२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

काठमाडौं, ३० पुस ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले फरमूल्लाह मन्सुरलाई उपसभापति चयन गरेको छ। भृकुटीमण्डपमा भएको महाधिवेशनमा मन्सुरलाई दुई उपसभापतिमध्ये एकको रूपमा टुंगो लगाइएको नेता अजयबाबु सिवाकोटीले बताए।

अर्को उपसभापति पदका लागि छलफल जारी छ। गगन थापाले उम्मेदवार टुंगो लगाउने प्रयास गरिरहेका छन्। मन्सुर पहिले कांग्रेसका सहमहामन्त्री थिए र १४औँ महाधिवेशनबाट निर्वाचित भएका थिए।

तर, बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई कारबाही गर्दै साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय पनि गरेको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताए। अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ।

निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ।

काठमाडौं,३० पुस ।

नेपाली कांग्रेसको विशेष महाधिवशेनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ।

बुधबार भृकुटिमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो।

कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए। उनले केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए।

उनले कांग्रेस पार्टी आफुहरुको भएकाले कसैले यसमा दावी गर्न नसक्ने स्पष्ट पारे। पार्टीको विधान अनुसार नै आफुहरु चलिरहेको भन्दै कारवाहीको निर्णयका कारण बिचलित नहुने नेता तथा कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अव विशेष महाधिवेशनको हलले गर्ने बताए। उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे। उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे।

त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए। उनले अब पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे।

काठमाडौं, ३० पुस ।

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार सम्बन्धित सरकारी वकिलमार्फत मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो। यद्यपि, लामिछानेविरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने जनाइएको छ।

सहकारी ठगी प्रकरणसँगै जोडेर लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको दाबी गर्दै लामिछानेको तर्फबाट यसअघि नै मुद्दा फिर्ताका लागि निवेदन दिइएको थियो।

महान्यायाधिवक्ताकाे याे निर्णयपछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ।

रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ। तर, चितवन जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण कुनै पनि मुद्दा नचलेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय भएको छैन।

एजेन्सी, ३० पुस । ।

गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

बुधबार बिहान थाइल्यान्डको राजधानी बैंककमा गुडिरहेको रेलको डिब्बामा निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ। यसैले मृत्यु हुनेको संख्या बढ्ने आशंका छ।

पोखरा, ३० पुस ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कुल १७५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरणअनुसार १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।

आयोगका अनुसार बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।

आयोगले उम्मेदवार आफैं उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । 

नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० उम्मेदवार रहेकाछन । यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २–२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।

पोखरा,३० पुस ।

पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा परम्परागत मौलिक खेल छेलो÷ठेलो प्रतियोगिताको आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत उक्त खेलको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । माघ ४ देखि ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्धितिय हुनेले नगद २५ हजार र तृतीय हुनेले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक गणेश खड्काले जानकारी दिए ।

संयोजक खड्काका अनुसार प्रतियोगितामा भाग लिनका लागि माघ २ गते सम्म नाम दर्ता गर्नुपर्ने छ । टीम दर्ताका लागि दर्ता शुल्क २ सय ५० रहेको र माघ ४, ६, ७ र ८ गते क्वालिफाइड राउण्डबाट खेल खेलाईने र उत्कृष्ट १२ जनालाई फाइनमा प्रवेश गराइने खेल संयोजक गज बहादुर गुरुङले जानकारी दिए ।

महोत्सवको दोश्रो दिन लोक दोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रबि कार्की र पुरुषोत्तम न्यौपाने संगै कलाकारहरु सबिना गुरुङ, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री रमा गौतम लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको तेस्रो दिन बिहीबार लोकदोहोरी तर्फ शान्तिश्री परियार, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । साँझको लाइभ कन्सर्ट तर्फ युवाहरुमा चर्चित लाहुरेको प्रस्तुती रहने छ ।

महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछन ।

ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट प्राप्त गर्नेछन । फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा, ३० पुस ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार पोखरामा आयोजित “भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना सम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया” कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सूचना प्रविधिको तीव्र विकाससँगै गलत सूचनाको जोखिम पनि बढ्दै गएको उल्लेख गरे।

“आज हामी सूचना प्रविधिको युगमा छौँ, तर यससँगै सूचनाको भीडभाड पनि बढेको छ,” उनले भने, “सत्य समाचारसँगै गलत र भ्रामक सूचना सजिलै फैलिने अवस्था छ, जसको प्रत्यक्ष असर समाजको सामाजिक सद्भाव र युवाको सोचमा परेको छ ।”

मन्त्री थापाले भ्रमपूर्ण सूचनाका कारण समुदायबीच द्वन्द्व, सामाजिक असहिष्णुता र हिंसासमेत निम्तिन सक्ने खतरा औँल्याउँदै युवाहरू डिजिटल प्लेटफर्ममा बढी सक्रिय भएकाले उनीहरू नै यस्ता सूचनाको मुख्य निशाना बन्न पुगेको बताए ।

गण्डकी प्रदेश सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै आएको उल्लेख गर्दै उनले स्वतन्त्रताको अर्थ स्वच्छन्दता नभएको स्पष्ट पार े। “आमसञ्चार ऐन, २०८० र नियमावली, २०८२ ले मर्यादित, जिम्मेवार र जवाफदेही पत्रकारितालाई प्रोत्साहन गरेको छ,” उनले भने।

न्युमिडिया र युट्युब पत्रकारितामा संलग्न युवाहरूलाई विशेष सम्बोधन गर्दै उनले क्यामेरा र मोबाइल ठूलो शक्ति भएकाले त्यसको प्रयोग समाजलाई जोड्ने दिशामा गर्न आग्रह गरे। “भाइरल हुने नाममा समाजलाई विभाजन गर्ने होइन, सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्छ,” उनको भनाई छ ।

उनले सूचना प्राप्त हुँदा त्यसको स्रोत र सत्यता जाँच गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री थापाले गण्डकी प्रदेश सरकार प्रेस रजिष्ट्रारको कार्यालय तथा सरोकारवालासँग मिलेर डिजिटल साक्षरता र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रमबाट प्राप्त ज्ञान हलभित्र मात्र सीमित नराखी समाज र समुदायसम्म पु¥याउन सहभागीहरूलाई आग्रह गर्दै उनले सत्य सूचनाको उज्यालोले गलत सूचनाको अँध्यारो हटाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष, कास्कीका सिडिओ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार र मिडिया विज्ञ,महान्यायाधिवक्ता, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, सूचना अधिकारी, नागरिक समाज तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

दिगो भविष्यका लागि सहनशील र सक्षम मन निर्माणमा विद्यार्थी गुणीय चक्रको भूमिका महत्वपूर्ण 
पोखरा, ३० पुस ।

विद्यार्थीको नेतृत्व विकास, नैतिक मूल्य र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यसहित विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन बुधबारबाट पोखरामा सुरु भएको छ । क्वेष्ट नेपाल र सेन्ट मेरीज सेकेण्डरी स्कुल पोखराको संयुक्त आयोजनामा उक्त सम्मेलन पोखरामा सुरु भएको हो ।

उक्त सम्मेलनको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले विद्यार्थी गुणीय चक्रलाई पाठ्यपुस्तकभन्दा बाहिरको जीवनोपयोगी शिक्षा भएको उल्लेख गरिन् । आजका बालबालिका प्रतिभाशाली र प्रविधिमैत्री भए पनि तीव्र सामाजिक परिवर्तन, मानसिक दबाब र अनिश्चितताबीच सही मार्गदर्शन आवश्यक रहेको भन्दै उनले विद्यार्थी गुणीय चक्रले सोच, चरित्र र नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु कानुनविपरीत भएको स्मरण गराउँदै उनले सुरक्षित सिकाइ वातावरण र बालमैत्री नीतिप्रति मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखिन् । क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईंले पछिल्ला दुई दशकमा नेपालभर विद्यार्थी गुणीय चक्र  विस्तार भएकोमा सन्तोष व्यक्त गरे । विद्यार्थी गुणीय चक्रले विद्यार्थीको व्यक्तित्व विकासका लागि डिजाइन गरिएको प्रक्रिया भएको उल्लेख गर्दै उनले विद्यार्थीलाई दक्ष बनाउने लक्ष्य रहेको बताए ।  “आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग सहकार्य गरौँ” भन्ने विद्यार्थी गुणीय चक्रको मूल मन्त्र आत्मसात् गर्न उनले विद्यार्थीहरूलाई आग्रह गरे ।

क्वेष्ट नेपालको प्रमुख सल्लाहकार सुरिना सुनयनी गुरुङले नेपालभरका विद्यार्थीहरुलाई एक ठाँउमा भेला गराई क्वेष्ट नेपालले विद्यार्थीहरुको गुणस्तरको पहिचानमा महत्वपूर्ण काम गर्दै आइरहेको बताइन् । सम्मेलनकी सह संयोजक तथा सेन्ट मेरिजकी प्रध्यानाध्यापक सिस्टर जेसी. सी. जे.ले विद्यार्थीहरुलाई समस्याको पहिचान गरी समस्याको मुल जरामा पुगी समस्याको समाधानमा आफै लाग्नुपर्नेमा जोड दिए ।

क्वेष्ट नेपालका अध्यक्ष नारद रिजालले सम्मेलनमा विद्यार्थीहरुले आफुहरुले सोचेको भन्दा राम्रो गरेको र अझै दुई   दिन सम्म सञ्चालन हुने कार्यक्रमले विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने बताए । तीन दिन सम्म हुने सम्मेलनमा  विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिसहित सञ्चालन भइरहेको छ ।

सम्मेलनको पहिलो दिन प्रतिनिधिहरूको रिपोर्टिङबाट कार्यक्रम सुरु भएको थियो । त्यसपछि समानान्तर सत्र, विद्यार्थी गुणीय चक्र केस स्टडी प्रस्तुति, प्रतिस्पर्धात्मक कार्यक्रम, कार्यशाला तथा अवलोकन भ्रमण (साइट सिइङ) कार्यक्रमहरू सञ्चालन छन् ।  

यसअघि आयोजित क्त्तऋ द्यगष्मिष्लन च्भकष्ष्भिलत ःष्लमक ायच ब क्गकतबष्लबदभि ँगतगचभ शीर्षकको प्यानल छलफलमा विद्यार्थी प्रतिनिधिहरूले विद्यार्थी गुणीय चक्रले उनीहरूको सोच, व्यवहार, आत्मविश्वास र नेतृत्व क्षमतामा ल्याएको परिवर्तनबारे अनुभव प्रस्तुत गरे । छलफलमा आजको समाजको प्रमुख समस्या इम्प्टी ग्याप (एकअर्कालाई बुझ्ने क्षमताको कमी) रहेको निष्कर्ष निस्केको थियो ।

चितवन, गोदावरी, झापा, रुपन्देही, पोखरा, सुदूरपश्चिमलगायत विभिन्न हबका विद्यार्थीहरूले क्त्तऋ मार्फत समस्या पहिचान, विश्लेषण र समाधानका चरणहरू सिकेको बताए । प्लान, एक्सन, डुइङ र चेक चक्र, पाइ डायग्राम, लाइन ग्राफ, पेयर रेङकिङ, परेटो चार्ट, इसिकावा डाइग्राम, व्हाइ व्हाइ एनलाइसिस जस्ता उपकरण प्रयोग गरेर विद्यालय तथा समुदायका वास्तविक समस्यामा काम गरिएको अनुभव सुनाउँदै सहभागीहरूले विद्यार्थी गुणीय चक्र सुरक्षित अभिव्यक्ति, सहकार्य र निर्णय क्षमताको अभ्यासस्थल भएको धारणा राखे ।

कार्यक्रममा सहभागीहरूको साझा निष्कर्ष थियो ः विद्यार्थी गुणीय चक्र केवल एउटा कार्यक्रम नभई जीवनका लागि आवश्यक सहानुभूति, सहकार्य, नेतृत्व र जिम्मेवारी विकास गर्ने प्रभावकारी प्रक्रिया हो । दिगो भविष्यका लागि सक्षम र सहनशील मन निर्माणमा विद्यार्थी गुणीय चक्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको प्यानल डिस्करसनका सहजकर्ता ज्यासमिन कारन्जित श्रेष्ठले बताइन् ।

सम्मेलनका क्रममा विद्यार्थी गुणीय चक्र थीम गीत, स्वागत नृत्य, केस स्टडी प्रस्तुति, प्रशंसापत्र वितरण तथा सम्मान कार्यक्रम पनि सम्पन्न भएका छन् । आयोजकका अनुसार सम्मेलनले विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्यको नयाँ ऊर्जा थप्दै विद्यार्थी गुणीय चक्रलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा विद्यार्थी गुणस्तर वृत्तका पिता तथा प्रमुख संरक्षक प्रो. दिनेश प्रसाद चापागाईं, पोखरा महानगरपालिका वडा नं. १५ का बलराम पौडेल, शिक्षा विभाग प्रमुख कृष्ण भण्डारीसहित शिक्षा, समाजसेवा र विद्यार्थी गुणीय चक्र अभियानसँग आवद्ध विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

 

पोखरा, ३० पुस ।

पोखरा–१४ मनकामना टोलको खेल मैदानमा मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मनोहर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे ।

उद्घाटन गर्दै मन्त्री थापाले एकआपसमा सौहर्दता वृद्धि गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे प्रतियोगिताका लागि आफुले मन्त्रालयकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रतियोगिताअन्तर्गत पहिलो दिन आयोजक मनोहर युवा क्लब ‘ए’ र  पोखरा युनाइटेढ अर्काे चरणमा प्रवेश गरेका छन् ।

आयोजक टोलीले गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत ग¥यो । मनोहर युवा क्लब ‘ए’ ले पहिलो सेट २५–१० र दोस्रो सेट २५–२१ ले सहज रुपमा आफ्नो पक्षमा पार्दा तेस्रो सेट निकै प्रतिष्पर्धा भयो । तेस्रो सेटमा अन्ततः २६–२४ ले जित निकाल्दै आयोजक टोलीले पहिलो जित दर्ता गर्न सफल भयो ।  

आजको दोस्रो खेलमा पोखरा युनाइटेढले वाकओभर पाउँदै अर्काे चरणमा प्रवेश ग¥यो । प्रतिष्पर्धी कप्स एण्ड विडर्स खेल समयमा मैदानमा उपस्थित नभएपछि रेफ्रीले पोखरा युनाइटेढलाई विजेता भएको निर्णय सुनाएका हुन् । १४ टोली सहभागी प्रतियोगितामा भोलि ४ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति पोखरा–१४ र मादी–७ बिच हुनेछ ।

माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था छ । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।