
पोखरा महानगरपालिका राजश्व महाशाखाको आयोजना तथा बाराही सञ्चार प्रालिको सहजीकरणमा एकदिने कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।
आइतबार वडा नं. १५ स्थित गलेश्वरको तल्लो सिमलबोट टोल विकास संस्थाको भवनमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा महानगरपालिकाका कर अधिकृतद्वय आविष्कार पौडेल र सूर्य पौडेलले कर सम्बन्धी विविध विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. १५ का सदस्य आशिष भण्डारीले कर तिर्नु सचेत नागरिकको कर्तव्य भएको बताउँदै राज्यले संकलन गर्ने कर नै विकास निर्माण र समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले करलाई नागरिकले राष्ट्रप्रति गरेको लगानीका रूपमा बुझ्नुपर्ने धारणा राख्दै समयमै कर तिर्ने बानी बसाल्न र अतिरिक्त जरिवानाबाट बच्न आग्रह गर्नुभयो।

कर अधिकृत आविष्कार पौडेलले स्थानीय सरकार सञ्चालन ऐनअनुसार महानगरपालिकाले कर निर्धारण गर्ने जानकारी दिँदै विभिन्न करका शीर्षकबारे प्रष्ट पार्नुभयो। कतिपयले कर तिर्ने क्रममा गलत विवरण पेश गर्ने गरेको उल्लेख गर्दै उहाँले प्रविधिको विकाससँगै त्यस्ता तथ्याङ्क सहजै पहिचान हुने भएकाले सही विवरण बुझाई इमान्दारितापूर्वक कर तिर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले महानगरपालिकाको कर प्रणाली क्रमशः पूर्ण डिजिटल प्रणालीतर्फ उन्मुख भइरहेको जानकारी दिँदै नगद कारोबारलाई निरुत्साहित गरिने र नागरिकले घरमै बसेर पनि सेवा लिन सक्ने व्यवस्था विस्तार गरिने बताउनुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले व्यवसाय दर्ता, प्यान नवीकरण, घर निर्माण तथा बहाल कर, जग्गा मूल्यांकन र ह्रासकट्टी सम्बन्धी जिज्ञासा राखेका थिए।
कार्यक्रमकी सभाध्यक्ष तथा गलेश्वर मगर संघ इकाई समितिकी अध्यक्ष मिना रानाले यस्ता सचेतनामूलक कार्यक्रमले कर सम्बन्धी विषय बुझ्न सहज भएको बताउँदै आयोजक पोखरा महानगरपालिका राजश्व महाशाखाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, तल्लो सिमलबोट टोल विकास संस्थाका उपाध्यक्ष टिकाराम पन्तले शुभकामना मन्तव्य राख्नुभएको थियो भने, कार्यक्रमको सञ्चालन गलेश्वर मगर संघ इकाई समितिकी सचिव मिरा बुढाले गर्नुभएको थियो।





