
पोखरा, जेठ २६ — पोखरा महानगरपालिका राजश्व महाशाखाको आयोजना तथा बाराही संचार प्रालिको सहजीकरणमा पोखरा महानगरपालिका वडा नं. २१, कृस्ती दोपहरेस्थित वडा कार्यालयको सभाहलमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सेवाग्राही गरी झण्डै छ दर्जन व्यक्तिको सहभागिता रहेको थियो। वडा अध्यक्ष दीपक प्रसाद सुवेदीको अनुपस्थितिमा कार्यवाहक वडा अध्यक्ष कृष्णबहादुर थापाले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य विमला केसी, वडा सचिव कृष्णप्रसाद शर्मा तथा सूचना अधिकारी मुक्तिनाथ पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा पोखरा महानगरपालिकाका अधिकृत शोभाकान्त पोखरेलले करसम्बन्धी विभिन्न विषय, करको दायरा तथा प्रकारका बारेमा जानकारी दिनुभएको थियो। सहभागीहरूले कर प्रशासन, सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, जग्गा मूल्यांकन तथा अभिलेखीकरणलगायत विषयमा विभिन्न जिज्ञासा राखेका थिए।

प्रश्नोत्तर सत्रमा राम्दी एकाहातेस्थित विद्यालयका शिक्षक विष्णु पौडेलले लामो अवधिका लागि दिइने जग्गा लिजको भाडासम्बन्धी प्रश्न राख्नुभयो। ठुलाचौर टोल विकास समितिका अध्यक्ष अर्जुन खत्रीले जग्गा अभिलेखीकरण प्रक्रियामा भएको ढिलाइबारे जिज्ञासा व्यक्त गर्नुभयो।
त्यसैगरी, कृस्ती भानु टोलका राजेन्द्र आचार्यले सम्पत्ति करबारे प्रश्न गर्दै कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिनुभयो। दोपहरे निवासी रामराज पराजुलीले व्यवसाय कर तथा महानगर र आन्तरिक राजस्व कार्यालयमा बुझाइने करबीचको भिन्नताबारे जानकारी माग्नुभयो।
निर्मलपोखरी निवासी ममता भट्टराईले जग्गा मूल्यांकन, तिरो निर्धारणको आधार तथा लाग्ने शुल्कबारे जिज्ञासा राख्नुभयो भने निर्मलपोखरी शिवालयकी हरिमाया पौडेलले सटर भाडामा लगाउँदा बहाल कर घरधनीले तिर्ने कि बहालमा बस्ने व्यक्तिले तिर्ने भन्ने विषयमा प्रश्न गर्नुभएको थियो।
सहभागीहरूले उठाएका सम्पूर्ण प्रश्न तथा जिज्ञासाको जवाफ पोखरा महानगरपालिकाका कर अधिकृत सूर्य पौडेलले दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै कार्यवाहक वडा अध्यक्ष कृष्णबहादुर थापाले यस्ता सचेतनामूलक कार्यक्रमहरू प्रायः शहर केन्द्रित हुने गरेको अवस्थामा आफ्नो वडामा समेत आयोजना गरिएकोमा महानगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कर तथा स्थानीय शासनसम्बन्धी कतिपय नीति–नियमबारे जनप्रतिनिधिहरू स्वयं पनि पूर्ण रूपमा जानकार नहुने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिक दुवैका लागि सिकाइको अवसर प्रदान गर्ने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले करसम्बन्धी जानकारी प्राप्त गर्न पाउँदा आफूहरू लाभान्वित भएको प्रतिक्रिया व्यक्त गरेका थिए।
पोखरा, जेठ २२ । पोखरा महानगरपालिका राजश्व महाशाखाको आयोजना तथा बाराही सञ्चार प्रालिको सहजीकरणमा पोखरा महानगरपालिका वडा नं. १४ को सभाहलमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।
करिब १६० भन्दा बढी सेवाग्राहीको सहभागिता रहेको कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कार्कीले वडा कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा मालपोत कार्यालयजस्ता राजश्व संकलन गर्ने सरकारी निकायमा सेवाग्राहीहरू प्रायः अलमलिने र कतिपय अवस्थामा ठगिने गरेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकलाई आवश्यक जानकारी प्राप्त गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रम सबै वडामा सञ्चालन गर्न सके नागरिक थप सुसूचित हुने र त्यसबाट महानगरपालिकालाई समेत प्रत्यक्ष लाभ पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा पोखरा महानगरपालिका राजश्व महाशाखाका कर अधिकृत आविष्कार पौडेलले करका स्रोत, भूमि मूल्यांकन, बहाल कर, व्यवसाय कर, विलम्ब शुल्क तथा कर छुट सम्बन्धी विषयमा अभिमुखीकरण गर्नुभएको थियो। साथै उहाँले मनोरञ्जन कर, कवाडी संकलन, वर्कशप, फर्निचर उद्योग लगायतका उद्योग तथा व्यवसाय स्थापना गर्दा वातावरणीय प्रभाव, कानुनी प्रक्रिया र पालना गर्नुपर्ने मापदण्डबारे जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले विभिन्न विषयमा जिज्ञासा राखेका थिए। मझेरीपाटन टोल सुधार समितिकी अध्यक्ष चम्पा देवी पौडेलले अपाङ्गता भएका व्यक्तिहरूका लागि कर सम्बन्धी सहुलियत तथा महानगरपालिकाबाट उपलब्ध गराइने सुविधाबारे प्रश्न गर्नुभयो। विशाल मार्गकी शारदा पोखरेलले घर भाडामा लिएर सञ्चालन गरिएको व्यवसाय बन्द भएपछि घर बहाल कर तिर्नुपर्ने वा नपर्ने विषयमा जिज्ञासा राख्नुभयो।
त्यसैगरी, छिनेडाँडा निवासी पदमा भण्डारीले वैदेशिक रोजगारीका लागि दर्ता गरिएका व्यवसाय विदेश गएपछि लामो समयसम्म बन्द नगरिएको अवस्थामा लाग्ने जरिवानाबारे प्रश्न गर्नुभयो। कदम मार्ग निवासी ममता पुनले दुईवटा सडकसँग जोडिएको जग्गाको धितो मूल्यांकन तथा तिरो निर्धारण कुन आधारमा गरिन्छ भन्ने विषयमा जिज्ञासा राख्नुभयो।
शुभकामना टोल निवासी राधिका कँडेलले आन्तरिक राजश्व कार्यालयमा मात्र व्यवसाय दर्ता गरी वडा वा महानगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गरेमा के हुने भन्ने प्रश्न गर्नुभएको थियो।
सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ पोखरा महानगरपालिकाका कर अधिकृत सूर्य पौडेलले दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष बोध बहादुर कार्कीले आफ्नो वडामा उपयोगी र जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा पोखरा महानगरपालिका राजश्व महाशाखाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले नागरिकलाई करसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै स्थानीय सरकारप्रति नागरिकको विश्वास समेत बढाउने विश्वास व्यक्त गर्नुभयो।





