
एजेन्सी, २८ माघ ।
क्यानाडाको एक विद्यालयमा मंगलबार गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो।
गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र अन्धाधुन्ध गोली चलाएकी थिइन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो। एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
विद्यालय नजिकैको एक भवनमा पनि दुई जना मृत भेटिएका छन्। घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोली काण्डको शिकार बनेको त्यहाँको फ्रहरीले जनाएको हाे। गोलीकाण्डमा परी २५ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रोयटर्सले जनाएको छ। गोली चलाउने महिला पनि घटनास्थलमा मृत भेटिएको प्रहरीले बताएको छ। प्रत्यक्षदर्शीले बताएको हुलियाअनुसारकै महिला मृत भेटिएको र उनी नै आक्रमणकारी हुन् भनेर प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले ती महिलाले अन्धाधुन्ध गोली चलाएपछि आफैलाई गोली हानेको भनेर बताएको रोयटर्सले जनाएकाे हाे। आक्रमणकारी महिलाको पहिचान खुलिसकेको प्रहरीले बताएको छ। यद्यपि उनको पहिचान खुलाइएको छैन।
काठमाण्डौँ, २८ माघ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गर्नुभएको छ ।
बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विपक्ष राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गर्नुभयो । संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले नयाँ भनिएका राजनीतिक दलहरुले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरुमा त्यो नदिएको समेत बताउनुभयो ।
संयोजक दाहालले आफ्नो पार्टी, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिष्पर्धा हुने पनि बताउनु भयो । उहाँले आगामी १०, १५ दिन भित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीहरुलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यस्तो देखिन्छ कि समानुपातिकमा अलिकति नयाँहरुको वेब नयाँ ठाउँमा पुराना ठाउँमा होइन । त्यस्तो देखिएपनि प्रत्यक्षतर्फको वेब चाहीँ नेपाली कम्युनिष्ट पार्टीमा नै छ कमरेडहरु विचार गर्नुहोला । प्रत्यक्षतर्फ वेब बढि हामीतिर छ । यसकारण यसलाई हामीले क्यास गर्न सक्नुपर्नेछ । यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरु, विपक्ष राजनीतिक दल, बुद्धिजीविहरु, पत्रकारहरु सबैले पनि आज भोली भन्न के थालेको छन भने–नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ है भन्नेमा कसैको विमति छैन । पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे–एकदम कम ल्याउँछ, भनेजस्तो आउँदै आउँदैन भन्थे केही मान्छेहरु । ती मान्छेहरु पनि अहिले नेपाली कम्युनिष्ट पार्टी कम्पिटिशनमा गयो । अहिले ४ वटाको बीचमा प्रतिष्पर्धा हुन्छ भन्ने बजार पनि चर्चा छ । सायद तपाईहरुले मिडियामा पनि हेर्नुभयो होला । हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा (एमाले) र रास्वपाका बीच कडा प्रतिष्पर्धा हुँदैछ देशभरीको निर्वाचनमा भन्ने भनाई सबैले स्वीकारेका छन् ।
मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गईसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सबैले मेहनत ग¥यौँ भने अहिले त्यो परिस्थिति बन्दैछ ।’ संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको भन्दै त्यसमा हजारौ युवा पुस्ताहरुले साथ दिएको समेत बताउनुभएकाे छ ।
पोखरा, २८ माघ ।
पाेखरामा जारी २५औं आहा! रारा पोखरा गोल्डकपमा मछिन्द्रलाई हराउदै जावलाखेल क्वाटरफाइनलमा प्रबेश गरेका छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा जारी प्रतियोगितामा जावलाखेलले २–० ले जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि जावलाखेलले दोस्रो हाफमा २ गोल गरेको हो । खेलको ५४ औं मिनेटमा जावलाखेलका निकोलस ओडाने हामिल्टोनले गोल गर्दै अग्रता दिलाए । उनले बोउबाकर सिसोक्सोलाई दिएको पासमा ओडानेले नै गोल गरे ।
त्यसै गरी ६६ औं मिनेटमा बोउबाकर सिसोक्सोले अग्रता दोब्बर पारे । खेलमा म्यान अफदी म्याच निकोलस बन्न सफल भए । बिहीबार नेपाल एपिएफ क्लब र मनाङ मस्याङ क्लब बीच खेल हुनेछ । प्रतियोगिताको विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । दुई प्रतियोगिताको समूह ‘ए’मा नेपाल पुलिस क्लव, आयोजक सहारा क्लव पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङम्रस्याङ्दी क्लव र थन्डरबोल्ट नर्थ युनाईटेड भारत रहेका छन् । त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड, जाउलाखेल युथ क्लव, मच्छिन्द्र फुटबल क्लव, फ्रेण्ड्स क्लव, प्लानिङ ब्वाईज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन् ।
प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएका छन् । अनुशासित टोलीलाई २५ हजार रुपैयाँ र ट्रफी दिइनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको ’म्यान अफ दि म्याच’ बापत १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । दर्शकहरुलाई समेत प्रोत्साहित गर्न प्रत्येक म्याचको भाग्यशाली दर्शकलाई ५ हजार रुपैयाँ र ‘फ्यान अफ दि म्याच’ लाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
लामागाउँको जीतमा सरोज गुरुङ र दिवस छन्त्यालले समान समान १/१ गोलको योगदान दिए । उक्त खेलबाट लामागाउँका सरोज तितुङ म्यान अफ द म्याच बने ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा डेभिजफल्स क्लबमाथी फायर पिज्जाले ५–० को फराकिलो गोल अन्तरले सहजै जीत निकाल्यो । फायर पिज्जाको जीतमा म्यान अफ द म्याच बनेका मनिष ठकुरीले ह्याट्रिक पूरा गरे भने, अंकित गुरुङ र मनोज गुरुङले समान १/१ गोल गरे ।
पोखरा, २८ माघ ।
कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो ।
लिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निवार्चनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य, निष्पक्ष र स्वतन्त्र बनाउन महासंघले तालिम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।
निवार्चन आचारसहिंत र निर्वाचन प्रक्रियाका बारेमा आफ्नो प्रस्तुतिकरण राख्दै गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले पत्रकारले निर्वाचनका बेला आफ्नो पक्षधरता नदेखाई स्वतन्त्र रुपमा आम जनता माझ यथार्थ सूचना प्रकाशन र प्रसारण गर्नुपर्ने बताउनु भयो ।
तालिममा समाधान दैनिकाका प्रधान संपादक पत्रकार भरत कोइरालाले पत्रकारले निवार्चन रिपोर्टिङका क्रममा बटुलेको अनुभव सनाउँदै आमसञ्चार माध्यमले पाठक,स्रोता र दर्शक प्रतिको विश्वास नगुमाउन निष्पक्ष एवम् तथ्यपरक समाचार प्रकाशन गर्नुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधली रहित बनाउन पत्रकारिताको पनि भूमिका रहने भएकाले निर्वाचन सम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले पत्रकारितले जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र सञ्चालन सचिव भुपाल गुरुङले गर्न भएको थियो । विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार तालिममा सहभागी भएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिनुभयो । बिहीबारसम्म सञ्चालन हुने तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगाय विषय समेटिएका छन् ।
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
पोखरा, २८ माघ
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा पोखरा कार्यालयले आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो ।
राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट भ्रष्टाचार न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउन आवश्यक छ ।’ उहाँले भन्नुभयो – ‘शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्दछ ।’
अहिलेको समयमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकोले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न आयोग तथा मातहतका कार्यालयहरू सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने पनि उहाँको सुझाव थियो ।
यसका लागि उपलब्ध साधन स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
‘सरकारी कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व हो । आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन भन्नेमा म विश्वस्त छु ।’ उहाँले भन्नुभयो ।
हालको परिवेशमा राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिएको बताउँदै उहाँले भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिएको बताउनुभयो ।
‘भ्रष्टाचार विरुद्धको लडाई सबैको साझा लडाई हो । आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ ।’ उहाँले भन्नुभयो– ‘मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेको भन्ने मेरो बुझाई छ ।’
आयोगले नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धनमा गरेको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उहाँले स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको निकायका रुपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।





