
मुस्ताङ, ११ कात्तिक ।
हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङलगायतका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ ।
मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाे जनाइएको छ ।
मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो क्षेत्रमा हल्का वर्षा सहित हिमपात भएको छ । म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा, कोखेडाँडाका भ्रमणमा गएका पर्यटक वर्षा र हिमपातका कारण प्रभावित भएका छन् ।
हिमपातका कारण घुम्न पुगेका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनले सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था नरहेकाे बताए । उनले भने, “जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ । ”
यता अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले गएराति १२ः०० बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको जानकारी दिए ।
पोखरा, ११ कात्तिक ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा हाल पानी परेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । मनाङ, गोखरालगायत हिमाली भूभागमा भारी हिमपात भइरहेको छ । हिमपात भएपछि जनजीवन प्रभावित भएको
उत्तरी गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ, कास्की, लमजुङका माथिल्ला क्षेत्रहरूमा हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएका छन् । हिमपातका समयमा पदयात्रामा ननिस्किन पनि उनीहरूको अपिल छ । अहिले धेरै पर्यटकहरू हिमाली क्षेत्रतिर छन् । भारी हिमपातपछि उनीहरू टेण्ट र धर्मशालामा बसिरहेको सूचना आएको प्रशासनले जनाएकाे छ ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकाले भारी हिमपात भइरहेकोले पालिकाभित्र पदयात्रामा ननिस्किन आग्रह सहितको सूचना निकालेको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल साेही पालिकामा पर्छ । अहिले मनाङ ङिस्याङ भन्दा तल्लो भूभागमा पनि भारी हिमपात भइरहेको छ ।
मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पर्यटकहरू हिमपातका कारण झर्न सकेका छैनन् ।





