२०८२ चैत्र ७ शनिबार
२०८२ चैत्र ७ शनिबार

पोखरा, १० फागुन ।

कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले आफू सधैं न्याय र समानताको पक्षमा उभिँदै आएको अब पनि हरअन्यायको विरुद्ध लड्ने बताएकी छन् । कास्की क्षेत्र नम्बर ३ का मतादातहरुसँग भेट्दै गुरुङले आफूले उद्यमसँगै समाजसेवामा नै अहिलेसम्मको जीवन लगाएको भन्दै सेवाकै भावनालाई नीति निर्माणमा लगाउन रास्वपाबाट राजनीतिमा होमिएको बताएकी हुन् ।

बागलुङ बसपार्क, मिरुवा, भैरभ टोललगायतका क्षेत्रमा आइतबार घरदैलो गरेकी बिनालाई मतादाताले अन्यायका विरुद्ध लड्न आग्रह गर्दै शुभकामना दिएका थिए । घरदैलोका क्रममा मतदाताले पुराना नेताहरुमा इमान्दारिता र देशप्रतिको विश्वास कम भएकाले न्याय, समानता र अधिकारको पक्षमा लड्न आग्रह गरे ।

त्यही क्रममा महिला सशक्तिकरण, बालबालिकाको भविष्य र ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनयापनमा आफूले हरदम सेवा गरिरहेको बताउँदै अब पनि सामाजिक न्याय, सुशासन र समृद्धिकै पक्षमा काम गर्ने उनले बताइन् ।

‘म समाजसेवामा रमाइरहेकी थिएँ, राजनीतिमा फगत एक सांसद पदका लागि म उम्मेदवार बनेको होइन, सार्वजनिक सेवा, विकास र सुशासनका पक्षमा इमान्दारितापूर्वक काम गर्ने हुटहुटी हो,’ बिनाले भनिन्, ‘म सधैं अन्यायको विपक्षमा हुन्छु, सामाजिक न्यायका निम्ति लड्छु, सहकारी पीडितसँगै उभिन्छु । म पीडितहरुको आवाज बन्छु भनेर मैदानमा उत्रिएकी हुँ ।’

सहकारीको समस्यालाई सधैं राजनीतिकरण गर्ने, पीडितलाई रकम फिर्ता गराउनेतिरभन्दा सधैं बल्झाइरहने काममात्र भएको बताउँदै बिनाले अब यो समस्या दीर्घकालीन रुपमै हल हुनुपर्ने भनाइ राखिन् । मीठा भाषण र चिल्ला आश्वासनभन्दा आफूले परिणाम दिने गरी लगनशिलता र मिहिनेतले व्यवसायमा सफल भएको र विभिन्न संस्थाको नेतृत्व गर्दै यहाँसम्म आइपुगेको उनले बताइन् ।

‘अहिले धेरैतिरबाट सहकारीको रकम हिनामिना भएको छ । सहकारी पीडितमाथि राजनीतिमात्र गर्ने तर पैसा फिर्ता नगराउने काम हुँदै आएको छ । अब यो बन्द हुनुपर्छ । सहकारी पीडितकै पक्षबाट म पनि लड्ने छु, यो सधैंभरि पीडितलाई झन् पीडा दिने गरी गिजोलिनु हुँदैन,’ बिनाले भनिन्, ‘म आफैं पनि सहकारी अभियानकर्ता हुँ, सहकारीको नेतृत्व नै गरेर बचतकर्ताको मन जितेकी पात्र हुँ । सहकारी समस्या कहाँनेर हो मैले नजिकबाट छामेकी छु ।’

सहकारीको समस्यालाई समाधान गर्नेतिर भन्दा अहिले पनि विभिन्न दलहरुले पीडितलाई झनै पीडित गराउने गरी प्रयोग गर्ने, राजनीतिक प्रतिशोधपूर्ण ब्यवहार गरेर आफूलाई चर्चामा ल्याउन खोज्ने प्रवृति हाबी भइरहेको उनको भनाइ थियो । ‘सहकारीका समस्या र यसबाट पीडितले भोगेका दुख र पीडालाई मैले नजिकबाट महसुस गरेकी छु । यो समस्यालाई अहिलेसम्म कसले गिजोलिरहेको छ र कसले सहकारी अभियानलाई कमजोर बनाएको हो भन्ने पनि मैले बुझेकै छु,’ बिनाले भनिन्, ‘अब सधैंका लागि सहकारी समस्या समाधान गर्न पनि म सांसद भएर हरदम पहल गर्नेछु, पीडितकै सारथी बन्ने छु ।’

उनले आफ्नो बाचापत्रमै सहकारीको समस्या समाधान गर्न लागि पर्ने एजेण्डा बनाएको बताइन् । भूकम्पका बेला होस् या कोभिडका बेला हरबखत नागरिककै सेवामा लागि परेको स्मरण गर्दै बिनाले एक जना व्यक्तिको सहयोगले समाज रुपान्तरण गर्न नसक्ने भएकाले नै राजनीतिमा होमिएको बताइन् ।

‘सञ्जीवनी दिदीबहिनी केन्द्रमार्फत महिला शसक्तिकरण र न्यायको पक्षमा उभिएँ । कोपिला नेपालमार्फत बालबालिकाको जीवन यापनसँग जोडिएँ, तमुधिँ नेपालमार्फत संस्कृति संरक्षणमा खटिएँ । लायन्स क्लबमार्फत सामाजिक सेवामै थिएँ,’ बिनाले भनिन्, ‘अब पनि म अरु कसैसँग लड्न सांसद हुने होइन, अन्यायकै विरुद्ध लड्ने हो, कुशासनकै विरुद्ध बोल्ने हो, न्यायकै निम्ति ऊर्जा अर्पण गर्ने हो । नीतिगत तहबाटै समाज रुपान्तरण गर्ने हो ।’

पोखरा, १० फागुन ।

कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले घरदैलोमा पुगेर मतदाता भेट्दै आफ्ना एजेण्डा राखिरहेका छन् । पोखरा–९ बसपार्कमा सम्पर्क कार्यालय खोलेर घरदैलो गरिरहेका गुरुङले आफू हल्ला र भीडमा होइन, एजेण्डा र परिणाम खोज्न लाग्ने बताउँदै मतादातालाई प्रतिवद्धता पत्र दिइरहेका छन् भने मतदाताले उनलाई हौसला दिइरहेका छन् ।

गुरुङले आइतबार पोखरा–१६ मा घरदैलो गरेका छन् भने शनिबार वडा नम्बर १५ मा घरघरमै पुगेर मतादातालाई भेटेका हुन् । सरकारको नीति निर्माणमा सघाइरहेका जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जा विज्ञ गुरुङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आत्मसात गर्दै आफैं नीति बनाउने ठाउँमा पुग्न उम्मेदवारी दिएको बताएका छन् ।

जेनजी आन्दोलन कुनै पार्टीनिकटको नभइ देशमा रुपान्तरण र सुशासन चाहने नवयुवाको नेतृत्वमा भएको उल्लेख गरेका छन् । घरदैलोको क्रममा भेटिएका सुन्दर गुरुङले यसपटक मतादाताले हल्ला र भीडमा होइन, क्षमता र एजेण्डा हेरेर मत हाल्ने बताए ।

अहिले सामाजिक सञ्जाल र देशका विभिन्न ठाउँमा भीड जम्मा गरेर म्याराथन दौड गर्न खोजे पनि अन्तिममा सचेत मतादाताले योग्य र क्षमतावान पात्र हेर्ने भन्दै हौसला बढाए ।

‘मतादाता धेरै सचेत भइसके, केबल हल्ला र भीडमा मात्र विश्वास गर्दैनन् । यदी कसैले त्यो भन्छ भने जनताप्रतिको अविश्वास हो । मतादातले योग्य पात्र हेर्छन्, नियत र एजेण्डा हेर्छन्,’ उनले भने, ‘ढुक्क हुन्स्, तपाईँ मतादाताको रोजाइमा पर्नुहुन्छ ।’

घरदैलोमा भेटिएकी माया अधिकारीले पनि यो ठाउँको मुद्धालाई बोक्न सक्ने, नीतिगत तहबाट हेर्नसक्ने दृष्टिकोण भएको उम्मेदवारलाई भोट दिने बताउँदै गुरुङलाई ढुक्क हुन आग्रह गरिन् । ‘कुलमानले लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाएकै हो । अब उज्यालो पार्टीमार्फत तपाईंले पनि देशमा योगदान दिनु,’ उनले धाप मारिन् ।

कास्की क्षेत्र नम्बर २ का मतादाताले आफूलाई हौसला दिइरहेको र परिवर्तनको आशा जगाएको बताए । ‘पोखराजस्तो सहरलाई कसरी व्यवस्थित बनाउने, यहाँका जलवायु परिवर्तनका असर कम गर्नेदेखि कसरी उत्पादन बढाउनेसम्म, पर्यटन र ऊर्जामार्फत गर्न सकिने विकासलाई प्रतिवद्धतापत्रमा हेरेर मत दिने विश्वास जगाएका छन्,’ उनले भने, ‘मतादाता कुनै दलको बहकाउमा होइन, आफ्नै विवेक प्रयोग गरेर हाल्छन् भन्ने बुझाएका छन् ।’

बेलायतको एडिनबर्ग विश्वविद्यालय–व्यवस्थापन विद्यालयको १०० वर्षको इतिहासको उत्कृष्ट १०० भूतपूर्व विद्यार्थी परेका कुशलले नेपाल फर्किएर जलवायु परिवर्तन र ऊर्जाका क्षेत्रमा सरकारसँग मिलेर काम गरिरहेका थिए । जेनजी आन्दोलनपछि कुलमान घिसिङको नेतृत्वमा राजनीतिमा होमिँदै कास्की–२ मा उम्मेदवारी दिएका छन् ।

 

पोखरा, १० फागुन ।

निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ ।

बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

पोखरा, १० फागुन ।

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने सिलाई कटाई तालिम आइतबारदेखि शुरु भएको छ । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेशको आयोजना एवम् लेखनाथ उद्योग वाणिज्य संघको समन्यमा तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीहरुलाई कसरी सफल बनाउने र नयाँ उद्यमी व्यवसायीहरु उत्पादन गर्ने विषयमा संघ सँधै चिन्तनशिल रहेको वताउँदै तालिममा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्दै स्वरोजगार हुन आग्रह गरिन ।

कार्यक्रममा व्यवसायिक सीप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदीले तालिम लिएपछि व्यवसाय गर्नुपर्छ भन्ने कुरामा केन्द्रले जोड दिंदै आइरहेको वताउँदै सीप सिकेर स्वरोजगार हुने कुराले आफुहरुलाई उत्प्रेरणा मिल्ने वताएका थिए । सुवेदीले  यस क्षेत्रको आवश्यकताको आधारमा माग गरे बमोजिमको तालिम लेखनाथमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस्तै लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्धमी बन्ने अभिलाषाका साथ तालिममा सहभागी भएका सम्पुर्णलाई शुभकामना व्यक्त गरेका थिए ।

३ महिनासम्म सञ्चालन हुने तालिमकी प्रशिक्षक ममता बस्यालले नियमित रुपमा सहभागि भई भोलीका दिनमा व्यवसायी बन्ने सोचका साथ ध्यान दिन र मेहनत गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन । तालिम लिनको लागि आबेदन दिएका ५० जना भन्दा वढि मध्येबाट २१ जनालाई छनोट गरि तालिमको सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए ।

उद्यमी व्यवसायीहरुका लागि उद्यम क्लिनिक

लेखनाथ उद्योग वाणिज्य संघमा व्यवसायीहरु एवम् उद्यमी हुन चाहनेहरुका लागि उद्यम क्लिनिक सञ्चालन गरिएको छ ।
पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजना र संघको समन्वयमा आइतबार कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले उद्यमी व्यवसायीहरुका आफ्ना व्यवसाय सञ्चालनका क्रममा आइपर्ने विभिन्न समस्याहरुको निराकरणको लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै आफना समस्याहरुलाई निर्धक्कका साथ राख्न आग्रह गरेकी थिईन । अध्यक्ष पराजुलीले उद्यम क्लिनिक सञ्चालनले निजी क्षेत्रका समस्या समाधानमा सहयोग पु¥याउने र समग्र व्यावसायिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी थिईन ।

उक्त अवसरमा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले उद्यममा देखिने अवरोध वा ‘रोग’ पहिचान गरी समाधान गर्दै स्वस्थ बनाउने उद्देश्यका साथ क्लिनिकको सञ्चालन गरिएको वताएका थिए ।

प्रमुख अधिकारीले व्यवसाय प्रवद्र्धन केन्द्रले यसअघि पनि सोही प्रकृतिको काम गर्दै आए पनि निजी क्षेत्रसँग अझ बढी सामिप्यता बढाउनको लागि यो क्लिनिक सुरु गरिएको जानकारी दिए । सो अभियानमा सहकार्य गरेको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले व्यवसाय प्रवद्र्धन केन्द्रले प्रवाह गर्ने सेवाबारे जानकारी गराएका थिए ।

पोखरा, १० फागुन ।

पर्यटनको राजधानी पोखरामा ठूलो संख्याका सहभागी अट्ने कार्यक्रम गर्ने हल वा सम्मेलन केन्द्र छैन । सहभागी धेरै भएमा खुल्ला चौरमा कार्यक्रम गर्नुपर्छ । यसबीच कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले आफूले जितेपछि पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न पहल गर्ने बताएका छन् ।

पोखरा महानगरपालिका–२६ का मतदातासँग भेटघाटको क्रममा आइतबार उनले एउटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन आफू र पार्टीको जोड रहेको बताए । पोखरा–२६ कै सिलिङेमा उक्त केन्द्र बनाउनेबारे सोच बनिरहेको उनको भनाइ थियो । ‘पोखरामा एक हजार जना राखेर कार्यक्रम गर्ने सम्मेलन केन्द्र छैन । अन्तर्राष्ट्रिय स्तरको हल बनाउन पाए भन्ने मलाई लागेको छ,’ उनले थपे, ‘त्यो कति सम्भव हुन्छ, कति हुँदैन । म त्यसमा मिहिनेत गर्छु ।’

आफूले कास्की १ का सडक, विद्यालय, स्वास्थ्य, सिँचाइको विकास चरण, हालको समस्या सबै बुझेकाले काम गर्न सहज हुने उनको भनाइ थियो । विद्यालयको पूर्वाधार विकास र स्तरोन्नति, खानेपानी समस्या समाधानमा आफ्नो ध्यान जाने उनको भनाइ थियो ।

पोखराको औद्योगिक विकासका लागि औद्योगिक ग्राम बनाउन पहल गर्ने उनले सुनाए । ‘कोरला नाका खुलेको छ । कालीगण्डकी करिडोरबाट गाडीहरु लुम्बिनीतिर गएका छन् । पोखरामा औद्योगिक ग्राम बनाउन सकियो भने गाडीहरु पोखरामा आएर लुम्बिनी, काठमाडौँ जान सक्छन्,’ उनले भने । यसले पोखरामा आर्थिक गतिविधि चलायमान हुने उनको विश्वास छ ।

एमालेकै पहलमा कास्की–१ ले पूर्वाधार निर्माणमा निकै ठूलो फड्को मारेको उनले जिकिर गरे । अब कालोपत्रे नभएको ठाउँमा गर्ने, कालोपत्रे भएका ठाउँमा स्तरोन्नति गर्नेमा आफ्नो ध्यान जाने उनले बताए । एमालेले सोमबार पोखरा–१४ मा घरदैलो तथा भेटघाट गर्ने तालिका छ ।

पोखरा, १० फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीनिर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आगामीप्रतिनिधिसभानिर्वाचनलाई लक्षितगर्दै आफ्नोवाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमाशिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमिअधिकार, सुशासनतथापूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।

वाचापत्रअनुसार विद्यालयशिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथाप्रत्येक पालिकावा१० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुनाविद्यालयविकास गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा सबै स्वास्थ्य संस्थाबाट निःशुल्कउपलब्ध गराउने, स्वास्थ्यबीमामा सबैको आबद्धता सुनिश्चित गर्ने तथा ‘स्वस्थ नेपाल’अभियानलाई प्रवद्र्धन गर्ने उल्लेख छ।

पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधाउपलब्ध गराउने, पदमार्ग संरक्षण ऐन जारी गर्ने तथाकास्कीकाप्रमुखताल र पर्यटकीय गन्तव्यलाई जोड्ने “इको–टुरिज्म सर्किट” विकास गर्ने योजनावाचापत्रमा समेटिएको छ।
‘अबको किसान को?’ कार्यक्रमलागू गर्दै अर्गानिक, बायो–डायनामिक र पर्माकल्चर कृषिको प्रवद्र्धन गर्ने, बिचौलिया रहितकिसानबजार स्थापना गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी नयाँउद्योग दर्ता तथाखारेजीमाएकद्वार प्रणाली लागू गर्ने, स्टार्टअप तथा सानाउद्योगलाई वित्तीय सहुलियत र मार्गदर्शन उपलब्ध गराउने तथा रोजगारी पोर्टल र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।
भूमिस्वामित्वलाई नागरिकको आधारभूतअधिकारका रूपमा स्थापित गर्ने, भूमिहीनदलित र सुकुम्बासीको भूमिअधिकार सुनिश्चित गर्ने तथाअव्यवस्थितबसोबासको समस्या समाधान गर्ने योजनावाचापत्रमाउल्लेख गरिएको छ।
ग्रामीण सडक स्तरोन्नति र कालोपत्रे, ‘युटिलिटी डक्ट’ प्रणालीमार्फत सडक पटक–पटक खन्ने समस्या समाधानतथापोखरा–त्रिवेणी र पोखरा–कोरला सडक विस्तारको पहल गर्ने योजना समावेश गरिएको छ।

वातावरण संरक्षणतर्फ वैकल्पिकखानेपानीमुहान, नदी, ताल र वन संरक्षणमा स्थानीय सहभागिता बढाउने तथाफोहोर व्यवस्थापनमाचक्रीय अर्थतन्त्र मोडल लागू गर्ने उल्लेख छ।

सुशासनकालागि सरकारी सेवाको पूर्ण डिजिटाइजेशन, प्रत्येक ६ महिनामा वडा–स्तरीय जनभेला र बजेटको एक हिस्सामानागरिक सहभागितासुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
उम्मेदवार पौडेलले वाचापत्र सार्वजनिकगर्दै कास्की–१ लाई सुशासन, दिगो विकास र नागरिक अधिकारको नमुना क्षेत्र बनाउने लक्ष्यका साथआफू अघि बढेको बताएका छन्। विकास, सामाजिकन्याय र युवामैत्रीकार्यक्रमलाई प्राथमिकतामा राख्दै सार्वजनिक गरिएको बाचापत्रमाविशेषगरी खेलकुदपूर्वाधार विस्तार र विभेदविरुद्ध प्रभावकारी संयन्त्रनिर्माणका विषय समेटिएका छन्।

बाचापत्रअनुसार पोखरामा रहेको रंगशालाको स्तरोन्नति गरिने, निजीतथा सामुदायिक स्तरमा सञ्चालनभइरहेका स्पोट्र्स एकेडेमीलाई अनुदानउपलब्ध गराइने तथाप्रत्येक १० हजार जनसंख्याकाबीचमा एक खेल मैदाननिर्माण गर्ने लक्ष्य राखिएको छ। यसबाट युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र अनुशासित समाजनिर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

त्यसैगरी सामाजिकतथा राजनीतिकन्यायअन्तर्गत विभेद सम्बन्धीउजुरीको छिटो सुनुवाइकालागि द्रुत सहायता डेस्क स्थापना गर्ने, सबै क्षेत्र र निकायमा सीमान्तकृत समुदायको प्रतिनिधित्वको अनुगमन गर्ने र लैङ्गिकतथा सामाजिक हिंसाका घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरिने उल्लेख गरिएको छ। पीडितको उपचार, पुनस्र्थापना र जीवनयापनमा समेत सहयोग गर्ने व्यवस्था गरिने पौडेलको प्रतिबद्धता छ।

उम्मेदवार पौडेलले बाचापत्रलाई “कागजी घोषणा मात्रनभई कार्यान्वयन गर्ने प्रतिवद्धता” भएको बताउँदै जनताको विश्वासलाई व्यवहारिक परिणाममार्फत प्रमाणित गर्ने दाबी गरेका छन्।
रास्वपाले सम्पूर्ण बाचापत्र डिजिटल माध्यममार्फत समेत सार्वजनिक गरेको छ। कास्की–१ का मतदातालाई बाचापत्रअध्ययन गरी सुझावदिन र कार्यान्वयनमा साथदिनसमेत आग्रह गरिएको छ।

पोखरा, १० फागुन ।

पोखरास्थित ल्यासएक्सटेन्ड एसपीएमयू स्टुडियो तथा डियर स्किनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा नयाँ भवनबाट सेवा सुरु गरेको छ। यसअघि लेकसाइडमा सेवा दिँदै आएको स्टुडियो अब नागढुंगामा स्थानान्तरण भई शनिवार औपचारिक उद्घाटनसमेत सम्पन्न गरेको छ।

कार्यक्रममा अभिनेता धिरज मगरको विशेष उपस्थिति रहेको थियो। साथै, लाइभ म्युजिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा विभिन्न अतिथि, शुभेच्छुक तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

चार वर्षअघि स्थापना गरिएको उक्त स्टुडियोले पोखरामा सौन्दर्य तथा स्किन केयर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। नयाँ भवनबाट सेवा सुरु भएसँगै अझ प्रभावकारी, व्यवस्थित तथा ग्राहक–मैत्री सेवा प्रदान गर्ने लक्ष्य लिइएको जनाइएको छ।

स्टुडियोकी संस्थापक तथा प्रोपाइटर अरुणा गुरुङ अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित एसपीएमयू आर्टिस्ट हुन्। हालै उनले दक्षिण कोरियाको बुसानमा आयोजित २०औँ अन्तर्राष्ट्रिय बडी आर्ट प्रतियोगितामा एसपीएमयू विधामा प्रथम स्थान हासिल गर्दै नेपालका लागि ऐतिहासिक सफलता प्राप्त गरेकी छन्।

कार्यक्रममा गुरुङले आधुनिक उपकरण, उच्च स्वच्छता मापदण्ड तथा व्यावसायिक सेवालाई प्राथमिकतामा राखेर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिने बताएकी छन्। उनले पोखराबाटै अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताइन्। साथै, महिला उद्यमशीलतालाई प्रोत्साहित गर्ने उदाहरणका रूपमा स्टुडियो संचालन भइरहेको बताइन् । 

 
 
पोखरा, १० फागुन ।
 
गण्डकी प्रदेश सरकारले आसन्न निर्वाचनको सन्दर्भमा बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्न निर्देशन जारी गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचार–प्रसार, सभा, जुलुस, र्‍याली तथा अन्य राजनीतिक कार्यक्रमहरूमा बालबालिकाको संलग्नता गराउन नहुने स्पष्ट पारेको हो।
 
मन्त्रालयका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ ले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको छ। त्यस्तै, निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन आयोग ऐन, २०७३ ले समेत बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गरे कानुनी कारबाही हुने व्यवस्था गरेको उल्लेख गरिएको छ। कानुन उल्लंघन गर्ने व्यक्ति वा समूहलाई जरिवाना, कैद तथा उम्मेदवारी रद्दसम्म हुन सक्ने चेतावनी दिइएको छ।
 
प्रदेश बालअधिकार समितिको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा बालबालिकाको दुरुपयोग रोक्न सरोकारवाला निकायहरूबीच समन्वय र सचेतना अभिवृद्धि गरिने जनाइएको छ। मन्त्रालयले बालबालिकाको संवैधानिक तथा मौलिक अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबै राजनीतिक दल, उम्मेदवार, अभिभावक तथा नागरिक समाजलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
 
विज्ञप्तिमा भनिएको छ, “निर्वाचन लोकतन्त्रको उत्सव हो, तर यो उत्सव बालअधिकारको उल्लंघनको माध्यम बन्नु हुँदैन।” त्यसैले चुनावी सभामा स्वागत, सम्मान, सांस्कृतिक कार्यक्रम, जुलुस वा कुनै पनि प्रकारको राजनीतिक गतिविधिमा बालबालिकाको सहभागिता शून्य बनाउने वातावरण निर्माण गर्न मन्त्रालयले अपिल गरेको छ।
 
मन्त्रालयका महाशाखा प्रमुख हरि बहादुर खपाङीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा बालबालिकाको अधिकार संरक्षणमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ। गण्डकी प्रदेश सरकारले निर्वाचनलाई स्वच्छ, मर्यादित र बालमैत्री बनाउन यो कदम चालिएको स्पष्ट पारेको छ।
पोखरा, १० फागुन ।
 
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले आफ्नो प्रचारप्रसार अभियान अन्तर्गत पोखरा  महानगरपालिका वडा नम्बर २९ का विभिन्न टोल तथा आमा समूहहरूमा भेटघाट तथा सुझाव संकलन गरेका छन्। 
 
पोखरा २९ अन्तर्गत विभिन्न युवा क्लब आमा समूह तथा स्थानीय मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उम्मेदवार तिलक रानाभाटले लेखनाथ रङ्गशालाको निर्माण पूरा गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। उनले अत्यन्तै सम्भावना बोकेको लेखनाथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन आफूले चुनाव जिते पश्चात पहिलो प्रस्ताव राष्ट्रिय स्तरको रङ्गशालाको पुरा प्याराफिट सहितको रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
 
पोखरा महानगरपालिका वडा नम्बर २९ घरेलु तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत पुलचोक पटनेरी नवदुर्गामा समूह आमा मिलन समूह १५ साल आमा समूह नौबिसे टोल नयाँ बस्ती भण्डारी लगायतका स्थानहरूमा भेटघाट तथा सुझाव संकलन सम्पन्न भएको हो। 
 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीले सचिएको र सुधारिएको नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने र विकास र समृद्धिको ढोका खोल्ने उद्घोष गरेका छन् । सोही कार्यक्रममा महाधिवेशन प्रतिनिधि सुरजंग राणा, नेपाल तरुण दलका केन्द्रीय सदस्य सागर गुरुङ, क्षेत्रीय सदस्य सनबहादुर गुरुङ, स्थानीय नेताहरू चन्द्रावती पौडेल, किरण भण्डारी, बिन्दु भण्डारी, दिलकुमारी गुरुङ, कमल बहादुर गुरुङ, मनसुन गुरुङ, टिका गुरुङ, दयराज भण्डारी, विद्यार्थी नेता रसिसहरी भण्डारी, राजीव भण्डारी, राजन भण्डारी लगायतले उम्मेदवार रानाभाटलाई विजयको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए। 
 
कार्यक्रम नेपाली कांग्रेस पोखरा २९ का कार्यभाग सभापति चिनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले जानकारी दिए।
पोखरा, १० फागुन
 
“स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबको प्रवास शाखालाई स्वागत तथा सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले खादा र सम्मानपत्रले स्वागत तथा सम्मान गर्नुभएको हो ।
 
सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष गुरुङले खेलकुद विकासमा सहारा युकेले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि खेलको विकासमा सँगै हातेमालो गरेर अघि बढ्ने भनाइ राख्नुभयो ।

 
कार्यक्रममा तमु धिं युकेका अध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरू असहज नहोस् भन्ने उद्देश्यले सहकार्यलाई थप मजबुत बनाइने बताउनुभयो । उहाँले युकेमा बसोबासदेखि लिएर खेलाडीहरूलाई घुमाउने गरेको स्मरण गर्दै विगतका समयमा पनि तमु धिं युकेले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाउनुभयो । उहाँले नेपाली खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्न हातेमालो गर्दै अघि बढ्ने वातावरण तयार गरिने उल्लेख गर्नुभयो ।
 
सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्य र सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव परशुराम शर्माले पनि बोल्नुभएको थियो ।
 
 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।