२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ,

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ परेको पुष्टि गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । केही दिनअघि उनलाई प्रहरीले बयानसमेत लिएको थियो ।
सीआईबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट भेप भित्रको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ लिएको पाइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोरमा रहेको, जसको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर रहेको उक्त सुन भन्सारका नायव सुब्बा रेवन्त खड्का समेतको संलग्नतामा बिक्री गरी अनियमितता गरेको देखिएको छ।

काठमाडौं ,

जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ।‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ।

जेन–जीले गरेको प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू रेणु दाहाल र गंगा दाहाल को घरमा आगजनी भएको थियो। आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा लोड गरेर दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका छन्।त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको छ। ‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं,’ आचार्यले भनेका छन्।

यसबीचमा सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति समेत गरेको छ। सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उलंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ।

विराटनगर ,

भदौ २३ र २४  को जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्नेमा संलग्न रहेका युवक सहित ८ जनालाई प्रहरीले खैरो हिरोइन ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बु जेनजी आन्दोलनका क्रममा इप्रका दमकबाट हतियार लुटेर फोटो खिच्ने र भिडियो बनाउने युवक रहेको प्रहरीको भनाई छ । लिम्बुले त्यसबेला प्रहरीको हतियार बोकेर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको सूचनामा लिम्बु जेनजी आन्दोलनका क्रममा इप्रका दमकबाट प्रहरीको हतियार लुट्नेमा संलग्न भएको उल्लेख गरेको छ । तर झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले उनी हतियार लुट्नेमा संलग्न नभई हतियार सहित आन्दोलनमा देखिएको बुझिएको बताएका छन । आदित्य दमक ३ रविकुमार आङदम्बेका छोरा हुन ।पक्राउ पर्नेमा दमक ३ का २७ वर्षीय साजन थापा, इलाम चुलाचुली ३ का ३२ वर्षीय दिपेश तामाङ, इलाम चुलाचुली ३ कै ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, दमक ३ का २५ वर्षीय सुचन दर्जी र दमक ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर बी २ हट नं १९१–१९२ २५ वर्षीय विजय माझी भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान गरेर कारवाही गर्ने तयारी गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।