
पोखरा, १५ माघ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम उनले यस्तो बताएका हुन् ।
मन्त्री थापाले शिक्षा नै समृद्ध समाज निर्माणको मूल आधार भएको उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्य आधारका रूपमा लिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकता दिँदै आएको बताएका छन् ।
मन्त्री थापाले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान, क्षमता विकास र प्रोत्साहन नगरी शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन सम्भव नहुने बताउँदै भने, “प्रतिभा पहिचान कार्यक्रमले शिक्षक र विद्यार्थीभित्र रहेको सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्व क्षमतालाई उजागर गर्छ । यसले शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धी र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पु¥याउँछ ।”
उनले शिक्षाको उज्यालो बाटोबाटै प्रदेश र राष्ट्रको भविष्य उज्यालो बनाउने प्रदेश सरकारको संकल्प अझ दृढ हुँदै गएको उल्लेख गरे । शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा क्रियाशील सबै सरोकारवालाको सक्रिय सहभागिता बिना शैक्षिक सुधार सम्भव नहुने बताउँदै मन्त्री थापाले सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेट व्यवस्थापनमार्फत गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जानकारी गराए । आगामी दिनमा प्रविधिमैत्री शिक्षा, सीपमूलक तथा व्यवहारिक शिक्षालाई जोड दिँदै स्थानीय आवश्यकता अनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गरिने भनाई उनको छ ।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले यस्ता प्रतिभा पहिचान कार्यक्रमले आफूहरूको क्षमता पहिचान, आत्मविश्वास वृद्धि र सिर्जनशील अभ्यासमा सहयोग पुगेको अनुभव व्यक्त गरे । उनीहरूले प्रदेश सरकारबाट निरन्तर यस्ता कार्यक्रम सञ्चालन हुनुपर्ने सुझाव पनि दिएका छन् ।
प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमले शिक्षाक्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएको सरोकारवालाहरूको भनाइ छ । यस कार्यक्रमले गण्डकी प्रदेशमा शिक्षाको गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पोखरा, १५ माघ ।
प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गरिने भएको छ । साथै पत्रकारिता क्षेत्रमै क्रियाशील विष्णुप्रसाद सापकोटालाई चौतारीले सम्मान गर्ने भएको छ ।
लम्साललाई पुरस्कृत र सापकोटालाई सम्मान गर्ने गरी प्रतिभा छनोट समितिले गरेको सिफारिस प्रेस चौतारी नेपाल कास्कीको बिहीबार बसेको बैठकले पारित गरेको हो । पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य रहेको समितिले दुई जनाको नाम सिफारिस गरेको थियो ।
आगामी माघ २२ गते संस्थाको २८ औं स्थापना दिवसका अवसरमा दुवैलाई पुरस्कार र सम्मान अर्पण गरिने प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीले बताए । पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ छ ।
हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए । उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ ।
उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुन् । उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।
सम्मानित हुन लागेका सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ (साविकको थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन् । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् । मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा सक्रिय उनलाई सांगठनिक सक्रियता र योगदानको कदर स्वरुप सम्मान गर्न लागिएको हो । उनी प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुन् । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उनलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।
पोखरा, १५ माघ ।
पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र लेखनाथमा खेलाइएको छ । प्रतिकुल मौसमका कारण पोखरा क्रिकेट मैदानमा २५ ओभरको खेलमा पोखरा क्रिकेट लेखनाथ युथ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई लागि ४५ रनले हराएको हो ।
माछापुच्छ्रे १६.१ ओभरमा ७० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छ्रेका लागि अनिश जिसीले सर्वाधिक २१ रन लिए । रितेश बरालले ११ रन बनाए भने कविन सापकोटा र प्रमोद बास्तोलाले समान ५÷५ रन बाहेक अन्य व्याटर चल्न सकेनन् ।
लेखनाथका लागि शाहिल पौडेलले ४, सज्जन क्षेत्रीले ३, सुशिल सुवेदीले २ तथा सुवाष बास्तोलाले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथले २० ओभरमा ८ विकेट गुमाउँदै कुल १०७ रन बनायो । लेखनाथका लागि देव यादवले २८, प्रताप थापाले २५, राजकुमार छन्त्यालले १९ रन बनाए । माछापुच्छे्रका लागि रितेश बरालले सर्वाधिक ५ विकेट लिए ।
काठमाडाैं, १५ माघ ।
राष्ट्रिय सूचना आयोगले २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ ।
आयोगले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्य, तथ्य र यथार्थमा आधारित बनाउन सरोकारवाला सबै पक्षलाई दिर्नेशन दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न समेत सरकारलाई सचेत गराउनुभयो ।
उहाँले निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानून, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिनुभयो । उहाँले राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिनुभयो । उहाँले सम्बन्धित दलको निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न सूचना अधिकारी तोक्न समेत निर्देशन दिनुभयो ।
उहाँले सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न दिर्नेशन दिनुभयो । उहाँले कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रुपमा प्रकाशन तथा प्रशारण नगर्न समेत सचेत गराउनुभयो । उहाँले कुनैपनि उम्मेदवारको सशुल्क प्रचार प्रसार गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकिन गर्न, भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत उहाँले आग्रह गर्नुभयो ।
एजेन्सी, १५ माघ ।
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा १३ यात्रु र दुई जना चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान बुधबार बिहान ११ बजेर ४२ मिनेटमा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको प्राधिकरणले जनाएको छ ।
पोखरा, १५ माघ ।
पोखरा २९ लेखनाथमा जारी २६औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको उपाधिका लागि होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टोली भिड्ने भएका छन् । बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई १–० गोल अन्तरले हराउँदै होराइजनले फाइनल यात्रा तय गरेको हो ।
खेलमा होराइजनको जितमा खेलाडी टीकाराम गुरुङ नायक बने । उनले खेलको ७३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शन गरेका गुरुङ खेलको ‘म्यान अफ द म्याच’ घोषित हुँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
अब शुक्रबार (माघ १६ गते) हुने उपाधि भिडन्तमा होराइजनले पुलिसको सामना गर्नेछ । यसअघि पुलिसले तनहुँ जिल्ला फुटबल संघलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो ।
आदर्श युवा क्लबको आय्प्जनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुने भएको छ । खेलको विजेताले ४ लाख ९९ हजार ९९९ र उपविजेताले ३ लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पोखरा, १५ माघ ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को प्रचार–प्रसार मूल समितिअन्तर्गत टोल समूह तथा टोल विकास संस्था समन्वय उपसमितिको बैठक सम्पन्न भएको छ। साथै बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ। उक्त कार्यक्रम उपसमिति संयोजक तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य शान्ति खनालको अध्यक्षतामा कास्की क्षेत्र नं. १ को क्षेत्रीय निर्वाचन कार्यालयमा सम्पन्न भएको हो। बैठकको मुख्य उद्देश्य प्रतिनिधि सभा उम्मेदवार तिलकबहादुर रानाभाटलाई विजयी गराउने रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तिलक रानाभाटले समुन्नत नेपाल निर्माण कांग्रेसको एक मात्र उद्देश्य रहेको बताए। उनले पार्टीको नेतृत्व परिवर्तन भइसकेको उल्लेख गर्दै अब देश परिवर्तन गर्ने समय आएको धारणा राखे। “हामीमा केही कमजोरी होलान्, तिनलाई सुधार गर्दै अगाडि बढ्छौं,” उनले भने, “व्यक्ति होइन, पात्र महत्वपूर्ण हो। चुनाव चिन्ह रुख हो र कांग्रेस नै हाम्रो पहिचान हो।”उनले पार्टीको निर्देशनअनुसार सबै कार्यकर्तालाई संगठनात्मक रूपमा आ–आफ्नो स्थानबाट सक्रिय हुन आग्रह गर्दै कास्की क्षेत्र नं. १ कांग्रेसका लागि मजबुत क्षेत्र रहेको बताए।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको उल्लेख गर्दै अघिल्ला केही समयअघि देखिएका अकल्पनीय राजनीतिक घटनाक्रमका कारण संसद् विघटन भई निर्वाचनमा जानु परेको अवस्था स्मरण गरे। उनले कांग्रेस हरेक समस्याको समाधान गर्ने पार्टी भएको बताए। पार्टीको विशेष अधिवेशन सम्पन्न भइसकेपछि अब पार्टीभित्र पक्ष–विपक्ष नरहेको स्पष्ट गर्दै उनले सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। विगतदेखि देखिँदै आएको राजनीतिक जटिलताको निकास चुनाव मात्र भएको भन्दै कास्की क्षेत्र नं. १ ले निष्कलंक उम्मेदवार पाएको र उहाँलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सह–महामन्त्री कोपिला रानाभाट, पार्टीका नेता, विभिन्न भ्रातृ संगठनका अध्यक्षहरू तथा सयौंको संख्यामा कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
पोखरा, १५ माघ ।
प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसको अवसरमा पोखराको एक बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर कास्की शाखाको आयोजनामा प्रेस सेन्टर गण्डकी तथा पोखरा महानगर कमिटिको समन्वयमा पोखरा १४–मझेरीपाटनस्थित सहिद स्मृति आवासिय माविमा विहिबार एक समारोहका बिच उक्त सहयोग गरिएको प्रेस सेन्टरले जनाएको छ ।
विद्यालयमा अध्ययनरत सहिद तथा वेपक्ता एवं विपदमा परेका र स्थानियका छोराछोरीको शैक्षिक तथा खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यले सानो सहयोग बिद्यालयमा गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष दिननाथ बरालले जानकारी दिए ।
कार्यक्रममा संविधान सभा सदस्य एवं विद्यालय व्यवस्थापन समितिकी सदस्य तेजकुमारी पौडेलले प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा सहिद स्मृति बिद्यालयमा गरिएको सहयोग प्रशंसनिय कार्य भएको बताउदै प्रेस सेन्टर कास्कीलाई धन्यवाद दिइन् । समाजबादी प्रेस संगठनका उपाध्यक्ष श्रीराम सिग्देलले सहिद स्मृति बिद्यालयको शैक्षिक तथा खेलकुदको विकासमा यस्ता सहयोग थप टेवा पुग्ने बताए । प्रेस सेन्टरका केन्द्रीय सदस्य घनश्याम पाण्डेले स्थापनाकालदेखि नै प्रेस सेन्टरले जनपक्षीय भूमिका निर्वाह गर्दै आएको बताए ।
विद्यालयकी प्रधानाध्यापक कल्पना चिलुवालले विद्यालयमा हाल २ सय जना आवासीय रुपमा बिद्यार्थीहरु अध्ययनरत भएको उल्लेख गर्दै बिद्यालयमा जम्मा ४ सय २० जना बिद्यार्थीहरु रहेको जनाइन् । उनले जनयुद्ध तथा जनआन्दोलनका सहिद, कोभिड महामारी, भूकम्प, बाढी पहिरो जस्ता प्रकोपमा ज्यान गुमाएका तथा उत्पीडित वर्गका अभिभावक तथा स्थानियका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिएको बताइन् । माघ १६ गते शहिद दिवसको अवसरमा बिद्यालयमा बृहत शैक्षिक प्रर्दशनी तथा सांस्कृतिक कार्यक्रम एवं फुड फेष्टिबल हुने भएको चिलुवालले जनाइन् ।
कार्यक्रममा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य राजु क्षत्री, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्ण दवाडी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदी, सेन्टरका पूर्व केन्द्रिय सदस्य द्धय सन्देस श्रेष्ठ, रामप्रसाद तिमिल्सिना, फोनिज कास्कीका अध्यक्ष विनु मसराङ्गी थापा, समाजवादी प्रेस संगठन कास्कीका सचिव भिम थापा, प्रेस सेन्टर कास्कीका कोषाध्यक्ष खगेन्द्र अर्याल, सेन्टरका नेता रवि दाहाल, बिद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
पोखरा, १५ माघ ।
पोखरा महानगरपालिका–२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि एक अभिमुखीकरण कार्यक्रमका साथै स्वागत सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रवेशी विद्यार्र्थीहरूलाई आत्मविश्वासको उज्यालो, लक्ष्यप्रतिको दृढता र विवेकपूर्ण मार्गनिर्देशन प्रदान गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व तथा ग्रीन डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत सिइओ हरिबहादुर बुढाथोकीले ज्ञानको औपचारिक ढोका मात्र होइन जीवन बुझ्ने, दृष्टि विस्तार गर्ने र बौद्धिक यात्राको आरम्भका रूपमा उक्त कार्यक्रमले गहिरो सन्देश प्रवाह गरेको वताए ।
सल्लाहकार बाबुराम गिरीले उप–प्राध्यापकहरुका प्रेरणादायी विचार, अनुभवजन्य सन्देश र जीवनमुखी सुझावहरूले विद्यार्र्थीहरूमा आफ्नो शैक्षिक यात्रालाई केवल डिग्रीसम्म सीमित नगरी सोच, दृष्टि र चरित्रको रूपान्तरणसँग जोड्नुपर्ने चेतना जागृत गराएको अनुभूति भएको धारणा राखेका थिए । क्याम्पस प्रमुख डिल्लीराम पौडेलले सम्पूर्ण नव प्रवेशी विद्यार्थीहरुको समुज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै स्वागत गरेका थिए । उपप्राध्यापक सुनिलदत्त बरालले सञ्चालन गरेको कार्यक्रममा ३७ नवागन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रमका साथै स्वागत गरिएको थियो ।





