२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको “तरकारी मूल्य श्रृङ्खलामा नविनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि परियोजना” ले ग्रामीण महिलाको आयआर्जनमा उल्लेखनीय सुधार ल्याएको छ । सहकारीमार्फत सामूहिक बजारिकरण प्रणाली विकास भएपछि कृषक महिलाहरू व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र महाशिला गाउँपालिकाको साझेदारीमा सञ्चालित उक्त परियोजनाअन्तर्गत कृषक व्यवसाय पाठशाला, बजार व्यवस्थापन तालिम, फसलपछिको व्यवस्थापन, जलवायु स्मार्ट कृषि अभ्यास तथा सामूहिक बजारिकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । परियोजनाको कुल बजेट ३ करोड ६२ लाख ३६ हजार ४ सय ८७ रुपैयाँ रहेको छ ।

परियोजनामार्फत हालसम्म २ लाख १२ हजार २ सय ११ केजीभन्दा बढी तरकारी बजारिकरण भएको छ । जसबाट १ करोड १३ लाख २९ हजार ६ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको परियोजनाले जनाएको छ । परियोजनाले आगामी महिनासम्म कारोबार रकम २ करोडभन्दा माथि पुग्ने अपेक्षा गरेको छ ।

गत जुलाईदेखि मार्चसम्म मात्रै टमाटर, काउली, बन्दा लगायत विभिन्न तरकारीको सामूहिक बिक्री गरिएको थियो । यस अवधिमा सबैभन्दा बढी कारोबार सेप्टेम्बर महिनामा भएको देखिन्छ । कृषकहरूले सहकारीमार्फत प्रत्यक्ष बजार पहुँच पाएपछि बिचौलियामाथिको निर्भरता घटेको बताएका छन् ।

परियोजनाले उत्पादन लागतसमेत घटाएको जनाएको छ । परियोजना सुरु हुनुअघि प्रतिकेजी टमाटर उत्पादन लागत ५१ रुपैयाँ ५६ पैसा रहेकोमा हाल ४१ रुपैयाँ २५ पैसामा झरेको छ । त्यस्तै काउली र बन्दाको उत्पादन लागत पनि उल्लेखनीय रूपमा घटेको तथ्यांकमा उल्लेख छ ।

महाशिला गाउँपालिकाले स्थानीय स्तरमै तरकारी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिसकेको जनाएको छ । साथै बजार सहजकर्ता परिचालन र बिक्री केन्द्र व्यवस्थापनको कामसमेत अगाडि बढाइएको छ ।
परियोजनाअन्तर्गत जलवायु स्मार्ट कृषि अभ्यास, मल्चिङ प्रविधि, नर्सरी स्थापना तथा व्यवसायिक खेती विस्तारले कृषक महिलाको व्यवसायिक क्षमता वृद्धि भएको बताइएको छ । विशेषगरी महिला कृषकहरू सहकारीमार्फत बजारसँग जोडिन थालेपछि ग्रामीण क्षेत्रमा रोजगारी र जीविकोपार्जनमा सकारात्मक प्रभाव परेको सरोकारवालाहरूले बताएका छन् ।

यद्यपि उच्च ढुवानी लागत, कमजोर भण्डारण सुविधा तथा बजार मूल्यसम्बन्धी सीमित जानकारी अझै चुनौतीका रूपमा रहेका छन् । परियोजनाले आगामी दिनमा बजार पूर्वाधार र प्रशोधन प्रणालीलाई थप सुदृढ गर्दै कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य राखेको छ ।

पर्वत जिल्लाको महाशिला गाउँपालिका सुन्दर प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र कृषि सम्भावनाले सम्पन्न भए पनि यहाँका कृषकहरूले लामो समयसम्म उत्पादनको उचित मूल्य नपाउने, बजार पहुँचको अभाव, उच्च ढुवानी लागत, कमजोर भण्डारण सुविधा र बिचौलियाको भर पर्नुपर्ने जस्ता चुनौतीहरू भोग्दै आएका थिए। मेहनत धेरै, आम्दानी कम। यसले कृषि पेशालाई निराशाजनक बनाइरहेको थियो।
यही अवस्थालाई परिवर्तन गर्न हेफर इन्टरनेशनल नेपाल, महाशिला गाउँपालिका र इन्प्रेड नेपालको साझेदारीमा “तरकारी मूल्य श्रृङ्खलामा नविनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि परियोजना” सञ्चालनमा आयो ।

यो परियोजनाले केवल तरकारी उत्पादन बढाउने लक्ष्य मात्र राखेको छैन, यसले ग्रामीण महिलालाई व्यवसायिक कृषि उद्यमीका रूपमा स्थापित गर्ने, उत्पादनदेखि बजारसम्मको सम्पूर्ण मूल्य श्रृङ्खलामा उनीहरूको पहुँच विस्तार गर्ने, र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन उद्देश्य बोकेको छ।

परियोजना सुरु भएसँगै महाशिलाका विभिन्न वडामा कृषक व्यवसाय पाठशाला सञ्चालन गरियो। कृषकहरूलाई आधुनिक खेती प्रविधि, जलवायु स्मार्ट कृषि अभ्यास, व्यवसाय योजना निर्माण, फसलपछिको व्यवस्थापन तथा बजार व्यवस्थापनसम्बन्धी व्यवहारिक तालिम प्रदान गरियो। खेतमै सिकाइ, समूहगत अभ्यास र सहकारीमार्फत सामूहिक छलफलले कृषकहरूमा नयाँ आत्मविश्वास पैदा गर्यो।

विशेषगरी ग्रामीण महिलाहरूको जीवनमा यस परियोजनाले उल्लेखनीय परिवर्तन ल्याएको छ। जो महिलाहरू पहिले घरायसी काममा मात्र सीमित थिए, उनीहरू आज व्यवसायिक तरकारी खेती, सहकारी नेतृत्व, उत्पादन व्यवस्थापन र बजार कारोबारमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूको आर्थिक आत्मनिर्भरता बढेको छ, निर्णय प्रक्रियामा सहभागिता बलियो बनेको छ, र परिवारको जीवनस्तरमा सकारात्मक सुधार आएको छ।
परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि भनेको सामूहिक बजारिकरण प्रणालीको स्थापना हो। सहकारीमार्फत कृषकहरूले आफ्ना उत्पादन व्यवस्थित रूपमा संकलन गरी बजारसम्म पुर्‍याउन थालेका छन्। यसले बिचौलियामाथिको निर्भरता घटाएको छ र किसानले आफ्नै उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गरेको छ।

हालसम्म दुई लाख १२ हजार दुई सय ११ केजीभन्दा बढी तरकारी बजारिकरण भइसकेको छ भने एक करोड तेह्र लाख रुपैयाँभन्दा बढीको कारोबार सम्पन्न भएको छ। यो उपलब्धि केवल तथ्यांक होइनस यो ग्रामीण महिलाको परिश्रम, सहकार्य र आत्मविश्वासको प्रतिफल हो।

परियोजनाले उत्पादन लागत घटाउन पनि महत्त्वपूर्ण योगदान दिएको छ। मल्चिङ, गुणस्तरीय नर्सरी, उन्नत प्रविधि र व्यवस्थापन सुधारका कारण टमाटर, काउली र बन्दाजस्ता तरकारीको उत्पादन लागत घटेको छ भने उत्पादकत्व बढेको छ। यसले कृषकको नाफा वृद्धि गरेको छ।

स्थानीय सरकारले पनि यस अभियानलाई थप टेवा पुर्‍याएको छ। तरकारी संकलन तथा प्रशोधन केन्द्र निर्माण, बजार सहजकर्ता परिचालन तथा बजार पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ। यसले परियोजनाको दीगो प्रभाव सुनिश्चित गर्ने विश्वास बढाएको छ।

यद्यपि चुनौतीहरू अझै बाँकी छन्। उच्च ढुवानी लागत, पर्याप्त भण्डारण सुविधाको अभाव र बजार मूल्यसम्बन्धी सूचना प्रणालीको सीमितता समाधान गर्नुपर्ने विषय हुन्। तर, महाशिलाले परिवर्तनको बाटो समातेको छ।
आज महाशिलाका महिलाहरू केवल किसान मात्र होइनन्, सफल उद्यमी बन्ने यात्रामा छन्। उनीहरूको मेहनत, सहकार्य र सही अवसरले देखाएको छ—यदि ज्ञान, प्रविधि र बजारसँग जोड्न सकियो भने ग्रामीण महिलाहरूले स्थानीय अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छन्।

महाशिलाको यो हरियो रूपान्तरण एउटा परियोजनाको सफलता मात्र होइनस यो सम्भावनाको कथा हो, आत्मनिर्भरताको कथा हो, र समृद्ध भविष्यतर्फको साझा यात्रा हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।