२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, २८ मंसिर ।

लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी सहितको संघको टोलीले आईतबार मुख्यमन्त्री पाण्डेलाई भेटी गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा समावेश प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्न अनुरोध गरेको हो। पोखरामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्तिको काम प्रदेश सरकारले यसअघि नै गरिसकेको सङ्घको बुझाइ छ।

सङ्घले औद्योगिक क्षेत्र निर्माणका सम्बन्धमा हालसम्म भएका प्रयासहरू कहाँसम्म पुगेका छन् र प्रगति अवस्था के कस्तो रहेको छ भन्ने विषयमा स्पष्ट जानकारी उपलब्ध गराउन मुख्यमन्त्रीसँग आग्रह गरेको छ।

भेटका क्रममा सङ्घले पछिल्ला केही वर्षदेखि रोजगारी सिर्जना राष्ट्रको प्रमुख आवश्यकता बनेको उल्लेख गर्दै, अर्थतन्त्र चलायमान राख्न, आपूर्ति सहजता कायम गर्न र समृद्ध गण्डकी प्रदेश निर्माणका लागि प्रादेशिक औद्योगिक क्षेत्र अपरिहार्य रहेको जनाएको छ।

हाल जग्गाको मूल्य अत्यधिक बढेकाले निजी क्षेत्रले चाहेर पनि उद्योग स्थापना गर्न नसकिरहेको उल्लेख गर्दै, उद्योग–कलकारखाना स्थापना गर्न अनुकूल वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारकै रहेको सङ्घको भनाइ छ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका अधिकारीले समग्र गण्डकी प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकारले निर्माण गर्ने औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउन आग्रह गरिएको बताइन्।
उनका अनुसार राजधानी काठमाडौँ र पोखराको भौगोलिक पहुँच सहज बन्दै गएको अवस्थामा पोखरा महानगरपालिकाको आसपासमा निर्माण हुने औद्योगिक क्षेत्र काठमाडौँको विकल्पका रूपमा समेत विकास हुन सक्ने सम्भावना रहेको छ।

औद्योगिक क्षेत्र सञ्चालनका लागि सङ्घका सदस्य उद्योगी–व्यवसायीहरू उत्साहित रहेको जनाउँदै अध्यक्ष अधिकारीले प्रदेश सरकारले शीघ्र निर्णय गरी निर्माण प्रक्रिया अघि बढाउने अपेक्षा व्यक्त गरेकी छिन्।

पोखरा, २० मंसिर ।

विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १४ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ । बिगत ४ वर्षदेखि पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले १४ औं संस्करणको पोखरा महोत्सवमा समेत मुख्य प्रायोजकलाई निरन्तरता दिएको हो ।

महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना गर्दै छ ।

पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा बीच महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका डाइरेक्टर सन्नी रौनियारले पोखरामा रही नेपालभर सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा चौथो पटक सहकार्य गर्न पाउदा खुसी लागेको बताए । बेटरलाई जनताहरुले मन पराइरहेको सन्दर्भमा सामाजिक काममा छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गर्नु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो ।

पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले आफ्नो उत्पादन बेटर ब्राण्डको इलेक्ट्रिक र किचनका सामाग्रीहरु बिक्री गर्दै आइहरहेको छ ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १४ औं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहयोगी मनहरुकै कारण पोखरा महोत्सव स्थापित भएको र महोत्सवकै आम्दानीबाट युनाईटेड क्लबले सामाजिक कामलाई अगाडी बढाएको बताए ।

सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

पोखरा, २० मंसिर ।

विगत ७ वर्ष देखि नियमित हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हुँदै आएको हाइकिङ भाग ६५ तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ को हर्षपुरमा सम्पन्न गरेको छ ।

स्थानिय बालकुमार श्रेष्ठ सहितको स्थानिय आमा समुहले हर्षपुर डाँडागाउको भ्युटावरमा पञ्चेवाजा वजाएर हाइकर्स समुहलाई स्वागत गरेका थिए । समुहलाई स्वागत गर्दै पर्यटन वजारमा वामे सर्दै गरेको हर्षपुरलाई आफ्नो यात्राको गन्तव्य वनाएकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिर्दै हर्षपुर गाउँको व्यापक प्रचारप्रसार गर्न अनुरोध गरेका थिए । साथै केहि वर्ष देखि गाउँमा होमस्टे संचालन सुरु गरेपछि आन्तरिक पर्यटनको वृद्धि हुनुका साथै पक्कि बाटो गाउँले पाएको अनुभव व्यक्त गरेका थिए ।

सामाजिक सञ्जालमा सूचना प्रकाशित गरि पोखराका विभिन्न स्थानहरुबाट जम्मा भएका नियमित हाइकिङ गर्ने र पहिलो पटक हाइकिङमा सहभागि भएका ३८ जना पृथ्वीराजमार्गको म्याग्दे–७, थर्पु, घुम्तीबजारबाट पैदल यात्रा सुरु गरि सोही वडाको हर्षपुर डाँडागाउँ भ्यु टावर सम्म हाइकिङ गरिएको थियो ।

यस अघि क्लबका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष ज्योति हमाल, सल्लाहकार जुना गुरुङ लगाएत सहभागिहरुलाई स्याङ्दे टोलविकास संस्था, संगम टोलविकास संस्था, धोबिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति, स्याङ्दे वडहरे समीडाँडा आमा समुहले अविर, पुष्पगुच्छाले स्वागत गरेका थिए ।

क्लबका अध्यक्ष कृष्ण रानाभाटले स्थानियले राखेको जिज्ञासा माथि प्रकाश पार्दै हाइकर्स क्लबको स्थापना, क्लबले ग्रामिण पर्यटनमा पुर्याएको योगदानको चर्चा गर्दै हाइकिङ गरि पुगेका स्थानहरुको बारेमा वोलेका थिए ।

धोबिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सन्तमान श्रेष्ठ र स्याङ्दे टोलविकास संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले पदयात्रामा सहजिकण गर्दै आरी रह, खुर्सानी रह, मिलिजुली सामुदायिक बन, ऐतिहासिक कुवाको बारेमा जानकारी दिएका थिए ।

क्लबको आयोजनामा तनहुँ जिल्लाका भिमाद नगरपालिकाको ध्याङ्चलुम र सिद्ध गुफा, शुक्ला गण्डकी नगरपालिकाको थर्पेक, म्याग्दे गाउँपालिकाको किल्चोक, बहपुर, व्यास नगरपालिकाको मानुङकोट, शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँमा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पोखरा, २८ मंसिर

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार युआरएल हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरिएको छ । शिविर २ सय पाँच जनाले ल्याब र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् ।

युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले सहभागीहरुको थाइराइड र मधुमेहका जाँच सित्तैमा गरिएको बताए । २०७० साल मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर १५ देखि मंसिरभर विभिन्न सेवामा विशेष छुटसमेत दिइरहेको छ ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउँदै गुणस्तरीय सेवा सर्वसाधारण दिन कार्यक्रम गरिएको जनाए । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क शिविरहरु आयोजना गर्दै आएको छ । हालसम्म भएका २१२ शिविरमा २ लाख १५ हजारले सित्तैमा सेवा पाएका छन् ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा कृष्णराज अधिकारीले कसरत नगर्ने तथा अस्वस्थ खानपानले (मधुमेह) सुगर हुने जोखिम बढाउने बताए । थाइराइडका कारण महिनावारी गढबढ हुने, मोटोपना बढ्ने जस्ता समस्या देखिने उनको भनाइ छ ।

डा अधिकारीले वंशानुगत कारणले मधुमेह हुन सक्ने उल्लेख गर्दै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पारे । ‘सुगरले आँखा दाँतमा यौन दुर्वलता हुनेसमेत अध्ययनले देखाएको छ । कम्तीमा वर्षमा १ पटक पूर्ण शरीर जाँच गर्नुपर्छ यसले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न सहयोग पुग्नेछ,’ उनले भने ।

कपडा व्यवसायीलाई युआरएलमा छुट
कपडा व्यवसायी एसोसिएसन कास्कीमा आवद्ध व्यवसायीले पोखरा ८, न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालय र यसका शाखाहरुबाट ३० प्रतिशत छुट पाउने भएका छन् । संस्थामा आवद्ध कपडा व्यवसायी र उनीहरुका अश्रित (आमाबुवा, छोराछोरी, श्रीमानश्रीमती र सासुससुरा)लाई स्वास्थ्य जाँच अन्तर्गत ल्याब परीक्षणमा यो सुविधा प्राप्त हुनेछ ।
यो सम्झौता पुस १ गतेदेखि २०८५ मंसिर मसान्त अर्थात ३ वर्ष सम्म हुनेछ । आइतबार युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थ र एसोसियसनका अध्यक्ष लेखनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

पोखरा, २८ मंसिर ।

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा–४ गैहपाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजना भएकोे कार्निभलमा खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताका प्रस्तुतिहरु रहेका थिए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. विश्वकल्याण पराजुलीले एक कार्यक्रमका वीच बेलुन उडाएर कार्निभलको उद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरुदेखि निरन्तर हुँदै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सफल भएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखेर स्थानीय उत्पादनहरु मह, अचार, सातु, हस्तकला, सजावट सामग्री, कपडाका झोलाको प्रदर्शनी र बिक्री गरिएको थियो ।

कलेजका विद्यार्थीहरुले स्वयंसेवकरुपमा खानाका परिकारहरू—सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरी, अचार लगायतका लोकप्रिय व्यञ्जनहरूका स्टलहरु संचालन गरेका थिए । स्टल व्यवस्थापनमा कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा पूर्वविद्यार्थीहरू सक्रिय सहभागी बनेको क्याम्पस प्रमुख श्रेष्ठको भनाइ छ ।

कलेजका ईसीए संयोजक अमोद प्रसाद कोइरालाले दिएको जानकारी अनुसार कार्यक्रमलाई अझ मनोरञ्जक बनाउन विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, लाखेनाच लगायतका आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको कला, सिर्जनशीलता र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्निभल कलेजको महत्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको कोइरालाको भनाइ छ ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय पोखरेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो । साँझ भएको लाइभ कन्सर्टमा ख्यातिप्राप्त स्थानीय ब्यान्डहरूको प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन दिएको थियो । कार्निभललाई विभिन्न व्यक्तिहरू, संस्थाहरू र कलेजका साझेदारहरूले प्रायोजन तथा सहयोग गरेका थिए ।

कलेजले हरेक वर्ष शैक्षिक भ्रमण, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, वर्कशप तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले जानकारी दिएका छन् । सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक कचहरी कार्यक्रम कलेजकै मौलिक पहिचान बनेको उनको भनाइ छ ।

लेकसिटी वि.सं. २०६४ मा स्थापना भएको त्रिविबाट सम्बन्धनप्राप्त कलेज हो । कलेजले विविएस, विएएसडब्लु (समाजसेवा), र विए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । वार्षिक सय विद्यार्थी भर्ना क्षमता रहेको कलेजमा हाल ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पोखरा, २८ मंसिर ।

पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सव आइतबार सम्पन्न भएको छ ।एक दिन विद्यालय र दुइ दिन पोखरा रंगशाालामा गरी तीन दिनसम्म संचालन भएको उत्सवमा बिभिन्न १३ वटा खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका १ हजार बढी विद्याथीले सहभागिता जनाएका थिए ।

उत्सवको अन्तिम दिन आज भएको फुटवलको फाईनल खेलमा सन्देश खत्री टिम क्याप्टेन रहेको माछापुच्छे्र् सदनलाई पराजित गरी अर्मान गुरुङको नेतृत्वको अन्नपुर्ण सदन विजेता भएको छ ।निर्धारित र थप समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राईवेकरमा गएको थियो । जसमा माछापुच्छे्रलाई ६–५ ले हराउँदै अन्नपुर्ण विजयी भएको हो । उत्सवमा ५०,१००, २००,४००,८००, मिटर दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प,फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा , व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल लगायतका खेलहरु समावेश गरिएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।

कक्षा ४ र ५ को रिले छात्रा तर्फ आस्था गुरूङ,संस्कृति आचार्य,दिती बानिया, स्वस्तीका सुनार प्रथम,प्रार्थना राना,सम्भवी काफ्ले,अमना आले,युनिका परियार द्वितिय, देविना गुरुङ,सृष्टिका ढकाल,सुविना केसी,आरोही पुन तृतीय भए ।त्यस्तै कक्षा ६ र ७ को हाईजम्प छात्रमा सुवास राना प्रथम,प्रनिम गुरुङ, द्वितिय, र प्रभात गुरुङ, तृतीय, कक्षा ८,९ र १० तर्फ आर्यन सुनार प्रथम,सुजल गुरुङ द्वितिय,कुशल परियार तृतीय, कक्षा ४ र ५ को २ सय मिटर दौड छात्र तर्फ विवश सुनार प्रथम,प्याट्रिक बास्तोला द्वितिय,विश्वास भट्टराइ तृतीय भए । कक्षा ८, ९, १० को छात्र ८ सय मिटरमा समिर वरुवाल प्रथम,उमगं घर्ती द्वितिय,निर्जन चोचागे तृतीय भए ।

कक्षा ११ र १२ को हाईजम्प छात्रमा सोहन नेपाली प्रथम,प्रज्वल केसी द्वीतिय, आशिष घले तृतीय,कक्षा ८, ९, १० को२ सय मिटर दौड सलिना पुर्जा प्रथम,सजना पौडेल द्वितिय,समिक्षा नेपाली तृतीय, कक्षा ११ र १२ १ सय मिटर तर्फ सोहन नेपाली प्रथम,स्मिथ भट्टराई द्वितिय, प्रज्वल केसी तृतीय भए । कक्षा ४ र ५ को २ सय मिटर छात्राा आरोही पुन प्रथम,दिती बानिया द्वितिय,प्रिया राना तृतीय भए । त्यस्तै कक्षा ४ र ५ को रिले छात्रमा दिपेश कडेल,दिप्सन थापा,रिदम घले,विवस सुनार प्रथम,सोहित परियार,अनुराग न्यौपाने, कृष खत्री,पेट्रिक बास्तोला द्वितीय,प्रतिक पौडेल,प्रनिश कार्की,सार्थक क्षेत्री,मन्नत थापा तृतीय भए। सो अवसरमा कक्षा ४ देखि ६ का विद्यार्थीले पिटी डिल पनि प्रदर्शन गरेका थिए ।मार्च पासमा धौलागिरी सदन प्रथम, अन्नपुर्ण सदन द्वितीय र माछापुच्छ्रे तृतीय भए ।

विजयी विद्यार्थी र टिमलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरुङ,पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे,पोखरा रंगशाालाका कार्यालय प्रमुख डिवी नेपाली,प्यावसन कास्कीका पुर्व अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनिया,विद्यालयका कार्यकारी निर्देशक दिनेशकुमार श्रेष्ठ लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । समापन कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष गुरुङले देशको खेलकुद विकासमा निजी क्षेत्रका विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताए । उनले आधारभुत तह देखि नै खेल क्षेत्रमा लगानी गर्न सके मात्र त्यसले उत्कृष्ट परिणाम निकाल्ने बताए ।

कार्यक्रममा विद्यार्थीले नेपाली लोक संस्कृति झल्कने गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।उत्कृष्ट सदनको रुपमा यसबर्ष पनि सगरमाथा सदन भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन शिक्षक मीना भण्डारीले गरेकी थिईन् ।

पोखरा, २८ मंसिर ।

कास्कीको पोखरामा महानगर पालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविमा बधाई कार्यक्रम आयोजना गरिएको छ ।

नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ मा विभिन्न विधामा उपाधी चुमेका विद्यार्थीहरुलाई विद्यालयले आईतबार एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

विद्यालयले सामूहिक लोकनृत्य प्रतियोगिता तर्फ प्रथम, क्रिकेट तर्फ तृतीय, हस्तकलाप्रतियोगिता (पातबाट बनेका सामग्री) तर्फ युगमाया विश्वकर्मा र सोफिया पुन प्रथम, हस्तकला प्रतियोगिता (चोयाबाट बनेका सामग्री) तर्फ समिर नेपाली र असिम नेपाली सान्त्वना र एकल अभिनय प्रतियोगिता तर्फ जेसिका गुरुङ सान्त्वना भएका थिए ।

विजयी विद्यार्थीहरुलाइ विद्यालयका संस्थापक प्रिन्सपल अर्जुन प्रसाद अधिकारी, एकडेमिक डिन टंकराज सुवेदी, संस्थापक मित्रबन्धु सुवेदीलो खादा अवरि लगाई बाधई तथा सम्मान गरेका थिए । त्यस अवसरमा सम्बन्धि विधाका शिक्षक र कोच लाई सम्मान गरिएको

प्रतियोगितामा विभन्न विधामा पुरस्कार प्राप्त गरी बिद्यालयको गरिमा बढाउन सफल भन्दै विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन प्रसाद अधिकारीले जानकारी दिए । ‘विद्यार्थीका विभिन्न खालका प्रतिभा पहिचान गर्नका लागि गरेको लगानी सफल भएको महसुस गरेका छौ’ संस्थापक प्रिन्सिपल अधिकारीले भने, ‘आगामी दिनमा पनि अझै विद्यार्थीका प्रतिभालाई निखारता ल्याउँदै अगाडि बढ्ने छौं ।

यो ऐतिहासिक सफलतामा उल्लेख भूमिका निभाउनु हुने सम्बन्धि विधाका शिक्षक कर्मचारी, कोच नृत्य निर्देशक, एव अभिभावकहरु प्रती विद्यालयले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेको छ ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको थियो।

खेलकुद प्रतियोगितामा तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीको क्रिकेट र कक्षा ११, १२ को फुटसल प्रतियोगिता भएको थियो ।

 

पोखरा, २८ मंसिर ।

पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यि शहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम भएको बताउँदै सम्पूर्ण पुर्वेलीलाई पोखरा आउन आग्रह गर्नुभयो ।

उहाँले यतिबेल पुर्वी नेपाल र पोखरासंगको सडक सञ्जालपनि उत्कृष्ट रहेको बताउँदै बिगतमा बाटोमा हुने विभिन्न झण्झटहरु टरेको उल्लेख गर्नुभयो । पोखरालाई पर्यटकिय राजधानी शहर घोषणा गरिसकेपछि समितिले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँले औल्याउनुभयो । मौसम लगायत सबै दृष्टीकोणबाट पोखरा घुम्न यतिबेल अनुकुल भएको जनाउँदै उहाँले पोखरा घुम्न आव्हान गर्नुभयो ।

पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले पुष १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराउनुभयो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको उहाँले जनाउनुभयो ।

गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् ।

सो अवसरमा पोखरा र पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृष्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसअघि नेपाल पत्रकार महासंघ इटहरीले भ्रमणकारी पोखरेली पर्यटन व्यवसायीको टोलीलाई रुद्राक्षको माला अर्पण गर्दै स्वागत गरेको थियो ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । त्यस्तै, पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने छ । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

समारोहमा बोल्दै होटल संघ चितनका अध्यक्ष ओम पाण्डेले पुष ११ देखि १३ गते सम्म हुन लागेको हात्ति महोत्सवका बारेमा जानकारी दिंदै अवलोकनका लागि आव्हान गर्नुभयो । २० सदस्यि उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बराल रहेका छन् ।

त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, होटल चितवन होटल संघका ओम पाण्डे, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी रहेका छन् ।

 

 

काठमाडौं ।

 नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बन्दसत्र सुरु हुनुअघि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ ।

गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले पछि सरेको हो । नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।