२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

पोखरा, असार ३ – पोखरा महानगरपालिका राजश्व महाशाखाको आयोजना तथा बाराही सञ्चार प्रालिको सहजीकरणमा पोखरा–१३ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको सभाहलमा बुधबार कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक विरन्जी गौतम प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा सहायक क्याम्पस प्रमुख युवराज गुरुङ र शालिकराम तिमिल्सिना सहभागी हुनुभएको थियो। त्यस्तै व्यवस्थापन संकाय प्रमुख सन्तोषमणि लामिछाने, प्राध्यापक विष्णुप्रसाद तिमिल्सिना तथा विद्यार्थी कल्याणकारी सहअध्यक्ष तेजेन्द्र केसी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। आयोजक पोखरा महानगरपालिका राजश्व महाशाखाका तर्फबाट कर अधिकृत आविष्कार पौडेल सहभागी हुनुभएको थियो।

ब्याचलर प्रथम र द्वितीय तहका गरी १७० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि गौतमले कर तिर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउनुभयो। करसम्बन्धी ज्ञान भएका व्यक्तिहरूले समाजमा अरूलाई पनि कर तिर्न प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्दै उहाँले नागरिकले तिरेको करबाट नै राज्यका निकाय सञ्चालन हुने बताउनुभयो।

कार्यक्रममा करसम्बन्धी सचेतना प्रदान गरिएपछि आयोजित प्रश्नोत्तर सत्रमा विद्यार्थी तथा प्राध्यापकहरूले विभिन्न जिज्ञासा राखेका थिए। विद्यार्थी कल्याणकारी सहअध्यक्ष तेजेन्द्र केसीले बहाल कर घरधनीले तिर्ने वा व्यवसायीले तिर्ने भन्ने विषयमा प्रश्न गर्नुभयो।

विद्यार्थी आरती न्यौपानेले कर तिर्ने प्रक्रिया, निजी विद्यालय दर्ता प्रक्रिया तथा उनीहरूले तिर्ने करको आधारबारे जिज्ञासा राख्नुभयो। त्यस्तै विद्यार्थी सरस्वती पौडेलले पोखराको महेन्द्रपुल आसपास क्षेत्रमा ठेलामा व्यापार गर्ने व्यवसायीहरूको दर्ता अवस्था तथा दर्ताको अनिवार्यताबारे प्रश्न गर्नुभयो।

सहायक क्याम्पस प्रमुख युवराज गुरुङले व्यक्तिगत आयकरको सीमा तथा नयाँ बजेटमा उल्लेख गरिएको शैक्षिक शुल्क विद्यार्थीले तिर्ने वा विद्यालयले व्यहोर्ने विषयमा प्रश्न राख्नुभयो। अर्का सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले सरकारले तोकेको आयकर सीमा परिवारका लागि लागू हुने वा प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै लागू हुने भन्ने विषयमा जिज्ञासा व्यक्त गर्नुभयो।

उठाइएका सम्पूर्ण प्रश्न तथा जिज्ञासाको जवाफ कर अधिकृत आविष्कार पौडेलले दिनुभएको थियो।

झण्डै साढे दुई घण्टा सञ्चालन भएको कार्यक्रमबाट कर तथा राजश्वसम्बन्धी धेरै जानकारी प्राप्त भएको सहभागी विद्यार्थीहरूले बताएका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई शैक्षिक सामग्रीस्वरूप एक–एक प्रति कापी र कलम तथा बिहानी खाजा वितरण गरिएको थियो।

पोखरा असार ३ गते।

पोखरा महानगरपालिका राजश्व महाशाखाको आयोजना तथा बाराही सञ्चार प्रालिको सहजीकरणमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पोखरा–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, टुँडिखेलमा आयोजित कार्यक्रममा विद्यालयका ७० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा तथा विशिष्ट अतिथि सहायक प्राध्यापक शंकर तिवारी रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक सापकोटाले विद्यार्थीहरूलाई विषयवस्तु ध्यानपूर्वक सुन्न र मनन गर्न आग्रह गर्नुभयो। उहाँले सच्चा नागरिकको पहिलो परिचय नै देशप्रतिको इमान्दारिता भएको उल्लेख गर्दै नागरिकले तिरेको कर पुनः जनताकै सेवा र सुविधाका लागि राज्यले खर्च गर्ने बताउनुभयो।

कार्यक्रममा पोखरा महानगरपालिका राजश्व महाशाखाका कर अधिकृत सूर्य पौडेल र आविष्कार पौडेलले करसम्बन्धी सहजीकरण गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले कर तथा राजश्वसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। विद्यार्थी आलोक मैनालीले डिजिटल प्लेटफर्मबाट हुने कारोबारमा लाग्ने करका विषयमा प्रश्न गर्नुभयो। कक्षा १२ मा अध्ययनरत रेखा पौडेलले व्यक्तिगत प्यान (Personal PAN) र व्यावसायिक प्यान (Business PAN) बीचको भिन्नताबारे जिज्ञासा राख्नुभयो।

त्यसैगरी विद्यार्थी दिलिप पाठकले पोखरामा पार्किङ शुल्क संकलन सम्बन्धी विषयमा प्रश्न उठाउनुभयो भने कक्षा १२ का रोहित केसीले कवाडी संकलन केन्द्रको संख्या, सञ्चालनका मापदण्ड तथा मापदण्डविपरीत सञ्चालन भएका केन्द्रमाथि हुने नियमनबारे प्रश्न गर्नुभयो। कक्षा ११ की मेनुका आचार्यले विदेश अध्ययनका लागि दर्ता गरिएको व्यवसाय नवीकरण नगरे के हुने भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो।

विद्यार्थीहरूले उठाएका सबै प्रश्न तथा जिज्ञासाको जवाफ कर अधिकृत सूर्य पौडेल र आविष्कार पौडेलले दिनुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।