
पोखरा, ०१ फागुन ।
पोखरा महानगरपालिका अन्तर्गत लेखनाथको मुटु पावरहाउसमा अवस्थित गुरुकुल विद्याश्रमको १९ औँ जन्मोत्सव एवम् अभिभावक दिवस, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम साथमा श्रष्टा सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८०÷२०८१ मा सर्वोत्कृष्टता प्राप्त गर्ने विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी हरुका नृत्य र साङ्गीतिक प्रस्तुतीले रोचक बनाएको थियो । सशस्त्र प्रहरी बलबाट आएको बैण्ड बाजाले अतिथि सत्कार गरेको र कार्यक्रमलाई थप रौनक बनाएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष, वर्तमान संरक्षक, सर्जक प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रमको सभापतित्व गुरुकुल विद्याश्रम एवम् गुरुकुल कलेज अफ म्यानेज्मेन्ट, होटल म्यानेज्मेन्टका प्राचार्य मिलन के.सी. ले गर्नुभएको थियो । कार्यक्रममा वोल्दै प्रमु अतिथी पराजुलीले विद्यार्थीहरुले विद्यालय स्तरवाटै कला र सस्कृतीको क्षेत्रमा सिक्ने र सिकाउने कार्यमा लाग्नु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा विद्यालयकी सल्लाहकार निलिशा ठकुरी के.सी. ले सम्पूर्ण अतिथि लगायत विभिन्न उपस्थित महानुभावहरुलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा शिक्षिकाहरुका नृत्य, विद्यार्थीहरुका नाटक र होटल म्यानेज्मेन्टको फुड फेस्टिभलले कार्यक्रमको अझ शोभा बढाएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशको पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष क्रमशः राजन कार्की र माया गुरुङ लगायतका कलाकारको साङ्गीतिक प्रस्तुतीले कार्यक्रमको शोभा बढाएको थियो भने उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि प्रजापति पराजुली, कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालयका प्रिन्सिपल मिलन के.सी., सह प्राचार्य नारायण बराल, कलाकार माया गुरुङ, राजन कार्की, सल्लाहकार निलिशा के.सी. लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो भने विद्यालयमा कार्यरत शिक्षक एवम् कर्मचारी पनि सम्मानित हुनुभएको थियो ।
यसपटक लोक कला तर्फको विधालाई आधार मानेर श्रष्टा सम्मान गरिएको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित शैक्षिक व्यक्तित्व एवम् विद्यालयका अभिभावक सुरेशराज ढकालले विद्यालयको प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका मा.वि. संयोजक बाबुराम जि.सी., शिक्षिकाहरु राधा लामिछाने, सोनम खत्री लगायत विद्यार्थी भाइबहिनीहरुले गरेका थिए ।
पोखरा, ०१ फागुन ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेका छन्।
शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखाको आयोजनामा सम्पन्न भएको “बालबालिका सम्बन्धी नियमावली, २०८२” को मस्यौदामाथि विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रदेश बाल अधिकार समितिको बैठकसमेत बसेर बाल अधिकार संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको उनले उल्लेख गरे ।
“बालबालिका भविष्यका मात्र होइन, वर्तमानका संवाहकसमेत हुन् । उनीहरूको अधिकार सुनिश्चित गर्ने, सुरक्षित तथा सम्मानित वातावरण निर्माण गर्ने र नीति–कार्यक्रमलाई प्रभावकारी बनाउने दायित्व सरकारको प्राथमिकतामा छ ।”, उनले भने । सहभागी सबैलाई रचनात्मक सुझाव र सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै प्राप्त सुझाव समेटेर नियमावलीलाई थप सुदृढ र व्यवहारिक बनाइने प्रतिबद्धता उनको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. शेष नारायण पौडेलले प्रदेश स्तरमा बालअधिकार प्रचार–प्रसार नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको धारणा राखे। उनले बालगृहहरूलाई व्यवस्थित बनाउन स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन जरुरी रहेको बताए।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बालगृहहरूको नियमित अनुगमनमा विशेष जोड दिनुपर्ने, नेपाल बाल संगठनसँग तादम्यता बढाउनुपर्ने तथा जिल्ला समन्वय समितिलाई स्पष्ट जिम्मेवारी दिएर अघि बढ्नुपर्ने सुझाव दिए। उनले गुम्बा, छठ र मन्दिरजस्ता स्थानमा रहेका बालबालिकाको संरक्षणमा समेत विशेष ध्यान दिन आग्रह गरे।
जिल्ला प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले संरचनागत कमजोरी सुधार गर्न प्रदेश र स्थानीय तहमा बालबालिका सम्बन्धी छुट्टै ‘डेडिकेटेड टिम’ गठन गर्नुपर्ने आवश्यकता औंल्याए। माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले विद्यालय स्तरमै हुने बालबालिका दुव्र्यवहार नियन्त्रणका लागि नीतिगत सुदृढीकरण र प्रभावकारी कार्यान्वयन पक्षमा जोड दिनुपर्ने धारणा व्यक्त गरिन्।
छलफलका क्रममा मनोविज्ञको व्यवस्था कसरी गर्ने, समाजमा बाल दुव्र्यवहार रोकथामका उपायहरू, समस्यामा परेका बालबालिकालाई जीवनउपयोगी सीपसँग कसरी जोड्ने भन्ने विषयमा समेत गहन बहस भएको थियो। कार्यक्रममा गैरसरकारी संस्था प्रतिनिधि, सामाजिक महाशाखा प्रमुख तथा अन्य सरोकारवालाहरूले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमले बाल अधिकारसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
पोखरा, ०१ फागुन ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले बिहिबार र शुक्रबार मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
आम मतदातासँग मतसँगै सुझाव माग्दै उनले दुवै वडामा विकासको खाका कसरी बनाउने र समृद्ध मादी बनाउनको लागि कसरी काम गर्ने भनेर स्थानीय मतदाताहरूसँग सुझाव समेत मागेका छन्। उनले वडा नम्बर ८ अन्तर्गतका पाखुरीकोट, नागिधार,रबैडाँडा पोश, परक्यु लगायत वडा नम्बर ९ का गहते च्याङ्ग्दी मिजुरे, गोर्जे मोग्री मोग्रिबेसी पालुवा बेसी लगायतका ठाउँहरूमा मतदाताहरूसँग भेटघाट गरेका छन् ।
मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा चुनाव प्रचारप्रसार सचिवालय उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले समय अनुकूल जनताको मागअनुसारको विकास गर्न नेपाली कांग्रेस सदैव तयार रहेको धारणा व्यक्त गरेका थिए। त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, कास्की जिल्ला सभापति किशोर दत्त बराल, जिल्ला सचिव भानुभक्त ढकाल, मादी गाउँपालिका सभापति यमबहादुर गुरुङ, क्षेत्रीय सचिव ओम प्रकाश गुरुङ वडा नम्बर ८ सभापति राजेन्द्र अधिकारी, वडा नम्बर ९ सभापति प्रभात अधिकारी क्षेत्रीय प्रतिनिधिहरू आशा गुरुङ कमलमणि अधिकारी सञ्जय गुरुङ चेतबहादुर गुरुङ जनकदत्त अधिकारी महेन्द्र शाही सुचिता तामाङ कृष्ण न्यौपाने स्थानीय नेताहरू तुलबहादुर गुरुङ शंकर तामाङ दिपाल गुरुङ लगायतले उम्मेदवारलाई सफलताको शुभकामना र विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले सबैसँग मिलेर विकासमा हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
आफू राजनीति सिक्दै गरेको अवस्थामा आफू जन्मेको र हुर्केको मादी गाउँपालिकाका स्थानीयहरूले सल्लाह सुझाव दिएर नै आफू अगाडि बढ्ने व्यक्त गरेका छन्।
साथै नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ । वडा कार्यसमितिहरूलाई लक्षित गरी चुनावी रणनीति र मतदाता प्रशिक्षण कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस का निवर्तमान सह महामन्त्री जीवन परियार र नेता प्राध्यापक डाक्टर कुशमाकर न्यौपानेले सहजीकरण गर्नुभएको थियो। नेपाली कांग्रेस पोखरा महानगरपालिकाका सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति बजिरमान श्रेष्ठ, महिला नेत्री माया बराल, उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोला र परमेश्वर कार्कीले बोल्नुभएको थियो।
पोखरा, ०१ फागुन ।
नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख कार्कीले सेवा प्रवाह गर्दा कर्मचारीले मन र ध्यान दिएर उपभोक्ताको हितमा कार्य गर्न कर्मचारीलाई अनुरोध गरेका हुन् ।
कर्मचारी संघ इकाई समितिका अध्यक्ष अनील शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका तत्कालिन उपाध्यक्ष भोजराज चापागाँईलाई विदाई गर्दै कार्यालय प्रमुख कार्कीले कर्मचारीमा इमान्दारिता, लगानशीलता र गर्छु भन्ने मान्यता अंगिकार गर्न आग्रह गर्दै खानेपानीको सेवा क्षेत्रमा अब्बल बनाउने काम कर्मचारीबाट मात्र सम्भव हुने बताए ।
कार्यक्रममा कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानलाई बलियो र भरपर्दो बनाउने अभियान केवल कर्मचारीबाट मात्र पुरा हुने भन्दै कर्मचारीको सेवा, सुविधा तथा स्थायित्व तर्फ सिंगो व्यवस्थापन लाग्नु पर्नेमा जोड दिएका थिए ।
अध्यक्ष धमलाले संस्थानको ३७ औं वार्षिकोत्सव आगामी फागुन १५ गते भएकाले कर्मचारी संघले रचनात्मक कार्यक्रम मार्फत् सवै कर्मचारीलाई जोड्न आग्रह गरेका थिए । कर्मचारी संघ इकाई समितिका सचिव विमल तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गर्दै कर्मचारी संघका सदस्य विक्रम बरुवालले भोजराज चापागाईबाट सिक्नु पर्ने ज्ञान धेरै भएकाले शिक्षक सेवामा आवद्ध भएपनि संस्थानलाई निरन्तर माया र सद्भाव राख्न अनुरोध गरेका थिए ।
कार्यक्रममा कर्मचारी संघ केन्द्रीय समिमिका सल्लाहकार एवं पोखरा शाखाका प्रशासन प्रमुख विष्णु प्रसाद रेग्मीले कर्मचारी एकतामा जोड दिँदै आफूलाई परेको समस्या खुलेर भन्न आग्रह गरेका थिए । कार्यक्रममा कर्मचारी संगठन केन्द्रीय समितिका महासचिव वसन्तराज भण्डारीले संघको रचनात्मक कार्यक्रमलाई शुभकामना दिँदै विदाई भएका कर्मचारी चापागाईलाई आगामी दिनको सुखद यात्राको कामना गरेका थिए । शिक्षक सेवा आयोगबाट आगामी यात्रा तय गरेका भोजराज चापागाईले कार्यालयको निर्देशन र आदेश पूर्ण पालना गर्नु नै कर्मचारीको गहना भएकाले सधै सकारात्मक सोच राख्न अनुरोध गरेका थिए । उनले आफूबाट अन्जानमा भएको कमी कमजोरीलाई मनमा नलिन कार्यरत कर्मचारीसँग आग्रह समेत गरेका थिए । चापागाईलाई दोसल्ला र कदर पत्रले सम्मान तथा विदाई गरिएको कर्मचारी संघका सदस्य रुपेश पाण्डेले जानकारी दिए । चापागाई हाल काठेखोला गाउँपालिका बाग्लुङ स्थित धारा माध्यमिक विद्यायलयमा अध्यापन गराउँदै आएका छन् ।
पोखरा, ०१ फागुन ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्र हुदैं नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् ।
सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सहारा क्लब हङकङकी सल्लाहकारसमेत रहेकी उनी गुरुङ फिल्म एसोसियशन हङकङकी अध्यक्ष हुन् । उनको निर्माणमा बनेको चलचित्र पेन्सनपट्टा छिट्टै प्रदर्शनको तयारीमा छ । हङकङ बस्दै आएकी अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । उनको छोरा हिमाल गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङबाट खेल्छन् ।
सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।
पोखरा, ०१ फागुन ।
पोखराका अटो क्षेत्रमा कार्यरत व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर९ भ्याट० सम्बन्धी तालिममा सहभागी भएका छन् । उद्योगी÷व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोगी संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना ९आरएसआरएसडी० को सहयोगमा २ दिने तालिमको आयोजना गरेको हो । तालिमका निम्ति गण्डकी अटो मेकानिकल वक्स एसोसियसनसँग सहकार्य गरिएको थियो । तालिममा सिए विवेक श्रेष्ठले सहभागी करिब ५५ जनालाई तालिम प्रदान गरेका थिए ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दैनिक जीवनको अपरिहार्य आवश्यकता बनेको अटो क्षेत्रमा कार्यरत व्यवसायीलाई करका विविध आयामबारे जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको बताए । विभिन्नखाले व्यवसायमा संलग्न व्यवसायीहरुले भ्याट र करसम्बन्धी ज्ञान प्राप्त गर्दा राजश्वमा बृद्धिमा योगदान गर्ने उनको विश्वास थियो । अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने सेवा–सुविधाको चर्चा गर्दै दण्ड जरिवानाबाट व्यवसायीलाई जोगाउनका निम्ति संघले आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिकल वक्स एसोसियसनका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपालीले अटो क्षेत्रलाई व्यवस्थित गर्नेतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने बताए । व्यवसायीहरुलाई समयानुकुलको सीपका निम्ति एसोसियसनले पोखरामा पहिलोपटक इभी गाडी मर्मतको तालिम दिइएको र भ्याट एवं करसम्बन्धी तालिमले त्यसमा नयाँ आयाम थपेको उनको भनाइ थियो ।
निम्ति गण्डकी अटो मेकानिकल वक्स एसोसियसन पोखराका अध्यक्ष विष्णुप्रसाद अधिकारीले पछिल्लो तालिमले श्रम गरेर खाने अटोमेकानिकल क्षेत्रका व्यवसायीहरुलाई दण्ड र जरिवानाबाट बच्न सघाउने बताए ।
पोखरा, ०१ फागुन ।
मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा खेलकुदको शहर पोखरामा आज (शुक्रबार) देखि पाँचौँ संस्करणको खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा १०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जापानी प्रशिक्षक टिस्यू–यामामोतोले गर्नु भयो ।
उहाँले नेपालको व्याडमिन्टन खेलको विकासको लागि फिटनेपालकै अवधारणामा तल्लोस्तरको विभिन्न प्रशिक्षण सहितको प्रतियोगिता सहित यस खेलमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुख्य चार वटा इभेण्टमा छात्र तथा छात्रा तर्फको प्रतिष्प्रर्धा आज(शुक्रबार) देखि पोखरामा सुरु भएको फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले बताउनु भयो । प्रतियोगितामा यू–११, य्रू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर समूहका करिब २ सय भन्दा बढी खेलाडीहरूको प्रतिष्प्रर्धा गर्ने भएको उहाँले जनाउनु भयो ।
ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका उदयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, खेलकुद विकासलाई टेवा दिने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्य सहित प्रतियोगिता निरन्तर रुपमा आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगिता अन्तर्गत यू—११ र यू—१३ तर्फका विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यसैगरी यू–१७ तथा यू–१९ समूहमा प्रथम हुने खेलाडीले जनही मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ४० हजार रुपैयाँ, द्वितीयले २० हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘बेस्ट स्कूल ट्रफी’ प्रदान गरिने आयोजकले जनाएको छ ।
फिट नेपाल र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ । प्रतियोगिताले विद्यालयस्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरतर्फ अघि बढ्न प्रेरणा मिल्ने संयोजक बरदान ताङवे लामाले विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा अन्डर–१५ राष्ट्रिय च्याम्पियन निभा राई, अन्डर–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, रिहाना शेरचन, सदिप राई, सुदेश राज कोटि, सुप्रीम पन्त, प्रतिक बिष्ट लगायतका चर्चित खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटनको अवसरमा पारा ओलम्पियन प्रकाश अधिकारी र अन्तराष्ट्रिय खेलाडी विवेक सुवेदी बिच मैत्रिपूर्ण खेल भएको शोभा केसीले बताउनु भयो ।
पोखरा, १ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिबार पोखराका विभिन्न टोलमा कार्यक्रम सम्पन्न भएका छन् भने शुक्रबार आज वडा नम्बर–१३ मा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ।
विहिबार पोखरा–१०, रामबजारस्थित ॐ शान्ति सत्सङ्गमा सहभागिता जनाउँदै दिनको कार्यक्रम सुरु गरिएको थियो। त्यसपछि पोखरा–१४, मनकामना टोलमा संवाद यात्रा गरिएको थियो।
यस्तै, दिउँसो पोखरा–१४, शुभकामना टोल, मसिना टोल र खाल्टे टोलमा संवाद कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमहरूमा स्थानीयवासी, आमा समूह, युवा तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।
संवादका क्रममा उम्मेदवार गनेस पौडेलले “राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै पारदर्शिता, सुशासन र स्थानीय समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। “हामी जनताको घरदैलोमा पुगेर सुझाव संकलन गर्दैछौँ, यही सुझावलाई नीति निर्माणमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।
शुक्रबार आज वडा नम्बर–१३ मा स्थानीयसँग संवाद यात्रा कार्यक्रम तय गरिएको छ। बिहान ८ः०० बजे विजयपुर आर्वा, बिहान ११ः३० बजेदेखि भद्रकाली, बाँझापाटन क्षेत्र र दिउँसो २ः०० बजे मियाँपाटनमा संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार, “संवाद यात्राप्रति स्थानीयको उत्साहजनक साथ र समर्थन पाइरहेका छौँ। हरेक टोलमा उठेका सुझावलाई व्यवस्थित रूपमा संकलन गरिँदैछ र त्यसैका आधारमा आगामी कार्ययोजना तय गरिनेछ।”
रास्वपाले कास्की–१ मा परम्परागत चुनावी सभाभन्दा फरक शैली अपनाउँदै प्रत्यक्ष भेटघाट र घरदैलो संवादमार्फत जनविश्वास निर्माण गर्ने अभियानलाई प्राथमिकता दिएको जनाएको छ।
पोखरा, १ फागुन ।
कास्की जिल्लामा रहेका ५ वट स्थानीय तहमध्ये माछापुच्छ्रे गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार माछापुच्छ्रेले ७०.०८ अंक प्राप्त गर्दै पहिलो स्थानमा रहेको हो ।
आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर गरेको मूल्यांकनमा ६९.५६ अंक प्राप्त गरी अन्नपूर्ण गाउँपालिका दोस्रो स्थानमा छ ।
रुपा गाउँपालिका ६३.४५ अंकका साथ तेस्रो स्थानमा रहँदा पोखरा महानगरपालिका ५८.७६ अंकका साथ चौथो स्थानमा परेको छ ।
कास्कीको मादी गाउँपालिका भने ४८.३२ अंक प्राप्त गरी जिल्लाभरिमै सबैभन्दा कमजोर देखिएको छ । आयोगले आर्थिक वर्ष २०८१/८२ को बजेट समयमै सार्वजनिक गरे/नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था र बेरुजु जस्ता प्रशासनिक तथा वित्तीय पक्षलाई मूल्यांकनको मुख्य आधार बनाएको थियो ।
यसका साथै शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई पनि आयोगले अंक प्रदान गरेको छ । स्थानीय तहले असार १० भित्र बजेट सार्वजनिक गरे/नगरेको र असार मसान्तभित्र बजेट पास गरे/नगरेको विषयले नतिजामा महत्वपूर्ण भूमिका खेलेको छ ।
आयोगले कक्षा ९ मा विद्यार्थी टिकाउ दर, विद्यार्थी भर्ना दर, एसईईको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात र गर्भ जाँच गर्ने महिलाको संख्यालाई मूल्यांकनको सूचक बनाइएको थियो । यस्तै घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने हिस्सा समयमै बुझाए/नबुझाएको विषयलाई पनि सूचक छ । आगामी वर्षको बजेट प्रक्षेपण र बजेट समीक्षा समयमै गरे/नगरेको आधारमा पनि स्थानीय तहको कार्यक्षमता मापन गरिएको हो ।
पोखरा, १ फागुन ।
पाहुना टोली प्लानिङ ब्वाइज युनाइटेड पाेखरामा जारी २५औं आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे क्वाटरफाइनल प्रवेश गरेकाे छ । सहारा क्लबको आयोजनामा शुक्रबार पोखराको रंगशालामा भएकाे खेलमा ब्वाइज युनाइटेडले फ्रेण्ड क्लबलाई ४-० गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलकाे यात्रा तय गरेको हो ।
ब्वाइजको जितमा विदेशी खेलाडी पापा आइबाे केइबिले ह्याट्रिक गरे भने एलेक्स विल्सनले १ गाेल गरेका छ्न ।खेलकाे २७ औँ मिनेटमा एलेक्सले पहिलो गाेल गर्दै खाता खाेलेका थिए । उनले पेनाल्टी मार्फत गाेल गरे ।
खेलकाे ४५ औँ मिनेटमा पापाले ब्यक्तिगत पहिलो र टिमका लागि दाेस्राे गाेल गर्दै अग्रता दोब्बर पारे । यसैगरी खेलकाे ५४ औ र ८१ औ मिनेटमा गाेल गर्दै पापाले ह्याट्रिक गर्दै खेल ४-० को फराकिलो अन्तरले जित निकाले ।
भाेलि शनिबार आयाेजक सहारा र नेपाल पुलिस क्लब बीच दिउसाे ३ बजे खेल हुने आयाेजकले जनाएकाे छ ।
फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छ । अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिने आयोजकले जनाएको छ ।





