
कास्की।
भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका पररास्ट्रमन्त्री शिशिर खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् ।
वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै पक्षले नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पु¥याउन प्रयास तीव्र पार्ने सहमति जनाएका छन् । नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकामा दुवै पक्षले त्यसको स्वागत गरेका छन् । उक्त सम्झौताले सीमापार अपराधसँग सम्बन्धित अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीलाई प्रभावकारी बनाउन संस्थागत कानुनी आधार प्रदान गर्ने छ ।
द्विपक्षीय वार्तापश्चात् भारतका विदेशमन्त्री डा जयशङकरले परराष्ट्रमन्त्री खनाललाई भारतको सन् २०१५ को ‘भूकम्पपछिको पुनःनिर्माण सहयोग’ कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना हस्तान्तरण गरेका थिए ।
नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन मन्त्रीद्वयले संयुक्त रूपमा भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ ९युपिआई० र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच ‘पियर–टु–पियर’ ९पीटुपी० आबद्धताको शुभारम्भ गरेका थिए ।
त्यसैगरी ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्ने उद्देश्यसहित डिजिटल ‘इण्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। विजय चौथाईवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
।
परराष्ट्रमन्त्री खनालको यो भ्रमण आपसी विश्वास र समझदारीलाई अझ उन्नत बनाउँदै द्विपक्षीय सम्बन्धलाई सबल बनाउन सफल भएको ठानिएको छ ।
काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार बिहान सम्पन्न सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ।सिंगापुरमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य सहज तरिकाले पुरा गर्यो। नेपालले ओमानले दिउको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्दै फराकिलो जित निकाल्यो।
नेपालको जितमा लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४४ रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा रोहित पौडेलले २१ रनको अविजित इनिङ खेले।
त्यसअघि पहिले ब्याटिङ गरेको ओमानका लागि कप्तान सुफ्यन महमुदले ३८ रन बनाउँदा अब्दुलजलिल खानले १६ तथा जुबाइर अली अकबरले २२ रन बनाएका थिए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। त्यस्तै साहब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारेका थिए।
नेपालले अब सोमबार हङकङ र मलेसियाबीच खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। यसअघिनै सेमिफाइनल पुग्ने चार टोली एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाको अधिवेशनहरू सम्पन्न गरेको छ। दुवै प्रदेशहरुमा नयाँ नेतृत्व चयन प्रक्रिया अधिंकासमा सकिंदा केहीमा आज हुँदै छ।
बागमती प्रदेशका १३ मध्ये ९ जिल्लामा अधिवेशन सकिएर नयाँ कार्यसमिति बनिसकेका छन्। काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल र सिन्धुलीमा अविनाश बस्नेत सभापति छानिएका छन्।
चितवन, रसुवा र ललितपुरमा आज अधिवेशनको कार्यतालिका रहेको छ भने सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन केही समयका लागि स्थगित गरिएको छ।कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा पनि नयाँ जिल्ला कार्यसमिति चयन भएका छन्। बाँकी रहेका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि आजै अधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको रास्वपाले जनाएको छ।
काठमाडौं।
घरेलु कामदारका रुपमा महिलालाई अवैध रुपमा खाडी मुलुक पठाउने आधा दर्जन व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौंको सिनामंगल बस्ने संखुवासभाका ४६ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, गुहेश्वरी बस्ने सिन्धुपाल्चोकका ४५ वर्षीय ईश्वर न्यौपाने, जोरपाटी बस्ने गुल्मीका ४४ वर्षीय रामबहादुर क्षेत्री, भिमसेनगोला बस्ने खोटाङका ४७ वर्षीय पशुपति राई, कागेश्वरी मनोहरा–७, बस्ने मोरङका ५३ वर्षीय कुमार उराउ र भक्तपुरको दधिकोट बस्ने सप्तरीका ४२ वर्षीय प्रकाश साह छन् । महिलाहरुलाई ललाईफकाई कुवेत, ओमान, युएईजस्ता देशमा घरेलु कामदारको रुपमा पठाउने गिरोहहरु सिनामंगलमा जम्मा भई विशेष योजना बनाइरहेको सूचना प्रहरीले पाएको थियो ।
सोही आधारमा पुगेको प्रहरीले उनीहरुलाई घेरा हालेर समातेको हो । त्यसक्रममा उनीहरुले प्रहरीलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेको जनाइएको छ । पक्राउ परेकामध्ये केदारबहादुरको घर तलासी गर्दा स्रोत नखुलेको ३१ लाख ८० हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।





