
गुणस्तरीय शिक्षामा अग्रणी प्रतिभा खेलकुद तथा रचनात्मक गतिविधिमा अग्रपंक्तिमा
पोखरा, ०३ मंसिर ।
पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रुपमा विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् ।
स्पोर्टस् मीटको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले उद्घाटन गरे । उनले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको प्रशंसासमेत व्यक्त गरे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताए । ‘खेलकुदले अनुशासन पक्षलाई बलियो बनाउँछ । खेलकुद स्वस्थ जीवन बनाउने आधार हो,’ पौडेलले भने, ‘खेलकुदबाटै जीवनलाई अघि बढाउने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थीभित्र लुकेको खुबी देखाउने एउटा अवसर यस्ता खेलकुद कार्यक्रम रहेको उनले बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले गुणस्तरीय शिक्षामा प्रतिभा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको बताउँदै यहाँको खेलकुदमा पनि विद्यालयको स्थान अगाडि रहेको बताए । ‘प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको छ । मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको छ ।’ – सापकोटाले भने ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले हाउस क्याप्टेनहरूलाई सपथ खुवाएका थिए ।
स्पोर्टस् मिटमा व्यक्तिगत स्पर्धातर्फ कक्षागत रुपमा दौडलगायतका प्रतिष्पर्धा तथा सामूहिक स्पर्धातर्फ अन्तरसदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, रिले दौडलगायतका प्रतिस्ष्पर्धा हुने विद्यालयले जनाएको छ ।
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही, ज्ञानेन्द्र मल्ल जस्ता खेलप्रतिभालाई विद्यालयले ठूलो समारोहबीच जनही एक लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।
पोखरा, ०३ मंसिर ।
पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वितरण, पशुपालन र कृषिमा समेत यसको बढ्दो प्रयोगकका कारण समस्या उत्पन्न हुदै गएको छलफलमा सहभागीहरुले बताएका छन ।
पशु सेवा विभागको आयोजना, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराको संयोजन र खाद्य तथा कृषि संगठन एफ ए नेपालको सहयोगमा आयोजित ‘मानवीय व्यवहारसँग जोडिएको जैविक प्रतिरोध’ विषयक संवादमा सहभागीहरुले एन्टिबायोटिकको अनियन्त्रित प्रयोगका कारण गम्भीर स्वास्थ्य संकटतर्फ धकेलिँदै गएको बताएका हुन ।
पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा किरण पाण्डेका अनुसार नेपालमा एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै गएको बताए । पाण्डेका अनुसार डब्लुएचओले सार्वजनिक गरेको सूचीमा नेपाल जोखिममा परेका सय भन्दा धेरै मुलुकमध्ये ५२ औं स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अध्ययन अनुसार सन् २०५० सम्म एन्टिमाइक्रोबियल रेजिस्टन्स एमएमआर का कारण प्रत्येक दुई सेकण्डमा १ जनाको मृत्यु हुने देखाएको छ ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका डा. रमेश केसीले एन्टिबायोटिक दुरुपयोग नेपालका लागि गम्भीर संकट बन्दै गएको बताए । एन्टिबायोटिक दुरुपयोगका कारण १५ प्रतिशत बिरामीमा औषधीले काम नै नगरेको देखिएको र यसको नियन्त्रण नगरेको खण्डमा स्वास्थ्य खर्च बढ्ने र अकालमा मृत्यु हुनेको दर बढ्ने डा. केसीको भनाइ रहेको थियो ।
फर्मेसीबाट बिना नियन्त्रण बिक्री, स्थानीय सरकारले पाउने अधिकारमा औषधि व्यवस्था विभागको उदासीनता र जनचेतनाको कमी यस समस्याको मूल कारण बनेको बताउदै केसीले एन्टिबायोटिक नियमन स्थानीय तहमै सशक्त बनाउनुपर्ने बताए । पशु स्वास्थ्य विज्ञ डा. ग्रीष्म न्यौपानेले पशु उपचारमा गलत रूपमा एन्टिबायोटिक प्रयोग हुनुले मानव स्वास्थ्यसम्म असर परेको बताउदै आवश्यक नपर्ने अवस्थामा समेत पशुमा एन्टिबायोटिक प्रयोग भइरहेको बताइ । किसानमा पर्याप्त जानकारी नहुँदा पशुमा खोपको दुरुपयोग भइरहेकाले यसबारेमा सचेतना फैल्याउन आवश्इक रहेको उनको भनाइ रहेको थियो ।
मानवशास्त्री अर्जुन पोखरेलले नेपालको कृषि, स्वास्थ्य र जनजीवनमा एन्टिबायोटिकको दुष्प्रभाव गहिरिँदै गएको बताउदै माटो, मल, रासायनिक विषादी र मानवनिर्मित प्रवृत्तिले वातावरणमै एन्टिबायोटिक अवशेष फैलिने गरेको बताए । विद्यालय स्तरको पाठ्यक्रममा एन्टिबायोटिक शिक्षा अनिवार्य गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
उपभोक्ता मन्च कास्कीको तर्फबाट अधिवक्ता मीना रानाभाटले एन्टिबायोटिक प्रतिरोधले उपभोक्ता अधिकारमै धक्का पु¥याइरहेको बताइन् । उपभोक्तालाई कृषि, पशुपालन र मानव स्वास्थ्यका जोखिमबारे सहज पहँचमै सूचना दिइनुपर्ने र स्थानिय तह सम्म सूचना प्रवाह नगरेसम्म समस्या बढ्ने उनको भनाइ थियो । प्रेस काउन्सिल नेपालका सदस्य पत्रकार केशव शरण लामिछानेले एन्टिबायोटिकबारे गलत धारणा, झुट्टा प्रचार र भ्रमपूर्ण सूचना चिर्न मिडियाको जिम्मेवारी बढेको बताए । संवादको सहजीकरण पत्रकार सञ्जयकुमार मल्लले गरेका थिए ।
पोखरा, ०३ मंसिर ।
पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगरले उनलाई नगद र समानपत्रसहित सम्मान अर्पण गरेका हुन् । पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औँ वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार अर्पणपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताए । आगामी दिनमा दृढताका साथ अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो । ‘पत्रकारिता केवल पेशा होइन, यो समाजको धड्कन सुन्ने कला हो । कहिले कठोर, कहिले कोमल, कहिले विवादास्पद तर सधैं नै सत्यतर्फ उन्मुख यस बाटोमा थुप्रै अवरोध, थुप्रै चुनौती आउँछन्,’ उनले भने, ‘तर आज यो सम्मानले मलाई भन्छ अझ दृढताका साथ अघि बढ्न प्रेरित गरेको छ ।’
फोनिजका संघिय सचिव एमबी आस्थाले पुरस्कारले पत्रकारिता क्षेत्र धारासायी बन्दै गइरहेको अवस्थामा पुरस्कारले हौसला प्रदान गर्ने बताए । ‘पत्रकारिताको बाटो कता जाने हो भन्नेमा अन्योलता छाइरहेको पछिल्लो अवस्थामा समाजका केही प्रतिष्ठित व्याक्तिहरु पत्रकारको हौसलामा हातेमालो गर्न आइदिनुहुँदा खुसी लाग्छ,’ उनले भने, ‘आज मेयर लक्ष्मीप्रसाद गुरुङले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिदिनुभएको अक्षयकोषले थप बल दिएको छ ।’ जेनजी आन्दोलनपछि पत्रकारहरुको कमल र क्यामेरा अझ शसक्त रुपमा चलाउने पर्ने अवस्था आएका उनले सुनाए ।
पुरस्कारको अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले धेरै अक्षयकोष स्थापना गरिसकेको अवस्थामा पछिल्लो समय पत्रकारहरुसँग पनि जोडिन पाउँदा खुसी लागेको बताए । आगामी दिनमा अक्षयकोष वृद्धि गर्दै पुरस्कार राशी बढाउने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, फोनिजका संघिय सल्लाहकार शान्ति गुरुङलगायतले पुरस्कारदाता मेजर गुरुङ र सम्मानित व्याक्ति पत्रकार गुरुङको सत्कर्मको प्रशंसा गर्दै शुभकामना दिएका थिए । फोनिज गण्डकी र कास्कीका सल्लाहकार हुमबहादुर गुरुङले सम्मानित व्याक्ति परिचय गराएका थिए ।
सम्मानित गुरुङले २०६८ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनी एफएम रेडियो हुँदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन् । हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आबद्ध छन् ।
पत्रकारिताका विधागत संघसंस्थामा पनि गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा कार्यरत छन् । यसअघि उनी युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट पनि सम्मानित भइसकेका छन् ।
पोखरा, ३ मंसिर ।
नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानका विभिन्न शाखाका कर्मचारीलाई २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम प्रदान गरेको छ ।
तालिम शाखा प्रमुख ई.बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा २२ प्रशिक्षार्थीलाई जलेश्वर शाखाका निमित्त प्रमुख सुरेन्द्रकुमार साह, नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख लक्ष्मण पाण्डे र पोखरा शाखाका सिमिरि विमल तिल्सिनाले प्रशिक्षण दिएका थिए । जाईकाका प्रतिनिधि मियो सानले समेत प्रशिक्षण दिँदै प्राविधिकरुमा कर्मचारीलाई दक्ष बनाउन सकेमात्र उपलब्धी हुनेमा जोड दिएका थिए ।
तालिम समापन समारोहमा प्रशिक्षक सुरेन्द्रकुमार साहले तालिममा सिकेको सीपलाई सदुपयोग गर्न आग्रह गरेका थिए । सहभागिको तर्फबाट हेम्जा शाखाका कर्मचारी प्रधुम्न बस्नेतले तालिम फलदायि भएको बताएका थिए ।
पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले सञ्चालन गरेको सभामा सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै तालिम शाखा प्रमुख बुद्धरत्न महर्जनले खानेपानी संस्थानले क्रमैसँग विभिन्न तहमा कार्यरत कर्मचारीलाई तालिम प्रदान गरिरहेको बताए । महर्जनले उपभोक्तालाई बुझाउन सहज र सरल जनशक्ति निर्माणको लागि तालिम प्रभावकारी हुने उल्लेख गरे ।
पोखरा शाखा कार्यालयको सभाहलमा सम्पन्न तालिमले कर्मचारीलाई टेक्निकल र सुपरीवेक्षणमा सहज पुग्ने बताएका महर्जनले आगामी दिनमा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशी, बजेट शाखाका प्रमुख दिपेश्वर मण्डल र प्रधान कार्यालयका कर्मचारी निशा प्रधानाङ्ग लगायतले तालिममा सहजीकरण गरेको पोखरा शाखाका कर्मचारी वसन्तराज भण्डारीले जानकारी दिए ।





