२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

पोखरा, २८ फागनु ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एकदिवसीय छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन्।

गण्डकी प्रदेश क्रिकेट संघद्वारा विहिबार आयोजना गरिएको प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एक दिवसीय छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, एकता, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए। मन्त्री थापाले क्रिकेट आज नेपाली युवाहरूको सबैभन्दा लोकप्रिय खेलको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवाहरूमा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले यस्ता प्रतियोगिताहरूले प्रदेशभित्र रहेका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय टिमसम्म पुग्ने आधार तयार गर्ने बताए। गण्डकी प्रदेशमा रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउन यस प्रकारका छनोट प्रतियोगिताहरू अत्यन्त आवश्यक रहेको भनाई उनको छ ।
मन्त्री थापाले गण्डकी प्रदेश सरकार खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। प्रदेशका विभिन्न स्थानमा खेल मैदान निर्माण, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने प्रयास निरन्तर भइरहेको उनले सुनाए ।

गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले गण्डकी प्रादेशिक क्रिकेट संघ क्रिकेटको विकासका लागि सक्रिय रहेको बताए । नेपाली क्रिकेट खेलाडीहरु विश्वकपमा नै पुग्नु सुखद भएको भनाई उनको छ । क्रिकेटको स्तरोन्नतिका लागि सरकारबाट बजेटको राम्रो व्यवस्थापन हुन सके भविष्य राम्रो भएको उनले बताए ।

पोखरा, २८ फागुन ।

नेपाल पत्रकार महासंघको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ । “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ मनाइएको ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले अबको युगमा छोरीलाई संरक्षण सहितको होइन प्रगतिशील मायाको आवश्यक रहेको बताउनुभयो । महिलालाई समान अधिकार र पहुचका लागि वंशिय र अंशिय अधिकारका लागि बनेका नीति नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनु पर्ने औल्याउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चत भई सकेको अवस्थामा अव महिलालाई कानुनको बारेमा शिक्षा र आर्थिक रुपमा माथि उठ्न आवश्यक रहेको बताउनुभयो । उहाँले महानगरपालिकाले न्यायमा पहुँच वढाउन महिला पुरुष समसचेतना कार्यक्रम सहित आर्थिक शशिक्तकरणका लागि उपप्रमुख संग महिला कार्यक्रम संचालन गरेको बताउनु भयो ।

गण्डकी प्रदेशका प्रेस राजिष्टार बिमला भण्डारीले हरेक क्षेत्रका महिलाको आन्दोलनले नै महिलालाई अधिकार दिलाएको बताउदै आवाज उठाउन छोड्न नहुने बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्र्तौलाले महिलाहरुले आफ्नो शिक्षित र संक्षम बनाउदै लागे अर्थपुर्ण सहभागिता सुनिश्चित हुदै जाने बताउनु भयो।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला महिला विचको एकता र उद्यमशिलताको विकासलेनै महिलाका हक र अधिकार प्राप्त हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा,  टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डे, गैह्र सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी लगाएतले आफ्नो धारण राखे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन महिला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कञ्चन थापाले गर्नुभएको थियो ।

पोखरा, २८ फागनु ।

बैवाहिक जीवनको पच्चिस बर्ष पुरा भएको अवसरलाई मानव सेवामा रुपान्तरण गर्दै यहाँका एक जना सञ्चारकर्मीले पोखरा वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकको लागि भोजनको व्यवस्था गरेका छन् । नेपाल टेलिभिजन पोखरा समाचार दाता गिरिधारी पोखरेलले आप्mनो वैवाहिक बर्षगाँठ वृद्धाश्रमका बुवाआमासंग मनाएका हुन ।

सामान्यतया यस्ता खुशीका क्षण तारे होटल वा औपचारिक कार्यक्रम मार्पmत मनाइने प्रचलन बढि रहेको वर्तमान अवस्थामा शर्माले त्यस्तो फजुलखर्च कटाएर समाजका असहाय र विपन्न जेष्ठ नागरिकसंग खुशी साट्ने निर्णय गरेको बताए । श्रीमती लक्ष्मी, छोरा सुमित र छोरी समृद्धि पोखरेल तथा दाजु ऋषिराम पोखरेलले आश्रममा आश्रित जेष्ठ नागरिकलाई खानाको व्यवस्था गरेका थिए ।

समाजका विपन्न्न एवम् असहाय जेष्ठ नागरिकको पालनपोषण गर्ने मुख्यलक्ष्यका साथ २०५२ सालमा स्थापना भएको आश्रममा हाल सेवक सेवीका सहित४५ जनारहेको पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिए ।
प्रत्येक महिनाचार लाख ५० हजारभन्दा बढी खर्च हुने गरेको बताउँदै उनले भने ‘पछिल्लो समय वैवाहिक एवम् जन्मोत्सव जस्ता खुशीका क्षण तथा पित्रीको सम्झनामा दाताहरुले सहयोग गर्दै आउनु भएको छ ।’

उनका अनुसार व्यक्तिगत खुशीलाई समाजसेवासंग जोड्दै गरिएको यस्तो कार्यले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै खानाको लागि १५ हजार रुपैया आश्रमले लिने गरिएको छ । हाल आश्रममा ४५ जना विपन्न तथा असहाय जेष्ठ नागरिक आश्रित छन् ।

पोखरा, २८ फागनु ।

पोखराको पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेको अवस्थामा डा. महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन बस्ने ४३ वर्षका विकास गुरुङलाई बिहीबार पक्राउ गरिएको हो ।

गएको फागुन २५ गते पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा महाबिर पुन र उनको टोली ‘ महावीर पुन’ नामक पुस्तक बिक्री गरिरहेका थिए । सोही समयमा एक अपरिचित व्यक्तिले पुनमाथि अभद्र व्यवहार गरेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास अगाडि बढाएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको आपराधिक पृष्ठभूमि समेत देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले गुरुङ यसअघि ३ पटक लागूऔषध मुद्धामा सजाय पाएको देखिएको बताए ।

पोखरा, २८ फागनु ।

बजारमा खाना पकाउने ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले भोलि शुक्रबारदेखि आधा सिलिन्डर मात्रै बिक्री गर्ने भएको छ । निगमले शुक्रबार फागुन २९ गतेदेखि लागू हुने गरी ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास बजारमा पठाउन लागेको हो ।

ग्यासको आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो निर्णय लिएको जनाएकाे छ । मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ ।

अर्को व्यवस्था नभएसम्म उपभोक्तालाई सोही अनुसार ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

पोखरा, २८ फागनु ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय कास्कीबाट नियुक्ति भएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएकाे छ । निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै कास्की प्रहरीले आज पोखरामा एक औपचारिक  कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको हो।

यसरी बिदा हुनेमा कास्की, तनहु र स्याङ्जाका गरि १९ सय ९४ जना रहेका छन । उनीहरुले निर्वाचनको बेला कास्की जिल्लामा खटिएका थिए । उनीहरूले करिब ४० दिन सेवा दिएका थिए।

कास्की सिडिओ रुद्रादेवी शर्मा, कास्की प्रहरी प्रमुख एसपी नवीन कार्की, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालगायतले उनीहरूलाई खादा टीका लगाएर प्रमाणपत्र सहितऔपचारिक रूपमा बिदाइ गरिएको हो।

निर्वाचनका लागि नेपाल प्रहरीले गत पुस २४ मा १ लाख ३३ हजार ९८० जनाका लागि भर्ना खुलाएको थियो।

पोखरा, २८ फागनु ।

सुर्खेत वीरेन्द्रनगरकी किशोरी इनिशा विक हत्या घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै पोखरामा विरोध प्रदर्सन गरिएको छ । आज सहिदचोकमा दिउँसो साढे १ बजेदेखी साढे २ बजेसम्म प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएका हुन ।

स्वतस्फूर्त रुपमा उपस्थित भएका उनीहरुले महिलाको रक्षा गर, अपराधीलाई फाँसी ले लहायतका प्लेकार्ड बोकेका थिए ।

यसैबीच सहभागीहरु महिला अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छ्न ।

काठमाडौं, २८ फागनु ।

सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खोल्दै ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र पेट्रोलियम पदार्थ आयात न्यूनीकरण गर्ने उद्देश्यले यो आदेश जारी गरेको हो ।

आदेशको मुख्य उद्देश्य स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रोत्साहित गरी रोजगारीका अवसर सिर्जना गर्नु र विदेशी मुद्राको ठूलो हिस्सा खर्च हुने पेट्रोल आयात कटौती गर्नु हो । यसका लागि सरकारले इथानोल उत्पादनमा प्रयोग हुने कच्चापदार्थको स्रोतसमेत स्पष्ट किटान गरेको छ । आदेश अनुसार चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको खोया, गहुँको छ्वालीजस्ता कृषि अवशेष र खानका लागि अयोग्य सडेगलेका अन्नजस्ता वस्तुलाई इथानोल उत्पादनको कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिने छ ।

तर, खाद्य सुरक्षा उच्च प्राथमिकतामा राख्दै मानिसले खानाका रूपमा प्रयोग गर्न मिल्ने कुनै पनि खाद्यान्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न भने कडा प्रतिबन्ध लगाइएको छ । उत्पादित इथानोल खरिद, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थित र नियन्त्रित गर्न आदेशले नेपाल आयल निगमलाई एकाधिकार प्रदान गरेको छ । जसअनुसार इजाजतप्राप्त उद्योगहरूले उत्पादन गरेको सम्पूर्ण इथानोल अनिवार्य रूपमा आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने छ ।

निगमबाहेक अन्य कुनै पनि निजी वा सरकारी निकाय वा व्यक्तिलाई सोझै बिक्री गर्न पाइने छैन । निगमले आफ्नो उपलब्धता र प्राविधिक पक्ष मध्यनजर गर्दै प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सक्ने छ । यद्यपि, भविष्यमा आवश्यक परे नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबाट मिश्रण अनुपात घटबढ गर्न सक्ने प्रावधान पनि राखिएको छ, जसले नीतिगत लचकता सुनिश्चित गरेको छ ।

इथानोल गुणस्तरमा कुनै सम्झौता नहोस् भनी आदेशमा कडा प्रावधान राखिएका छन् । उत्पादित इथानोलको गुणस्तर नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड अनुरूप हुनुपर्ने छ । निगमले खरिद गर्नुअघि प्रत्येक खेपको गुणस्तर परीक्षण गर्ने छ भने उत्पादक उद्योग आफैंले पनि गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला स्थापना गर्नुपर्ने दायित्व तोकिएको छ ।

गुणस्तरहीन इथानोल खरिद–बिक्री पूर्णत: निरुत्साहित गरिएको छ । साथै, इथानोल एक ज्वलनशील र संवेदनशील पदार्थ भएकाले यसको उत्पादन, भण्डारण, ढुवानी र मिश्रणका लागि आवश्यक पर्ने सुरक्षा मापदण्ड मन्त्रालयले छुट्टै बनाएर लागु गर्ने छ । यो सम्पूर्ण प्रक्रियाको सफल कार्यान्वयन र सहजीकरणका लागि एक उच्चस्तरीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (आपूर्ति क्षेत्र) को संयोजकत्वमा गठन हुने यस समितिमा अर्थ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवहरू, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका विज्ञ प्रतिनिधि र आयल निगमका कार्यकारी निर्देशक सदस्यसचिवका रूपमा रहनेछन् ।

यो समितिले इथानोल खरिद मूल्य निर्धारणका लागि सरकारलाई सिफारिस गर्ने, इथानोल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन सिफारिस गर्ने र त्यस्ता उद्योगलाई आवश्यक पर्ने मेसिनरी तथा उपकरण आयातमा कर छुट, जैविक ऊर्जा रणनीति २०७३ तथा अन्य नीतिले निर्दिष्ट गरे बमोजिम सुविधा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्नेजस्ता महत्वपूर्ण जिम्मेवारी पाएको छ । यसले लगानीकर्तालाई आकर्षित गर्न र उद्योग स्थापनालाई सहज बनाउन मद्दत पुग्ने देखिन्छ ।

समितिले मूल्य निर्धारण गर्दा प्राथमिक लागत (प्राइम कस्ट), कारखानाको शिरोभार लागत, प्रशासनिक तथा सञ्चालन खर्च र अन्य आवश्यक खर्चलाई आधार मान्ने छ, जसले गर्दा उत्पादक र उपभोक्ता दुवैलाई मार नपर्ने गरी वैज्ञानिक मूल्य निर्धारण हुने अपेक्षा गर्न सकिन्छ । अन्तत: इथानोल मिश्रित पेट्रोल प्रयोगबारे सर्वसाधारणमा हुन सक्ने भ्रम र जोखिमबारे सचेत गराउन र यसको उपयोगिताबारे जानकारी दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी आयल निगमलाई दिइएको छ । यो आदेश कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न भए त्यसको अन्तिम व्याख्या गर्ने अधिकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निहित रहने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।