
पोखरा ३० भदौ ।
खेलकुदको शहर पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधिको लागि काठमाण्डौंका फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौंका शेर्पाले हेटौडाका नितेश खण्डवाललाई ५–१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरे ।
अर्को खेलमा काठमाण्डौंकै तामाङले पोखरेली खेलाडी विकास मर्हजनलाई ५–२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरे । फाइनल खेल भोलि (मंगलबार) बिहान १०ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक सोम बि.क.ले बताए ।
पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौं १७ गते देखि सुरु भएको हो । पोखरा महानगरको प्रबद्र्धनमा संचालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको प्रा.लि.का संचालक प्रताप गुरुङले बताए ।
प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ भने उपविजेता हुनेलाई ८० हजार प्रदान गरिने भएको छ । सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई भने जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ ।
काठमाडौं, ३० भदौ ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। जस अनुसार रामेश्वर खनाल अर्थ मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास र ओमप्रकाश अर्याल गृह; कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका हुन्।
नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजित विशेष समारोहका बीच शपथ गराएका छन्।
यसैबीच मन्त्रीहरुले सपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण समेत गरेका छन । उनीहरुको नियुक्ति पनि आजै भएको थियो ।
अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्। यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् भने गृहमन्त्री अर्याल कानुनविद् हुन्।
काठमाडौं, ३० भदौ ।
सुदन गुरुङ नेतृत्वको एक जेन जी समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै गएराति यो समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
हिजो आइतबार साँझ मन्त्री नियुक्तिको खबर सार्वजनिक भएको थियो । कार्कीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ, ओमप्रकाश अर्याललाई गृह र रामेश्वर खनाललाई अर्थ मन्त्रीमा नियुक्त गरेकी छन् ।
सुदन गुरुङ नेतृत्वको समूहले गृह मन्त्रालयमा भएको अर्यालको नियुक्तिमा आपत्ति जनाएको छ ।
गुरुङले आफूहले नेतृत्वमा पुर्याएकाले चित्त नबुझे थुतेर बाहिर ल्याउने चेतावनी दिएका छन् । उनले अहिलेको सरकार आफूहरूले बनाएको भन्दै जेन जीलाई कसैले पनि रोक्न नसक्ने बताए ।





