पोखरा, ०४ फागुन ।
मनाङ मस्र्याङदी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा सोमबार भएको क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेडमाथि १–० को कठिन जित निकाल्दै मनाङले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
खेलको ९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि ३० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष श्रेष्ठले निर्णायक गोल गरे । कर्नरबाट आएको बललाई श्रेष्ठले हेड गर्दै बललाई जाली चुमाए ।
खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर हालेका थिए । खेलमा निर्णायक गोल गरेका मनाङका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।
पाहुना टोली थण्डरबोल्डका प्रशिक्षक आशिष क्षेत्रीले मनाङजस्तो राम्रो टिमसँग आफ्ना खेलाडीले राम्रो खेल प्रस्तुत गरेको बताए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल मङ्गलबार प्लानिङ ब्वाइज युनाइेट र उज्वेकिस्तानको आभा फुटबल क्लबका बीचमा खेल हुनेछ ।
यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।
पोखरा, ०४ फागुन ।
प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नं. २ का उमेदवार रश्मि आचार्य ले नेपालको शिक्षा प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान शिक्षा सर्टिफिकेट थुपार्ने माध्यममा सीमित भएको बताएका छन्।
उनले अबको शिक्षा दराजको फाइलमा होइन, मानिसको हातको सीपमा देखिनुपर्नेमा जोड दिँदै व्यावहारिक र प्राविधिक शिक्षाले मात्र व्यक्तिको जीवनस्तर सुधार गर्न सक्ने बताए ।
शिक्षा सीपमूलक भए मात्र व्यक्तिको उन्नति सम्भव हुने र त्यसकै आधारमा देशको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।
सामाजिक संजालजस्तै करबारे पनि जानकारी राख्नुस् ः प्रमुख कर अधिकृत ढुंगाना
पोखरा, ०४ फागुन ।
‘हामीलाई टिकटक र फेसबुक चलाउन कसैले सिकाएको हैन । मार्क जुकरवर्ग आएर फेसबुक यसरी चलाउने हो भन्या पनि हैन होला । त्यो चलाउन जान्ने तर आफूलाई चाहिने करको दाखिला गर्ने कुरा चाहिँ नजान्ने,भर्न जानेको छैन । बिल काट्न आउँदैन भन्न मिल्छ र रु’
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सोमबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मूल्य अभिवृद्धि कर ९भ्याट० र करबारे आयोजना गरेको तालिम कार्यक्रममा प्रश्न तेस्र्याए । पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्की मुस्कुराए, तालिममा सहभागीहरु मुखामुख गरे ।
प्रमुख कर अधिकृत त्यत्तिमै रोकिएनन् । उनले व्याख्यासहित भने,‘नेपालको कर प्रणाली भनेको स्वघोषणा गर्नेखालको हो । हाम्रो कर प्रशासनका ८० प्रतिशत काम अनलाइनबाटै हुन्छ । तपाईं कार्यालय आउनै पर्दैन । हाम्रो वेवसाइटमा जानुभयो भने त्यहाँ सधैँ सोधिने प्रश्नहरुका उत्तर छन् । अलिकति अध्ययन गर्नासाथ आफूले तिर्नुपर्ने राजश्व आफै भर्न सकिन्छ । भ्याट चाहिँ यहाँहरुले तिर्ने हैन । उपभोक्ताले तिरेको रकम राज्यलाई बुझाउने हो । त्यो पनि एक महिनासम्म तपाईंले बिना ब्याज चलाउन पाउनुहुन्छ ।’
प्रमुख कर अधिकृत ढुंगानाले दण्ड र जरिवानाबाट बच्नका निम्ति आफै जागरुक बन्नुपर्नेमा पनि जोड दिए । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना ९आरएसआरएसडी० को सहयोगमा भ्याट र करसम्बन्धी तालिम संचालन गर्दै आइरहेको छ । यो कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका उद्योगी÷व्यवसायीलाई तालिम प्रदान गरिने संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । हालसम्म ४ वटा तालिम प्रदान गरिएको र सोमबार एवं फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीसँगको समन्वयमा आयोजना २ दिने तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
सो कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले कर तिर्नु व्यवसायीको धर्म हो भन्नेमा संघ प्रष्ट रहेको र प्रणाली चाहिँ अझै सरल हुनुपर्ने धारणा सुनाए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष थानेश्वर तिवारीले कर प्रणालीबारे जानकारी प्राप्त हुँदा व्यवसाय गर्न सहजता प्राप्त हुने आशा राखे । सहभागीहरुलाई सिए विवेक श्रेष्ठले कर र भ्याटबारे सहजीकरण गरेका थिए ।
पोखरा, ०४ फागुन ।
फेयर ट्रेड कर्पाेरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरस्थित कोट्रयार्ड भवनमा (मीनमार्ट रहेको भवन) आउटलेट संचालनमा ल्याएको हो ।
शनिबार आयोजित एक समारोहमा उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । सो अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति थियो।
कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको छ।
कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका पेन रहेको बताउँछिन्। उनका अनुसार पाइलट ब्रान्डका बल पेन, जेल पेन र फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजरसहित लेखेर मेट्ने पेनहरू पनि उपलब्ध छन् । प्रोडक्टमा १० प्रतिशत डिस्काउन्ट र विद्यार्थीहरूका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुट दिइने व्यवस्था गरिएको छ।
काठमाडौंको न्यूरोड र कमलादीमा शाखा संचालित रहेकोमा छिट्टै विराटनगरमा समेत सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिइन्। यसका डिलर भने धेरैवटा छन्।
पाइलट पेनलाई अरू पेनको तुलनामा उत्कृष्ट मानिन्छ।
पोखरा, ०४ फागुन।
पोखरास्थित कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो।
तर जिल्ला न्यायाधीश नितिश राईको इजलासले सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो। सर्वोच्च अदालतबाट हुने आदेश प्राप्त भएपछि मात्र थप निर्णय हुने अदालतले जनाएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि यस्तै निर्णय गरिसकेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णयविरुद्ध युवराज पौडेल ९सफल० ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
चितवन, ०४ फागुन।
चितवन भरतपुर महानगरकी निवर्तमान प्रमुख रेनु दाहाल को पक्षमा चितवन क्षेत्र नं. ३ मा जनसमर्थन बढ्दै गएको देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकी दाहाल सोमबार भरतपुर–१६ मा घरदैलो अभियानमा सहभागी हुँदा स्थानीयवासीको उल्लेख्य उपस्थितिसहित स्वागत पाएकी हुन्।
दुई कार्यकालसम्म भरतपुर महानगरपालिकाको नेतृत्व सम्हालेकी दाहालले संघीय राजनीतिमा प्रवेश गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सारिँदा दोस्रो कार्यकाल पूरा हुन करिब १५ महिना बाँकी रहँदै उनले प्रमुख पदबाट राजीनामा दिएकी थिइन्। “निर्वाचन समयअगावै घोषणा भएपछि राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो,” दाहालले भनिन्।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले महानगर प्रमुखका रूपमा कार्यरत रहँदा सबैलाई समान व्यवहार गर्दै विकास निर्माणका काम अघि बढाएको दाबी गरिन्। “कसले के भन्यो भन्नेभन्दा पनि कहाँ कति काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेँ,” उनले भनिन्, “विकासका काममा कहिल्यै पक्षपात गरिनँ।”
उनले स्थानीय तहमा हासिल अनुभवलाई संघीय संसद्मा नीति निर्माण तहमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। चितवनको समग्र विकासका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अवसर दिन मतदातासँग आग्रहसमेत गरिन्।
एजेन्सी, ०४ फागुन ।
इजरायल र प्यालेस्टाइनबीचको जारी युद्धमा परी हालसम्म कूल मृतकको संख्या ७२ हजार ६१ पुगेको छ। सोही युद्धमा परी गत ७ अक्टोबर २०२३ देखि हालसम्म १ लाख ७१ हजार ७ सय १५ जना घाइते भएका हुन् । गाजा स्वास्थ्य अधिकारीले युद्धविराम लागू भएदेखि ६ सय १ प्यालेस्टिनी नागरिकको मृत्यु भएको र १ हजार ६ सय ७ घाइते बताएका छन्। इजरायलले गरेको हवाई आक्रमणमा परी गाजा पट्टीका विभिन्न स्थानमा आइतबार मात्रै ११ जनाको ज्यान गएको हो ।
नागरिक रक्षा निकायका अनुसार उत्तरी दक्षिणी गाजाका शरणार्थी शिविर र विस्थापितहरूको आश्रयस्थलमा यी आक्रमणहरू भएका हुन् । यसअघि नौ जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको संख्या परिमार्जन गरिएको थियो । नागरिक रक्षा प्रवक्ता महमुद बसलले इजरायली लडाकु विमान र ड्रोनले बिहानदेखि मध्याह्नसम्म विभिन्न क्षेत्रमा आक्रमण गरेको बताउनुभयो । गाजा शहरको पश्चिममा पर्ने तेल अल–हावामा भएको ड्रोन आक्रमणमा सामी अल–दहदोह नाम गरेका एक व्यक्तिको मृत्यु भएको छ । जो इस्लामिक जिहाद समूहका सदस्य रहेको बताइएको छ ।
त्यस्तै, उत्तरी गाजाको बेत लाहियामा भएको अर्को आक्रमणमा तीन जना गम्भीर घाइते भएका छन् । यसअघि जबालिया शरणार्थी शिविर र खान युनिसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा १० जनाको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले जबालियाको उत्तरमा रहेको शेख जायद क्षेत्रमा घरहरू समेत भत्काएका छन् । गाजा शहरको पूर्वी भागमा पर्ने अल–तुफाह क्षेत्रमा पनि आर्टिलरी गोलाबारी भएको खबर छ ।