२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

पोखरा, ३ असोज ।

विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् ।

प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले बताए । फष्ट कम फष्ट सर्भिस आधारमा २५० जना खेलाडीहरुको नाम दर्ता पुग्नसाथ फर्म बन्द गरिनेछ । फर्म भर्न चाहनेले पोखरा क्लिक अनलाइनमा गई भर्नुपर्नेछ ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता यसअघि असोज ४ मा हुने भनिए पनि जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म हुने दौडमा ६ इभेन्ट समावेश गरिएको छ । विभिन्न इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था रहेको आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, सिटिजन्स फर्निचर, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार, गण्डकी प्रादेशिक क्रिकेट संघ, बुमह््रयाङ रेष्टुरेण्ट लगायतको सहयोग छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

प्रतियोगितामा खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।

पोखरा, ३ असोज ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

नव युवानेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उहाँले संविधान, संसदीय प्रणाली र संघीय लोकतन्त्र गणतन्त्र कायम राख्न सफल भएको उल्लेख गर्नुभएको छ ।
 
प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ । निर्वाचन नै मुलुकको निकास भएकाले आजको संवेदनशील घडीमा उपयुक्त वातावरण बनाउन सबै सम्बद्ध पक्षहरुलाई विशेष आव्हान गर्दछु ।’
 
नव युवापुस्ताको आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो पार्दै यसको पूर्ण कार्यान्वयनले मुलुकले गति लिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

‘अबका कदमहरु संविधानको कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा हुनेछ । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई स्थायी शान्ति र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु ।’ – उहाँले भन्नुभएको छ ।

यस कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि यथोचित सहयोग रहने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

‘देशमा शान्ति, जनताको हित र उन्नति भन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।’ भट्टले भन्नुभएको छ ।

 
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको उहाँको भनाई छ ।

पोखरा, ३ असोज ।

संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।
 
संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस मुल समारोह कार्यक्रममा उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले  आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । यो यात्रामा गण्डकी प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनर्निर्माण र जनतासँग सीधा सम्बन्धित सेवाको विस्तारमा निरन्तर अघि बढ्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो।
 
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो । संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको उहाँले बताउनुभयो । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।

पोखरा, ३ असोज ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको स्विकृत कार्यक्रममा भएका तालिम, गोष्ठी, सेमिनार, भ्रमणजस्ता कार्यक्रम हाललाई सञ्चालन नगर्ने भएको छ । प्रदेश मन्त्रिपषिद्को विहीबार साँझ बसेको बैठकले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने भन्दै प्रदेश सरकार मातहतका पदाधिकारी र कर्मचारीले कुनै पनि प्रकारको बैठक भत्ता नलिने निर्णय समेत गरेको छ ।

गण्डकी सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले अनिवार्य दायित्व र कार्यालय सञ्चालनको लागि आवस्यक न्यूनतम खर्चमात्र गर्ने, अत्यावस्यक बाहेक कर्मचारीलाई भ्रमण र काजमा नखटाउने, विदा स्विकृत नगर्ने निर्णय गरेको बताए । जेनजीको आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण यस्तो निर्णय गर्नुपरेको उनले बतए । बैठकले प्रदेशका मन्त्रालय, निकाय तथा कार्यालयबाट शिक्षा, स्वास्थ्य, खानेपानी, सार्वजनिक यातायात, औषधी आपूर्ति, खाद्यान्नलगायत आकस्मिक र नियमित सेवा प्रवाहको लागि उपलब्ध स्रोत साथनबाट वैकल्पिक व्यवस्था गर्ने निर्णसमेत गरेको छ ।

चाडपर्व नजिकिएकाले सरोकारवालासंगको समन्वयमा खाद्यान्न लगायत सामाग्रीको सहज आपूर्ति, कालोबजारी नियन्त्रण र बजार अनुगमनलगायत काम गर्ने निर्णय पनि गरिएको छ । जेन जीको बिरोध प्रदर्शन र आन्दोलनका क्रममा मन्त्रालय र मातहतका निकाय, कार्यालहरुमा भएको आगजनी र तोडफोडबाट हुन गएको क्षतीका विषयमा पनि बैठकमा व्यापक छलफल भएको थियो । प्रवक्ता मन्त्री गुरुङका अनुसार आगजनी र तोडफोडबाट हुन गएको सार्वजनिक सम्पत्तीरभवन तथा सवारी साधन लगायतको यकिन विवरण तयार गरी पुनर्निर्माण गर्नुपर्ने वा मर्मत गरेमात्र हुने भनेर बर्गीकरणका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मा दिइएको छ ।

निजी क्षेत्र, राजनीतिक दलका कार्यालयहरुमा भएको तोडफोड सार्वजनिक संरचनाहरुमा भएको क्षतिप्रति बैठकले दुख व्यक्त गरेको थियो । बैठकले आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । साथै असहज परिस्थितिमा पनि विचलित नभई सेवाग्राही र कार्यालयको सरसफाईमा अहोरात्र खट्ने राष्ट्रसेवकलाई धन्यवाद दिदै आगामी दिनमासमेत सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गरी सरकारप्रति नागरिकको विश्वास अभिबृद्धि गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ । उच्च मनोबलका साथ विषम परिस्थितिको सामना गर्ने बैठकको निर्णयमा छ ।

यसैबीच विहीबारको प्रदेश मन्त्रिपरिषद्ले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृति दिएको छ ।

यसैगरी पर्यटन तथा उद्योग मन्त्रालयको बृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन कार्यक्रम कार्यान्वयन पहिलो संसोधन कार्यविधि २०८२ लाई पनि बैठकले स्विकृत गरेको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले ऋषिराज आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र ध्रुव गिरीलाई प्रदेश नीति तथा योजना आयोगमा सरुवा गरेको छ ।

पोखरा, ३ असोज ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र भएको क्षतिको विवरण यकिन गरी तत्काल प्रदेशमा पुनर्निर्माण कोष स्थापना गर्न कांग्रेस प्रदेश संसदीय दलले माग गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहिबार बसेको संसदीय दलको बैठकले सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातको साधनमा ठूलो क्षति भएको हुँदा त्यसको यकिन विवरण तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

साथै जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएको औल्याउँदै सो कोषमा दलको तर्फबाट दश लाख प्रदान गर्ने निर्णय गरिएको उनले बताए । बैठकले भदौ २३ गते जेनजी युवाद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरू, सुरक्षाकर्मीहरू तथा दिवंगत भएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको ।

यसैगरी भदौ २३ र २४ गते भएका ज्यादती तथा ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरेको छ । जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरू , सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासनको प्रत्याभूति गर्नुपर्ने बारे आफ्नो दल प्रतिबद्ध रहेको जनाएको छ । साथै यस सन्दर्भमा नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले मितव्ययिता कायम गर्न चालु खर्च घटाउने, दरबन्दी कटौती गर्ने, कार्यालय समायोजन गर्नेजस्ता सुशासनमैत्री कार्यहरूको प्रशंसा गर्दै, अझ जनमैत्री र उत्तरदायी ढङ्गले अघि बढ्न आग्रह गर्ने निर्णय गरेको छ ।

नेपाली जनताले लामो संघर्षपछि निर्माण गरेको नेपालको संविधानकै मार्गबाट मुलुकको समुन्नति र नयाँ पुस्ताको चाहना पूरा हुन सक्ने भएकाले संविधानको रक्षा तथा सुदृढीकरण गर्नु हामी सबैको कर्तव्य हो । यसै सन्दर्भमा संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा निर्वाह गर्नुभएको अभिभावकत्वप्रति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूलाई नेपाली कांग्रेस संसदीय दल हार्दिक आभार व्यक्त गरेको छ ।

मुलुकमा रोजगारी सिर्जना र राजस्व उत्पादनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिइरहेको निजी क्षेत्रमाथि भएको गम्भीर आक्रमणको भत्र्सना गर्दै, लगानीमैत्री वातावरण पुनःस्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

यसैगरी बैठकले आन्दोलनका क्रममा नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेताहरु लगायत आम नागरिकमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस विषम परिस्थितिमा सम्पूर्ण राजनितिक दलहरु, नागरिक समाज, युवापुस्ता लगायत सबैमा धैर्य रही संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकताबद्ध हुन सबैमा अपिल गरिएको सचेतक न्यौपानेले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।