२०८३ बैशाख १० बिहीबार
२०८३ बैशाख १० बिहीबार

४३ लाख नागरिकलाई सेवा, कर्मचारी र साझेदार सम्मानित
पोखरा, १८ फागुन ।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वि.सं. २०४९ (सन् १९९३) मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले दिइन् ।

समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको साथ खोजे भने उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले पोखरा–१७ का बासिन्दालाई दर्ता शुल्क निःशुल्क गर्ने घोषणा गरे । महासचिव भरतबहादुर चन्दले सेवा विस्तारको आवश्यकता औँल्याए ।

अस्पतालले उत्कृष्ट कर्मचारीका रूपमा डा. अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मानित ग¥यो । विभागतर्फ ‘जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिट’ पुरस्कृत भयो । यस्तै, लामो समय योगदान दिने कर्मचारीहरू गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडु, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दिप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाही सम्मानित भए ।

अस्पतालका साझेदार संस्थाहरू आई केयर फाउन्डेसन, कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन, व्यावसायिक महिला क्लब पोखरा, रोटरी क्लब अफ पोखरा फिस्टेल, मुटु फाउन्डेसन काठमाडौँ, युवा बौद्ध संघ पोखरा, कर्मा फ्लाइट्स र रिडले आई फाउन्डेसनलाई पनि प्रशंसापत्र प्रदान गरियो ।

डा. बबिता गुरुङका अनुसार सन् २०२५ मा मात्रै २ लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा अहिले १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेको बताए ।

समारोहमा आई केयर फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली, संघका केन्द्रीय सदस्य डा. नन्द श्रेष्ठ, बिजिनेस एण्ड प्रोफेसनल वुमन ग्रुपकी प्रतिनिधि हरिमाया शर्मा, कादुरीका क्याप्टेन राजन राई, गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्रवणकुमार जोशी र कर्मचारी गोविन्दनाथ योगीले अस्पतालको शैक्षिक र उपचार सेवाको प्रशंसा गरे ।

सो अवसरमा नेत्र सहायक धर्मेन्द्रकुमार घोडासैनीले कविता प्रस्तुत गरेका थिए । अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र २ वटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ ।

 

पोखरा, १८ फागुन ।

प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले भरतपोखरीको मनिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् ।

चुनाव प्रचारको क्रममा (आज) सोमबार पोखरा–३३ को मनिनाथ मन्दिरमा लागेको फागुपूर्णिमा मेलाको अवलोकन गर्दै उनले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मनिनाथ मन्दिर विकास समितिका अध्यक्ष शिव बहादुर थापाले मन्दिरमा जाने बाटो, मन्दिरको भौतिक विकास, खानेपानी लगायतका समस्याहरु उम्मेदबार बास्तोला समक्ष राखेका थिए ।

त्यसैगरी उम्मेदवार बास्तोलाले पोखरा–३३को सहरेतरामा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै स्थानीयका मागहरु खनेपानी, ढल निकास, सडक, समाज घर लगायतका बारेमा सम्बोधन गर्दै उनीहरुका मागलाई विस्तारै पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै उम्मेदवार बास्तोलाले काँग्रेस सुध्रिएको र अव देश बदल्ने योजनाका साथ युवालाई सभापति बनाएको काँग्रेसले नेपाली जनताका हरेक सुखदुःखमा साथ दिने बताए । राणकालदेखी प्रजातन्त्रका लागि लड्दै आएका काँग्रेसको इतिहास महत्वपूर्ण रहेको बताउँदै उनले वर्तमान संविधान संशोधन गरेमात्र कुनै एक पार्टीको एकमाना सरकार बन्न सक्ने हुँदा सबै पार्टी मिलेर संविधान संशोधन गर्न आवश्यक देखिएको भनाई उनको छ ।

त्यसैगरी पोखरा–३३ छत्ल्याङमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार बास्तोलाले गाउँको सडकको स्तरोन्नति, सेती नदीमा पुल, खानेपानीका समस्या हल गर्ने कार्यमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले यस क्षेत्रका भूमिहीन तथा अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्दै लालपूर्जा दिलाउने काममा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उम्मेदवार बास्तोलाले आज भरतपोखरीको कालिका चोकबाट सुरु गरिएको चुनावी ¥यालीमा सहभागी भई उनीहरुलाई साथ दिनुको साथै मतदाताको सुझाव संकलन गरेका थिए । पोखरा–२१ निर्मलपोखरीमा समाजसुधार आमा समुहले गरेको सवागत कार्यक्रममा पुगी उनीहरुका सुझावहरु संकलन गरिएको जानकारी उम्मेलवार बास्तोलाका निजी सचिव सूर्य घिमिरेले जानकारी दिए । साथै उम्मेदवार बास्तोलाले आमा समुहले उठाएका मागहरु खनेपानी, सडक लगायतका समसया पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त स्थानमा भएको चुनावी कोण सभामा बोल्दै उम्मेदवार बास्तोलाले विषम परिस्थितिमा हुन लागेको निर्वाचन अत्यन्तै महत्वपूर्ण भएकाले मतदान गर्दा विचार पु¥याउन आग्रह गरे । साथै उनले नेपाली काँग्रेस राणकालदेखि नै प्रजातन्त्रका लागि लड्दै आएको पार्टी भएकाले देश कमजोर भएको बेला काँग्रेसले मात्र देश बचाउन सक्ने बताए ।

पोखरा, १८ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले फागु पूर्णिमाको अवसर पारेर मतदातासँग होली मनाएका छन् । सो अवसरमा उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न आफूलाई अवसर दिन मतदातासँग आग्रह गरेका छन् । उनले विकासका मुख्य बाधकका रूपमा भ्रष्टाचारलाई औंल्याउँदै कडा नीति–कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत देशलाई सही दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा आयोजित मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार आचार्यले राजनीतिको मूल सफा नभएसम्म समृद्धिको अभियान सफल नहुने उल्लेख गरे । ‘मुल धमिलो हुँदा सबै धमिलो हुन्छ,’ उनले भने, ‘त्यसैले देशलाई दिशानिर्देश गर्ने राजनीतिको मूल सफा पार्न म उम्मेदवार बनेको हुँ ।’

उनले सुशासन विना समृद्धि सम्भव नहुने बताउँदै नीति निर्माणका तहमा इमान्दार र दृढ अडान आवश्यक रहेको धारणा राखे । भ्रष्टाचारको समूल अन्त्य गर्ने जनआकांक्षा विशेषगरी युवापुस्तामा प्रकट भएको उल्लेख गर्दै उनले त्यसलाई आफूले प्रमुख एजेन्डाका रूपमा अघि सारेको बताए । आचार्यले विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनले मुलुकलाई राष्ट्रिय संकटबाट पार लगाउने जिम्मेवारी बोकेको उल्लेख गरे ।

नियमित कार्यकाल पूरा नहुँदै संसद् विघटन भई समयअघि निर्वाचन हुन लागेको सन्दर्भ जोड्दै उनले मतदातालाई देश र विकास सम्झेर मत दिन आग्रह गरे । ‘देशलाई ठग्न खोज्नेहरू ठूलो स्वरमा बोलिरहेका छन्, तर देश बनाउनेहरू अठोटका साथ अघि बढिरहेका छन्,’ उनले भने, ‘अबको जनमतले विकास र जिम्मेवार नेतृत्वको पक्षमा फैसला गर्नुपर्छ ।’

सहकारी लगायतका क्षेत्रमा देखिएका ठगी प्रकरणबारे संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै उनले जनताका समस्यालाई नीतिगत समाधानतर्फ लैजानेमा उनको जोड छ । ‘देशलाई घात गर्ने र जनतालाई बेइमानी गर्नेहरूका विरुद्धमा दृढतापूर्वक आवाज उठाउनेछु,’ उनले थपे–‘कास्की र देशको शिर ठाडो पार्ने गरी जनताको मत र अभिमतको सम्मान गर्दै संसदमा तपाईंहरूको आवाज गुन्जाउनेछु ।’

निर्वाचित भएपछि नियमित रूपमा जनतासँग संवाद गर्ने, वडास्तरसम्म पुगेर सुझाव संकलन गर्ने र जनमैत्री कानुन निर्माणमा सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘सबैको साथ, सबैको विकास र जीवनसँग जोडिएको विकास अभियान’लाई सार्थक बनाउने आफ्नो लक्ष्य रहेको आचार्यले दोहो¥याए ।

पोखरा, १८ फागुन ।

पोखरा मालेपाटनमा रहेको श्री बाराही माविका पूर्वविद्यार्थीले शिक्षकहरुको सम्मान गरेका छन् । वि।सं। २०३६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीको समूहले आफूलाई अध्यापन गराउने शिक्षकहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेका हुन् ।

विद्यालय परिसरमा आइतबार आयोजित सम्मान कार्यक्रमको उद्घाटन पूर्वविद्यार्थी समूहका अगुवा कपिलनाथ कोइरालाले गरेका थिए । सो अवसरमा बोल्दै पूर्वविद्यार्थी कोइरालाले वैदिक संस्कृतिको अनुयायी भएको नाताले शिक्षकहरुको सम्मान गर्नु आफ्नो कर्तव्य भएको बताए । शिक्षकहरुले दिएको शिक्षाका कारणले जीवनमा अगाडि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो । कार्यक्रममा सम्मानितहरुको तर्फबाट मन्तव्य राख्दै पूर्वशिक्षक हेरम्बप्रसाद कोइरालाले तत्कालिन समयमा बाराही माविले यस क्षेत्रको शिक्षाको विकासमा गरेको योगदानको चर्चा गरेका थिए । उनले समाजको विभिन्न क्षेत्रमा क्रियाशील रहेका पूर्वविद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई सम्झेर सम्मान गर्दा भावुक बनेको बताए ।

कार्यक्रममा बाराही माविका पूर्वशिक्षकहरु हेरम्वप्रसाद कोइराला, बालकृष्ण अधिकारी, शिवप्रसाद अधिकारी, लक्ष्मीप्रसाद बराल, शोभा प्रधान र टिका हमाललाई सम्मान गरिएको थियो । एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरुले टिका, माला र दोसल्ला ओढाएर शिक्षकहरुको सम्मान गरेका थिए । सो अवसरमा शिक्षकहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्वविद्यार्थीहरु कृष्णकुमारी पहारी, राजेन्द्र लिगल, प्रेम गिरी, बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले पनि मन्तव्य राखेका थिए । सम्मान कार्यक्रमका संयोजक पूर्वविद्यार्थी पुष्पराज बरालको सभापतित्वमा भएको कार्यक्रमको संचालन पूर्वविद्यार्थी केदारनाथ बरालले गरेका थिए । सो कार्यक्रममा एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरु तथा बाराही माविमा हाल अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

काठमाडौँ, १८ फागुन।

मौन अवधिसँगै सामाजिक सञ्जालमा राखिएका प्रचार सामाग्री हटाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन्। सोमबार राति १२ बजेदेखि सुरु हुने मौन अवधिलाई पालना गराउन भण्डारीले दल, उम्मेदवारहरुले सामाजिक सञ्जालमा गरेको प्रचार हटाउनुपर्ने बताएका हुन्।

न्युज एजेन्सी नेपालसँगको संवादमा भण्डारीले राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री राख्न नपाउने बताएका हुन्।

उनले प्रचार प्रशार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारवाही हुने चेतावनी दिए।

‘जहाँसम्म सामाजिक सञ्जालका पेचिला सवालहरु आए, हामी शुरुदेखि नै यसमा सचेत छोँ । कसैले समाजिक सञ्जाललाई गलत ढंगले परिचालन गरेर आफ्नो निश्चित उदेश्य पूरा गर्नको लागी सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुभएको छ भने त्यो हटाईदिनुस् भनेर हामीले पटकपटक आग्रह गरेका छौँ, भण्डारीले अगाडि भने, ‘मौन अवधीको समयमा झन त्यस्ता सामाग्रीहरु प्रकाशन भयो भने त्यो स्रोतको खोजी गरेर, कहाँबाट त्यो प्रवाह भएको छ, त्यो स्रोतलाई नै कारबाही गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

आयोगले बुधबार हुने चुनावका लागि फागुन ४ गतेदेखि १८ गते सम्म प्रचारप्रसार अविध तोकेको थियो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान केन्द्र रहेको स्थान वरिपरि शान्ति भंग गर्ने वा निर्वाचन वातावरण बिथोल्ने गतिविधि गरे प्रचलित कानूनअनुसार कारबाही गरिने जानकारी चेतावनी दिए।

यो अवधिमा सार्वजनिक भोज भतेर गर्न, नाचगान, जुलुस प्रदर्शन, सभा, समारोह गर्न तथा होहल्ला गर्न पाइनेछैन । भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने गरि शान्ति भंग गर्ने कुनैपनि गतिविधि भए संलग्नमाथि कारवाही हुने आयोगले जनाएको छ ।

पोखरा, १८ फागुन ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ८६५ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

यस्तै, निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन्। आजसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन्।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले कार्यविधिअनुसार खाता खोल्न भनिएको छ। निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिने र खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ। यही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन्।

काठमाडौं, १८ फागुन ।

इरानबाट गरिएको ड्रोन आक्रमणका क्रममा जायद अन्तर्राष्ट्रिय विमानस्थल मा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ उक्त घटनामा ज्यान गुमाएका हुन्।

युएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारीअनुसार ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको दुःखद निधन भएको हो। राजदूतावासले परिवारसँग सम्पर्कमा रहेको जनाएको छ।

 

एजेन्सी, १८ फागुन ।

पाकिस्तानमा आइतबार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ । अन्य १ सय भन्दा बढी घाइते भएका हुन् । कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए ।

प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धले जनाउको हो । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याइएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको रेस्क्यु ११२२ सिन्धका प्रवक्ता हसन उल हसीवले बताउनुभयो ।

अमेरिकी दुतावास इस्लामावादले एक विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दुतावासहरू तथा इस्लामाबादको दुतावास र पेशावरको वाणिज्य दुतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ । यसले पाकिस्तानमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरूको निगरानी गर्न, आफ्नो वरपर सजग रहन, भीड(भाडबाट टाढा रहन र दर्ता अद्यावधिक राख्न सल्लाह दिएको छ ।

यी प्रदर्शनहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या पछिको प्रतिक्रियाका रूपमा भएका हुन् । गत शनिबार अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनीको हत्या भएको थियो । लाहोरमा सयौं कार्यकर्ताहरू अमेरिकी वाणिज्य दूतावास बाहिर जम्मा भएका थिए । जहाँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । इस्लामावादमा अधिकारीहरूले सेक्सन १४४ लागू गरेका छन् ।

जसले सबै प्रकारका भेलाहरूमा प्रतिवन्ध लगाएको हो । उल्लङ्घनकर्ताहरूमाथि कडा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर
काठमाडौं, १८ फागुन।

प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले देशवासीलाई सोमबार सम्बोधन गर्ने क्रममा इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटप्रति सरकारले गम्भीर रहेको बताउनुभएको हो ।

उहाँले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सुक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । उहाँले रोजगारी तथा अन्य सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली दाजु(भाइ, दिदी(बहिनी र युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको बताउनुभएको छ ।

संकटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै उहाँले नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न वर्तमान सरकार पूर्ण रूपमा कटिवद्ध रहेको आश्वासन दिनुभएको छ ।प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र दुतावास तथा कुटनीतिक नियोगको सम्पर्कमा रहन पनि आग्रह गर्नुभयो ।

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यहि फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको छ । देशवासीको नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको हो ।

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको बताउनुभयो । उहाँले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताउनुभएको छ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई कडा निगरानीमा राखेको चेतावनी दिनुभयो । मुलुकमा कुनैपनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानून बमोजिम कडा कारबाही गर्न पछि नहट्ने उहाँको चेतावनी छ ।

काठमाण्डौँ, १८ फागुन।

रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । घिमिरे मन्थली नगरपालिका ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितिय शिक्षक हुन् ।

रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको मिनिट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिए ।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।

मुस्ताङमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको दुर्घटना

प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका ३२ वर्षीय सुनिल घतानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार आइतबार राति करिब ८ बजे दुर्घटनामा गम्भीर घाइते भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि घतानेको शव मुस्ताङ अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घताने प्रतिनिधिसभा निर्वाचनका लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा खटिएका थिए। उनी जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा कार्यरत रहेको बताइएको छ।

निर्वाचनको संवेदनशील समयमा खटिएका कर्मचारीको आकस्मिक निधन भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाइसकेको जनाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा भएको यस घटनाले मुस्ताङमा शोकको वातावरण सिर्जना गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।