२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

पोखरा, ०७ वैशाख ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् ।

समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल राना मगर, सुशान्त गुरुङ, रामबहादुर परियार छन् । सल्लाहकारमा धुव्र गुरुङ र चक्रबहादुर गुरुङ चयन भए ।

घान्द्रुकको मौलिकता जोगाउनु हाम्रो कर्तव्यः वडाध्यक्ष गुरुङ
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको मौलिकतासँगै संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिए । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटनपछि बोल्दै वडाध्यक्ष गुरुङले विकाससँगै फेरिँदै गएको मौलिकताबारे पर्यटकहरूमा चिन्ताको विषय बनेको बताए ।

‘घान्द्रुकको पहिचान भनेको ढुंगेनी गाउँ हो, पछिल्लो समय विकासको गतिसँगै फेरिँदै जान थालेको मौलिकताले पर्यटन क्षेत्रमा गरेको असरबारे चिन्ताको विषय बनेको छ’, वडाध्यक्ष गुरुङले भने, ’विकाससँगै घान्द्रुकको पहिचान संरक्षण गर्ने कर्तव्य हामी सबैको हो, मौलिकता संरक्षणलाई ध्यान दिँदै गाउँपालिकाले अबको आर्थिक वर्षदेखि अनुदानको समेत व्यवस्था गर्दै छ ।’

वडाध्यक्ष गुरुङले पर्यटन व्यवसायलाई थप व्यवस्थापन गर्न सबैले व्यवसाय दर्ता र बिमा गरेर सञ्चालन गर्न समेत आग्रह गरे । ’हामीले सबैले व्यवसाय गर्दा दर्ता र बिमा अनिवार्य गर्नुपर्छ’, उनले भने, ’व्यवसाय दर्ता गरेर सञ्चालन गर्दा राज्यले पनि उचित अनुदानसँगै सेवा सुविधा प्रदान गर्छ ।’ रोधीँ क्लब कोँड घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकमा पर्यटन प्रवद्र्धन गर्नका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

तमु प्ये ल्हु संघ घान्द्रुक इकाई समितिका अध्यक्ष प्रेम गुरुङले शान्ति, एकता र मेलमिलापबाट घान्द्रुकको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा चालु आर्थिक वर्ष २०८२÷०८३ मा समितिलाई नेपाली पाहुनामार्फत सबैभन्दा बढी शुल्क बुझाउने वल्र्ड भिलेजका सञ्चालक अमृत प्रसाद गुरुङ र गाइड पोटरमार्फत सबैभन्दा बढी शुल्क बुझाउने होटेल बृज गेष्ट हाउसका सञ्चालक सुवास गुरुङलाई सम्मान गरिएको थियो ।

यस्तै घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड घान्द्रुकको संयुक्त आयोजनामा गत फागुन ६ देखि ९ गतेसम्म आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव १२ लाख रुपैयाँ बचत गर्न सफल भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको सक्रियतामा घान्द्रुक चक्रीय पदमार्ग, बसपार्क लगायत विभिन्न स्थानमा सिसी क्यामेरा, विद्युत पोलमा लाइट, फोहोर संकलन केन्द्र, बालाचेँ पार्क निर्माणसँगै आमासमूह लगायत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष विक्रम गुरुङले घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाई लम्बाउन थप पर्यटकीय गन्तव्य निर्माणमा ध्यान पु¥याउने प्रतिबद्धता जनाए । ’अघिल्लो कार्यकालमा केही अपुरा कामहरू बाँकी छन् त्यसलाई पूर्णता दिन सक्रिय रूपमा लाग्नुपर्ने छ’, उनले भने, ’घान्द्रुकमा पर्यटकको बसाई लम्बाउन थप गन्तव्यको पहिचान र प्रवद्र्धन गर्न समेत आवश्यक छ ।’

अध्यक्ष गुरुङले घान्द्रुकमा १३५ बढी होटल तथा सामुदायिक होमस्टे सञ्चालनमा रहेको बताए । घान्द्रुकमा एक दिनमा २५०० पर्यटक राख्न सक्ने क्षमता रहेको छ । घान्द्रुकबाट भैंसीखर्क–टाडापानी वनठाटी–देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुकहुँदै टाडापानी–इसर–दोबाटो–मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक, छोम्रोङ हुँदै अन्नपूर्ण बेस क्याम्प समेत जान सकिन्छ ।

पोखरा, ०७ वैशाख ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भइरहेको पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको तेस्रो दिन रोमाञ्चक खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा विभिन्न उमेर समूहका क्वाटरफाइनल र सेमिफाइनल खेलहरु सम्पन्न भएका हुन् ।

प्रतियोगिताको तेस्रो दिन यू–९ ब्वाइजतर्फ एकमात्र फाइनल खेल भएको प्रतियोगिताका टेक्निकल डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् । यू–९ ब्वाइजतर्फ सर्वज्ञ खत्री विजेता बनेका छन् । उनले फाइनलमा कायान चालिसेलाई ५–३, ५–४, ७–५ ले पराजित गरे ।

यू–१४ गर्ल्स सिंगल्स क्वाटरफाइनलमा स्वरा थापाले आर्या पौडेललाई ६–४, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । यू–१६ ब्वाइज सिंगल्स सेमिफाइनलमा सन्दीप बि।के।ले सुरेन्द्र बि।केलाई कडा प्रतिस्पर्धामा ५–७, ७–५, ६–४ ले हराउँदै फाइनल यात्रा तय गरे ।

यू–१० ब्वाइजतर्फ कायान चालिसेले आयान पन्तलाई ६–०, ६–१ को एकतर्फी जित निकाल्दै फाइनलमा प्रवेश गरे । त्यस्तै, यू–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसेले सभ्यजङ्ग कार्कीलाई २–६, ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

आरित मल्लले यू–१२ ब्वाइजतर्फ उत्कृष्ट प्रदर्शन गर्दै शान्श बस्नेतलाई ६–१, ६–१ ले हराए । यू–१२ गर्ल्सतर्फ सारा पन्ताले थिया श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै अगाडि बढिन् ।

यू–१२ गर्ल्स सेमिफाइनलमा नाइरा घलेले ताभिसी रानालाई ६–०, ६–४ ले हराइन् भने यू–१० ब्वाइज सेमिफाइनलमा सोनाम घलेले जीवाश भट्टराईमाथि ६–१, ६–३ को जित निकाल्दै फाइनलमा स्थान बनाए ।

यू–१६ ब्वाइज सेमिफाइनलमा स्पन्दन उदासले डोजन गुरुङलाई ६–२, ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । यू–१४ गर्ल्स सेमिफाइनलमा सारा पन्ता र शोरा थापा दुवैले सोझो सेटमा जित निकाल्दै फाइनल नजिक पुगे ।

यहि बैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल भोली ९मंगलबार० हुने प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिएका छन् ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा भएको हो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित ९० खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएको प्रतियोगिताका संयोजक गुरूङले जानकारी दिए ।

पोखरा, ०७ वैशाख ।

रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल गू्रपले साथ दिने भएका छन । आगामी वैशाखको १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटी पार्टनरमा रहेर पोखराको लेकसाईडमा रहेको फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा र काठमाण्डौको नक्सालस्थित होटल क्राउन प्लाजाले साथ दिने भएका छन ।

हस्पिटालिटी पार्टनरको लागि फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेल र प्लाजा होटल ग्रूपका अध्यक्ष युवराज श्रेष्ठ बीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सम्झौता गरेका छन ।

सो अवसरमा वोल्दै फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेलले खेलाडीलाई सम्मान गर्ने गण्डकी प्रदेशको गौरवको कार्यक्रम संग टेम्पल बेलले सहकार्य गर्न पाउदा खुसी लागेको बताए । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्थाले खेलाडीहरुको सम्मान गर्ने काम आफैमा महान कार्य भएको उनको भनाइ रहेको थियो ।

त्यस्तै प्लाजा होटल ग्रूपका अध्यक्ष युवराज श्रेष्ठले खेल क्षेत्रलाई समेटेर आयोजना हुन लागेको कार्यक्रमको सफलताको कामना गर्दै प्लाजा होटल ग्रूपले समेत पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

मञ्चका अध्यक्ष एमबी आस्था मगरले पोखरा स्पोर्टस अवार्ड कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोगी हातहरु खोज्ने क्रममा हस्पिटालिटी पार्टनरको रुपमा पोखराको टेम्पल बेल होटल र काठमाण्डौको प्लाजा होटल ग्रूप संग जोडिन पुगेको बताए । गण्डकी क्षेत्रमा रहेको खेलकुदको गतिविधीहरुलाई समेटेर आयोजना गरिने पोखरा स्पोर्टस अवार्डमा हस्पिटालिटी पार्टनरको समेत महत्वपूर्ण आवश्यक रहने र त्यसमा सहयोग गर्ने दुवै होटल सञ्चालक प्रति उनले आभार समेत प्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ । त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि ९राइनो क्याफे एण्ड शवार्मा स्टेशन०, शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, पोखरा रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।