरणसहित नाम र शिलापत्रमा प्रकाशन गरिनेछ। एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्तिहरूलाई दोसल्ला, आँखीझ्याल फ्रेम, ताम्रपत्र तथा स्मारिकामा तीन पुस्ते विवरणसहित सम्मान गरिने विद्यालयले जनाएको छ।
विद्यालयका भूतपूर्व विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत सहयोग अभियानमा सक्रिय रहेका छन्। विद्यालयको आधिकारिक फेसबुक पेजमा सहयोगदाताहरूको नाम, रकम र तस्बिरसहित हार्दिक आभार व्यक्त गरिएको छ। विद्यालय परिवारले सबै पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूलाई एकताको भावना र सहकार्यका साथ स्वर्ण महोत्सवलाई सफल बनाउन आग्रह गरेको छ।
पाँच दशकको गौरवमय यात्रामा प्रवेश गरेको श्री जागेश्वर माध्यमिक विद्यालयले यो स्वर्ण महोत्सवलाई विद्यालयको इतिहास, उपलब्धि र भविष्यदृष्टि समेट्ने अवसरका रूपमा लिन लागेको छ। स्थानीय समुदायको सहभागिता र सहयोगका साथ यो कार्यक्रमले विद्यालयलाई अझ सबल, सक्षम र अनुकरणीय शिक्षण संस्थाको रूपमा अघि बढाउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।