
पोखरा, २० चैत ।
बालबालिकामा देखिने मस्तिष्क र स्नायु कोषहरुको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम भएको यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
१९ औ अन्तराष्ट्रिय अटिजम सचेतना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १७ महतगौडामा सञ्चालित जानकी माध्यमिक विद्यालय अटिजम श्रोत केन्द्रमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय भुसको आगो जस्तो पैmलिएको अटिजमका विषयमा सिंगो समाज सचेत हुनु पर्ने आवश्यकता औल्याएका हुन ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै पछिल्लो समय घरघरको समस्याका रुपमा देखिएको अटिजमको केही हतसम्म भएपनि समाधानका लागि महानगरले पहिलो पटक श्रोत कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो ।
जानकी माविको खेलमैदानमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण अधुरो रहेको भवनलाई सम्पन्न गरि सञ्चालनमा आएको सो अटिजम श्रोत केन्द्रमा हाल ४० जना विद्यार्थी, आठ जना सहजकर्ता र आया, एक जना थेरापिष्ट अध्ययन अध्यापन गर्दै आएका छन् ।
कार्यकक्रममा पोखरा १७ वडा कार्यालयले श्रोत केन्द्रका लागि आवश्यक ५० हजार रुपैया मुल्य वरावरका आवश्यक सामाग्री विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । दिवसका अवसरमा अटिजमका विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय आमा समुह, टोल विकास संस्थाहरुको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा नम्रता केसी, पूर्व विविस अध्यक्ष नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कँडेल, अटिजम श्रोत केन्द्र इन्चार्ज कमल आचार्य लगायतले अटिजमको वर्तमान अवस्था र यसमा तीनै तहका सरकारले खेल्नु पर्ने भूमिकाका वारेमा चर्चा गर्नुभएको थियो ।
गण्डकीमा विज्ञान पढ्ने विद्यार्थी कम
पोखरा, २० चैत्त ।
नेपालको उच्च शिक्षा क्षेत्रमा गहिरो क्षेत्रीय र विषयगत असमानता रहेको तथ्यांक सार्वजनिक भएको छ । पोखरास्थित समाज विज्ञान केन्द्रले शुक्रबार आयोजना गरेको मासिक ‘कचहरी’ कार्यक्रममा संघीय संरचनापछि पनि शैक्षिक पहुँचमा उल्लेख्य सुधार हुन नसकेको सरोकारवालाले बताए ।
अनुसन्धानकर्ता डा. ढाकाराम भण्डारीले प्रस्तुत गरेको कार्यपत्र अनुसार मुलुकभरका विश्वविद्यालयको वितरण असन्तुलित छ । गण्डकी, राजर्षि जनक, मदन भण्डारी विज्ञान तथा प्रविधि, नेपाल विश्वविद्यालय, नेपाल खुला, मनमोहन प्राविधिक, मधेस कृषि, मधेस र लुम्बिनी प्राविधिक जस्ता संस्था स्थापना भए पनि तिनको पहुँच सबैतिर पुग्न सकेको छैन । विश्वविद्यालय अनुदान आयोगको इएमआईएस प्रतिवेदन अनुसार देशभर ५ लाख ७९ हजार ४ सय २८ विद्यार्थी अध्ययनरत छन् । गण्डकी प्रदेशमा रहेका ४७ हजार ८ सय ४७ विद्यार्थीमध्ये १० हजार ५ सय ७१ जना मात्रै विज्ञान संकायमा छन् ।
कार्यक्रममा सहप्राध्यापक डा. कपिल अधिकारीले विश्वविद्यालयमा कर्मचारीतन्त्र हाबी भएको र अनुसन्धान फितलो रहेको बताए । ‘प्राज्ञिक नेतृत्व राजनीतिक नेता जस्तो हुनु हुँदैन’, उनले भने । प्राडा भरतराज पहाडीले भुइँतहको यथार्थ (ग्राउन्ड रियालिटी) लाई अनुसन्धानको विषय बनाउन सुझाव दिए । पोखरा विश्वविद्यालयका उपप्राध्यापक सुवास मल्लले व्यवस्थापनमा आकर्षण धेरै भएको र ‘ड्रप आउट’ मुख्य समस्या रहेको सुनाए । गण्डकी विश्वविद्यालयका उपप्राध्यापक सुरेश ढकालले विद्यार्थी एआई र युट्युबको भरमा परेको र उनीहरुको ध्यान विदेशतिरै बढी रहेको बताए ।
स्कुल अफ बिजनेसकी निर्देशक डा. दीपमाला श्रेष्ठले विश्वविद्यालय शैक्षिक गुणस्तर भन्दा सम्बन्धन बाँड्नमा बढी केन्द्रित भएको टिप्पणी गरिन् । कार्यक्रममा भीम न्यौपाने, सफल सुवेदी र शिक्षक संगठनका दामोदर तिमिल्सिनाले पनि आफ्नो धारणा राखेका थिए । शिक्षा क्षेत्रमा दलीयकरण बढेकोमा डा. ढाकाराम भण्डारीले चिन्ता व्यक्त गरे । विद्यार्थी सन्देश शर्माले सञ्चालन गरेको कार्यक्रम अनुसन्धानकर्ता सन्तोष कोइरालाले समापन गरे ।
पोखरा २० चैत ।
लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सनको तयारी पुरा भएको छ । चैत्र २१ गते शनिबार पोखरामा सम्पन्न हुने चौथो डिस्ट्रिक्ट कन्भेन्सनको सम्पूर्ण तयारी पूरा भएको भएको कन्भेनर सूर्य बरालले जानकारी दिएका छन् । कन्भेन्सन पोखरा इभेन्ट सेन्टरमा आयोजना हुँदैछ।
कन्भेन्सनलाई सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन, कार्यक्रम तालिका, अतिथि व्यवस्थापन तथा सहभागी समन्वयको काम सम्पन्न भइसकेको आयोजकले जनाएको छ। देशभरबाट लायन्स सदस्य, प्रतिनिधि तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
पूर्व उपगर्भनर ध्रुव श्रेष्ठले कन्भेन्सनलाई लायन्स अभियानको सुदृढीकरण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्छन्। उनी भन्छन्, “डिस्ट्रिक्ट कन्भेन्सनले लायन्स सदस्यहरूबीचमा अनुभव आदान–प्रदान, सहकार्यको विस्तार र भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्छ। यसले सङ्गठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिएका छौं।”
कन्भेन्सनका कन्भेनर सूर्य बराल ले कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन विभिन्न उपसमितिहरू सक्रिय रूपमा खटिएका जनाएका छन् । सहभागीहरूलाई सहज वातावरणमा कार्यक्रम सम्पन्न गराउने लक्ष्य रहेको उनको भनाइ छ ।
त्यसैगरी, गभर्नर मिलनबाबु मल्लले कन्भेन्सनले लायन्स अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “यो कन्भेन्सन केवल औपचारिक कार्यक्रम मात्र नभई सेवा, नेतृत्व र प्रतिबद्धताको साझा मञ्च हो। यहाँबाट लिइने निर्णयहरूले आगामी वर्षका लागि हाम्रो कार्यदिशा तय गर्नेछन्।”
कन्भेन्सनमा सामाजिक सेवा, नेतृत्व विकास, अनुभव आदान–प्रदान तथा सङ्गठनात्मक सुदृढीकरणसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ। साथै, विभिन्न सेवा परियोजनाहरूको प्रस्तुति, सम्मान कार्यक्रम तथा भावी योजना निर्माणसम्बन्धी छलफलसमेत हुनेछन्।
आयोजकका अनुसार कन्भेन्सनले लायन्स सदस्यहरूबीचमा एकता, सहकार्य र प्रतिबद्धतालाई थप मजबुत बनाउँदै समाजसेवाका गतिविधिलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। औपचारिक कार्यक्रम अघि प्रभातफेरी आयोजना गरिने जनाइएको छ ।
पोखरा, २० चैत्त ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ। विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ।
शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम पोखरा स्पोर्टस अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले औपचारिक सम्झौताअघि नै अवार्डको प्रवद्र्धन सुरु गरिसकेको उल्लेख गर्दै पोखरा तथा आसपासका दुई दर्जनभन्दा बढी कार्यक्रमहरूमा सफलतापूर्वक सहकार्य गरिसकेको जानकारी दिए। साथै, पोखरा स्पोर्टस अवार्डको गरिमा अझ उचो बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले आठ विधामा आयोजना हुने दशौं संस्करणमा पुनः समावेश गरिएको ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। विगतका केही संस्करणमा स्थगित रहेको उक्त विधा यसपटक पुनः सञ्चालनमा आउन लागेको उनले जानकारी दिए। पाँच उत्कृष्ट खेलाडीबीच हुने प्रतिस्पर्धामा अनलाइन भोटिङमार्फत विजेता छनोट गरिनेछ।
पोखरा स्पोर्टस अवार्ड २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ। दशौं संस्करणअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेताले टीभीएस एनटर्क स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। उक्त पुरस्कारको प्रायोजन पोखरास्थित गुरुङ गहना घर प्रालिले गरेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए।
दशौं पोखरा स्पोर्टस अवार्ड आगामी वैशाख १८ गते पोखरामा आयोजना हुने कार्यक्रम रहेको छ।
पोखरा, २० चैत ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ ।
उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबि आस्था र गुरुङ गहना घर प्रालिका तर्फबाट संचालक सीमा गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।
सो अवसरमा संचालक गुरुङले खेलाडी भनेका देशकै गहना भएकाले आफूले सहयोग गर्न चाहेको बताइन् । हालै मात्र नेपाली फुटबल साम्बाले उपचार सहयोगार्थ गरेको याचनाले आफू संवेदनशील बनेको उल्लेख गर्दै खेलाडीको सम्मानमा हुन लागेको पोखरा स्पोर्टस् अवार्डमा जोडिएको बताइन् । आफू विदेश नगई स्वदेशमै केही गर्न चाहेकाले व्यवसायमा हात हालेको जानकारी दिइन् । मानिसले चाहेमा स्वदेशमै पनि प्रगति गर्न सकिने उनको भनाइ थियो ।
सहयोगप्रति मञ्चका अध्यक्ष एमबि आस्थाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । सो अवसरमा मञ्चका महासचिव परशुराम शर्माले संचालन र धन्यवाद ज्ञापन उपाध्यक्ष राजाराम पौडेलले गरे ।
आगामी वैशाख १८ गते हुने उक्त अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष समेत रहेका मञ्च अध्यक्ष एमबि आस्थाले जानकारी दिए । गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।





