
पोखरा, ०९ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । देशैभर विभिन्न संघसस्थाको संयुक्त आयोजनामा विविध कार्यक्रम गरी औपचारिक रूपमा आजबाट शुभारम्भ भएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर हरेक वर्ष झैँ यो वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ ।
यस वर्ष ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ देशैभर मनाईदै छ । भने, यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा प्रदेशको राजधानी पोखरामा आज बिहान प्रभात फेरी गरी अभियान सुरु भएको छ ।
पोखराको सभागृहबाट सुरु भएको प्रभात फेरी न्युरोड, रत्नचोक, वाइचोक हुँदै शहिदचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभएर ३ सय ६५ दिन नै आवश्यक रहेको बताए । उनले यस्ता विषय कानुनमा लेखेर मात्र नहुने बताउँदै व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । हिम कार्यान्वयनको लागि हरेक व्यक्ति जिम्मेवार हुनु पर्ने उनको भनाई थियो । मन्त्री थापाले अभियानका क्रममा प्रदेशका ११ वटै जिल्लामा सचेतना मुलक कार्यक्रक आयोजना गरिने जनाए ।
प्रभातफेरीमा जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।
संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो ।
हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा दाइजो, छुवाछुत, छाउपडी, बोक्सीको आरोप जस्ता कुप्रथा अहिलेसम्म पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।
काठमाण्डौँ, ०९ मंसिर ।
पाकिस्तान सेनाले अफगानिस्तानका पूर्वीक्षेत्रहरूलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी १० जना सर्वसाधारणको मृत्यु भएको छ।
साेही घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो।तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त प्रान्तमा ५ बालक, ४ बालिका र एक महिलासहित १० जनाको मृत्यु भएको बताएका छन्।
कुनार तथा पक्तिका सीमावर्ती क्षेत्रमा गरिएकाे आक्रमणमा परी थप ४ जना सर्वसाधारण घाइते भएकाे उनले बताएका हुन्।
पोखरा, ०९ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्।
अन्तर्राष्ट्रिय नारा (UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS) तथा राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” सहित मनाइएको कार्यक्रममा मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र संघर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त प्रगतिलाई ऐतिहासिक उपलब्धि बताए।
“नेपालमा तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायहरूमा महिलाको सहभागिता निरन्तर बढिरहेको छ, जुन विश्वकै लागि प्रेरणादायी उदाहरण हो ।”, उनले भने । समानता, समावेशिता र सहभागितामूलक शासन प्रणालीलाई नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री थापाले महिलाविरुद्धको हिंसा उन्मूलनमा कानुनको प्रभावकारी कार्यान्वयन अत्यन्त जरुरी रहेको बताए।
देशभर बोक्सी प्रथा, छाउपडी, दाइजो, तिलक तथा छुवाछुत जस्ता कुसंस्कार आज पनि समाप्त हुन नसकेको उल्लेख गर्दै उनले यस्तो सामाजिक अन्धविश्वासका कारण धेरै महिलाहरू हिंसा, विभेद र अपमान सहन बाध्य रहनु परेको बताए। उनले थपे, “हिंसा अन्त्यका लागि परिवार र समुदाय स्तरमै चेतना वृद्धि गर्न निरन्तर अभियान चलाउनुपर्छ ।”
डिजिटल प्रविधिबाट बढिरहेका दुव्र्यवहार र अनलाइन हिंसाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग आवश्यक रहेको बताए।
कार्यक्रममा कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र अवसरयुक्त बनाउनु नै हिंसा रोकथामको मूल आधार भएको उल्लेख गरिन् । राज्य, समाज, नागरिक समाज, संघ–संस्था र महिला अधिकारकर्मीबीचको मजबुत सहकार्यले नै समस्याको समाधान हुने भनाई उनको छ ।
मानव अधिकार आयोग गण्डकी प्रमुख नितु पौडेलले १६ दिने अभियानले सबै सम्बद्ध पक्षमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थपेको बताइन् । “हामी सबै मिलेर महिलाविरुद्धका सबै प्रकारका हिंसा, विभेद, उत्पीडन, अन्धविश्वास र कुसंस्कार अन्त्य गर्दै समानता र न्यायमा आधारित समुन्नत समाज निर्माणतर्फ अघि बढ्नुपर्छ।”, उनले भनिन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दिनेश कुमार आचार्यले लैङ्गिक हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी मात्र नभई भविष्यका पुस्ताप्रतिको कर्तव्य पनि भएको बताए । उनले हिंसा नियन्त्रणका लागि प्रहरीले समाज सँग मिलेर काम गरिरहेको उल्लेख गरिन् ।
गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीले समाज परिवर्तनका लागि सकरात्मक सोचको आवश्यकता रहेको बताइन् । लैङ्गिक हिंसा अन्त्यका लागि प्रविधिको सही प्रयोग गर्दै सकरात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकतालाई औंल्याइन् । प्रदेशका विभिन्न सरकारी निकाय, सामाजिक संघ–संस्था, नागरिक समाजका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा गैसस महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटाले बोलेका थिए ।
पोखरा, ०९ मंसिर ।
पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ ।
आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र योपटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल मणिपाल शिक्षण अस्पताल रहेको जानकारी दिएको हो ।
संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको सहरको नारासँग मणिपालको उद्देश्य मिलेकोले यो सहकार्य सम्भव भएको बताए ।
४० को दशकमै पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गरेको स्मरण गर्दै उनले भने,‘ पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको यसबाट हामीले मनग्ये विदेशी मुद्रा आर्जन अनि रोजगारी सिर्जना गर्न सक्छौँ भन्ने पुष्टि हुँदै गएको छ । आधुनिक चिकित्सा पद्धतिलाई अंगालेर नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघको त्यो पुरानो सपनालाई मलजल गरेको छ । त्यसैले त नेपाल मणिपाल अस्पताल हामीसँग जोडिन आइपुगेको छ ।–
उनले पोखरालाई आधुनिक चिकित्सा सेवादेखि आयुर्वेद,योग र ध्यानको केन्द्र पनि बनाउन सकिने पनि बताए ।
अध्यक्ष कार्कीका अनुसार योपटकको मेलाको नारा पनि ‘लगानीको सम्वद्र्धन ः उद्योग–व्यवसायको प्रवद्र्धन’ नै जानकारी दिए । मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिबारे जानकारी गराउने,साइबर सुरक्षाबारे सचेतता फैलाउनेलगायतका कार्यक्रम समावेश गरिने जानकारी दिए ।
यसअघि बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान नेपाल महासंघ,कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्नुको उद्देश्य सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि,दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका राख्नु रहेको बताएका थिए ।
पोखरा, ०९ मंसिर ।
रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ । आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले आफ्ना प्रस्तुति राखेका छन् ।
गायनतर्फ सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टपटेनमा छनोट भएका छन् । त्यसै गरी, नृत्यतर्फ कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर टपटेनमा परेका छन् ।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदीले प्रतियोगिताबाट अब्बल कलाकार जन्मिने विश्वास व्यक्त गरे । गायकसमेत रहेका सुवेदीले गायन र नृत्यका क्षेत्रमा कास्की आइडलले वास्तविक आइडलको जन्म हुने भन्दै स्थानीय तहहरूले कला, साहित्य र सङ्गीतका क्षेत्रमा लगानी गर्न हिच्किचाउन नहुने धारणा राखे ।
कार्यक्रममा निराजन कोइराला, सुदिप ढुङ्गाना, सुवास खड्का तथा कराते प्रशिक्षक विनोद नेगीलगायतले शुभकामना दिएका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य तथा स्थानीय प्रतिभा पहिचानमा यसको भूमिकाबारे प्रकाश पारेका कार्यक्रममा स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रमको सफल सञ्चालन ज्योति खड्काले गरेकी थिइन् ।
काठमाण्डौ, ०९ मंसिर ।
चलचित्र परानले यतीवेला घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरीरहेको छ । परानमा धर्मनाथ नीर शाहका कान्छा छोराको रुपमा अभिनयन गरेका गोपीनाथ अर्थात महेश त्रिपाठी विचका संवादहरुले चलचित्र घरहरुमा आउने दर्शकहरुका आखाँ रसाएका छन् ।
चलचित्र हेरेर वाहिर निस्केका अधिकांस दर्शकहरुमा परानका परान बनेका महेश अहिले सबैतिर चर्चामा छन् । फरक फरक पात्रमा बाँच्ने महेशलाई परान चलचित्रले जिवनकै ठुलो सफलता दिलाएको छ । हल्कारामा हुलाकीको पात्रमा हुदा अमेरीकाको पुरानो प्रतिष्ठीत अन्तराष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका महेश बक्सअफिसको स्वाद भने चाख्न पाएका थियनन्।
अघिल्लो वर्ष प्रर्दर्शन भएका लाज शरणम र फेरी रेशम फिलिली मा उनले कार्णालीको सन्देश र समलिङ्गिको पात्र मा देखाएको अभिनय क्षमताको निकै तारीफ भयको भयतापनि व्यबसायिक सफलता पाउन सकिरहेको थियन। कार्तिक १४ गते वाट प्रर्दशनमा आएको परानमा नीर शाह र उनका संवादले चलचित्रलाई जुरुक्क वोकेका छन् र प्रत्येक दर्शकको मानस पटलमा यसरी वसेका छन् की हरेक दर्शकले आफुमा महेशलाई महशुस गर्छन् ।
कास्कीकोटमा रोवट वनाउदै हुर्कीएका महेश इन्जीनिएर सकेर फिल्म पढ्न काठमाण्डौ हानीएका थिए । महेशले अभिनय गरेका चलचित्रहरुमा दर्शकहरुले फरक फरक स्वादको अनुभुति गरेका छन् । खजुरे व्रो देखी चपली हाइट ,प्रसाद २ मा उनका संवाद र अभिनयले दर्शकलाई छुटै जोनमा लगी दिन्छ ।
परानमा नवोलेरै मनका कुरा वझ्ने भएर त बा भएका होलान् भन्ने दृश्यमा धेरैको मन स्थीर वनाइदिँन्छ् । परानमा उनले निर शाह सग गरेको अभिनयले उनलाई आम दर्शक सम्म पु¥याएको छ अहिले महेश कलाकारिता क्षेत्रका व्यस्थ कलाकार हुन् । छत्तिसको आकडा, ककाकीकी को सुटिङमा ब्यस्त छन् भने सफल चलचित्र झिङ्गे दाउ को सिक्बयल मा समेत उनि प्रमुख पात्रको रुपमा अनुबन्धित भयका छन्।
काठमाडौं , ९ मंसिर ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।
साथै, उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको पनि बताएका छन् ।
मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए ।





