
पोखरा, १४ पुस ।
साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ को मुख्य इभेन्ट सुस्मिताले जितेकी छन् । गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगरले भारतकी सरिता राठोरलाइ हराउँदै नगद ८० हजार रुपैयाँ जितेकी छन् । उनको यो एक वर्षमा नवौं उपाधि हो ।
तेक्वान्दोकी खेलाडी समेत रहेकी सुस्मिताले एक वर्षमा ९ वटा प्रोफेसनल फाइन जितेकी छन् । जुन प्रोफेसनल फाइटरले विरलै बनाउने गर्छन् । यस्तै एमएमए मुख्य इभेन्टमा जेनित शेरचन विजयी भए । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको थियो । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ र बाकी फाइटर नेपाली रहेका थिए ।
यस्तै प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले कुल २४ फाइटमा चार वटा फाइट नकआउट चरणमा हुँदा कुल ५५ हजार रुपैयाँ बोनस बाडिएको थियो । मुआथाईमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराएको र सफलता हात पारेको उनले सुनाए । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो ।
पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइन सम्पन्न गरायौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हो । हामीले यसमा प्रवेश निशुल्क गरेका थियौं दर्शकको पनि राम्रो उपस्थिति रह्यो ।’ पोखरामा मुआथाई, एमएमए चिनाउनका लागि निशुल्क गरिएको उनले सुनाए । प्रतियोगितालाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, एक्सट्रीम ड्रिङ्क्स र किट्टो जुसलगायतले सहयोग गरेको छ ।
पोखरा, १४ पुस ।
पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटरतर्फ बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका अमर परियार द्धितिय तथा बेञ्जनकै इमोन थापाले तृतीय स्थान हाँसिल गरे । वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टका मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टका रिकिता पौडेल द्धितिय तथा बेलिफ रेष्टुरेण्टका अश्मि घर्ती मगर तृतीय भइन् । उनीहरुले नगद क्रमश ः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे ।
हल्लनेचोकदेखि खहरेचोकसम्म भएको दौड प्रतियोगितामा वेटरतर्फ २० जना वेट्रेसतर्फ ९ जनाले सहभागिता जनाएका थिए । उनीहरुलाई रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले पुरस्कृत गरे ।
लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा जारी महोत्सव अन्र्तगत सोमबार सडक बहस कार्यक्रम पनि सम्पन्न भएको छ । अम्मटस्थित सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा वक्ताका रुपमा प्रस्तुत हुनुभएको थियो भने सञ्चारकर्मी जमुना वर्षाले मोडरेट गर्नुभएको थियो । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्था रहेको छ । महोत्सवमा मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगित हुँदैछ ।
पोखरा, १४ पुस ।
माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ ।
गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ ।
माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक वर्ष २०८२÷०८३ का सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वनेको ऐन संसोधन गर्न वाञ्छनीय भएकोले गाउँ सभाबाट संसोधन गरिएको हो ।
सभाको सफलताको शुभकामना व्यक्त गर्दै सभा सदस्य भरतराज अधिकारीले प्रत्यक वडालाई आत्मानिर्भर बनाउका लागि उत्पादनसँग जोड्नु पर्ने बताए । ‘पछिल्लो समय बाँदर आतकंले खेति योग्य जमिन बाझा हुन थालेका छन्, भु उपयोगका लागि यस्ता समस्याहरु हल गर्दै प्रत्यक वडालाई उत्पादनसँग जोड्न जरुरी छ’ उनले भने, ‘गाउँपालिका दुधमा आत्मनिर्भर भए जस्तै अन्य क्षेत्रमा वडामा के गर्न सकिन्छ त्यसको खोजि गरि वडा वासीलाई आत्मानिर्भर बनाउन तर्फ पालिका लाग्नु पर्दछ ।’
सभा सदस्य अप्सरा गौतमले सम्पूर्ण राजनितिक दल बुद्धिजिवीसँग समन्वय गरेर वजेट वाडफाड गर्नुपर्ने सुझाव दिइन् । अर्की सभा सदस्य गंगा रानाभाटले गुनसाहरु आए पनि पालिकाले यहाँको विकास निर्माणमा धेरै काम गरेको बताईन् ।
उक्त सभाको शुन्य समयमा सभा सदस्य रामहरि गुरुङ, भरतराज अधिकारी, बावुराम भण्डारीले आफ्ना वडाका समस्याका विषयमा आवज उठाएका थिए । त्यसको जवाफमा पालिका अध्यक्ष मिनबहादुर गुरुङले शुन्य समयमा प्राप्त सुझाव तथा छलफका विषयमालाई यथासक्य कार्यान्वयनमा लौजाने जानकारी दिएका थिए ।
पोखरा, १४ पुस ।
कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधी जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४–२, ४–० को सेटमा पराजित गर्दै उपाधी जिते भने ६५ वर्ष माथि छ्याम्बा ढुन्डुपलाई जोडी बनाएका थापाले ध्रुव गुरुङ र बिदुर विष्टको जोडीलाई ४–१, ४–१ को सटेमा पराजित गर्दै दोहोरो उपाधी आफ्नों नाम गराए ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्स उपाधी प्रदीप खड्का र आयुषमान हजुर घलेको जोडीले जितेको छ । सोमबार भएको फाइनल खेलमा प्रदीप जोडीले नेहाल जंगबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।
३५ वर्ष माथिको मेन्स डबलमा जितेन्द्र परियार र कुमार अधिकारीको जोडीले उपाधि जिते । फाइनलमा सन्तोष खत्री र भीष्म जंग गुरुङको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै जितेन्द्र जोडीले सो उपाधि रक्षा गरेको हो ।
त्यसैगरी ४५ वर्षमाथिको मेन्स डबलतर्फ देव क्षेत्री र हिमाल शाहको जोडी प्रथम भयो । यो जोडीले फाइनल खेलमा रोहित सुनुवार र जोली टार्गेनको जोडीमाथि ६–२, ३–६ र सुपरटाईमा १०–५ को रोचक जित निकालेको हो ।
५५ वर्ष माथिको डबल्स उपाधि उत्तमकुमार लामा र जितेन्द्र प्रधानको जोडीले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा बिमलकुमार गुरुङ र हिमाल शाहको जोडीमाथि ४–६, ७–६ र ११–९ को नतिजा निकाल्दै उत्तम जोडीले सो उपाधि रक्षा गरेको हो ।
सिंगलतर्फ प्रदीप खड्काले प्रितम परियारलाई, आयुषमान हजुर घलेले नेहाल जंगबहादुर थापालाई, करणबहादुर थापाले दर्शिल श्रेष्ठलाई तथा राजबिर प्रधानले उगेन शेर्पालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए ।
३५ वर्ष माथिको मेन्स सिंगलमा जितेन्द्र परियारले अनिल शाहीलाई, भिष्मजंग गुरुङले सोम रानालाई, प्रेम नोर्गुले विकास खड्कालाई तथा सन्तोष खत्रीले नविन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । प्रतियोगिताका अन्य खेलहरु जारी रहेको अधिकारीले बताए ।
पोखरा, १४ पुस ।
पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखरेली चर्चित व्याण्ड डि–मर्चा पनि गुञ्जिने भएको छ । ९० को दशकमा उदाएर हालसम्म पनि उत्तिकै दमदार स्टेज तताउने गरेको डि–मर्चा झण्डै एक वर्षपछि पोखरामा गुञ्जिन लागेको हो । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा डि–मर्चाले लाईभ प्रस्तुती दिने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।
डि–मर्चा स्टेज पर्फमेन्समा दमदार मानिन्छ । आफू गाउँदै दर्शकलाई पनि आफूसँगै गाउन लगाउन सक्ने डि–मर्चाको छुट्टै खुबी छ । त्यसैले त डि–मर्चाको गीतमा दर्शक वाईल्ड हुन्छन् र बारम्बार वान्समोरको हुटिङ आउँछ । धेरैजसो कलाकारको एउटा÷दुईवटा मात्र गीत चर्चित हुन्छन् तर डि–मर्चाको एक दर्जन भन्दा बढी गीत हिट छन् । जसका कारण एउटा स्टेज कार्यक्रममा डि–मर्चाको हिट हिट गीत मात्रै गाउँदा पनि पुग्छ जसका कारण दर्शकले छुट्टै खालको अनुभूत गर्न पाउँछन् ।
डि–मर्चाले न्यू ईयर ईभमा पोखराको पर्यटकीय गन्तव्य, कला र संस्कृति सम्बन्धि गीत डान्सिङ अन दी रोड, अहिलेको बहुचर्चित कैलाशैमा, झ्याम्म झ्याम्म, तारा खस्यौली, यो डल्लीले हो मानिन जान, झ्याम्मै चौतारी, जनताको समस्या, ठूली भेरी तरेरलगायतका गीतहरु प्रस्तुत गर्ने व्याण्डका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
सो दिन न्यू ईयर ईभमा डि–मर्चासँगै एक्स नेपथ्य पनि गुञ्जिनेछ । नेपथ्य व्याण्डका स्थापनाकालीन गायकहरु गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुतीमार्फत छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, जोमसोमै बजार, गण्डकीको तिरैमालगायतका गीतहरु घन्काउनेछन् । त्यस्तै, सो दिन अहिलेका भाईरल गायक उज्जन शाक्य, लेकाली, देउराली व्याण्डले लाईभ प्रस्तुती दिनेछन् भने टुकीले पनि प्रस्तुती राख्नेछ । न्यू ईयर ईभमा अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माले ब्लकबस्टर पर्फमेन्स दिनेछिन् । उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रममा प्रिती आलेले पनि प्रस्तुती दिनेछिन् ।
भोलि स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै
पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा पुस १५ गते भोलि मंगलबार अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिदै छन् । तमु समुदायको महान पर्व ल्होसारको दिन भएकाले दिउँसो ल्होसार विशेष कार्यक्रम चल्नेछ भने साँझदेखि लाईभ प्रस्तुती शुरु हुनेछ । दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चल्ने अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।
साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । भने केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । त्यसअघि भोलि चक्र व्याण्ड, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको पनि प्रस्तुती रहनेछ । दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
पोखरा, १४ पुस ।
नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा” पुस्तक प्रकाशनका लागि आयोजित “विश्वको उत्कृष्ट गन्तव्य नेपाल छैटौं कला प्रदर्शनी” सफलतापूर्वक सम्पन्न भएको छ। २१ओ लेखनाथ महोत्सव –२०८२ अन्तर्गत उक्त प्रदर्शनी कार्यक्रम भएको थियो।
“शान्ति, पर्यटन र कला प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा विश्वकला यात्री तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य प्राज्ञ नगेन सिंहले सिर्जना गरेका कलाकृतिहरू प्रदर्शन गरिएका थिए। प्रदर्शनीमा नेपालको ७७ वटै जिल्लाका कम्तीमा तीन–तीन वटा हेर्न, सुन्न र घुम्नलायक स्थलहरूका चित्रकलाहरू प्रस्तुत गरिएको थियो।
सो अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले यस कला प्रदर्शनीमार्फत “नेपाल कला यात्रा” नामक रंगीन पुस्तकलाई संसारका १ सय ९७ वटा भाषामा प्रकाशन गर्ने दीर्घकालीन लक्ष्य राखिएको जानकारी दिए।
यस्तै यस अभियानका अभियन्ता सिंहले यो महाअभियानमा आशीर्वाद स्वरूप एक सय रुपैयाँ योगदान गरेर जो–कोही सहभागी हुन सक्ने व्यवस्था मिलाइएको बताए । अभियानमा हालसम्म १ हजार ८ सय १५ जना भन्दा बढी व्यक्तिहरू सहभागी भइसकेका छन्।
त्यस्तै नेपाल कला यात्रा पुस्तक प्रकाशन समिति संयोजक चिन्तामणि खरेलले यस अभियानमा एक सय रुपैयाँ वा सोभन्दा बढी योगदान गरेर सहभागी हुने सबै व्यक्तिहरूको नाम पुस्तकमा प्रकाशित गरिनेछ। यसले सहभागीहरूलाई अभियानसँग भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।
यस पुस्तकमा कलाकार सिंहले नेपालका ७७ वटै जिल्लामा पुगेर त्यहाँका प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय क्षेत्र समेटेर चित्रकला सिर्जना गरेका छन् ।
उनको यस योगदानको कदर स्वरूप २०७९ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट सम्मानित पनि भइसकेका छन्।
कलाकार सिंहका अनुसार “नेपाल कला यात्रा” पुस्तक नेपाली भाषामा प्रकाशित भइसकेको छ भने बाँकी १ सय ९७ भाषामा अनुवाद तथा प्रकाशन प्रक्रिया अघि बढिरहेको छ।
विश्वका विभिन्न देशका विश्वविद्यालय तथा पुस्तकालयहरूमा सम्बन्धित देशकै मातृ भाषामा कम्तीमा ३ सय प्रति निःशुल्क रूपमा पुस्तक वितरण गर्ने योजना समेत रहेको उनले बताए ।
यस अभियानको दीर्घकालीन लक्ष्य नेपालमा वार्षिक कम्तीमा १ करोड पर्यटक भित्र्याउने, पर्यटन प्रवर्द्धनमार्फत देशको आर्थिक विकास गर्ने र नेपालीलाई समृद्ध बनाउने रहेको उनको भनाइ छ। यस्तै उनको यस महाअभियानमा देशका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको छ।
पूर्व प्रधानमन्त्रीदेखि लिएर मन्त्री, मुख्यमन्त्री, संघीय तथा प्रदेश सांसद, पत्रकार, शिक्षाविद्, धर्मगुरु, साहित्यकार, प्राज्ञ, कलाकार, व्यवसायी लगायत नेपाली हिपहप म्यूजिकका संरक्षक ऱ्यापर सुरेन्द्र गुरुङ ( हाकिम ), ऱ्यापर आशिष राना”लाउरे” महानायक राजेश हमाल, नायिका रेजिना उप्रेती, गायक गायीका राजु लामा, दीपक बज्राचार्य, ज्योति मगर, शान्ति श्री परियार, पशुपति शर्मा , प्रकाश दुतराज, शिशिर योगी, एलिना चौहान, टिका प्रसाई, रितु कडेल, सुप्रिम मल्ल ठकुरी, डिजे नाना, सुजित, इशाक सम्म सहभागी भइसकेका छन्।
कलाकार सिंह नेपाल कला क्षेत्रका एक प्रतिष्ठित नाम हो । उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य (२०७१), स्वर्ण पदक (२०७४), अरनिको युवा पुरस्कार (२०६९), नाफा पश्चिमाञ्चल क्षेत्रीय प्रथम पुरस्कार (२०५९), अरनिको कला कार्यशाला प्रथम पुरस्कार (२०५९), सान्त्वना पुरस्कार, पेन्टिङ प्रतियोगिता, नेपाल कमर्सियल आर्टिस्ट संघ केन्द्रीय समिति लगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट पुरस्कृत समेत भइसकेका छन्।
उनले कला विषयमा स्नातकोत्तर अध्ययन गर्नुका साथै हालसम्म १२ पटक एकल कला प्रदर्शनी पनि सम्पन्न गरिसकेका छन्।
पोखरा, १४ पुस ।
‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ ।
१२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबार सम्म आईपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तmा लाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गर्दै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमा/महिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासिहरुको एकताका कारण महोत्सव सफलता भएको बताईन ।
पोखरा, १४ पुस ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ ।
तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग (सप्री ल्हो) समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो ।
‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । भाषा, संस्कृति, भेषभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
‘तमु जाती नेपालको गण्डक क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भूमिपुत्र मंगोल वर्णका समुदाय हुन्। ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको छ । यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ ।’ उहाँले भन्नुभयो – ‘र्यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् । अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’
भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ रहेको भन्दै उहाँले यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व रहेको बताउनुभयो ।
‘जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संघीयताको रक्षा गर्दै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ।’ उहाँले भन्नुभयो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशसभा सदस्य सरस्वती तमु लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जुनाकुमारी तमुले गर्नुभएको थियो ।
पोखरा, १४ पुस ।
पोखरा महानगरपालिका वडा नं. २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्र्याक्टर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो भने सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारीलगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बगबानीका सातौँ तहका अधिकृत विकास विकले सहकारीले यस्ता उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँदै आफूले पनि यस्ता कार्यक्रमलाई हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार मुरारी बराल, चन्द्रबहादुर रानाभाट, कृषि विकास कार्यालयका प्राविधिक सहायक सालिकराम घिमिरे तथा अनुदान प्राप्त गर्ने सदस्यहरूमध्ये राधिका शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
संस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सह–सचिव पवित्रा ढुंगाना गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक बुद्धराज बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।





