२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

पोखरा, ०१ मंसिर ।

पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। उक्त अधिवेशनले वर्ष २०२६ का लागी नयाँ नेतृत्व चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा जेसी सुमन पहारी ५० मतका साथ निर्वाचित भएका छन्।

उनले अध्यक्ष पदका अर्का उम्मेदवार अन्नत प्रधानाङ्गलाई २६ मतान्तरले पराजित गर्न सफल भएका हुन् । ७८ मतदातासूची रहेको उक्त निर्वाचनमा जम्मा ७४ मत मात्र खसेको थियो । मतपेटिकामा खसेको कुल मतमध्ये प्रधानाङ्गलाई जम्मा २४ मत मात्र प्राप्त भएको थियो। त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि मुख्य प्रतिस्पर्धा पहारी र प्रधानाङ्गबीचमै सीमित भएको थियो।

यस्तै नयाँ कार्यकारिणी उपाध्यक्षमा जेसी रबिन्द्र गोदार र उपाध्यक्षहरुमा जेसी सरोज पौडेल, सुजल गोदार, सन्दीप श्रीस तथा मुकेश अर्याल चयन भएका छन् । महासचिवमा जेसिज सन्जय पौडेल, कोषाध्यक्ष जेसिज राजकुमार बोहोरा, सचिव जेसिज मिना कुमारी थापा र कानुनी सल्लाहकार जेसिज श्रीकृष्ण सुनार निर्वाचित भएका छन्।

त्यस्तै निर्देशक पदमा जेसि बिनय सुवेदी, डम्बर खडायत, सन्तोष सुनार, बिबेक सापकोटा लगायत विजयी भएका छन्। अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पोखरा जेसीजका पूर्व अध्यक्ष निर्वाचन आयुक्त गणेश गिरीले जानकारी गराए ।

नयाँ नेतृत्वले २०२६ का लागी संस्थालाई थप सक्रिय, प्रभावकारी र समुदायमुखी बनाउने पहारीले प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

पोखरा, ०१ मंसिर ।

मुल्डे भ्यू–पार्क पछिल्लोसमयमा हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’ भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने मूल्डे भ्यू–पार्क पर्यटकका लागि हिमाल हेर्ने उत्कृष्ट गन्तब्य बन्दै आइरहेको छ । मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिले यो स्थानका लागि आवश्यक पर्यटकीय संरचना निर्माण गरेपछि यो स्थान आकर्षक गन्तब्यस्थल बनिरहेको छ । स्थानीय राजमान गुरूङको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएपछि अहिले समितिमार्फत दोवाटोदेखि करिब आधा घण्टाको पैदल दूरीमा रहेको मूल्डे भ्यू–पार्कलाइ पर्यटनमैत्री बनाइएको हो ।

घान्द्रुकदेखि अलिकति पारीतिरको चुइले गाउँमा जन्मिएका राजमान गुरूङ सानो छँदा बुबाहरूसँग दोबाटोहुँदै मुल्डे पुगेका थिए । मुल्डेबाट देखिने दृश्यले उनलाइ लोभ्याएको थियो । ‘दोबाटो–मुल्डेतिर गोठ ल्याउँदै गर्दा मुल्डेबाट देखिने दृश्यबाट रोमाञ्चित मैले मुल्डे भ्यु पदमार्ग सञ्चालन गर्ने मनस्थिति बनाउँदै २०५८ सालमा दोबाटोमा होटल खोल्न अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग अनुमति मागेको थिए,’ उनले भने ।

मुल्डे पदमार्ग निर्माण एवं प्रवद्र्धन गर्न उनले दोबाटोमा २०५८ सालमै छाप्रो बनाएर व्यवसाय सुरू गरे । तर विभिन्न कारण सोचेजस्तो नभएपछि रोजगारीका लागि विदेश गएर ५ वर्षपछि फर्केका उनी फेरि मुल्डे आएर आफ्नो पुरानो छाप्रो मर्मत गर्दै मुल्डेमा पर्यटक भित्र्याउने अभियानमा कस्सिए । अहिले दोबाटोमा उनले माउन्ट लक्की होटल सञ्चालन गर्दै आएका छन् । राजमानकै पहलमा पदमार्गका अन्य ठाउँमा पनि होटल खुलेका छन् ।

‘विभिन्न ठाउँको अध्ययनपछि मूल्डेलाई भ्यूपार्ककारूपमा विकास गर्न सकिन्छ भनेर मेरै नेतृत्वमा अहिले समिति गठन भइ पार्कलाइ व्यवस्थित बनाउने कामले सफलता पाइरहेको छ,’ उनले भने, ‘यहाँ भ्यू–टावर, पिङ, ढुङ्गाको सिढी, शौचालय र टावर वरपर रेलिङ अनि ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ ।’

यस क्षेत्रकै ३ हजार ६३७ मीटरको उचाइमा रहेको मुल्डे भ्यू–पार्कबाट गुर्जा, धौलागिरी, जिर्वाङ, टुकुचेपिक, धम्पुसपिक, निलगिरीसाउथ र नर्थ, अन्नपूर्ण– १, अन्नपूर्ण साउथ, हिउँचुली, अन्नपूर्ण– ३, गन्धर्वचुली, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो, मार्दी, लमजुङ, मिालचुली, बौद्ध, गणेश, मनास्लुलगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ ।

पहाडी यात्राका कारण थाकेको ज्यानलाइ चिसो मौसम तथा छिन–छिनमा लुकामारी खेल्ने मौसमसँगै यहाँबाट देखिने मनोरम दृष्यले सम्पूर्ण थकाइ मेटाइदिन्छ । जो कोहीले हिमाल नजिकैबाट नियाल्ने सपना देखेका छन् भने उनीहरूका लागि मूल्डे भ्यू–पार्कको यात्रा जीवनकै अविस्मरणीय अनुभव बन्न सक्छ ।

 

मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिका निमित्त कोषाध्यक्ष मीना गुरूङले एकैपटक दर्जनौ हिमालहरू हेर्ने सबैभन्दा उपयुक्त स्थानकारूपमा यतिबेला मूल्डे भ्यू–पार्क भएको जानकारी दिइन् । ‘यसले जति चर्चा पाउनुपर्ने हो त्यो भने पाइरहेको छैन्,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्डे भ्यू–पार्कलाई ब्रान्डिङ गर्दै डिजिटल प्लेटफर्म, वृत्तचित्र, मिडिया टुर, ट्राभल ब्लगर र प्रदर्शनीमार्फत प्रचार–प्रसार गर्न सके यो धेरै पर्यटकका लागि आकर्षित गन्तव्य बन्ने निश्चित छ ।’

अन्नपूर्ण साउथको काखमै रहेको हिडन भ्याली


मूल्डे भ्यू–पार्कबाट देखिएका हिमश्रृङ्खला र मनोरम दृष्यले पर्यटकको धित मार्न नसकेको अवस्थामा नजिकैको हिडन भ्याली प्ग्न सकिन्छ । समुन्द्री सतहबाट करिब ४ हजार २ सयको उचाइमा रहेको यो सुन्दर फाँट मनमोहक अनि रमणीय छ । दोबाटोबाट करिब ८ मिलोमिटरको दूरीमा रहेको यो स्थानमा पर्ने पदमार्गमा देखिने अनुपम दृश्यहरूले हिँड्दै गर्दा लाग्ने थकानलाइ बिर्साइदिन्छ । समितिका सहसचिव रामकाजी गुरूङले भिरालो पदमार्गको साँघुरो स्थानमा रेलिङको व्यवस्था गरिएको जानकारी दिए ।

‘करिब ४ घण्टाको यात्रापछि पुगिने हिडनभ्यालीको फराकिलो फाँटमा चरिरहेका चौरीको वथान, भेडाको बथान र घोडाको चरणले फरक अनुभूति दिलाउँछ,’ उनले भने ‘यहाँ रहेको हिडनलेक अर्थात त्रिवेणी तालमा अवस्थित गुरूङ समुदायको आस्थाको धरोहर मानिने त्रिवेणीदेवी मन्दिरमा हरेक जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।’ यो स्थानमा पुग्दा प्रकृतिसँग रमाउनेहरूको खुसीको सीमानै नाघ्छ । अनि उनीहरूको मानसपटलमा के धर्तीमा यस्तो ठाउँ साँच्चै छ भन्ने पर्नसक्छ । हिडनभ्यालीको यात्रा केवल हिमाल हेर्ने माध्यम मात्र होइन यो प्रकृति र आत्मशान्तिको अनौठो संगम पनि बन्नसक्छ । यहाँबाट छोमरोङ पुग्न सकिन्छ ।

यसरी पुग्न सकिन्छ मूल्डे भ्यू–पार्क
तपाइ यो भिडियो हेरेपछि मनोरम पर्यटकीय स्थल मूल्डे भ्यू–पार्क पुग्ने योजना बनाइसक्नुभएको छ भने सर्वप्रथम काठमाडौँबाट मुग्लीनहुँदै पोखरासम्मको करिब २०० किलोमिटर दूरीको यात्रा आरम्भ गर्नुपर्ने हुन्छ । पोखराको बागलुङ बसपार्कबाट घान्द्रुकका लागि जीपहरू पाउन सकिन्छ । यहाँबाट करिब ५८ किलोमीटरको जीप यात्रा पार गरेपछि पुग्न सकिन्छ– सुन्दर पर्यटकीय गाउँ घान्द्रुक । घान्द्रुकमा बास बस्नका लागि करिब एक सयको हाराहारीमा स्तरीय होटल तथा लजहरू रहेका छन् । यसैगरी घान्द्रुकबाट मूल्डे भ्यू–पार्कका लागि यात्रा गर्दा पदमार्गमा पर्ने कोर्मोडाँडामा ५ वटा होटल छन् भने मेलाँचेमा १, चुइलेमा ६, सिप्रुङमा १ अनि टाडापानीमा १० वटा होटल तथा लजहरू छन् ।

तपाइ घान्द्रुकबाट सिधै टाडापानीको पैदलमार्ग पनि जान सक्नुहुन्छ । यो बाटो हिँड्दै गर्दा भैँसेखर्कमा २ वटा लजहरू छन् । टाडापानीबाट अघि बढ्दै गर्दा मेसारमा पुगेपछि ३ वटा होटल छन् भने इसारूमा पनि ३ वटा नै होटल रहेका छन् । त्यसपछि पुग्ने गन्तब्य दोबाटोमा ३ वटा होटल छन् । दोबाटोमा आराम गरेपछि करिब आधा घण्टाको यात्रापछि तपाइ मूल्डे भ्यू–पार्क पुग्न सक्नुहुन्छ । अनि यहीँबाट तपाइ खोप्रो, त्रिवेणी ताल (हिडन लेक), घोरेपानी–पुनहिल, अन्नपूर्ण आधार शिविर, उत्तर र दक्षिणलगायत पदयात्रा गर्न पनि सक्नुहुन्छ । मुल्डेबाट मनोरम दृष्यावलोकन गरेर धीत मरेको छैन भने अनि तपाइ पुग्ने गन्तब्य पौडे अर्थात हिडन भ्याली हुनेछ । जहाँ बास बस्नका लागि ३ वटा होटल रहेका छन् । यहाँको बसाइले तपाइलाइ स्वर्गीय आनन्द दिलाउनेमा कुनै द्विविधा छैन् । रमणीय र स्वर्गीय आनन्दले भरिपूर्ण यो ठाउँको यात्रा तपाइका लागि पक्कैपनि अविस्मरणीय रहने छ ।

पोखरा, ०१ मंसिर ।

राष्ट्रिय संगीतकमहाइकर्स क्लब नेपालले आयोजनामा कार्तिक २८ गते संगीत र पर्यटन सम्बन्धी गोष्ठी तथा २९ गते हाइकिङ कार्यक्रम–६४ सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय सदस्य प्रमिस सिवाकोटीले कार्यक्रमको उद्घाटन गर्दै संगीत, संस्कृति र पर्यटन एक–अर्काका पूरक छन् भन्दै यस्तै कार्यक्रमहरूले स्थानीय कला, संस्कृति र गन्तव्यको प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले ताङतिङ जस्तो पर्यटन क्षेत्रले संगीतको माध्यमबाट अझै धेरै सम्भावना बोकेको बताउँदै संघीय संरचनामा स्थानीय तहले पनि सांस्कृतिक पर्यटनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षण संगीत–पर्यटन गोष्ठी रहेको थियो, जसमा प्रा. डा. कुसुमाकर न्यौपानेले “सांस्कृतिक पर्यटनको विकासमा संगीतको भूमिका” विषयक गोष्ठी पत्र प्रस्तुति गरेका थिए । उनले संगीत परम्परा, लोक संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनबीचको सम्बन्ध विस्तृत विश्लेषण गर्दै, यस्ता कार्यक्रमहरूले युवा पुस्तामा मौलिकता र पहिचानप्रतिको चासो बढाउने उल्लेख गरे ।

सो अवसरमा मादी गाउँपालिका वडा नं. २ की कार्यबहाक अध्यक्ष तथा ताङतिङ सामुदायिक होमस्टेकी संयोजक पुर्णशोभा गुरुङ (पुनम), हिमालय माविका प्रधानाध्यापक ओम प्रकाश गुरुङले वोलेका थिए ।

मादीगाउँपालिका २ स्थित वडा कार्यालय भवनको सभाहलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, हाइकर्स क्लब नेपालका पदाधिकारी तथा सदस्यहरु लगायत होमस्टे सञ्चालकहरुको सहभागिता रहेको थियो । मिडिया पार्टनरका रूपमा आदर्श समाज दैनिक, दरबार न्यूज डटकम, नौलो खबर डटकम र कास्की खबर डटकम रहेका थिए ।

संघका गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकाल र क्लबका अध्यक्ष कृष्ण रानाभाटको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका द्वितिय उपाध्यक्ष सागर कार्कीले गरेका थिए ।

दोस्रो दिन आयोजित हाइकिङ कार्यक्रम अन्तर्गत सहभागीहरूले ताङतिङ गाउँमा रहेको सेल्फी डाँडा, झरना, गुम्बाहरु लगाएत नजिकका रमणीय पदमार्ग हुँदै प्राकृतिक सौन्दर्यको अवलोकनमा केन्द्रित रहेको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले वताए ।

हरेक महिनाको अन्तिम शनिबार विगत ७ वर्ष देखि निरन्तर आयोजना हुदै आएको हाइकिङ कार्यक्रममा पर्यटकीय गाउँहरुको प्रबद्र्धन गर्न सहभागी स्वयम्ले आफ्नो खर्च व्यहोर्दै आएका छन् । यस अगाडि मादी गाउँपालिको याङ्जाकोट, सिक्लेस, थाक लगाएतका गाउँहरुमा हाइकर्स क्लब पुगिसकेको छ ।

पोखरा, ०१ मंसिर ।

पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा वडास्तरिय दलित संजाल पोखरा ९ को आयोजनामा आइतबार ४० जनालाई कुखुराको चल्ला, दाना र औंषधि वितरण गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले काम गर्दा रिजल्ट देखिने गरी गर्नु पर्ने भन्दै अनावश्यक तालिमहरुमा खर्च गर्न भन्दा कुखुराका चल्ला वितरण कार्यक्रमले न्युन आय भएका दलित तथा विपन्न वर्गलाई राहत पुगेको वताए ।

सो अवसरमा वडा सदस्यहरु गीता चर्माकार, नन्दराम गिरी र लक्ष्मी पहारी, वडा सचिव कुलराज पौड्याल, टोलविकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, वडा कृषि संजालकी अध्यक्ष विमला रानाभाट, सेतीगंगा टोलविकास संस्थाका अध्यक्ष रोशन मानन्धर, कृष्ण टोलविकास संस्थाकी अध्यक्ष रुपा केसी, लगाएतले पोखरा ९ वडाले स्थानियलाई स्वरोजगार बन्न प्रेरित गरेको वताए ।

गत वर्ष पनि संजालले कुखुराको चल्ला वितरण गरेकोमा उक्त कुखुरा पालेर बिक्री गरी चौथो पटकका चल्ला पाल्न सफल बुद्धिमाया परियारलाई वडा अध्यक्षले नगद पुरस्कार सहित प्रदान गरेका थिए ।

गतवर्ष ५० घर परिवारलाई १० वडा चल्लाको दरले वितरण गरिएकोमा यस वर्ष ४० जनालाई १२ वटाका दरले वितरण गरिएको दलित संजालकी अध्यक्ष सपना विकले वताए ।

दलित संजालकी अध्यक्ष सपना विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रोकवीर सुनारले र संचालन विमला परियारले गरेकी थिईन ।

 

पोखरा, 0१ मंसिर ।

आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा राष्ट्रिय कर दिवस २०८२ सम्पन्न भएको छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आयोजित कार्याक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजि क्षेत्र भएकोले निजि क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावारण सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले निजि क्षेत्रलाई व्यवसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताउनु भयो । उहाँले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्‍न छुट सुविधाको लाभ लिनका लागी करदातालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगाएतका व्यवसायीक संघ संगठनका प्रतिनिधीहरूले व्यवसायीहरूको मनोबल उठाउने गरी निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्‍जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रा।लि लाई सम्मान गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्त सम्म व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ रहेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन् । पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ । जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ ।

यस्तै मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ । अन्तः शुल्क तर्फ १२ करोड ७१ लाख रूपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले विलाशिता शुल्क वापत ३ करोड ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले गत वर्षको सोही अवधीको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार संकलन गरेको थियो ।

एजेन्सी, ०१ मङ्सिर ।

साउदी अरबको मदिना नजिकै भारतीय तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ।

मक्काबाट मदिनातर्फ जाँदै गरेको मुश्लिम तीर्थयात्रीहरु चढेको बस डिजेल ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो। मदिनाबाट करिब २५ किलोमिटर टाढा मुफ्रिहात क्षेत्रमा गएराती यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। साउदीको खलिज टाइम्सलाई उद्धृत गर्दै जनाइए अनुसार बसमा सवार अधिकांश यात्री भारतको हैदरावादका थिए।

मक्काको धार्मिक कार्यक्रम पूरा गरेपछि उनीहरु मदिना जाँदै थिए। दुर्घटनामा बसमा सवार एक जना मात्रै बाँचेको भारतको तेलङ्गाना राज्यका मुख्यमन्त्री ए. रेवन्त रेड्डीले जानकारी दिनुभएको छ।

पोखरा, ०१ मङ्सिर ।

मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ।

फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो । छनोट समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ हुनुहुन्थ्यो ।

सम्मानित हुन लागेका २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफ.एमबाट प्राविधिकका रुपमा काम गरी सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएका गुरुङ एफएम रेडियो हुदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।

हाल उहाँ समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस)सँग आवद्ध हुनुहुन्छ ।

उहाँ नेपाल पत्रकार महासंघ कास्कीमा सह-सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव, र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव हुनुहुन्छ ।

उहाँ यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट सम्मानित भईसक्नुभएको छ ।
 
 

पोखरा, ०१ मङ्सिर ।

रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।

कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडका म्यानेजिङ डिरेक्टर तथा समाजसेवी जङ्गबहादुर थापाले कार्यक्रमले नवप्रतिभालाई प्रेरणा दिने भन्दै प्रशंसा गरे । सो अवसरमा वडा नं. २६ का सदस्य सुदिप ढुङ्गाना, आजीवन संस्थापक सदस्य चन्द्रमणि पौडेल तथा कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य, महव तथा प्रतिभा उजागर गर्ने भूमिकामाथि प्रकाश पारे। स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए ।

सो अवसरमा गायनतर्फ १४ प्रतिभा छनोट अर्को चरणका लागि छनोट भएका छन् । छनोट भएर सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, अनुष्का पाण्डे, सन्तोष वि.क., सुरज परियार, दीपक सुनार, दीक्षा गुरुङ, शिखा पुलामी र श्याम सुनार आगामी चरणमा प्रवेश गर्न सफल भएका छन्।

त्यसै गरी नृत्यतर्फ १२ अर्को चरणका लागि छनोट भएका छन् । कृपा वि.क., भीमकुमारी रोका, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, प्रनिशा लामिछाने, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर अर्को चरणका लागि चयन भएका छन्।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले धन्यवाद व्यक्त गर्दै चयन भएका प्रतिभालाई बधाई तथा आगामी चरणमा शुभकामना दिए ।

उनका अनुसार कास्की आइडल २०८२ प्रतिभाहरूलाई पहिचान, मञ्च र अवसर प्रदान गर्ने यात्रामा निरन्तर अगाडि बढ्ने छ।

पोखरा, मंसिर  ।

पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बरालअभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारीदीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन्तेसै गरि वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन । नेपाल सरकारको शिक्षा ऐन नियमावली अनुसार ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ तारा प्रसाद पोखरेलले जानकारी दिए । नव नियुक्त पदाधिकारीहरूलाई सोमबार नै पदस्थापन गरिएको थियो ।

नव नियुक्त अध्यक्ष पहारी पश्चिममाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष र पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष समेत रहेका उनी पर्यटन व्यवसायी तथा समाजसेवी एवं शिक्षा सेवीका रुपमा प्ररिचित व्यक्ति हुन । अध्यक्षमा सर्वसम्मत भइसकेपछि पहारीले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने  बताए । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने प्रतिबद्धता जनाए ।

पोखरामा महानगर पालिका वडा नं–६का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले नव नियुक्त समितिलाई बधाइ व्यक्त गर्दैविद्यालयमा गुणात्मक शिक्षाको लागि आफू र वडा कार्यालयतर्फ  बाट सहयोग गर्न सदैव तयार रहेको सुनाए । शिक्षाले ब्यक्तिलाई आत्मनिर्भर आत्मविश्वासी बनाउने धारण राखे । प्रधानध्यापक पोखरेलले “नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त” रहेको बताए । 

पोखरा, ३० कात्र्तिक ।
 
आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको संविधान धारा २९४ (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
 
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउनुभयो । उहाँले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव पनि दिनुभयो ।
 
पेश भएको प्रतिवेदन मुख्यमन्त्री मार्फत् गण्डकी प्रदेश सभामा पठाइने बताउँदै भट्टले सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारवाहीहरु अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति आयोगकी सदस्य रानाले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्दै प्रतिवेदन उपर प्रदेशसभामा आवश्यक छलफल नभएकाले ध्यानाकर्षण गराइदिन प्रदेश प्रमुखसमक्ष अनुरोध गर्नुभयो । रानाले मुलुकभरका आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवद्र्धन गर्न आयोग लागिपरेको बताउनुभयो । उहाँले आयोगको गण्डकी प्रदेश कार्यालय स्थापनमा प्रदेश सरकारको सहयोगको अपेक्षा पनि गर्नुभयो ।
आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हक अधिकारको संरक्षण तथा प्रथा परम्परालगायतका क्षेत्रमा गरिएका कामहरू समावेश छन् । 

 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।