२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

पोखरा, असार ५

पोखरा महानगरपालिका राजश्व विभागको आयोजनामा पोखरा–२७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कलेजको म्यानेजमेन्ट संकायका दोस्रो तथा तेस्रो वर्षमा अध्ययनरत करिब ५० जना विद्यार्थी तथा प्राध्यापकहरूको सहभागितामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका राजश्व विभागका कर अधिकृत दिपेन्द्र पण्डितले कर सम्बन्धी सचेतनामूलक प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा कलेज प्रमुख डिल्लिराम पौडेल प्रमुख अतिथि तथा उपप्रमुख विमल न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सम्बन्धित विषयका विद्यार्थीहरूको सहभागिता रहेकाले कार्यक्रम निकै अन्तरक्रियात्मक र उपलब्धिमूलक बनेको थियो। कार्यक्रममा सुरुदेखि नै विद्यार्थीहरूले कर प्रणाली, राजस्व प्रशासन तथा हालका कर सम्बन्धी नीतिहरूका विषयमा विभिन्न जिज्ञासा राखेका थिए।

विद्यार्थी सागर तिवारीले व्यक्तिगत आयकरको सीमा तथा सरकारले हालै घोषणा गरेका नयाँ व्यवस्थाबारे प्रश्न गर्नुभयो भने गणेश देवकोटाले सम्पत्ति करको मापदण्ड र मूल्यांकन प्रक्रियाबारे जिज्ञासा राख्नुभयो। त्यसैगरी अमृत रानाभाटले हालैको बजेटमार्फत निष्क्रिय तथा कारोबार नदेखाइएका फर्मलाई पछिल्लो एक वर्षको मात्र हिसाब चुक्ता गरे पुग्ने व्यवस्था सम्बन्धी प्रश्न गर्नुभयो।

विद्यार्थी सुशिला तिवारीले विज्ञापन करका विषयमा प्रश्न गर्दै बजारमा राखिएका होर्डिङ बोर्ड तथा सवारीसाधनमा टाँसिएका विज्ञापन सामग्रीमा पनि कर लाग्ने वा नलाग्ने, साथै कर नतिर्नेहरूलाई कसले अनुगमन तथा कारबाही गर्छ भन्ने विषयमा जिज्ञासा व्यक्त गर्नुभयो।

यस्तै, दिपिका पौडेलले घरबहाल कर घरधनीले तिर्ने कि भाडावालाले भन्ने प्रश्न राख्नुभयो भने विवेक केसीले धितो मूल्यांकनको मापदण्ड देशभर एउटै हुने वा फरक हुने तथा महानगरपालिकामा तिर्नुपर्ने कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने वा नसकिने विषयमा प्रश्न गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले पाठ्यपुस्तकबाट प्राप्त ज्ञानभन्दा बाहिरका व्यावहारिक विषयमा समेत जानकारी प्राप्त भएको र आफ्ना धेरै जिज्ञासाको समाधान भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा करप्रति सकारात्मक सोच तथा जिम्मेवार नागरिकको भावना विकास गर्न महत्वपूर्ण योगदान पुगेको सहभागीहरूको भनाइ रहेको थियो।

पोखरा, असार ५ – पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयमा शुक्रबार कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका संयोजक तथा प्राध्यापक मनोज पौडेलको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत ५७ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण पोखरा महानगरपालिका राजश्व विभागका अधिकृत सूर्य पौडेलले गर्नुभएको थियो।

करिब डेढ घण्टासम्म सञ्चालन भएको कार्यक्रममा करको महत्व, स्थानीय तथा संघीय कर प्रणाली, नागरिकको करप्रतिको दायित्व तथा करबाट हुने विकास निर्माणका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमको अन्त्यमा आयोजित प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले कर तथा राजश्वसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। कक्षा १२ की छात्रा सविता पौडेलले लामो समयदेखि तिरो नतिरेको जग्गामा लाग्ने जरिवाना तथा हजुरबुवाको नाममा रहेको जग्गा पुस्तान्तरण प्रक्रियाबारे प्रश्न गर्नुभएको थियो। यस्तै, अभिषेक ढकालले नेपालमा कर प्रणालीको सुरुवात कहिलेदेखि भएको हो भन्ने जिज्ञासा राख्नुभयो।

कक्षा ११ का गौतम तिमिल्सिनाले फोहोर व्यवस्थापन शुल्क उठाइनुको कारणबारे प्रश्न गर्नुभएको थियो भने कक्षा १२ की पल्लवी बानियाँले तिरो निर्धारणका आधार, समयमै कर तिर्दा पाइने छुट तथा ढिलो तिर्दा लाग्ने जरिवानाबारे जानकारी माग्नुभयो।

त्यसैगरी कक्षा ११ का रोहित लामिछानेले साना व्यवसायीले आन्तरिक राजश्व कार्यालयमा दर्ता हुनुपर्ने आवश्यकता तथा महानगरपालिकामा व्यवसाय दर्ता गर्दा हुने फाइदाबारे प्रश्न राख्नुभयो। कक्षा ११ की सुलोचना सिग्देलले सम्पत्ति कर र गैरकर राजश्वबारे जिज्ञासा व्यक्त गर्नुभएको थियो। विद्यार्थीहरूले राखेका सबै प्रश्नको जवाफ अधिकृत पौडेलले दिनुभएको थियो।

कार्यक्रम सम्पन्न भएपछि विद्यालयका शिक्षकहरूले महानगरपालिकाले यस्ता सचेतनामूलक कार्यक्रम वर्षमा दुईदेखि तीन पटकसम्म सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। महानगरपालिकाबाट प्रत्यक्ष रूपमा यस्ता कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीहरूमा करसम्बन्धी ज्ञान, जिम्मेवारीबोध र नागरिक चेतना अभिवृद्धि हुने प्रतिक्रिया शिक्षकहरूले व्यक्त गरेका छन्।

 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।