
पोखरा, १४ भदौ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ । पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाउनुभएको हो ।
प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञान वृद्धाश्रमप्रति सकारात्मक नदेखिएपनि विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । सन्तानको समयअभाव वा तिरस्कृत भएर घरमै बसेर बेसहारा तथा असुरक्षित जीवनयापन गर्नुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र सहज जीवनयापन गर्नुलाई बुद्धिमानी ठान्नुपर्ने उहाँको भनाई छ ।
उहाँले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरेर समाजसेवामा सक्रिय पराजुली परिवार र सहयोगी शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । ‘सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहज बन्दै जाँदा यस्ता वृद्धाश्रम सञ्चालन गरेर ठूलो सामाजिक कर्म गर्नुभएको छ ।’ भट्टले भन्नुभयो ।
वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।
ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिने र यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्ने उहाँको भनाई छ ।
वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको पावन अवसरमा ज्येष्ठ नागरिकलाई स्मरण गरी सम्मान व्यक्त गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
काठमाडौँ , अमेरिकी पुनरावेदन अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको भन्सार दर अवैध ठहर गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार संघीय पुनरावेदन अदालतले ट्रम्पले लगाएको भन्सार दर अवैध ठहर गरेको हो।
ट्रम्पले गत फेब्रुअरीमा क्यानडा, मेक्सिको र चीनविरुद्ध लगाएको छुट्टै कर र अप्रिलमा लगाएको ‘रेसिप्रोकल’ भन्सारको वैधानिकतामाथि प्रश्न उठाउँदै भन्सार दर अवैध ठहर गरिएको हो।ट्रम्पले अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन९आइइपीए०लाई आधार बनाएर भन्सार दर घोषणा गरेका थिए। सोही कानुनअन्तर्गत उनले मनमौजी रूपमा भन्सार शुल्क तोकेका थिए। तर भन्सार शुल्क तोक्नु राष्ट्रपतिको अधिकार क्षेत्रभित्र नपर्ने भन्दै अदालतले आदेश दिएको हो। यद्यपि ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन जान पाउने मौका दिइएको छ। अक्टोबर १४ सम्मका लागि यी करहरूलाई यथावत् राख्न अनुमति पनि दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
फैसलामाथि प्रतिक्रिया जनाउँदै ट्रम्पले अमेरिकाले यसको परिणाम भोग्नुपर्ने तर्क राखेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ’ मा लेखेका छन्, ‘यदि यसलाई कायमै राखियो भने, यो निर्णयले शाब्दिक रूपमा लिट्रल्ली संयुक्त राज्य अमेरिकालाई ध्वस्त पार्नेछ। यदि यी शुल्कहरू हटाइएमा, यो देशका लागि पूर्ण विपत्ति हुनेछ। यसले हामीलाई आर्थिक रूपमा कमजोर बनाउनेछ।’ ट्रम्पले अन्तर्राष्ट्रिय आर्थिक नीतिमा भन्सार दरलाई प्रमुख हतियारका रूपमा प्रयोग गरेका थिए। विश्लेषकका अनुसार अदालतको यो फैसलाले उनको नीति कमजोर बनाएको छ।
पोखरा, पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए । कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने, ‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेलाबेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे । अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए ।
सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’ आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ । होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा दरबाङमा विद्यालय स्तरीय तेस्रो म्याग्दी भलिबल कप हुने भएको छ । आगामी असोज २ देखि ५ गतेसम्म मालिका गाउँपालिका–६, दरबाङ बजारमा अन्डर २० छात्रछात्रा भलिबल, पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिताको प्रतियोगिताको तयारी तीब्र पारिएको हो । गौमति खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडीको उपस्थिती हुने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।
मालिका गाउँपालिका भलिबल संघको सहआयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुने प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्धितिय हुनेले क्रमश ५० हजार, २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने शिक्षकतर्फ प्रथम र द्धितियले क्रमश २५ हजार, १३ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । नाम दर्ता भदौ २५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षकल, उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर र डिफेन्डरलाई लगायत विभिन्न विधामा सम्मान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरी प्रशिक्षण दिदैं जुनियर म्याग्दी टिम बनाउने आयोजकले जनाएको छ ।
बागलुङ,उच्च अदालत बार एसोसिएसन बागलुङको ३३ औं अधिवेसनबाट अधिवक्ता गिता श्रीष अध्यक्षमा चयन भएकी छन् । शुक्रबारदेखि शुरु भएको अधिवेसनको क्रममा अन्तिम नामाबली प्रकाशन गर्दै निर्वाचन समितिले शनिबार श्रीषको एकल उमेदवारीमात्र बाँकी रहेको जनाएको हो । अध्यक्षमा उमेदवारी दिएका अधिवक्ता हरिकृष्ण सुवेदीले उमेदवारी फिर्ता लिएपछि श्रीष निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, अधिवक्ता डा. डिल्लीराज गौतम र अधिवक्ता ज्ञानेन्द्रराज पन्त रहेको निर्वाचन समितिले शनिबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । बारको उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशंकर सापकोटा र कोषाध्यक्षमा रामराजा कँडेल चयन भएका छन् । सदस्यहरुमा नरेन्द्रप्रताप सिंह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मीदेवी जिसी चयन हुँदा मानवअधिकार समितिको सदस्यमा गोविन्दप्रसाद ओझा चयन भएका छन् ।
केन्द्रीय पार्सदतर्फ बद्रीप्रसाद शर्मा, हरि गौतम, गोविन्द गौतम, अखिलनाथ शर्मा चयन भएका छन् । बारमा तीन सदस्य र महिला समिति संयोजक रिक्त छ । सहसचिव पदमा पुग्ने नै महिला समितिको संयोजक रहने बैधानिक व्यवस्था छ ।
काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् । परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाएका छन् ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ ।
यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने निधो गरेको पनि राईले जानकारी गराएका छन् । एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।





