२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

पोखरा, १४ भदौँ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको समेत उल्लेख गरे ।

उनले बीमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको चर्चा गरे । उनले यी समस्या समाधानका लागि प्रदेश सरकार आफ्नो ठाउँबाट सक्दो लागिरहेको उल्लेख गरे ।

संघले पुराना गाडी विस्थापनमार्फत वातावरणीय प्रदूषण घटाउन गरेको पहल, दुर्घटना हुँदा क्षतिपूर्ति र सहयोग सुनिश्चित गर्ने काम र सामाजिक क्षेत्रमा गरेको कार्याको प्रशंसा मन्त्री केसीले प्रशंसा गरे । उनले बसपार्कको चर्चा हुने र समस्या साधानको लागि पहल भएपनि ट्रक पार्किङको समस्या ठूलो रहेको समेत उल्लेख गरेका छन् ।

मन्त्री केसीले प्रविधिको प्रयोग मार्फत व्यवसायमा सहजीकरणका लागि समेत व्यवसायीलाई आग्रह गरे् । ‘ट्रकहरुमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्नुहोला । यसले हाम्रा ट्रक कहाँ छन्, कहाँ पुगे भन्ने थाहा पाउन सजिलो हुन्छ । सुरक्षाको दृष्टिकोणले यो निकै महत्वपूर्ण छ । डिजिटल बिलिङजस्ता विषय पनि यहाँहरुको प्राथमिकतामा परोस् भन्ने मेरो सुझाव छ’ उनले भने ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले सरकारले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यानुपर्नेमा जोड दिए । आफूहरुलाई दोस्रो दर्जाको नागरिक जसरी व्यवहार गर्नेगरिएको भन्दै दुखेसो पोखेका उनले व्यवसायीमैत्री वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन् । राज्यलाई नियमपूर्वक कर तिरेर र रोजगारी सृजना गरेर सहयोग गर्ने व्यवसायीको विरुद्ध सरकार गएर कसको पक्षमा काम गर्ने हो ? भन्दै उनले प्रश्न समेत गरे ।

संघका संस्थापक अध्यक्ष तेजनाराण तिवारीले सरकाले व्यवसायीलाई दुख दिने नियत राख्न नहुने धारणा राखे । अनेक झमेला दिएर प्रतिकुल अवस्थामा समेत व्यवसाय गरिरहेका व्यवसायीलाई पलायन गराउने तर्फ सरकार लागेको उनको भनाई थियो ।

ग्ण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले ट्रक पार्किङको विषय अहिलेसम्म सरकारको नजरमा नपरेको बताए । नेपाली व्यवसायीले भारबहन लगायतका नियमको कडाईका साथ पालना गर्दा भारतीय व्यवसायीलाई सो नियम नै नलाग्ने अवस्था आउनु अनि नेपाली व्यवसायीलाई दुख दिनु कस्तो नियत हो ? भन्दै उनले प्रश्न गरे । गण्डकी ट्रक यातायात व्यवसायी संघका सदस्यहको मात्रै अरबौं लगानी रहेको भन्दै उनले यो लगानीको संरक्षण गर्नु सरकारको पनि दायित्व रहेको सम्झाए ।

कार्यक्रममा हेवी इकुप्मेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइराला, पूर्व वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदी, संघका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना र महासचिव सोभराज थापा लगायतले बोलेका थिए ।

 

पोखरा, १४ भदौँ ।

हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रत अनुष्ठान–२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ।

श्री लक्ष्मीनारायण मन्दिर परिसरको हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको भवनमा सम्पन्न भव्य समारोहमा अनन्त श्री विभूषित श्रीमज्जगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पावन सत्सङ्कल्पअनुसार श्रेष्ठलाई सम्मानपत्र, माला र दोसल्ला अर्पण गरी अभिनन्दन गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्र सुधार, समाज सेवा, राजनीतिक स्थिरता र राष्ट्रिय चेतना अभिवृद्धिमा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गरे। उनले श्रेष्ठको सरल जीवनशैली, जनताप्रति सेवाभाव र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए।

त्यस्तै, नेष्ट्रो नेपाल समृद्धि लघु वित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ठकुरीले महायोग ध्यान साधनाले आत्मशुद्धि, आत्म–उन्नति र आध्यात्मिक जागरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

यस अवसरमा चतुर्मास व्रत अनुष्ठान र महायोग ध्यान साधनाले आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वबारे समेत विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूका अनुसार, यस्तो साधनाले समाजमा सकारात्मक ऊर्जा, धार्मिक–सांस्कृतिक चेतना र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

समारोहमा स्थानीय समाजसेवी, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठित व्यक्तित्व, श्रद्धालु भक्तजन र साधकहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले यस प्रकारका आध्यात्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता र मानव कल्याणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

वैदिक परम्परा अनुसार, दैनिक रूपमा नवग्रह पूजन, रुद्राभिषेक र हवन सञ्चालन भइरहेको छ। असार २७ गतेबाट प्रारम्भ भएको चालू चतुर्मास व्रत अनुष्ठानआगामी कार्तिक १५ गतेसम्म जारी रहनेछ। यस अवधिमा सोह्र श्राद्धको पावन अवसरमा पितृ यज्ञ, नवरात्रिमा दुर्गा सहस्रचण्डी यज्ञ र दिपावलीमा श्रीलक्ष्मी यज्ञ सम्पन्न गरिने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रमको संयोजन हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रका साधक रेशम खड्काले गरेका थिए।

पोखरा, १४ भदौ । 
 
नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
 
समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त तिवारी, खेमबहादुर गुुरुङ, बसन्तराज आचार्य, सुमन गुप्ता, मीरा आचार्य, कृष्णप्रसाद पौडेल र गिरीराज गौतम रहनुुभएको छ । निवर्तमान अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्की रहनुुभएको छ ।
 
यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकास मन्त्री विन्दुुकुमार थापाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन संघको भूमिका महत्वपूर्ण हुने बताउनुुभयो । भारतसँगको सम्बन्ध धार्मिक, सामाजिक आदि रुपबाट धेरै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
 
नेपाल भारत मैत्री संघ केन्द्रीय समितिका सह अध्यक्ष बोधकृष्ण सुवेदीले दुुई देशबीचका नागरि नागरिक बीचको सम्बनधलाई बलियो बनाउने कुरामा संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।
 
संविधानसभा सदस्य शारदा पौडेलले दुुई देशबीचका नागरिकलाई सद्भाव र सत्प्रेमले सबैलाई जोड्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
 
नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरिराम पौडेलले मित्रलाई चिढाउने भन्दा पनि कुटनीतिक सम्बन्धलाई बलियो बनाउँदै देखिएका समस्याको समाधान गर्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
 
नेपाल भारत मैत्री संघ कास्कीका अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्कीको सभापतित्व एवम् सचिव गिरिराज गौतमले सञ्चालन गर्नुुभएको कार्यक्रममा निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व अध्यक्ष ऋषि सापकोटा, केन्द्रीय सदस्य सागर खरेल, निवर्तमान अध्यक्ष जगनबहादुर गुुरुङ लगायतले बोल्नुुभएको थियो ।

पोखरा, १४ भदौ ।

संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष प्रस्तुत गरे ।

परामर्शदाता रमेश अधिकारीले आधारपत्र प्रस्तुत गर्दै संघीयता समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितताका लागि ल्याइए पनि अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी रहेको, अधिकार टकराव, कर संकलनमा अस्पष्टता र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर रहेको बताए । उनले २०६३ यता १३ जना प्रधानमन्त्री फेरिनु, कोशी प्रदेशमा ९ पटक र गण्डकीमा २०७४ यता ७ पटक नेतृत्व परिवर्तन हुनु राजनीतिक अस्थिरताको प्रमाण भएको उल्लेख गरे ।

अनुसन्धानकर्ता शेखर पराजुलीले संघीयता खर्चिलो मात्र हो भन्ने धारणा हावी भए पनि स्थानीय तहले सेवा प्रवाह र भौतिक निर्माणमा उल्लेखनीय काम गरेको बताए । उपमेयर स्वस्थानी रिजालले दशकभरिको अभ्यास समीक्षा आवश्यक रहेको भन्दै कानुनी, कार्यान्वयन र कर्मचारी क्षमतामा कमी रहेको धारणा राखिन् । प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले संघले अधिकार दिन कञ्जुस्याइँ गरेको र जिल्ला समन्वय समिति अनावश्यक भएको बताए ।

गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले संघीयताको मोडल स्पष्ट नभएकाले प्रदेश कमजोर बनेको बताए । पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले वित्तीय संघीयता सबल नभएसम्म संघमाथि निर्भरता रहने उल्लेख गरे । अधिवक्ता डा. विष्णुहरि तिमिल्सिनाले समस्या आयो भने समाधान खोज्नुपर्नेमा जोड दिए भने प्रा.डा. लेखनाथ भट्टराईले “स्थानीय तह प्रभावकारी भए पनि प्रदेश तह नागरिकसँग जोडिन नसकेको” बताए ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक सुरेन्द्रबाबु तिवारीले योजना छनोटदेखि कार्यान्वयनसम्म पुरानै शैली प्रयोग भएको सुनाए । पूर्व वडाध्यक्ष खगराज आचार्यले महँगो र त्रुटिपूर्ण चुनाव प्रणालीप्रति आक्रोश पोखे । डा. कृष्ण अधिकारीले संघीयता अपरिहार्य भए पनि राजनीतिक दल र शासकको कार्यशैली सुधार आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा बाबुराम पौडेल, सुरेन्द्र परियार, अर्जुन पोखरेल, डा. रामचन्द्र बराल, रोशन भट्टराई, ईश्वरी पौडेल, भानु पराजुली, सन्देश शर्मा, उपेन्द्रप्रसाद पौडेल, भरत कोइरालालगायतले पनि संघीयता कार्यान्वयनका विषयमा जिज्ञासा र धारणा राखे ।

कार्यक्रमको अध्यक्षता गरेका नेत्रनारायण पौडेलले लोकतन्त्र अभ्याससँग जोडिएको प्रणाली भएको भन्दै अहिलेसम्म बनेका आयोगका प्रतिवेदन किन कार्यान्वयन नभएका विषयमा सरकार संवेदनशील हुनुपर्ने निष्कर्ष प्रस्तुत गरे ।

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले मासिक रुपमा कचहरी सञ्चालन गर्दै आएको छ । कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले कचहरीसँगै अनुसन्धान र प्रकाशनका काम पनि गरिरहेको जानकारी दिए ।

 

पोखरा, १४ भदौ । 
 
टे«किङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ ।
 
समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित बन्नुुभएको छ ।
 
त्यस्तै समितिका सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुङ्गना, राजकुमार नेपाली रहनुुभएको छ । समितिको निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी रहनुुभएको छ ।
 
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको उजागरका लागि सबैको प्रयास आवश्यक भएको बताउनुुभयो ।
 
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिनुुभयो ।
 
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन सम्बद्ध सबै संघ संस्थासँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन विकासका कार्यक्रम अघि बढाइने बताउनुुभयो ।
 
टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्र जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टिकाबहादुर लम्सालले गर्नुुभएको थियो भने सहसचिव टिकाराम लम्सालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रमेशराज अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो । 
पोखरा, १४ भदौ । 
 
पोखरा महानगरपालिका वडा नं २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८ औं पुस्तकालय दिवसका अवसरमा शनिवार प्रभातफेरी सहित भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
 
पुस्तकालयबाट सुरु गरिएको प्रभातफेरीमा पुस्तकालयका अध्येता, सामाजिक अभियन्ता राजनीतिकर्मी आदिको सहभागिता थियो प्रभातफेरी पछि आयोजित सभामा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाका लागि पुस्तकालय अपरिहार्य भएको बताउनुुभयो ।
 
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले सामाजिक सचेतनासँगै जागरणको सेतुका रुपमा पुस्तकालय भएको बताउनुुभयो । अध्यक्ष भण्डारीको सभापतित्व एवम् कार्यक्रम संयोजक विष्णुुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकी प्रदेशका अध्यक्ष माधव भण्डारी लगायतले पुस्तकालयको महत्व बारे प्रकाश पार्नुुभएको थियो ।
 
पुस्तकालय दिवशकै अवसरमा पुस्तकालयले आज विद्यालयस्तरीय भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा लक्ष्मी आदर्श मा.वि.की जयन्ती आचार्य प्रथम, गोगन माध्यमिक विद्यालयकी सुजाता पौडेल द्वितीय, लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुलकी सुदिक्षा पौडेल तृतीय र रामज्योति मा.वि.की स्वेच्छा परियार सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा ज्ञानज्योति विद्याकुञ्ज मा.वि.का सक्षम पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
 
प्रतियोगिताको निर्णायकमा विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्व प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मी, त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल र पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी रहनुुभएको थियो ।
 
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको सभापतित्व एवम् कार्यक्रम संयोजक विष्णुुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा पुस्तकालय सचिव पदमप्रसाद अधिकारी, पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल लगायतले बोल्नुुभएको थियो । पुस्तकालय दिवसका अवसरमा भोलि साँझ दिपावली गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुुभयो । 

पोखरा, १४ भदौ ।

पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो ।

 प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको प्रतिभाले नगद ५० हजार र तृतीय हुने  डायमन्डले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लिड गिटारवादक तर्फ कास्की मोडर्नाइज्ड विजेता बन्यो । उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो भने अन्य विधाका उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सङ्घका सचिव अमित गुरुङले बताए।

 ‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सहभागी बन्ने टिममा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोर्डनाइज्ड स्कुलका दुई टिम, मदरल्याण्ड सेकेन्डरी स्कुल, ग्लोबल कलिजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल रहेका थिए ।

यि १७ टिमबाट १३ गते राखेको प्रस्तुतीको आधारमा फाइनल चरणको लागि १० टिम छानिएका थिए । तिनै १० टिमबीच शनिबार भएको प्रतिष्पर्धामा आफ्नो प्रस्तुती मार्फत गण्डकीले उपाधि जितेको हो ।

प्रतियोगिताको निर्णायकमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए । बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटनमन्त्रीका स्वकिय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न उत्पेरित गरेको बताए ।  प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास समेत उनको थियो ।

यसअगाडि शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले यस प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उनले बताए । पर्यटनको राजधानी पोखरामा आयोजना गरिएको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताए ।

पोखरा, १४ भदौँ ।

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखरा को २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । नेष्टको अधिवेशनले सूर्यप्रसाद न्यौपानेलाई अध्यक्षमा चुनेको छ । नेष्टको उपाध्यक्षमा कमला देवी श्रेष्ठ, सचिवमा कुमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्देश सुवेदी, सहसचिवमा प्रभा आचार्य चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भुवन पराजुलीले जानकारी दिइन् ।

नेष्टको सदस्यहरुमा डा. पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ निर्वाचित भएका छन् । स्वयंसेवा तथा संस्थाको पहिचानलाई अब्बल बनाउने अभियानमा रहेको नेष्टको १० औं अधिवेशनबाट लेखा समिति संयोजकमा मोना भण्डारी, सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल सर्वसम्मत निर्वाचित भएको निर्वाचिन समितिका सदस्य हरिप्रसाद लुईटेलले जानकारी दिए । निर्वाचन समिति संयोजकमा अधिवक्ता भुवन पराजुली र सदस्यमा सुरेन्द्रबाबु तिवारी र हरिप्रसाद लुईटेल रहेका थिए ।

संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा भएको सभा सहसचिव रविन श्रेष्ठले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रभा आचार्यले गरेकी थिइन् । संस्थाको वर्षिक प्रतिवेदन सचिव सूर्यप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सन्देश सुवेदीले प्रस्तुत गरेका थिए । नयाँ नेतृत्वलाई सपथ खुवाउँदै अधिवक्ता पराजुलीले सौहार्दपूर्ण तवरले काम गर्न सुझाव दिएकी थिइन् । परामर्श सेवामा अग्रणी भूमिका खेल्दै आएको नेष्टले संघीय, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गर्दैै अघि बढ्ने जनाएको कर्मचारी लेखा तथा प्रशासन सहायक मुना मजाकोटीले जानकारी दिइन् । नयाँ प्रविधि र सोचलाई सस्थागत गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद न्यौपानेले प्रतिवद्धता जनाएका थिए ।

पोखरा, १४ भदौ ।

पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए । कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने,‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेला बेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे । अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए ।

सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’

आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ ।

होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

पोखरा, १४ भदौ । 

र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन् । केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल र रामजी पौडेल सदस्य रहेको निर्वाचन मण्डलले उक्त प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष उपेन्द्र पौडेलले शुभकामना दिएका थिए ।

यसअघि सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए ।

साधारण सभाले सचिव नेपालप्रकाश अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुुव केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । पठन संस्कृतिको विकासमा लागिपरेको सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।