
पावरलिफ्टिङकी शर्मिला सम्मानित हुदै
पोखरा, ०१ पुस ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ ।शिक्षाको संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप खेलकुद मार्फत अघि बढाउने उद्धेश्य अनुरुप आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो ।
१८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन पौष ४ गते हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र÷छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता हुने छ ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ । विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाउने छन् ।
हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले बताएका छन् । उनले भने–“यो प्रतियोगिता मात्रै होइन । यो खेलकुद उत्सव समेत हो । विद्यार्थीहरुलाई खेलकुद मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्नु हो भने अर्कातर्फ यूवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो । जुन उद्धेश्यमा हामी सफल भएका छौं ।” प्रतियोगिताले शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व क्षमता, भातृत्व र स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीहरु भित्र रहेको अन्तर्निहित क्षमता उजागर गर्न भूमिका खेल्ने भएकोले सफल बनाउन सबैको सहकार्य गर्न उनले आग्रह गरे ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १२ मध्ये ४० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीका सचिब सापकोटाले जानकारी दिए । उनले भने–“यो सहभागिताका लागि र प्रतिस्पर्धाका लागि मात्रै आयोजना होइन । हिसानमा आवद्ध शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि यो सिक्ने थलो भएकोले पनि यो स्पोट्र्स मिटको महत्व छ ।”
प्रतियोगिता सम्पन्न गर्न करिव ३२ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेलले जानकारी दिएका छन् । उनका अनुसार हरेक खेलको टिम विजेताले ७, दोस्रो हुनेले ५, तेस्रोले ३ र चौथो हुनेले १ अंक प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्न सफल टिम च्याम्पियन बन्ने छ । सो टिमले उपाधिसँगै आकर्षक रनिङ्ग कप प्राप्त गर्नेछ ।
यसै बीच हिसान कास्कीले विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम अनुरुप १८औं सस्करणको उद्घाटन समारोहमा पावर लिफ्टिङकी विश्व च्याम्पियन शर्मिला शाहलाई नगद २५ हजारसहित सम्मान गरिने हिसान कास्कीले जनाएको छ । गत वर्ष हिसान कास्कीले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको थियो ।
१५औं, १६औं र १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।
निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।
दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी
पोखरा, ०१ पुस ।
रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजि गाइजले जित हासिल गरेको छ । विजी गाइजले भिरचोक तमु समाजलाई २–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ । रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले पालिकाले खेलकुदको विकासका लागि हातेमालो गर्दै आइरहेको बताइन् ।
आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस प्रतियोगिताले पालिकाको सोचअनुसार खेलकुदको विकासमा टेवा पुगेको बताइन् । फुटबलसंगै अन्य खेलकुद प्रतियोगिताको आयोजना गर्न आवश्यक रहेको उनले सुनाइन् । कार्यक्रमलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले सुनाइन् ।
वडा ५ का वडाध्यक्ष राजन खनालले क्लबले ऐतिहासिक प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुद युवाको मेरुदण्डको रुपमा रहेको रुपा खेलकुदमा पहिचान थप्ने नयाँ आयाम थपिएको बताए । वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाकै युवाको नेतृत्वमा नविनतम कार्य गर्न आवश्यक रहेको सुनाए ।
रुपा ६ का वडाध्यक्ष नारायण गुरुङले क्लबले गुर्नपर्ने दायित्व र खेल्नुपर्ने भूमिका दोभान क्लबले पुरा गरेको सुनाए । उनले पहिलो पटक पालिकाभित्र फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुदले स्वास्थ्य र सद्भाव कायम गर्नुपर्ने भन्दै एक वडा एक खेल मैदानको अभियान चालेको बताए ।
खेल संयोजक सुनिल श्रेष्ठले पालिका गठन भएपश्चात पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । दोभान क्लब विभिन्न काल खण्डमा सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आइरहेको र अब फुटबलमा समेत पालिकालाई अब्बल बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
रास्वपा रुपाका सभापति राजेन्द्र सुवेदीले खेलकुदले युवाहरुलाई जोड्ने बताउँदै क्लबले खेलकुदलाई प्राथमिकता दिदाँ खुसी लागेको बताए । दोभान क्लबका अध्यक्ष सुजन श्रेष्ठले रुपा गाउँपालिकामा फुटबल खेलको विकास र विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए । रुपामा भलिबलको पहिचान हुनेगरेपनि फुटबलमा पहिचान नभएको र पहिचान स्थापित गराउने मुख्य लक्ष्य रहेको उनले सुनाए । अब युवाहरु भलिबलमा मात्र नभइ फुटबलमा समेत आकर्षित हुने उनको विश्वास रहेको छ ।
२१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा, ०१ पुस ।
हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ९ स्विटर, टोपी ० वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राख्नुका साथै हेमजा यूनाईटेड खेलकुद सँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेको थप उल्लेख गर्दै कार्यक्रमका बिच क्लबले गरेको सामाजिक कामको प्रशंसा गरे ।
युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न कार्य गर्दै आइरहेको र स्व अनुरूप स्टेशनरी सामग्री र मौसम अनुकूल न्यानो कपडा वितरण गरिएको बताए । जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । प्रविधि युक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि युनाईटेड परिवार सँगै रहने प्रतिबद्धता समेत गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकरी , विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायण बहादुर कुवार , प्रधानाध्यपक ईन्द कुमारी पुन लगायतले बोलेका थिए ।
क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।
पोखरा, ०१ पुस ।
१४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो ।
मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच महोत्सवको सह प्रायोजक गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ । सिटिजनले यसअघि १२ औं संस्करणको पोखरा महोत्सवमा टिकट प्रायोजनमा समेत रहेर महोत्सवलाई साथ दिदै आएको थियो ।
मंगलबार आयोजित सम्झौता कार्यक्रममा बोल्दै सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीले सामाजिक सेवामा लागेको युनाईटेड क्लब संग सिटिजन फर्निचरले पोखरा महोत्सवको माध्यामबाट सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनात्मक काम गरेको र सिटिजन फर्निचर समेत उक्त सामाजिक काममा संलग्न हुन पाउनु आफैमा गर्वको कुरा भएको बताउदै कार्कीले युनाईटेड क्लब संग आगामी महोत्सवहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । सो अवसरमा वोल्दै युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सिटिजन फर्निचर संगको सहकार्यले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन थप मदत पुगेको बताए ।
त्यस्तै क्लबका कोषाध्यक्ष जयराम आचार्यले विभिन्न ब्यवसायीक संघ संस्थाहरुको साथ र सहयोगकै कारण पोखरा महोत्सव १४ औंं संस्करण सम्म आइपुगेको र १४ औं संस्करणको पोखरा महोत्सवमा सिटिजन फर्निचर सह प्रायोजकको रुपमा जोडिदा पोखरा महोत्सवको गरिमा थपिएको बताए । पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर रहेको छ ।
पोखरा, ०१ पुस ।
पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।
जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य, विजय गुरुङ, षडानन्द गौतम, भीम सुवेदी, सकुन्तला लम्साल, लेकमाया पुन, राम बहादुर लामिछाने, सागर भण्डारी, दिलिप लामा, गोप बहादुर अधिकारी, धन लामा, निरोज बहादुर नेपाली छन् ।
सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा सुरज अधिकारी, सदस्यहरूमा शान्ता सुवेदी, भीम सुवेदी, सकुन्तला लम्साल, राजाराम पौडेल र भरत बानियाँ रहेका छन् । खेल तथा खेलाडी दर्ता उपसमिति अन्तरगत भलिबल संयोजकमा राम बहादुर लामिछाने, कबड्डी संयोजकमा सागर भण्डारी, एथलेटिक्स संयोजकमा गोप बहादुर अधिकारी, तेक्वान्दो संयोजकमा हर्क गुरुङ, उसु संयोजकमा शुकदेव रोक्का, कराते संयोजकमा धन लामा रहेका छन् ।
मार्चपास व्यवस्थापन उपसमिति संयोजकमा हरि जिसी, सदस्यहरूमा पुरुषोत्तम थापा र षडानन्द गौतम, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा पुरुषोत्तम थापा तथा सदस्यहरूमा किसान भण्डारी र लेकमाया पुन रहेका छन् ।
स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजकमा प्रविण रानाभाट र सदस्यमा पोषण बहादुर थापा मञ्च निर्माण, सजावट तथा सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा प्रीति बराल, सदस्यहरूमा लेकमाया पुन, सकुन्तला लम्साल, सोमनाथ भण्डारी र मोना गुरुङ रहेका छन् ।
खेल मैदान, सरसफाइ तथा पानी व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मण कुँवर र सदस्यहरूमा विजय गुरुङ, परशी शेर्पा, गङ्गा थापा, श्याम बिक, सरोज पुन रहेका छन् ।
अनुगमन उपसमिति संयोजकमा हेम प्रसाद आचार्य, मिडिया प्रचार तथा प्रसार उपसमिति संयोजकमा राजाराम पौडेल, प्राविधिक उपसमिति संयोजकमा राजन पौडेल र सहसंयोजकमा सिद्धान्त अधिकारी रहेका छन् । जिल्ला छनोट निर्णायक समिति भलिबलमा बल बहादुर श्रेष्ठ, कौशिल्या खत्री, रमेश जिसी, लेखनाथ लम्साल, कबड्डीमा राजकुमार थापा, हरि जिसी, कविता आले, एथलेटिक्समा गोप बहादुर अधिकारी ,सिद्धान्त अधिकारी, गज बहादुर गुरुङ रहेका छन् ।
पोखरा महानगर खेलकुद विकास समिति खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा, ०१ पुस ।
लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका बीच व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको वताईन ।
पराजुलीले महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको उहाँले जनाउनु भयो । लेखनाथ महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको पराजुलीले उल्लेख गरिन ।
विहिबार देखि सुरु हुने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी र्याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ ।
त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक धु्रवबाबु भट्टराईले बताए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने उनले जानकारी दिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज बर्तौला लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ । महोत्सवको टिकट दर विद्यार्थीका लागि ५०, साधारण प्रवेश १०० र कन्सर्ट टिकट २०० तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.को मुख्य प्रायोजनमा हुने उक्त महोत्सवको सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी रहेका छन ।
लामो समयदेखि पोखरामा रहेर हर्बल प्रोडक्ट मार्फत ग्राहकको मन जित्न सफल पोखरा हर्बल होम्सले नयाँ प्रोडक्टलाई ग्राहकसामु पस्केको छ । विशेषगरी कपालको समस्याबाट पीडित भएकाको लागि लक्षित गरेर ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल पोखरामा भित्राएको छ ।
भारतको कर्नाटकका आदिवासीले १ सय ८ वटा जडिबुटी मिसाएर हातले बनाएको यो तेललाई इम्पोर्ट गरेर बेच्न थालेको सञ्चालक कुमार प्रसाद बरालले जानकारी दिए । केही समयदेखि पोखरामा बिक्री भइरहेको यो तेलको प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उनले खुलाएका छन् । फलस्वरुप सो रुमको रूप दिएर ग्राहकलाई सेवा दिन थालिएको उनले खुलाए । यो तेल पोखराका कस्मेटिक पसलमा पाइन्छ भने न्युरोडमा रहेका सो रुममा पुगरेर समेत खरिद गर्न सकिनेछ । कपालको समस्याको एउटै समाधान ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल हुने उनको विश्वास छ ।
यो तेलको मूल्य २ सय ५० एमएलको लागि एमआरपी १ हजार ५ सय रुपैयाँ रहेको छ भने ५ सय एमएलको लागि २ हजार ८ सय रुपैयाँ एमआरपी रहेको छ । यसको स्याम्पु समेत राम्रो रहेको उनले बताए । झण्डै ६ महिनामा यसको पूर्ण रुपमा नतिजा देखिने भएकोले गुणस्तरीयता हिसाबले यसको प्रयोग गर्न उनको सुझाब छ । बजारमा पाइने सस्ता प्रोडक्ट भन्दा राम्रो प्रोडक्ट प्रयोग गर्ने हो भने नतिजा राम्रो आउने उनको दावी छ ।
त्रिलोकी इन्टरनेशनलका सञ्चालक योगेश बर्णवालले पोखरा सहित जनकपुर, वीरगञ्ज, चितवन, काठमाण्डौ, बुटबल लगायतका नेपालका ८ ठाउँमा यसको सो रुम खोलिसकेको बताए । यो प्रोडक्टले कपाल झर्न रोक्ने उनको दावी छ। आदिवासीले आफ्नो हातले बनाएको होम मेड प्रोडक्ट भएको र भारतको कर्नाटकबाट इम्पोर्ट गरेर नेपालभर वितरण गर्ने काम आफूहरूले गरिरहेको उनले बताए । एक वर्ष अगाडिबाट बजारमा आएको यो प्रोडक्टका अधिकांश प्रयोगकर्ता सन्तुष्ट रहेको उनको भनाइ छ ।
पोखराको सो रुमको औपचारिक उद्घाटन भने केही समय पछाडि गर्ने तयारी गरिएको सञ्चालक बरालले जानकारी दिए । उनका अनुसार पछिल्ला दिनमा हर्बल प्रोडक्टमा ग्राहकको आकर्षणमा थप वृद्धि भएको छ ।
पोखरा, ०१ पुस ।
यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ । लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा आयोजना हुनेछ । हिट्स अफ नाईन्टिज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित व्याण्डहरुको लाईभ प्रस्तुती रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । ‘यो सडक महोत्सवको मुख्य आकर्षण हो’–उनले भने ।
अंग्रेजी नया वर्षको स्वागतार्थ आयोजित ५ दिने महोत्सवको मूख्य दिन न्यू ईयर ईभ स्पेसल कार्यक्रम हुनेछ । जुन दिन एक्स नेपथ्य गुञ्जिने गुरुङले बताए । उनका अनुसार सो दिन एक्स नेपथ्यको ओरिजिनल भोकलिष्ट रविन श्रेष्ठ र गौतम गुरुङको विशेष प्रस्तुती रहनेछ । त्यस दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माले माहोल तताउनेछिन् । उनले अहिलेको चिकिरीचिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिने उनले जानकारी दिए ।
त्यस्तै, न्यू ईयर ईभकै दिन अहिलेका चर्चित गायक उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली र टुकी व्याण्डहरुले लाईभ प्रस्तुतीमार्फत ९० को दशकका हिटहिट गीतहरु गुञ्जाएर चिसो मौषममा स्टेज तताउनेछन् । सांगीतिक उत्सव अन्तर्गत पुस १५ गते गुरुङ समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ । उक्त दिन दिउँसोदेखि साँझ स्वप्न सुमन, केआर लिम्बु र चक्र व्याण्ड ब्लाष्ट हुनेछन् । तथा दिउँसो प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
अल टेक नेपालको आयोजनामा हुने हिट्स अफ नाईन्टिज कार्यक्रमको मुख्य प्रायोजकमा प्रोटोन गाडी रहेको छ भने राईड पार्टनरमा टिभिएस र एजुकेसन पार्टनरमा गण्डकी ईन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी रहेका छन् ।
पोखरा, ०१ पुस ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाले ११ वटा विद्यालय तथा क्याम्पसमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित भदौ १७ गतेदेखि अभियान संचालन गरिएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाका १६ र गाउँपालिकाका आठ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गरिने छ ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन मावि र पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा अभियान संचालन गरिएको छ ।
गोगन माविमा आयोजित कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा सदस्य शोभा वि.कले यस्ता कार्यक्रमले जनचेतना फैल्याउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा गोगन मावि व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष खगेन्द्र आचार्य र क्याम्पस प्रमुख हेमराज आचार्यले अभियान अत्यन्तै उपयोगी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी, स्टाफ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।





