२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

पोखरा, ३० कात्र्तिक ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा मन्त्रालयद्वारा आयोजित “अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।

मन्त्री थापाले प्रदेश सरकारले अध्ययनसहित कानून निर्माण गरी अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण र व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने — “गण्डकी प्रदेश सरकारले संस्कृतिको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानमार्फत विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। पर्यटन राजधानी पोखराका समुदायहरूले संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् र प्रदेश सरकारले त्यसमा निरन्तर साथ दिनेछ।”

कार्यक्रममा बोल्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौंका सहसचिव डा. सुरेश श्रेष्ठले २०६७ सालमै नेपालले राष्ट्रिय संस्कृति संरक्षण नीति ल्याएर त्यसैअनुरूप काम गर्दै आएको बताए । उनले भने — “संस्कृति र प्रकृतिमा नेपाल धनी छ । तर समुदाय–समुदायबीच सांस्कृतिक पक्षबारे पर्याप्त जानकारी नहुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण गर्न प्रदेशले कानून नै बनाएर अगाडि बढ्नुपर्छ।” उनले पुस्तान्तरणलाई नै अभौतिक संस्कृतिको संरक्षणको मूल आधारका रूपमा व्याख्या गरे ।

कार्यक्रममा सहभागीहरूबीच अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण, डिजिटल अभिलेखीकरण तथा समुदाय सहभागीता विषयमा खुला छलफल भएको थियो । यस क्रममा टेक बहादुर पुन मगर, करुणा राई तथा कवि रमेश श्रेष्ठले पनि आफ्ना जिज्ञासा तथा टिप्पणीहरू राखे । कवि रमेश श्रेष्ठले भने — “सूचीकरणका काममा साहित्य, गीत–संगीत, बोलीचालीजस्ता मौलिक विरासत नछुटोस्।

समुदायको जीवनशैलीमै रहेको संस्कृतिलाई कागजी रूपमा सीमित गर्नु पर्याप्त हुँदैन, व्यवहारमै जोगाउन राज्यको सक्रियता चाहिन्छ।” कार्यक्रम सम्पन्नसँगै प्रदेशले अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरणलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरूबाट एकमुखी रूपमा व्यक्त गरिएको थियो।

पोखरा, ३० कात्तिक ।

पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ । ३४  औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।

 पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेसँगै अब मेलाको नाम नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२’ हुने भएको छ ।  

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा सफल व्यवसायीहरुको लगानी नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले नयाँ सन्देश दिन सफल भएको धारणा राखे ।
‘हाम्रा अग्रजहरुले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र व्यावसायिक कृषिको सहरको रुपमा परिकल्पना गरे अनुरुप संघले काम गर्दै आइरहेको छ,’अध्यक्ष कार्कीले भने,‘हामीले आयोजना गर्ने मेला त्यही उद्देश्यमा समर्पित छ । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित स्वास्थ्य संस्था मणिपालसँग सहकार्यले पोखरालाई स्वास्थ्यको सहर बनाउन थप योगदान दिने छ ।’

संघका अध्यक्ष कार्की पोखराको स्वास्थ्य क्षेत्रले गुणस्तरीय सेवा दिन सके यो विश्वकै मान्छेका लागि आरोग्यता खोज्ने थलो हुनसक्ने धारणा राख्छन् ।  उनी भन्छन्,‘यहाँको हावापानी र प्राकृतिक वातावरणले पनि बिरामीलाई सकारात्मक उर्जा दिन्छ । गुणस्तरीय सेवा दिने हो भने यहाँ उपचारकै निम्ति विश्वभरका पर्यटक आउँछन् ।’ त्यसका निम्ति स्वास्थ्य सेवामा विविधिकरण र विशिष्ठीकरण आवश्यक रहेको उनको भनाइ छ । पोखरालाई आधुनिक चिकित्सादेखि, आयुर्वेद, योग–ध्यानको केन्द्र बनाउन सकिने धारणा राख्दै उनले संघले यो अवधारणालाई जोडतोडले उठाउँदै आएको बताए ।
 संघका उद्योगतर्फका उपाध्यक्ष दीनेश बास्तोलाका  अनुसार मणिपालसँगको सहकार्यसँगै अन्य व्यावसायिक तथा औद्योगिक घरानाहरु पनि मेलासँग जोडिने उपक्रम जारी छ ।

संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले मेलाको लागि स्टल बुकिङ खुल्ला गरिएको र योपटक सीमित संख्यामा मात्र स्टल राख्ने योजना रहेको सुनाए । संघकी महासचिव शोभा गौतमले नेपाली लगानीलाई प्रोत्साहित गर्नु र नेपाली व्यवसायीको मनोवल उकास्नु संघको उद्देश्य भएको चर्चा गर्दै पछिल्लो समय पोखरेलीकै लगानी रहेको नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले पोखरालाई स्वास्थ्यको सहरको रुपमा चिनाउने धारणा राखिन् ।

नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले नेपाल मणिपाल कलेज पोखरालाई स्वास्थ्य लाभको केन्द्र बनाउने दिशामा निरन्तर अगाडि बढेको जानकारी गराए । मणिपालले हाल प्रदान गरिरहेको सेवा विश्वस्तरीय रहेको बताउँदै उनले भने,‘हाम्रोमा सस्तो शुल्कमा विश्वस्तरको गुणस्तरीय चिकित्सा सेवा पाइन्छ ।’ नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघबाट विभिन्न समयमा प्राप्त सहयोगको पनि उनले स्मरण गरे ।

शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिमा सधैँ जोड

२०४० सालतिर नै पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटनको सहरको रुपमा विकास गर्ने अवधारणाको अगाडि बढाएको थियो ।  त्यही उपक्रममा शैक्षिक संस्था स्थापना, पर्यटनसँग आवद्ध संघ÷संस्थालाई गोलबछ गर्न पोखरा पर्यटन परिषद्को गठन, पर्यटन उद्योगलाई चाहिने जनशक्ति उत्पादनका लागि तालिम र गोष्ठीको आयोजना एवं पोखरामा सरकारी र निजी क्षेत्रबाट स्वास्थ्य संस्थाहरुको स्थापनाको पहलकदमी थालिएको संघका पूर्वअध्यक्ष अशोक पालिखेको भनाइ छ । उनका अनुसार संघको जर्मन साझेदार एचडब्लुके माइञ्जले समेत यो अभियानलाई सघाएको थियो ।

‘कतिसम्म भने हामीले पोखरामा कति पर्यटक कहाँबाट कसरी आइपुगे र  उनीहरुले के चाहन्छन् भन्ने अध्ययन गरेका थियौँ,’संघका पूूर्वअध्यक्ष पालिखेले भनेका छन्,बाराही घाटदेखि उत्तरतिरको क्षेत्रमा पैदलमार्ग बनाउनुपर्छ र त्यसका निम्ति जग्गा अधिग्रहण गर्ने योजना पनि हामीले बनाएको हो । त्यो बेला करिब ५ करोडले जग्गा अधिग्रहण गर्न सकिन्थ्यो तर सरकारी निकायबाट साथ पाइएन ।’

पोखराको हावापानी र प्रकृति स्वास्थ्यका निम्ति राम्रो भएको र यसलाई स्वास्थ्यलाभको थलो बनाउन सकिन्छ भन्ने कल्पना पनि सोही बेला गरिएको उनले बताए । पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको सो नारालाई पछि पोखराका निर्वाचित मेयर कृष्ण थापाले नगरपालिकाकै नारा बनाएको पनि उनको भनाइ छ ।

संघका अर्का पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार पृथ्वीनारायण कलेजदेखि पोखरा विश्वविद्यालय,पोखरा बहुमुखी क्याम्पसलगायतका पोखराका सबैजसो शैक्षिक संस्था पोखरा उद्योग वाणिज्य संघकै पहलमा स्थापना भएका हुन् ।
नेपाल मणिपाल कलेजमा पोखराकै प्रतिष्ठित व्यावसायिक समूह बतास अर्गनाइजेसन र अटोवेज प्रालिको लगानी रहेको छ । पोखरा उद्योग वाणिज्य संघले यसअघि नै मणिपाललाई उत्कृष्ट व्यावसायिक सम्मानबाट सम्मानित गरिसकेको छ । 

पोखरा,३० कास्की ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको नवनिर्वाचित कार्यसमितिका शपथ कार्यक्रम सम्पन्न भएको छ । यसैगरी एक्यानले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रमका बारेमा आफ्ना सदस्यहरुकाबीचमा छलफल तथा अन्तरक्रिया गरेको छ ।

पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित कार्यसमितिलाई शपथ गराउनुभयो ।

एक्यान कास्कीको हालै सम्पन्न अधिवेशनले अध्यक्षमा दीपक भुर्तेलको अध्यक्षतामा नौ सदस्सीय समिति सर्वसम्मत गरेको थियो । यसैगरी उपाध्यक्षमा सागर आचार्य, सचिव प्रकाश पौडेल र कोषाध्यक्ष सरोज पराजुली रहनुभएको छ । यसैगरी सदस्यहरुमा आशिस विक्रम शाही, दीपक पाण्डे, सिमा रिजाल, श्रीकृष्ण रेग्मी र सुरज बस्नेत रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष भुर्तेलले लेखापरीक्षण व्यवसायलाई राम्रो बनाउनका लागि यस क्षेत्रमा काम गर्ने सबै मिल्नुपर्ने र आफूले त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“लेखा व्यवसायमा काम गर्ने सबै मिलेर मात्र लेखा क्षेत्र अब्बल बनाउन सकिन्छ । त्यसका लागि मेरो टिमले काम गर्नेछ ।”

एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपालले केन्द्रमा मात्र नभई प्रदेश र जिल्ला जिल्लामा एक्यानका गतिविधिलाई सक्रिय बनाउने बताउनुभयो । “संस्थाको हितमा लाग्ने छौँ । अझ राम्रो र दरिलो संस्था बनाउने योजना छ ।” नेपालले भन्नुभयो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै रोजगारदाताहरुलाई प्रोत्साहित गर्न एक्यानका सदस्यहरुको समेत भूमिका हुने बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा कोषको फाइदाका बारेमा रोजगारदाता र श्रमिकलाई बुझाउनुपर्नेमा जोड दिनुभयो । अधिकारीले भन्नुभयो,“सामाजिक सुरक्षा कोष योजना सुरुआतसँगै स्वास्थ्य उपचार सेवा सस्ता भएको छ । उद्योग प्रतिष्ठानहरुमा बन्द, हड्ताल रोकिएका छन् । यसबाट श्रमिकलाई मात्र होइन, रोजगारदाताहरु समेत लाभान्वित भएका छन् ।”
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सामाजिक सुरक्षा कोष कार्यक्रम राम्रो रहेपनि व्यावसायिक प्रतिष्ठान र उद्योगहरुमा पूर्ण कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।

सामाजिक सुरक्षा कोषका सह निर्देशक महेश घिमिरेले आगामी दिनमा कोषमा आवद्धतभएपछि मात्र व्यक्तिगत तथा साझेदारी फर्मले करचुक्ता निकाल्ने सक्ने गरी प्रभावकारी बनाउन लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा एक्यान गण्डकीका पूर्वप्रदेश प्रमुख सागर लामिछाने, अडान  गण्डकीका अध्यक्ष ज्ञानबहादुर कार्की, कास्कीका अध्यक्ष गुणनिधि पाण्डे लगायतले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा सीएहरु सदस्य रहने प्रावधान छ ।
एक्यानको हालै केन्द्रदेखी जिल्लासम्म नयाँ नेतृत्व चयन गरिएको छ । पोखराका अनिल लामिछाने केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ काठमाडौँबाहिरबाट पहिलोपटक एक्यान केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुभएको हो । 

 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।