
पोखरा, ०८ मंसिर ।
होटल संघ पोखरा नेपाल र नेश्नल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) विच प्रयोगशाला सम्वन्धि परीक्षणमा छुट प्रदान गर्न आपसी सम्झौता भएको छ ।
एनआरएलले संघका सबै पदाधिकारी, साधारण सदस्य र परिवारका सदस्यहरुका लागि रगत र पिसाव सम्वन्धि जाँचमा ३५ प्रतिशत छुट दिने गरी आइतबार यो सम्झौता भएको हो । सम्झौतामा संघका अध्यक्ष लक्ष्मण सुवेदी र एनआरएल पोखरा नयाँ सडककी मार्केटिङ प्रमुख समिता आचार्यले हस्ताक्षर गरेका छन् ।
उल्लेखित छुटका अतिरिक्त संघ अन्तर्गतका होटलमा कार्यरत कर्मचारीका लागि २० प्रतिशत छुट प्रदान गर्ने सहमति पनि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
होटल संघ परिवारका तर्फबाट सिफारिस भएर आउने सेवाग्रहीले पनि पाँच देखि सात प्रतिशत छुट पाउने छन् । पोखरामा नहुने र बाहिर पठाउनुपर्ने नमुनाको प्रयोगशाला सम्वन्धि परीक्षणमा भने १५ प्रतिशत मात्र छुट प्रदान गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
१२ बर्ष अघिदेखि पोखरामा सेवा दिन थालेको एनआरएलले प्रयोगशाला सम्वन्धि गुणस्तरीय परीक्षणमा जोड दिंदै आएको मार्केटिङ प्रमुख आचार्यले जानकारी दिइन् ।
पोखरा, ०८ मंसिर ।
दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुने गर्दछ ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले महिला शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर व्यक्त गरे ।
नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर–समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पु¥याउँदै आएको योगदानमा जोड दिए ।
रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञान सहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति हो भने । उनले यदि हामीले आफ्ना परम्परा, कला, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण नगर्ने हो भने मौलिकता नै हराउने खतरा रहेकोमा जोड दिए ।
वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास, र समुदायको अन्तरपीढीगत सम्बन्ध मजबुत पार्न महत्वपूर्ण माध्यम भएको बताएका छन् ।
छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ , तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले मिस तामाङ पोखराको महत्व, यसको सांस्कृतिक योगदान र प्रतिभा उजागर गर्ने भूमिकामाथि आ–आफ्नो धारणा व्यक्त गरेका छन्।
माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा–२०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी–चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले अनुरोध गरेको छ ।
लेखनाथ, ०८ मंसिर ।
लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ ।
पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले वताए ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनको लागी मेड ईन नेपाल अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने संयोजक थापाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन ।
विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हालको विषम परिस्थितिका कारण शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भटृराईले वताए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल, पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।
जीवन सुबेदी टोकियो २३ नोभेम्बर ,
नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा नेपाल सन्देश डटकमका प्रधानसम्पादक रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् । जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।
जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् । यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् । चौलागाईले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए ।
यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् । महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् । यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वास आचार्यल ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।
नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।





