
फारम भर्ने अन्तिम मिति भदौं २५ सम्म
पोखरा, २२ भदौं ।
विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताउनु भएको छ ।
पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन दिनुभएको हो ।
प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा व्यवसायीहरूले सरकारले हाल फेसबुकसहितका सामाजिक सञ्जाललाई निष्कृय पारेकाले सञ्चालनमा रहेका भाइभर र टिकटकलाई प्रचार सामाग्रीकारूपमा अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा बोल्दै बक्सिङका पदकधारी खेलाडी एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्वतीय दौड प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटनलाई महत्व दिएको हुँदा उक्त प्रतियोगितालाई सफल पार्न निजी क्षेत्रसहित स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “ खुला र उमेर समूहसहित छ इभेन्टमा हुने प्रतियोगितालाई सफल पार्नु हाम्रो पनि जिम्मेवारी हो किनकि, विश्व पर्यटनको अवसरमा आयोजना हुने प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटनसँगै अर्थतन्त्रमासमेत थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।”
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले यस्ता प्रतियोगिता र विभिन्न अभियानहरूलाई सफल पार्न हाल सञ्चालनमा आएका सञ्जालमा जोडिएर आवश्यक प्रचारप्रसार गर्न सुझाव दिनुभयो ।
सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई निष्कृय पार्दा पर्यटनसहित धेरै क्षेत्र प्रभावित भएको गुनासो गर्नुभयो । साथै उहाँले प्रतियोगितालाई सफल पार्न पोखरा भ्रमण वर्षबाट न्यूनतम ३० देखि ५० हजार सहयोग गर्ने र व्यक्तिगत १० हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा नेचर, कल्चर र एडभेन्चरको सहर पोखरामा यस्ता गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । प्रतियोगितामा विदेशी तथा स्वदेशी खेलाडीहरू सहभागी गराउनका लागि कटिबद्ध रहेको बताउनुभयो ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितामा जति सक्दो धेरै धावकहरू सहभागी गराउन आफूहरू पनि होस्टेमा हैसे गर्ने वचन दिनुभयो । उहाँले भन्नुभयो “विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने यो वर्षको पहिलो कार्यक्रम हो, यसलाई सफल पार्नु तपाईं हामी सबैको जिम्मेवारी हो, तपाईहरूलाई आवश्यक पर्ने रूमसहितका अन्य प्राविधिक कुनै पनि सहयोग गर्न हामी तत्पर छौं ।”
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा क्षेत्रमा हुने साहसिक खेल गतिविधिको विश्व बजारमा व्यापक प्रचारप्रसार गर्न आवश्यक भएको बताउनुभयो । पर्वतीय दौड प्रतियोगितालाई सफल पार्न आवश्यक पर्ने भौतिक तथा नैतिक सहयोगमा आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।
खेल पर्यटन प्रबद्र्धन गर्न आयोजना हुने उक्त प्रतियोगिताले सिंगो पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन हुने केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनु भयो । यही भदौं २५ गतेसम्म उक्त प्रतियोगितामा सहभागि हुनेहरूले पोखरा क्लिक डटकममा गएर फारम भर्न सक्ने समय सीमा रहेको संयोजक बरालले जानकारी दिनुभयो ।
प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, सिटिजन्स फर्निचर, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार लगायतको सहयोग रहेको छ ।
प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।
प्रतियोगिताको खुलातर्फको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गर्नुभएको छ भने नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लबले १६ वर्ष मुनीका खेलाडीहरूको विधामा बिजेताको पुरस्कार १५ हजार सहयोग गर्ने क्लबका अध्यक्ष केशवराज बरालले जनाउनु भएको छ । सिटिजन्स फर्निचरले पर्यटक दौडको प्रोत्साहन पुरस्कार प्रायोजन गर्ने सञ्चालक दीपक कार्कीले बचतबद्धता गर्नुभएको छ ।
प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने भएको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो ।
पोखरा, २२ भदौँ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् ।
‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे।
उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक विभेद र घरेलु हिंसा जस्ता कारणहरूले नेपालमा मानव ओसारपसार बढेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका र सिमान्तकृत समुदाय बढी जोखिममा पर्ने बताए । “मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ,“ उनले भने।
मन्त्री थापाका अनुसार हिंसामा परेका महिला तथा बालबालिकाका लागि अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापना केन्द्र सञ्चालन, जनचेतनामूलक अभियान, प्रविधिको प्रयोग, सीमामा निगरानी प्रणाली लगायतका कार्यक्रमहरू अघि सारिएका छन्। तर स्रोत–साधनको अभाव, अन्तरदेशीय सीमा नियन्त्रणको कठिनाइ, अपराधीक गिरोहहरूको सञ्जाल, पीडितको पहिचान र पुनःस्थापनामा देखिने समस्या अझै चुनौतीको रूपमा रहेको उनले उल्लेख गरे।
जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक सरला ढकालले प्रस्तुत गरेको विवरण अनुसार पोखराका ११ वटा डान्सबारमा गरिएको अनुगमनमा भड्किलो पोशाकको प्रयोग देखिएको छ । पछिल्लो समयमा यौन शोषणका घटना बढ्दो क्रममा रहेको उनले बताइन्। उनका अनुसार कास्कीमा हालसम्म मानव बेचबिखनसम्बन्धी १२३४ मुद्दा दर्ता भइसकेका छन् भने औसतमा दैनिक पाँचवटा मुद्दा दर्ता हुने गरेको छ ।
मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले हिंसापीडित प्रभावितहरूको लागि तत्काल उद्धार समन्वय सञ्जाल गठन, बालिका तथा समावेशी शिक्षा सञ्जाल परिचालन, सचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन, आपतकालीन उद्धार कार्यक्रमलाई ११ वटै जिल्लामा लैङ्गिक हिंसा विरुद्ध निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन्। “गण्डकी प्रदेशमा ८ जिल्लामा अल्पकालीन सेवा केन्द्र र प्रदेशस्तरीय दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनमा छन्। साथै औद्योगिक प्रशिक्षार्थी, सीपमूलक तालिम, सिक्दै–कमाउँदै रमाउँदै कार्यक्रम तथा सामूहिक उद्यमशीलता प्रवद्र्धन गरिएका छन्।”, उनले भनिन् ।
शान्तिका लागि नागरिक समाज सञ्जालका संयोजक बिना सिलवालले ड्रग र यौन व्यवसायबीचको सम्बन्ध औंल्याउँदै शिक्षा व्यवस्थापनमार्फत यौन नियन्त्रण आवश्यक भएको बताए। उनका अनुसार ९० प्रतिशत यौनजन्य दुव्र्यवहार घरभित्रै हुने भएकाले सुरुवातमै जोगाउनेतर्फ ध्यान दिन जरुरी छ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजमा नैतिकता र संस्कार सिकाउनुपर्नेमा जोड दिए । “मानव बेचबिखन नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र होइन, सामाजिक मूल्य–मान्यतालाई बलियो बनाउनुपर्छ,“ उनले भने।
कार्यक्रममा सहभागी वक्ताहरूले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी, गैरसरकारी, उद्योग वाणिज्य क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । समुदायस्तरमा जनचेतना अभिवृद्धि, सुरक्षाकर्मीको भूमिका सुदृढीकरण र स्थानीय सरकारसँगको सहकार्यले मात्र यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने भनाई उनीहरुको छ ।
मन्त्रालयका निमित्त सचिव प्रकाश ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका अधिकारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, निजी क्षेत्र र सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।
पोखरा, २२ भदौ ।
नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । ‘सामाजिक सञ्जालमा आधारित सयौं आम्दानीका स्रोतहरु प्रभावमा परेका छन् भने यसले लाखौं मानिसको दैनिकी र रोजगारीमासमेत प्रभाव पारेको छ,’ महासंघले सिडिओमार्फत बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘घुम्न आउने पर्यटकहरुले बुकिङ गर्न छाडेका छन् भने बुकिङ गरिरहेकाहरुले पनि रद्ध गर्न थालेका छन् ।’
महासंघले विश्वभरि रहेका व्यावसायिक संस्थाहरुबीचको सम्बन्ध, सम्पर्कमै असर पारेको बताएको छ । सामाजिक सञ्जाललाई व्यवस्थित नियमन गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा असहमति नभएको तर पर्याप्त कानुनी आधार र कुटनीतिक प्रयासबिना बन्द गर्ने निर्णयप्रति भने असहमति रहेको महासचिव गौतमले बताए । ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलाई प्रभावित पार्नु कानुनी शासन र लोकतान्त्रिक मूल्यविपरीत रहेको हाम्रो निश्कर्ष छ,’ गौतमले भने ।
नेपालमा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहिरहेको अवस्थामा सरकारले पुरानो २०६३ सालको कानुनलाई टेकेर बनाएको निर्देशिकाअनुसार बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न अध्यक्ष जितुले माग गरे ।
‘कुटनीतिक पहल गर्दै सामाजिक सञ्जाल नियमनको प्रक्रिया थाल्न अनुरोध छ,’ उनले भने, ‘देशमा सिर्जित लाखौंको रोजगारी खोस्ने, अर्थतन्त्रलाई नै प्रभावित पार्ने कदमबाट पछि हट्दै व्यवसायी तथा आम नागरिकको पक्षमा निर्णय गर्न माग गर्दै श्रीमान प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’
फिने गण्डकीका प्रवक्ता कृष्ण आचार्यले पदमार्गमा जाने बल्ल सिजन लाग्दै गर्दा सरकारको निर्णयले धेरै असर गरेको सुनाए । फेसबुकसँगै अधिकतम सम्पर्क र व्यावसायिक कुराकानी ह्वाट्सयपबाट हुने गरेको उनले बताए । अहिले त्यो नै नचलेपछि ब्यापारिक सम्बन्ध नै टुटेको उनले दुखेसो गरे । पर्यटकले सामाजिक सञ्जाल नै नचल्ने तिमीहरुको देशमा किन आउने भन्न थालेको उनले दुखेसो गरे ।
पोखरा, २२ भदौ ।
हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ ।
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको आठौँ साधारणसभा तथा गण्डकी प्रदेश अपरेटर अन्तरक्रिया कार्यक्रममा उनीहरुले हेभी उपकरणहरु चलाउने चालक तथा सहचालकहरुको जीवनको सुरक्षा हुनुपर्ने उनीहरुको माग छ ।
गण्डकी प्रदेश अपरेटर संघका महासचिव देवेन्द्र चोखालले सडक, पुल तथा हाइड्रोपावरको काम गर्दा सामान्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो गर्नुभयो । उहाँले अत्यन्त जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता सुनाउनुभयो ।
“देशको विकासका लागि भनेर हामी ठूला इक्युपमेन्ट चलाउँदै आएका छौँ । तर कार्यस्थलमा हाम्रो जीवनको सुरक्षा छैन । अत्यन्त जोखिम मोलेर संवेदनशील ठाउँमा काम गर्नुपरेको छ ।” चोखाललेभ भन्नुभयो । अपरेटरहरु दुर्घटनामा पर्दा समयमै उद्धार समेत नहुने गरेको उहाँको भनाई छ ।
हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले आफ्नो पेशालाई इमानदारीका साथ कुशल ढंगबाट निर्माण कार्य तथा सामाजिक कार्य गर्दै आएपनि जीवनको कुनै सुरक्षा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामी अपरेटरहरु देशको विकासका मेरुदण्ड हौँ, विकास गर्नका लागि भीर, पहाडसँग सिँगौरी खेलेका छौँ । हामीलाई अप्ठ्यारो पर्दा सरकारबाट कहिल्यै सहयोग पाएनौँ । ”
गौतमले राज्यद्धारा कानुनमा समावेश गरिएको अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हेभी इक्युपमेन्ट चालकहरुलाई समेत समावेश गर्न माग गर्नुभयो ।
कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसी)का अध्यक्ष जगत सिँखडाले अपरेटरहरु दुर्घटनामा पर्दा हेलिकप्टरबाट उद्धारको प्रवन्ध सरकारले गर्नुपर्ने बताउनुभयो ।
उहाँले अत्यन्त जोखिम र संवेदशील पेशामा रहेका श्रमिक तथा मजदुरहरुको जीवनको सुरक्षा र परिवारको उचित प्रवन्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“अहिले गाउँ गाउँमा व्यक्ति व्यक्तिले डोजर र एक्साभेटर किनेका छन् तर त्यसका चालक तथा सहचालकको सुरक्षामा कोही पनि जिम्मेवार छैनन् । चालकले सुरक्षित महसुस गर्ने वातावरण बन्नुपर्छ ।”
अपरेटरहरुको हित र उनीहरुको व्यावसायिक सुरक्षाका लागि संयुक्त ट्रेड युनियन समन्वयले काम गर्ने सिँखडाले प्रतिवद्धता जनाउनुभयो ।
समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ(एसआइटीयुसी)का अध्यक्ष नवराज दाहालले श्रमिकको मुद्धा र उनीहरुको उत्थानका लागि सबै एक ठाउँमा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल हेभी इक्युपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष सन्तोष श्रेष्ठले हेभी गाडीको सवारी लाइसेन्स पाउन अत्यन्त झन्झटिलो रहेकाले सहजीकरणका लागि सरकारसँग माग गर्नुभयो । उहाँले अपरेटरहरुको हक हितका लागि सडक देखी सदनसम्म आवाज पुरयाउने बताउनुभयो ।
कार्यक्रममा समाजवादी स्वतन्त्र टे«ेड युनियनका प्रदेश संयोजक टिवी विश्वकर्मा(हिमाल), संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) गण्डकीका उपाध्यक्ष टंक पौडेल, सचिव गुणराज बास्तोला, एसआइटियुसी गण्डकी प्रदेशका संयोजक सुशिल कुमार वाग्ले,नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव वामदेव पौडेल, कोषाध्यक्ष उमनाथ शर्मा, नेपाल ट्रेडर्सका सञ्चालक किशोर सुवेदी, नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गण्डकीका अध्यक्ष प्रेमबहादुर थापामगर, सचिव अपरेटर संघ कास्कीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम सुवेदी र सचिव कृष्णप्रसाद पौडेल, स्याङ्जाका अध्यक्ष दीपेन्द शर्मा, म्याग्दी अध्यक्ष देवबहादुर खड्का(कुशल), एमएमडब्लु पोखराका प्रमुख कृष्णप्रसाद तिवारी लगायतले व्यवसायी र श्रमिकहरु मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
साधारणसभाका अवसरमा ज्येष्ठ हेभी इक्युपमेन्ट चालकद्धय टंक लामिछाने र मंलगबहादुर लामिछानेलाई सम्मान गरिएको थियो । यसैगरी माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने अपरेटरहरुका छोराछोरीलाई नगद सहित सम्मान गरिएको थियो ।
साधारणसभाले अध्यक्ष किशोरप्रसाद गौतम,सचिव कृष्ण प्रसाद पौडेल र कोषाध्यक्ष अनन्तराज पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।
पोखरा, २२ भदौ ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो ।
यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो । १२ वर्षअघि पोखरामा स्थापना भएको युआरएल गण्डकी प्रदेशको एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब हो ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले १२ वर्षको अवधिमा युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो । यो अवधिमा साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिएको उहाँको भनाइ ।
पोखरा, २२ भदौँ ।
जन्म दिनको अवसरमा पोखरा २८ आरुपाटाका पुष्पराज त्रिपाठीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । लायन्स क्लब पोखरा कालिका भ्यु टाउन अध्यक्षसमेत रहेका त्रिपाठीले आफूले अध्ययन गरेको लेखनाथ आधारभूत विधालयमा एक लाख एक रुपैंयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोषको प्राप्त व्याजले जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरेको त्रिपाठीले बताए । विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई पोशाक र ३२ जना विद्यार्थीलाई ट्राकसुटसमेत प्रदान गरिएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ डिस्ट्रिक ३२५ एम नेपालका डिस्ट्रिक गभर्नर पिएमजेफ धनीराम बराल, कलस्टर प्रमुख दिलु तिवारी, लायन्स क्लब अफ कालिका भ्यु टाउनका पूर्वअध्यक्षहरु नारायण अधिकारी, चन्द्र शर्मा, ईश्वर अधिकारी, एमजेएफ दिनेशबाब, खड्का, विद्यालयका प्रधानाध्यापक टेकबहादुर भुजेल, अविभावक संघका अध्यक्ष तिलबहादुर भुजेल, समाजसेवी भोलानाथ त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एकनाथ अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य शम्भुराम पाण्डे, जग्गदाता तथा सदस्य पुष्पराज चापागाइँ, विद्यार्थी, अभिभावक लगायत सहभागी भएका थिए । त्रिपाठी कक्षा १ देखि ५ सम्म सोही विद्यालयमा अध्ययन गरेका थिए ।
पोखरा, २२ भदौ ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले आफ्नो हिसाब–किताबको जिम्मेवारी कर सहयोगीलाई सुम्पेर ढुक्क नबस्न उद्योगी÷व्यवसायीलाई आग्रह गरेका छन् ।
करोडौं लगानी गर्ने उद्योगी÷व्यवसायीहरुले आफूलाई आवश्यक पर्ने करसम्बन्धी जानकारी पढ्नुस्,’उनले भने,‘कर सहयोगीलाई आफ्नो कर तिर्ने युजर नेम र पासवर्ड दिएर ढुक्क हुँदा तलमाथि परे मलाई थाहा छैन भनेर उम्कन पाइँदैन । हाम्रो कर प्रणाली भनेको आफैंले कर घोषणा गर्ने हो र तपाईंले गरेको घोषणा सच्याउन गाह्रो हुन्छ ।’ प्रमुख कर अधिकृत ढुंगाना पोखरा उद्योग वाणिज्य संघले आइतबार उनकै सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थिए ।
अधिकांश उद्योगी÷व्यवसायीहरुले करसम्बन्धी जानकारी नलिने गरेको उनको भनाइ थियो । आन्तरिक राजश्व कार्यालय कसैको उजुरीको भरमा उद्योगी÷व्यवसायीकहाँ अनुसन्धानको लागि भन्दै छापा हान्न नजाने जिकिर गर्दै उनले भने,‘व्यापारमा प्रतिस्पर्धा हुन्छ, कसैको उजुरीको भरमा हामी कँुदी हाल्दैनौँ,अनुसन्धानपछिमात्र छापा हान्ने हो ।’ उनले अहिलेको कर प्रणालीमा ७५ प्रतिशत काम घरमै बसेर गर्न सकिने पनि बताए । ‘अहिले फेसलेस ( मान्छेबिना)को सेवा छ,हिजो कर कार्यालय जाँदा लुगलुग काप्ने,गाडी चढेर गएको छ भने परै छाडेर जाने चलन थियो,अहिले त्यस्तो छैन,’उनले थपे ।
आफू स्वच्छ काम गर्नका लागि गृह जिल्ला कास्कीको प्रमुख कर अधिकृतको रुपमा आएको बताउँदै उद्योगी÷व्यवसायीहरुलाई सहजीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख कर अधिकृतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीहरुलाई कर तिर्न प्रोत्साहित गुर्नु संघको दायित्व भएको बताए ।
‘आन्तरिक राजश्व कार्यालय भनेको हामीले कर तिर्ने पहिलो ढोका हो, रक्तनली हो,हामी कर तिर्ने वातावरण निर्माणको लागि कर शिक्षालगायतका कार्यक्रम आयोजना गर्छौँ,’उनले भने, ‘ कर प्रशासनले उद्योगी÷व्यवसायीलाई सहजीकरण गरिदेओस्, भूलवशः भएका सानातिना कमजोरीमा आँखा नलगाओस् भन्ने हो ।’
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको सो कार्यक्रममा संघका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । पोखरा २६, बुढीबजार घर भएका ढुंगाना १७ वर्षे निजामती सेवाको क्रममा गृह जिल्लाकै आन्तरिक राजश्व कार्यालयको कमाण्ड सम्हाल्न आएका हुन् । कर प्रशासनमा प्रायः कुनै पनि व्यक्ति आफ्नै गृह जिल्लामा प्रमुख भएर जाँदैनन् ।
‘कर प्रशासनका व्यक्तिहरु आफ्नो गृह जिल्ला आउन खोज्दैनन् किनकि कहिलेकाहिँ कटु निर्णय पनि गर्नुपर्छ,’उनले भने,‘म चाहिँ जोखिम मोलेर नै आएको हुँ,ठूलै कर छली हुँदा जिल्लावासी भएकैले कसैलाई छाड्न मिल्दैन, सहजीकरणमा चाहिँ म तयार छु ।’





