
काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।प्रधानमन्त्री बालेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दैमाओवादीका कार्यकर्ताले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने, सीमाको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौं, भौगोलिक अखण्डताको रक्षा गरौं लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
हुम्ला।
हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ ।सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाईगोरु चराउन जङ्गल गएकी थिइन्। बिहान करिब १०ः३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।
कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ । यस घटनाले पुनः सडकमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।
पोखरा।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् ।शुक्रबारदेखि पोखरामा सुरु भयको अधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको सनिवार सम्पन्न मतगणनामा त्रिपाठीले २ सय ३४ मत ल्याएर विजयी भएका हुन् ।
रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेदवार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १–१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो । प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले खेलकुद व्यक्तिगत स्वास्थ्य, अनुशासन र समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताए। विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवर्द्धन गर्न सकिए भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो। महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षका बाँकी खेल गतिविधि सम्पन्न गर्ने क्रममा खेल महोत्सव आयोजना गरिएको र आगामी वर्ष पनि खेल क्षेत्रलाई विशेष प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले महोत्सव असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता र पाँच वटा ग्रासरुट तहका खेल कार्यक्रम रहेका छन् । साथै ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेट जस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन् ।
कार्यक्रममा खेलकुद विकास समितिका सल्लाहकार तेजबहादुर गुरुङ, समितिका सदस्य पोषण बहादुर थापा लगायतले खेलकुदको विकास र समावेशी सहभागिताको महत्वबारे धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारी ले गरेका थिए।
महोत्सवअन्तर्गत दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ। यस प्रतियोगितामा टिम ‘बी’ विजेता तथा टिम ‘ए’ उपविजेता बनेका थिए । विजेता टोलीले २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले १० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
यसैबीच, मार्सल आर्ट फेस्टिभल २०८३ अन्तर्गतको मुवाथाई प्रतियोगिताको समेत महानगर प्रमुख आचार्यले उद्घाटन गरेका छन्। सो अवसरमा अन्तर्राष्ट्रिय मुवाथाई प्रशिक्षक दीपक श्रेष्ठ लाई सम्मान गरिएको थियो ।
उद्घाटन समारोहमा सांस्कृतिक नृत्य प्रस्तुतिले थप आकर्षण थपेको थियो। खेलकुद महोत्सवले खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीलाई उत्साहित बनाएको आयोजकको भनाइ छ।
पोखरा, जेठ ३० गते — पोखरा महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्ष सकिन एक महिना अगावै गत वर्ष भन्दा बढि राजश्व संकलन गरेको छ। वडाका अनुसार करदातामैत्री सेवा, कर सचेतना तथा प्रशासनिक सुधारका कारण गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलन बढेको हो।
वडाले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा करिब ७४ लाख २७ हजार ७ सय अठत्तर रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा उक्त रकम बढेर एक करोड रुपैयाँ नाघेको छ।
वडाध्यक्ष दिपक प्रसाद सुवेदीका अनुसार वडा समितिको पहिलो वैठकले २०८२ साउन ५ गते गत आर्थिक वर्ष भन्दा बढि (एक करोड) राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा २०८३ जेठ २९ सम्म एक करोड ३ हजार तिन सय एकानब्बे रुपैयाँ राजश्व संकलन गरेको हो। जुन गत वर्ष भन्दा २५ लाख ७५ हजार ६ सय १३ रुपैयाँ बढि अर्थात् ३४.६७ प्रतिशत बढि हो।
अध्यक्ष सुवेदीले असार मसान्तसम्म अझ १० लाख उठ्न सक्ने बताउनुभयो।
यस्तै, वडा सचिव कृष्ण प्रसाद शर्माले अभिलेखीकरणको काम बिचैमा स्थगित हुँदा समेत लक्ष्य भन्दा बढि राजश्व संकलन गरिएको बताउनुभयो। उहाँले अभिलेखीकरणको काम स्थगित नभएको अवस्थामा थप ५० लाख बढि राजश्व संकलन गर्न सकिने दाबी गर्नुभयो।
कार्यालयबाट प्रदान गरिने सेवामा सुधार, करदातासँगको नियमित समन्वय तथा जनप्रतिनिधि तथा कर्मचारीको सक्रियताले करको दर वृद्धि नगरी राजस्व संकलनमा उल्लेख्य वृद्धि गरिएको शर्माको भनाइ छ।
राजस्व वृद्धिसँगै वडाले विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा पनि खर्च बढाएको जनाएको छ। सडक, खानेपानी, सामुदायिक भवन लगायतका योजनामा बजेट परिचालन गरिएको र आगामी वर्षमा समेत करदातामैत्री नीति अवलम्बन गर्दै राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको छ।





