
पोखरा, २४ मंसिर ।
पोखराको लेकसाइडमा सञ्चालनमा आएको लेभल्स क्लबले एक वर्ष पूरा गरेको छ । गत वर्षको मंसिर २७ गतेदेखि व्यावसायिक रूपमा सेवा सुरु गरेको क्लबले छोटो समयमा युवा पुस्ता र रात्रिकालीन मनोरञ्जन चाहनेहरूको प्रमुख रोजाइ बन्न सफल भयो ।
एक वर्ष पूरा भएको अवसरमा क्लबले यही मंसिर २७ गते शनिबार विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । क्लबका सञ्चालक अमित रोकाका अनुसार वार्षिकोत्सवमा आन्तरिक तथा वैदेशिक पर्यटकलाई लक्षित गर्दै थप आकर्षक मनोरञ्जनका प्रस्तुति रहनेछन् ।
क्लबमा रेस्टुरेन्टसहितको डिस्को, लाइभ डिजे शो, लोकप्रिय कलाकार निसान पुन, ‘घोरेपानी डाँडैमा गीतका गायक चन्द्र पुन, चर्चित गीत गोरी सुनारेका गायक सम्बोज मल्ल तथा कालरात्री ब्याण्डको विशेष प्रस्तुति रहने सञ्चालक रोकाले जानकारी दिए ।
विदेशबाट फर्किएर नेपालमै व्यवसायको सम्भावना खोज्दै आएका रोकाले यसअघि साझेदारीमा क्लब सञ्चालनको अनुभव बटुलेका थिए । हाल एकल व्यवसायका रूपमा सञ्चालित लेभल्स क्लबले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ७० जनालाई रोजगारी उपलब्ध गराएको छ ।
रोक्का ग्राहकहरूको निरन्तर समर्थनप्रति आभारी रहँदै आगामी दिनमा अझ आकर्षक कार्यक्रमहरू सहित सेवाको स्तर बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार अत्याधुनिक रुफ टप बार पनि यहि आउँदो बार्षिक उत्सबदेखि सञ्चालनमा आउनेछ ।
लेकसाइडको नाइट–लाइफलाई अझ व्यवस्थित बनाउन क्लबले आफ्नो पहिलो वर्ष उत्साहपूर्ण रूपमा मनाउँदै आगामी वर्ष पनि नविनता र मनोरञ्जनले भरिपूर्ण बनाउने रोकाले जनाए ।
पोखरा, २४ मंसिर ।
नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबार देखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ ।
महोत्सव मंसिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।
अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता जनाउने छन्।
महोत्सवको उद्घाट गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वाल वालिकाको क्षमता उजागर गर्ने काम यस महोत्सवले गरेको बताए । ‘वाल वालिकामा हुने हरेक खालका प्रतिभाका वारेमा राज्य, परिवार र विद्यालय मिलेर उजगर गर्ने काम गर्नु पर्दछ’ उनले भने, ‘तब मात्र वाल वालिकाका ति क्षमताले समाजलाई अभूतपूर्ण योगदान पुग्नेछ ।’ उनले कितावी ज्ञान मात्र नभई व्यवहारीक ज्ञानमा पनि वालवालिकालाई सरिक गराउनु पर्ने उल्लेख गरे ।
नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एन प्याब्सन कास्कीले गरेका हरेक गतिविध उत्कृष्ट रहेको बताए । ‘हरेक विद्यार्थीले केहि न केहि क्षमता लिएर आएका हुन्छन्, ती प्रतिभा पहिचान गर्न सके मात्र हरेक विद्यार्थी आफ्नो क्षत्रमा विशिष्टता गर्नेछन्’ उनले भने, ‘यस्तै एक ठाउँमा विविध खालका कार्यक्रमको आयोजना गरेर एन प्याब्सन कास्कीले विद्यार्थी क्षमता उजागर गर्ने काम गरेको छ ।’ उनले अवको शिक्षा जिवन, जगत र प्रविधिसँग जोडिने खालको हुनु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखराका निर्देशक भाष्करराज पन्त, नेसनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्का, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र वड्स एकेडेमीकी छात्रा नितु भण्डारीले बोलेका थिए । महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गरेका छन् ।
यता क्रिकेट प्रतियोगिताको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीले हाता पारेको छ । मंगलबार भएको फाइनल खेलमा त्रिबेणी पब्लिक माविलाई १९ रनले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो । गत वर्षबाट एन प्याब्सन कास्कीले क्रिकेट प्रतियोगिता शुरु गरको थियो। जसमा गत वर्ष पनि कास्की र त्रिबणी फाइनलमा पुग्दा कास्की विजेता बनेको थियो ।
टस जितेर फिल्डिङ रोजेको त्रिबेणीले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । ब्याटिङमा उत्रिएको कास्कीले १० ओभरमा ७ विकेटको क्षतीमा ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको त्रिबेणीले १० ओभरमा ९ विकेटको क्षतीमा ४६ रन बनाएको थियो । उक्त प्रतियोगितमा ज्ञानज्योति विद्याकुञ्ज मा.वि. नेसनल व्रिmयसन एकेडेमी तृतीय भए । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको थिए । खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा भएको थियो । कक्षा ११, १२ को फुटसल प्रतियोगिताको उपाधि न्यू ग्यालेक्सी जितेको छ ।
एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा, २४ मंसिर ।
नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा” पुस्तक प्रकाशनका लागि आयोजित “विश्वको उत्कृष्ट गन्तव्य नेपाल पाँचौँ कला प्रदर्शनी” सफलतापूर्वक सम्पन्न भएको छ ।
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना भएको ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक–२०८२ अन्तर्गत उक्त प्रदर्शनी कार्यक्रम भएको थियो ।
“शान्ति, पर्यटन र कला प्रवद्र्धन” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा विश्वकला यात्री तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य प्राज्ञ नगेन सिंहले सिर्जना गरेका कलाकृतिहरू प्रदर्शन गरिएका थिए ।
प्रदर्शनीमा नेपालको ७७ वटै जिल्लाका कम्तीमा तीन–तीन वटा हेर्न, सुन्न र घुम्नलायक स्थलहरूका चित्रकलाहरू प्रस्तुत गरिएको थियो ।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यस कला प्रदर्शनीमार्फत “नेपाल कला यात्रा” नामक रंगीन पुस्तकलाई संसारका १ सय ९७ वटा भाषामा प्रकाशन गर्ने दीर्घकालीन लक्ष्य राखिएको जानकारी दिनुभयो ।
यस्तै यस अभियानका अभियन्ता सिंहले यो महाअभियानमा आशीर्वाद स्वरूप एक सय रुपैयाँ योगदान गरेर जो–कोही सहभागी हुन सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
हालसम्म १ हजार ८ सय १५ जना भन्दा बढी व्यक्तिहरू यस महाअभियानमा सहभागी भइसकेका छन् ।
यस पुस्तकमा कलाकार सिंहले नेपालका ७७ वटै जिल्लामा पुगेर त्यहाँका प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय क्षेत्र समेटेर चित्रकला सिर्जना गर्नुभएको छ ।
उहाँको यस योगदानको कदर स्वरूप २०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट सम्मानित पनि भइसक्नुभएको छ ।
कलाकार सिंहका अनुसार “नेपाल कला यात्रा” पुस्तक नेपाली भाषामा प्रकाशित भइसकेको छ भने बाँकी १ सय ९७ भाषामा अनुवाद तथा प्रकाशन प्रक्रिया अघि बढिरहेको छ ।
विश्वका विभिन्न देशका विश्वविद्यालय तथा पुस्तकालयहरूमा सम्बन्धित देशकै मातृ भाषामा कम्तीमा ३ सय प्रति निःशुल्क रूपमा पुस्तक वितरण गर्ने योजना समेत रहेको उहाँले बताउनुभयो ।
यस अभियानको दीर्घकालीन लक्ष्य नेपालमा वार्षिक कम्तीमा १ करोड पर्यटक भित्र्याउने पर्यटन प्रवद्र्धनमार्फत देशको आर्थिक विकास गर्ने र नेपालीलाई समृद्ध बनाउने रहेको उहाँको भनाइ छ ।
यस्तै उहाँको यस महाअभियानमा देशका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको छ ।
पूर्व प्रधानमन्त्रीदेखि लिएर मन्त्री, मुख्यमन्त्री, संघीय तथा प्रदेश सांसद, पत्रकार, शिक्षाविद्, धर्मगुरु, साहित्यकार, व्यवसायी लगायत महानायक राजेश हमाल, गायक राजु लामा, दिपक बज्राचार्य, ज्योतिमगर, शान्तिश्री परियार, प्रकाश दुतराज, टिका प्रसाईं, निशा देशार, रितु कडेल जस्ता चर्चित कलाकारहरू समेत सहभागी भइसकेका छन्।
त्यस्तै नेपाल कला यात्रा पुस्तक प्रकाशन समिति संयोजक चिन्तामणि खरेलका अनुसार यस अभियानमा एक सय रुपैयाँ वा सोभन्दा बढी योगदान गरेर सहभागी हुने सबै व्यक्तिहरूको नाम पुस्तकमा प्रकाशित गरिनेछ । यसले सहभागीहरूलाई अभियानसँग भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ ।
कलाकार सिंह नेपाल कला क्षेत्रका एक प्रतिष्ठित नाम हो । उहाँले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य (२०७१), स्वर्ण पदक (२०७४), अरनिको युवा पुरस्कार (२०६९), नाफा पश्चिमाञ्चल क्षेत्रीय प्रथम पुरस्कार (२०५९), अरनिको कला कार्यशाला प्रथम पुरस्कार (२०५९), सान्त्वना पुरस्कार, पेन्टिङ प्रतियोगिता, नेपाल कमर्सियल आर्टिस्ट संघ केन्द्रीय समिति सदस्य लगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट पुरस्कृत समेत भइसक्नुभएको छ ।
उहाँले कला विषयमा स्नातकोत्तर अध्ययन गर्नुका साथै हालसम्म १२ पटक एकल कला प्रदर्शनी पनि सम्पन्न गरिसक्नुभएको छ ।
पोखरा, २४ मंसिर ।
आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरामा ब्वाइज’ सिंगल्सको राउन्ड अफ १६मा अत्यन्तै प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । शीर्ष सिडिङ प्राप्त खेलाडीहरूले कठिन संघर्षपछि अन्तिम आठमा स्थान बनाए भने नेपालका दुई खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
शीर्ष शिडिङ ताइवानका टिङ–हो याङले भारतका प्रतीक शोरण विरुद्ध खराब सुरुआतपछि कमब्याक गर्दै ०–६, ६–३, ६–२ ले जित निकाल्दा चीनका यान्सुओ पानले भारतका शशांक कर्णाटी विरुद्ध ६–२, ६–३ ले जित दर्ता गरे । भारतका अर्श काथुरियाले सिंगापुरका रोबर्ट डोल्यालाई २–६, ७–५, ६–१ ले हराउँदै दिनको ठूलो अपसेट सिर्जना गरे भने चीनका जियालियाङ गुओले भारतका माधव दिक्षितमाथि ६–२, ६–४ को जीत हासिल गरे ।
यस्तै नेपालका प्रणव मनन्धरले भारतका यश कुमारलाई ६–१, ६–१ ले पराजित गर्दै सहजै अन्तिम आठमा प्रवेश गरेका छन् । कोरियाली युल हो जुङले उतार–चढावपूर्ण खेलमा दक्ष दीपक पाटिललाई ६–१, २–६, ६–२ ले रोक्दै क्वार्टरफाइनल स्थान सुनिश्चित गरे ।
श्रीलंकाका गानुका फर्नान्डोले भारतका निकुञ्ज खुरानालाई १–६, ६–२, ६–२ ले हराउँदै अघि बढ्दा नेपालका करन बी थापाले चीनका चुवान डिङलाई सनसनीपूर्ण खेलमा ५–७, ६–४, ७–६(२) ले हराउँदै बुधबारको खेलमा ठूलो जित निकाल्न सफल रहे ।
‘ब्वाइज’ डबल्स (क्वार्टरफाइनल)
डबल्सतर्फ कोरिया–भारतको जोडी क्युन्गबिन आन र दक्ष दीपक पाटिलले भारतका माधव दिक्षित र यश कुमारको जोडीलाई ६–४, ६–१ ले हराए भने भारतका प्रतीक शोरण र अनुज अभिजित तसिल्दारले गानुका फर्नान्डो र तेजस रविलाई ६–२, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान शुरक्षित गरे । यस्तै कोरियाली ह्योजिन हा र युल हो जुङले रेहान गुणवर्धना र असव सम्राट हाडालाई ६–०, ६–४ ले रोक्दै अघि बढे ।
यसै गरी चीनका जियालियाङ गुओ र जुनलिन सुले शशांक कर्णाटी र करन बी थापा विरुद्ध मेडिकल कारणले वाकओभर पाएपछि सेमिफाइनलमा स्थान बनाए ।
यस्तै गल्र्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले भारतीय अनन्या जैनलाई कठिन संघर्षपछि ४–६, ६–१, ७–६(४) ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन् । तेस्रो सेटको टाइब्रेकमा स्वस्तिकाले उच्च धैर्य र संयमता प्रदर्शन गर्दै शानदार जित निकालिन् ।
‘गल्र्स’ डबल्स (क्वार्टरफाइनल)
क्यानडाकी नोरा चौधरी र भारतकी जहनवी तमिनेदीले पहिलो वरीयता प्राप्त भारतीय कर्थिका पद्मकुमार र नेपाली सुनीरा थापामाथि ६–३, १–६, (१०–७) को संघर्षपूर्ण जित हासिल गरे भने शिभाली गुरुङ (नेपाल) र के–चिएह सु (ताइवान) ले भारतकी इशा शर्मा र बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–०, ६–१ ले पराजित गर्दै सहज रूपमा सेमिफाइनलमा पुगे ।
नेपालकी स्वस्तिका विष्ट र नाला अमेरिकाकी जोसेफिन मास्कीको जोडीले चीनकी युनर ची र भारतकी मेहा पाटिललाई ६–४, ६–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्दा तेजस्वी मन्नेनी (भारत) र बोइदेही उकिल (न्युजिल्यान्ड) ले भारतीय जोडी प्रियांशी कठियाल र सताक्षिका सहायकलाई ३–६, ६–४, (१०–८) ले हराउँदै सेमिफाइनल यात्रा पूरा गरे ।
प्रतियोगितामा ब्वाइज डबल्स तथा गल्र्स डबल्सतर्फका खेलहरु समेत जारी रहेका छन् । शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गर्ल्स सिङ्गल्स तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।
पोखरा, २४ मंसिर ।
यहि पुस ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सवमा दर्शकहरुले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाईदा लिन सक्नेछन । आयोजकले अनलाईन सपिङ प्लेटफर्म पसल डट कमको सहकार्यमा महोत्सव अवलोकन गर्ने दर्शकहरुका लागी यो अफर योजना ल्याएको हो ।
यस योजना अन्र्तगत दर्शकहरुले आफुले खरिद गरेको रु ५०, १०० वा २०० जुनसुकै टिकटको अर्धकटृी महोत्सवभित्र रहने पसल डट कम को स्टलमा लगेर प्रदान गरेपछि त्यसवापत एउटा क्यू आर कोड प्राप्त गर्नेछन त्यसपछि आफ्नो मोबाईलमा प्ले स्टोर मार्फत पसल डट कमको एप डाउनलोड गरि त्यसमा रहेको स्क्यानर मार्फत उक्त क्यू आर कोड स्क्यान गरि रु १०० बराबरको क्रेडिटमा बदल्न सक्ने टिकट विक्रि व्यवस्थापन उप –समितिका संयोजक सुजन न्यौपानेले वताए ।
यसरी क्यू आर कोड मार्फत प्रत्येक एप युजरले महोत्सव अवधिभर मात्र दिनमा १ पटक मात्र क्रेडिटको रुपमा वदल्न सकिनेछ भने यसरी जम्मा भएको क्रेडिट पसल डट कमको एप मार्फत न्युनतम रु ५ सय बराबरको प्रत्येक खरिद अर्डरमा रु २० को दरले जुन सुकै समय अवधिभर सम्मको लागी छुट प्राप्त गर्न सक्ने पसल डट कमका प्रबन्धक यशस्वी तिवारीले वताए ।
लेखनाथ महोत्सवमा पहिलो पटक यस किसिमको अफर ल्याईएको दावी गर्दै आयोजक लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटिले यसले थोरै भए पनि टिकट खरिद गर्ने दर्शकहरुलाई लाभ पुग्ने र टिकट विक्रिमा पनि टेवा पुग्ने विश्वास लिईएको वताए । पसल डट कमले महोत्सवको टिकट घर र मुख्य टिकट छपाई प्रायोजन गरेको छ ।
महोत्सवको अवलोकन गर्ने दर्शकहरुका लागी आयोजकले विद्यार्थीहरुका लागि परिचयपत्रको आधारमा रु ५०, सर्वसाधारण दर्शकहरुका लागी रु १०० र बेलुकाको सांगितिक कार्यक्रमका लागी रु २०० को टिकट दर निर्धारण गरेको छ ।
पोखरा, २४ मंसिर
शनिबार पोखरामा गायक स्वप्निल शर्माको ब्राण्ड स्वरको लाइभ प्रस्तुती हुने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट बारमा लाइभ प्रस्तुतीको तयारी भएको छ ।
युवा पुस्ताका माझ गायक स्वप्निल शर्मा चर्चित छन् । स्वप्निलको आवाज, उनको भावनात्मक प्रस्तुति र गहिरो गीतलेखन शैलीले उनलाई नेपाली युवा पुस्ताबीच प्रिय गायकका रुपमा चिनिन्छन् ।
२००० को दशकबाट उनी गायन क्षेत्रमा संलग्न भए । “हिँड्ने मान्छे लड्छ“, “प्रकृति“, “साथी“, “भूलमा भुल्यो“ जस्ता गीतहरूले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । यी गीतहरूमा जीवनको यथार्थ, प्रेम, सामाजिक सन्देश र युवापुस्ताको भावना समेटिएको छ ।
विस्तारै विस्तारै, मेरो भाग्यमा, मेरो वरिपरि लगाएतका गीतबाट दर्शकलाई मनोरञ्जन दिने छन् । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट ८ सय देखी १५ सय रुपैया सम्म टिकट दर रहको प्याराडिसोका म्यानेजर हरी पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।





