२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

पोखरा, १९ भदौँ ।

पोखरा छोरेपाटनमा रहेको पाताले छाँगो निजी कम्पनीलाई ठेक्कामा दिने विषय विवादित बनेको छ । पोखरा महानगरपालिकाले सीसाको पुललगायत संरचना निर्माणका लागि सेती क्यानोनिङ प्रालिसँग ४० वर्षको सम्झौता गरेपछि यसलाई लिएर स्थानीय, विद्यार्थी संगठन र महानगरबीच विवाद चुलिएको छ ।

सीसाको पुललगायत संरचना निर्माण गर्न जिम्मा पाएको कम्पनीले बिहीबार बिहान राखेको सार्वजनिक सुनुवाइ विभिन्न पार्टीका विद्यार्थी नेता, स्थानीयको विरोधले बिथोलिएको थियो । यो विषय लम्बिँदै जाँदा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेललगायतमाथि खुकुरी प्रहार भएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी काअनुसार खुकुरी प्रहार गर्ने बंशसिंह खवास प्रक्राउ परेका छन् भने पौडेललाई उपचारका लागि अस्पताल लगिएको थियो ।

हप्तादिन अगाडि पनि सार्वजनिक सुनुवाई बिथोलिएको थियो । बिहीबार ठेकेदार तथा महानगरका पक्ष र निर्माण गर्न दिन नहुने दुबै पक्षबाट ठूलो संख्यामा युवाहरू उपस्थित भएका थिए । कार्यक्रममा खुकुरीसहित युवाहरू उपस्थित भएको खुलेको छ । प्रहरीले खवासलाई खुकुरीसहित पक्राउ गरेको हो ।

कार्यक्रम सुरू भएलगत्तै विभिन्न विद्यार्थी संगठनका नेता र स्थानीले सीसाको पुल निर्माणको विपक्षमा नाराबाजी गरेका थिए भने कुनै पनि हालतमा योजना अगाडि बढाउन नदिने चेतावनी दिएका थिए । विवाद बढ्दै गएपछि मेयर धनराज आचार्य कार्यक्रमस्थलबाट हिँडेका थिए । मेयरले जवाफ नदिइ भागेको भन्दै नाराबाजी र विरोध गरेका थिए ।

ठेक्का पाएका सेती क्यानोनिङका सञ्चालक कर्केन गुरूङले आफूले लगानी गर्न लागेको, अदालतले पनि आफ्नो पक्षमा फैसला गरेको र स्थानीयको माग पनि सम्बोधन गर्ने बताउँदै कार्यक्रम समापन गरे पनि विवाद कायमै थियो । कार्यक्रम सकिइसकेपछि विरोध गर्ने विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो ।

निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बैठकको कार्यकालको अन्तिममा पातले छाँगो, मोरेखहरे घाट सहित सेती खोंच, रामघाट ३५ देखि ४० वर्षसम्मका लागि ‘सार्वजनिक निजी साझेदारी’ अन्तर्गत ‘सेती क्यानोनिङ प्रालि’ नामक निजी कम्पनीलाई दिने निर्णय गरेको थियो । ठेक्का पाएको कम्पनीले बिहीबार बिहान सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको हो ।

वर्तमान मेयर धनराज आचार्य नेतृत्वको १७औं कार्यपालिका बैठकले पुरानै निर्णय सदर गरेको थियो । १७औं कार्यपालिका बैठक ३ वैशाखमा बसेको थियो, तर महानगरले पुरानो निर्णयलाई सदर गरेर ठेक्का दिने निश्कर्ष निकालेको थियो । पाताले छाँगो एउटा कम्पनीलाई ४० वर्षका लागि सुम्पिन नहुने, महानगरले घाटा खाएर ठेक्का दिन लागेको भन्दै लामो समयदेखि विवाद हुँदै आएको छ ।

कार्यपालिकाको निर्णय अनुसार महानगरले सेती क्यानोनिङसँग १४ साउन २०७८ मा सम्झौता समेत गरेको थियो । सम्झौतापत्रमा तत्कालीन महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनिङका अध्यक्ष कर्केनकुमार गुरुङ छन् । गुरूङले ६५ करोड लगानी गर्ने सम्झौतामा छ ।

अहिलेसम्म पातले छाँगोको सम्पूर्ण आम्दानी छोरेपाटन माविले संकलन गर्दै आएको थियो । महननगरले गत सालदेखि आफैंले शुल्क उठाउँदै आएको छ र विद्यालयलाई ३ करोड महानगरले दिने बताएको छ । तर, स्वार्थ समूहसँग मिलेर घाटा खाएर पाताले छाँगो तथा पोखराकै सम्पदा ब्यापारीलाई सुम्पिन लागेको भन्दै विरोध हुँदै आएको छ ।

काठमाण्डौँ, १९ भदौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो ।

 

पोखरा, १९ भदौ ।

कास्की जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९औं राष्ट्रिय दिवस (भदौ २०) विविध सचेतनामूलक कार्यक्रमसहित मनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठकले यस सम्बन्धमा विभिन्न निर्णय गरेको हो।

बैठकले विगतका निर्णयको कार्यान्वयन समीक्षा गर्दै यस वर्षको राष्ट्रिय नारालाई “तीनै तहको सरकार मिली गरौं हातेमालोः मानव बेचबिखन हटाऔं दुष्चक्रको जालो” अनुसार दिवसलाई सृजनात्मक, सन्देशमूलक र प्रभावकारी ढंगले मनाउने निर्णय गरेको हो ।

यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी कार्यालय,नेपाल पत्रकार महासंघ कास्की, गण्डकी , पोखरा महानगरपालिका, जिल्ला समन्वय समिति, नागरिक समाज, गैरसरकारी संस्था महासंघ, शक्ति समूह, कोपिला नेपाल, श्री एन्जल्स नेपाल लगायतका सरोकारवाला संस्थाको सहभागितामा मूल आयोजक समिति गठन गरिएको छ।

दिवसका अवसरमा मनोरञ्जनात्मक व्यवसायमा कार्यरत श्रमिकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। सो अन्तरक्रिया शक्ति समूहको समन्वयमा, जिल्ला समिति तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको आयोजनामा भदौ २२ गते साइमन पार्टी प्यालेस, सिर्जनाचोक पोखरामा हुने भएको छ।

बैठकमा जिल्ला सरकारी वकिल कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, बालअधिकार तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्था, नागरिक समाज, नेपाल पत्रकार महासंघलगायतका सरोकारवालाको उपस्थितिमा कार्यक्रमका एजेन्डामाथि छलफल भएको थियो।

पोखरा, १९ भदौँ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याउदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव नारायणप्रसाद पौडेलले स्वागत र प्रशिक्षण तथा अनुसन्धान अधिकृत मनोज पौडेलले संचालन गरेका ।

प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम तालिमको उद्देश्य सार्वजनिक निकायहरूको सेवा प्रवाहको गुणस्तरमा सुधार ल्याउनु र प्रशिक्षार्थीहरूको कार्यसम्पादन क्षमतामा अभिवृद्धि गर्नु रहेको छ । ३० दिनसम्म सञ्चालन हुने यस तालिममा विभिन्न विषयवस्तुमा १२० सत्रहरू सञ्चालन हुनेछन् ।

पोखरा, १९ भदौँ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा, पोखरा– १९ ले पोखराको पर्यटकीय क्षेत्र घार्मीमा सरसफाई तथा पुष्परोपण गरेको छ। सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा उपशाखाले स्थानीय ओमकारेश्वर महादेव मन्दिर परिषरमा वातावरणीय सरसफाई गर्नुका साथै विभिन्न प्रजातिका २५ वटा फुलका विरुवा रोपिएको उपशाखाका स्वास्थ्य संयोजक श्यामसुन्दर आचार्यले जानकारी दिनुभयो।

कार्यक्रमको शुरुवात गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि वडाले सहयोग गरे पनि पर्याप्त नभएको बताउँदै, प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले वातावरणीय सरसफाईका लागि स्थानीयको भुमिका महत्वपुर्ण हुने हुँदा, यहाँका सामाजिक संस्था र टोल विकास समिति सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

उपशाखाका सभापति रमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत गौतम, रेडक्रस सोसाइटी कास्कीका सदस्य नवराज पौडेल, महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेल लगायतकाले पोखराबाट नजिकै भएर पनि यो क्षेत्र ओझेलमा परेको गुनासो गरे। स्वास्थ्य संयोजक श्यामसुन्दर आचार्यले स्वागत र सचिव माधव प्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा सहभागीले संकलित प्लास्टिकजन्य फोहोरको वर्गिकरण गरी व्यवस्थापन गरेका थिए।

सो कार्यक्रमलाई प्लास्टिकजन्य फोहोर मैला मुक्त वातावरण संरक्षण समिति कुरेचौर, स्वाभिमान टोल विकास संस्था, तेन्जिङ डोल्मा हेल्प नेपालले सहयोग गरेका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।